~आभास~
मन धराप भएपछि
यसमा केही अट्दैन
तिमी प्रेमको प्रश्न गर्छौ ?
यहाँ त घृणा पनि अट्दैन
म
त्यही धराप मन बोकेर हिँडेको
एउटा भरिया
म एक्काइसौँ शताब्दीको द्वारमा उभिएको
एउटा आश्चर्य
म कठोर कवि
जसलाई
प्रेममा कुनै चासो छैन
र घृणामा पनि
म सम्वेदना बिहिन हुँदै गएको
एउटा मासुको डल्लो
जसलाई
जताबाट ठुँगे पनि हुन्छ
कुनै दर्दानुभूति हुनेछैन
धराप मनमा दर्दको स्थान हुन्न
दर्दहीनलाई
जसरी चोक्ट्याए पनि हुन्छ
तिम्रो खुसी
तिमी खुकुरी बने हुन्छ
तिमी नै अचानो बने हुन्छ ।
***********