~जीवा लामिछाने~
पानीका घाम उपन्यासका लागि २०६६ सालको पद्मश्री साहित्य सम्मान विजेता अमर न्यौपाने नेपाली आख्यानमा निकै ठूलो सम्भावना बोकेका प्रतिभा हुन्। दोस्रो उपन्यास सेतो धरती मार्फत उनी अझ् ठूलो आत्मविश्वासका साथ फेरि प्रकट भएका छन्। मरुभूमि जस्तो निरस तथा अनुत्पादक बिम्व बोकेको सेतो धरती शैली, दर्शन, प्रस्तुति तथा विषयवस्तुको दृष्टिले अब्बल दर्जाको कृति बनेको छ। महाभूकम्प आएको वि.सं. १९९० मा कास्कीको सेरोफेरोमा जन्मिएकी ताराको २०६८ सालसम्मको जीवनवृत्तलाई भित्री तहदेखि खोतलिएको छ, सेतो धरती मा। सात वर्षमा बिहे र ९ वर्षकै उमेरमा विधवा भएकी ताराको बालमनोविज्ञान र यौवनावस्थाको अनुभूतिदेखि अस्ताचलसम्मको विशिष्ट अन्वेषणले विशेष बनाएको छ, उपन्यासलाई।
तत्कालीन परिवेशमा नारी, विशेष गरी विधवालाई हेर्ने सामाजिक दृष्टिकोणलाई यो उपन्यासले सशक्त ढंगबाट उजागर गरेको छ। सामाजिक नियम तथा मान्यताहरू जे भए पनि हरेक मान्छेको आदिम मनोवृत्ति एकै प्रकारको हुन्छ भन्ने सत्यलाई उपन्यासकारले जीवनवादी दार्शनिक कोणबाट सरस प्रस्तुत गरेका छन्। स्थानीय भाषा प्रयुक्त संवादले उपन्यासलाई जीवन्त त बनाएको छ नै, सँगसँगै समकालीन संस्कृति, परम्परा तथा रहनसहनको अभिलेखीकरण पनि भएको छ। यस अर्थमा सेतो धरती उपन्यास भावी पुस्तालाई समाज विज्ञान बुझने धेरै उपहार पनि भएको छ।
सकारात्मक जीवन दर्शन यस उपन्यासको सबभन्दा महत्वपूर्ण विशेषता हो। ताराले विधवा हुँदा, सतीप्रथाको कथा सुन्दा, आफन्तबाट तिरष्कृत हुँदा वा जीवनका असंख्य दुःखपीडा र कुरुप झै लाग्ने जीवन बाँच्दा पनि हमेशा आफूलाई भाग्यमानी नै ठान्दै सामाजिक परिवेशलाई सकारात्मक रूपमा ग्रहण गर्छे। उपन्यासका अन्य पात्रहरू पवित्रा, जमुना, गोविन्द आदिको उपस्थिति र जीवनवृत्ति पनि निकै लयात्मक लाग्छन्। उपन्यासकारले मानिसको जीवनलाई प्रकृति, पर्यावरण, चेतन/अचेतन आकांक्षा आदिको अनेक रोचक विम्बहरूमार्फत केस्राकेस्रा केलाइएका छन्। एउटा मान्छेको बाल्यावस्था, यौवनावस्था, प्रौढावस्था र वृद्धावस्थासम्मको यात्रालाई उपन्यासले कतै सचेतन त कतै मानसिक अवचेतनको पुट दिंदै छर्लङ्ग पारेको छ।
केन्द्रीय चरित्र तारासँगै अन्य पात्रहरूको उपस्थिति निकै सशक्त छन्। जीवनका गोरेटोहरूमा आ–आफ्नो जिन्दगी आफ्नै पाराले भोगेका उनीहरू अन्ततः जिन्दगी भोगेर देवघाटमा आश्रय लिन आइपुग्छन्, कोही निरुपाय भएर, कोही जोडीसँगको वियोग सहन नसकेर त कोही आफ्ना सन्तानबाट तिरष्कृत भएर। यसरी देवघाट सबैले जीवनको उत्तरार्द्ध विसर्जन गर्ने चौतारोभएको छ। उपन्यासकारले सम्पन्न, विपन्न सबैको गन्तव्य अन्तिममा एउटै हुने सन्देश दिन चाहेका छन्। विषयको प्रभावशाली उठान र बैठान भएको उपन्यासका प्रत्येक खण्ड पाठकलाई नयाँ झ्ट्का दिएर अर्का खण्डमा जोडिन पुग्छन्।
उपन्यासमा पौराणिक मिथकको सुन्दर प्रयोग छ। पात्रहरूसँग स्थलगत साक्षात्कार गरेर तयार पारेको हुनाले उपन्यास वास्तविक जीवनकथा जस्तो लाग्छ। यसक्रममा सांसारिक सुख–सुविधाबाट टाढा रहेर ईश्वरमा समर्पित हुन चाहने भनिएका योगी र स्वामीहरूको पाखण्ड पनि छताछुल्ल हुन्छ, ठाउँठाउँमा। एउटी बालविधवाको आकांक्षा र मनोदशा केलाउने जोखिमपूर्ण काम गर्दा नारीप्रतिको सम्मानमा लेखकले पालना गरेको सचेतता प्रशंसायोग्य छ।
उपन्यासमा भाषिक अशुद्धि र अन्य कमजोरीहरू पनि छन्। अनपढ तारासँग दर्शनका अपत्यारिला प्रसङ्गहरू जोडिएका छन्। कतिपय प्रसङ्गहरू पाठकको धैर्य गुमाउने गरी वर्णनात्मक र पटके रूपमा आएका छन्। पुस्तक प्रकाशनअघिको सम्पादन कर्मलाई महत्व नदिंदा पुस्तक अस्वस्थकर रूपमा मोटाएको छ। यद्यपि, यो उपन्यास हाम्रो अघिल्लो पुस्ताले भोगेको समाजको जीवन्त दस्तावेज बनेको कुरामा भने कुनै शंका छैन। उपन्यासले हरेक पाठकमा, त्यसमा पनि विशेष गरी महिलामा ‘धन्न! त्यो समयमा जन्मिनछु’ भनेर उच्छवास उत्पन्न गराउँछ।
सेतो धरती
लेखकः अमर न्यौपाने
प्रकाशकः फाइनप्रिन्ट आइएनसी
मूल्यः रु.३५०,
पृष्ठः ३७३+१०
(स्रोत : हिमाल खबर)