~नारायण गडतौला~
१. समालोचनाको स्वरूप
‘समालोचना’ शब्द प्रायः ज्ञान विज्ञानका सबै क्षेत्रमा प्रयोग हुने भए पनि यहाँ साहित्यिक समालोचनाका अर्थमा मात्र सीमित गरिएको छ । साहित्य र समालोचना दुवैको साइनो ज्यादै निकट रहेको छ । माली र फुलबारी जस्तो समालोचना र साहित्य आपसमा अन्योन्य भएर सहभागी भएका छन् । समालोचना बिना साहित्यको आस्वाद्य रूप बोध हुन सक्तैन भने साहित्य त समालोचनाको उद्गम स्रोत नै हो । त्यसैले क्यानाडाली समालोचक नथर््रप पर्|mइले समालोचना र साहित्यलाई भौतिक शास्त्र र प्रकृतिसँग तुलना गरेका छन् । उनका अनुसार भौतिक शास्त्रको अध्ययन गर्ने विद्यार्थीले प्रकृतिको अध्ययन गर्दछ तर ऊ आफूलाई प्रकृतिको विद्यार्थी नभनेर भौतिक शास्त्रको विद्यार्थी भन्दछ । फ्राईका अनुसार साहित्यको भौतिक शास्त्रको नै विद्यार्थी हुन्छ (फ्राई, १९७४ : २३३) । साहित्य कला भए पनि समालोचना विज्ञान हो । कलामा हार्दिकता, रागात्मकता, वैयक्तिक तथा सामूहिक अचेतनको प्रकटन, कल्पना एवं भावुकताको आधिक्य, वैज्ञानिक कार्यकारणको निरपेक्षता, अभिव्यञ्जनात्मक भाषिक प्रयोग जस्ता गुण रहेका हुन्छन् । समालोचना बैद्धिक क्रियाकलाप हो र यसमा साहित्यिक कृतिको वस्तुगत, वैज्ञानिक, कार्यकारण मानिन्छ र बालक जन्मेदेखि नै आˆनो परिवेशप्रति प्रतिक्रिया व्यक्त गर्दछ, यही मानवमा निहित प्रतिक्रियात्मक गुण नै समालोचनाको उद्गम विन्दु हो । त्यसैले साहित्यिक समालोचनाको प्रारम्भ साहित्य लेखन जत्तिकै पुरानो मानिन्छ ।
प्राचीन समयदेखि नै समालोचना काव्यशास्त्र, अलङ्कारशास्त्र आदि नामले स्वतन्त्र विधाका रूपमा अस्तित्वशील छ । एरिस्टोटलले आˆनो समालोचना ग्रन्थको नाम ‘पोइटिक्स’ राखेका छन् भने रोमेली चिन्तक तथा कवि होरेसले ‘आर्स पोइटिका’ नाम दिएका छन् । पूर्वमा ‘काव्यालङ्कार’ काव्यप्रकाश, ‘साहित्य दर्पण’ जस्ता नामले समालोचनातमक कृतिहरू लेखिएका छन् । समालोचना शब्दको प्रयोग पश्चावर्ती समयमा आएर आएको हो । अङ्ग्रेजीमा ‘क्रिटिसिज्म’ शब्दको प्रयोग सत्रौं शताब्दीमा भएको देखिन्छ भने हिन्दीमा इ. १८६६ मा समालोचना शब्द उपयोग भएको पाइन्छ -मिश्र, इ. १९६७ : १८) । समालोचना शब्दको प्रयोग अङ्ग्रेजीको क्रिटिसिज्मकै पर्यायका रूपमा भएको हो । नेपालीमा यसको समानार्थी शब्दहरूमा समीक्षा, आलोचना, विवेचना, मीर्मासा, विवेचना, सिंहावलोकन, पर्यवलोकन, अभिवीक्षा, मूल्याङ्कन, टिप्पणी आदि अनेक शब्दहरू प्रयोग भएका छन् । यसरी नै अङ्ग्रेजी ‘क्रिटिसिज्म’ को पर्यायका रूपमा रिभ्यु, एपि्रसिएसन, जजमेन्ट, इभ्यालुएसन, कमेन्ट, इन्टरप्रेटेसन, ओपिनियन आदि शब्द रहेका छन् । यी मध्ये सर्वाधिक प्रचलित समालोचना, समीक्षा आलोचना र अङ्ग्रेजीमा क्रिटिसिज्म शब्दहरू नै हुन् ।
नेपालीमा प्रयुक्त समालोचना, आलोचना र समीक्षा तीनवटै शब्दहरूको मूलमा निहित धातु ‘लुच्’ र ‘ईक्ष्’ को धात्वर्थ ‘हुनु’ भन्ने रहेको छ । यसले समालोचक वा समीक्षकको साहित्यप्रति हुने दृष्टि प्रक्षेपणलाई सङ्केत गर्दछ । यो हेराइ सामान्य नभएर गम्भीर एवं बौद्धिक हुनाका साथै प्रतिक्रियात्मक हुन्छ । जर्मन दार्शनिक इम्यानुअल कान्ट मानव मस्तिष्कलाई बाहृय वस्तुलाई प्रक्षेपण गर्ने निर्जीव ऐना जस्तो मात्र ठान्दैछनन् बरु बाहृय वस्तुको अवलोकनबाट मस्तिष्कमा नयाँ-नयाँ वस्तु उद्भासित हुने र प्रक्षेपित हुने ठान्दैनन् -विम्सेट र बुक्स, इ. २००७ : ६९९) । समालोचना पनि साहित्यिक कृतिको अध्ययन अवलोकनबाट पाठकको मस्तिष्कमा पर्ने नव उद्भासनमूलक प्रतिक्रिया हो । संस्कृत साहित्यका समीक्षा शास्त्री राजशेखर समालोचना पनि प्रतिभाबाट नै हुने स्विकार्दै कविको श्रमलाई वास्कविक रूपमा ठहर्याउने प्रतिभालाई भावयित्री प्रतिभाको संज्ञा दिन्छन् -राजशेखर, २०३० : ११८) । राजशेखरले समालोचनाको सम्बन्ध प्रतिभासँग देखाउनुले समालोचनामा बौद्धिक स्फुरणात्मक नवीन चिन्तनको आवश्यकतालाई सङ्केत गरेको छ । अङ्ग्रेजी समालोचक विलियम हेनरी हड्सन पनि समालोचकलाई साहित्यको विशेषज्ञ स्विकार्दै साहित्यिक कलालाई पारख गरेर यसको परीक्षण गर्ने, गुण दोष छुट्याउने र एउटा फैसला सुनाउने व्यक्तिका रूपमा स्विकार्दछन् -हड्सन, इ. १९९१ : २०६०-६१) । यसरी हेर्दा समालोचना त्यस्तो विधा हो जसमा प्रतिभाशाली पाठकले साहित्यिक कृतिको गम्भीर र अनुशीलन गरेर आˆनो प्रतिभाद्वारा नवीन धारणा वा चिन्तन प्रकाशित गर्दछ । समालोचनामा वैयक्तिक दृष्टिकोण रहने हुँदा र प्रतिभाद्वारा नवीन चिन्तन दिइने हुँदा नै यसका अनेक रूप वा प्रकारहरू देखिएका छन् । यहाँ पाश्चात्य समालोचना परम्परामा देखिएका महत्त्वपूर्ण समालोचनाका प्रकारहरूको लक्षण वा परिचय दिइएको छ ।
२. समालोचनाको प्रकार
समालोचनालाई सैद्धान्तिक र प्रायोगिक, आन्तरिक र बाहृय, कृतिपरक, स्रष्टापरक, विधापरक र साहित्येतिहासकपरक जस्ता प्रकारहरूमा छुट्याएर हेर्ने परम्परा रहेको पाइन्छ । यहाँ समालोचनाको समग्र प्रवृत्तिलाई आधार मानेर पाश्चिमी समालोचनामा देखिएका प्रकारलाई प्रस्तुत गरिएको छ ।
२.१ सैद्धान्तिक समालोचना
साहित्यको लक्षण, स्वरूप, वर्गीकरण, सङ्घटन, वस्तु विन्यास, कारक, प्रयोजन जस्ता पक्षको निक्र्योल गर्दै सिद्धान्तको निरूपण गर्नु नै सैद्धान्तिक समालोचना हो । यो साहित्यिक कृतिको अनुगमन गरेर मात्र सम्भव हुन्छ । समग्र साहित्यको, विधाविशेषताको वा कुनै विशिष्ट पक्षका बारेमा सिद्धान्त बनाउने र त्यसका आधारमा कृतिको मूल्याङ्कन गर्ने कार्य यसमा गरिन्छ । पश्चिममा एरिस्टोटलले आˆना पूर्ववर्ती होमर, हेसियड, एस्किलस, युरिपाइडिज र सोफोकल्स आदिका कृतिको अनुगमनद्वारा सिद्धान्त निर्माण गर्दै ‘पोइटिक्स’ कृतिको निर्माण गरेको देखिन्छ । यसरी नै पूर्वमा भरत, भामह, दण्डी, रुद्रट, वामन, हेमचन्द्र, मम्मट, विश्वनाथ र जगन्नाथ आदि आचार्यहरूले संस्कृत काव्यजगत्को गम्भीर अनुशीलनद्वारा साहित्य सिद्धान्त निर्माण गरेका हुन् । यस समालोचनाले साहित्यको सिद्धान्त निर्माणसँगै सिर्जनाका निम्ति पनि पथप्रदर्शन गरेको पाइन्छ । यसले विधाहरूको स्वरूप निर्धारण गरेर विधाबिचमा भिन्नता देखाउँछ भने ज्ञानका अन्य शाखासँग पनि साहित्यको सम्बन्ध स्थापित गर्दछ ।
२.२ ऐतिहासिक समालोचना
यस समालोचनाले साहित्यिक कृतिको व्याख्या, विश्लेषण र मूल्याङ्कनमा ऐतिहासिक सापेक्षको आधार खोजी गर्दछ । साहित्य भनेको लेखकको युगका आर्थिक, राजनीतिक र धार्मिक, साहित्यिक आदिको प्रक्षेपण हो भन्ने मान्यता यस समालोचनाको रहेको छ । साहित्य भनेको लेखक र उसको समय वा पात्र र उसको समयको प्रत्यङ्कन हो -गुरिन र अन्य, इ. १९९९ : २२) । यस समालोचनाको विकासमा हिप्पोलइट टेनको जाति, युग र क्षण सम्बन्धी चिन्तनको विशेष प्रभाव परेको मानिन्छ । मड बोडि्कन, लेलाइ फिड्लर जस्ता समालोचकहरू साहित्यमा ऐतिहासिक पक्षको वकालत गर्दछन् । लेखकीय युगलाई नबुझी लेखक र कृतिको मूल्याङ्कन गर्न नसकिने धारणा यस समालोचनाको रहेको छ ।
२.३ जीवनीपरक समालोचना
लेखकीय जीवनका सापेक्षमा गरिने समालोचना जीवनीपरक समालोचना हो । यस समालोचनाले लेखकको जीवनीको आधारमा कृतिको मूल्याङ्कन गर्दछ । लेखकको पारिवारिक पृष्ठभूमि, पूर्खा, वैयक्तिक परिवेश, साथीभाइ, व्यवसाय जस्ता पक्षसँगै उसको चरित्र, स्वभाव, विचार र आस्थाका आधारमा उसका कृतिहरू सम्पक् विवेचन हुन सक्छन् भन्ने मान्यता यस समालोचनाको रहेको छ -तिलक, इ. १९९८ : १३) । परम्परागत समालोचनामा जीवनीलाई महत्वपूर्ण स्थान दिइन्थ्यो भने टि.एस्. इलियटको निवैयक्तिक सिद्धान्त र पश्चावर्ती रूपवादी कृतिकेन्द्री समालोचनाको विकासले यसलाई पूर्णतः उपेक्षा गरेको देखिन्छ ।
२.४ तुलनात्मक समालोचना
साहित्यको मूल्याङ्कनमा तुलनालाई जोड दिने तुलनात्मक समालोचना हो । यसमा कुनै कृतिको मूल्याङ्कन अर्को उस्तै कृतिको सापेक्षमा गरिन्छ । एउटै भाषाका वा भिन्न भाषाका, एउटा युग वा भिन्न युगका कृति, लेखक आदिको तुलना गरेर मूल्य निर्णय गर्ने काम यसमा गरिन्छ । म्याथ्यु अर्नोल्ड यसका प्रवक्ता मानिन्छन् । उनका अनुसार समालोचकले विगत र वर्तमान, आˆनो भाषा र अरूको भाषा, आˆनो साहित्यको स्रोत भाषा जस्ता कुराको ज्ञान राख्नु पर्दछ । यस समालोचनाले लेखक, कृति, कृतिका अनुच्छेद, सारतत्व, वाग्धारा जस्ता पक्षको तुलनामा जोड दिन्छ । यो समालोचना भाषा, भूगोल, राजनीति, युग जस्ता सीमा अतिक्रमण गरेर वैश्विक रूपमा साहित्यको अध्ययन गर्दछ ।
२.५ मूल्याङ्कनात्मक समालोचना
साहित्यको मूल्य निर्धारण गर्ने समालोचनाको प्रकारलाई मूल्याङ्कनात्मक समालोचना भनिन्छ । यस समालोचनाले साहित्यमा सौन्दर्य, नैतिकता, कलात्मकता आदि कुनै मापदण्डलाई आधार मानेर कृतिको मूल्य निर्णय गर्दछ । यद्यपि सबै प्रकारका समालोचनामा मूल्याङ्कनको व्यवस्था हुन्छ तर यसमा समालोचकले एउटा विशेष आधारमा मूल्याङ्कन गर्दछ । यस प्रकारको समालोचना व्यक्तिको रुचि अनुसार हुने भएकाले यसमा वैयक्तिकता हुने मानिन्छ ।
२.६ वर्णनात्मक समालोचना
कृतिको उद्देश्य, विधि र प्रभावलाई देखाउनका निम्ति गरिने समालोचना वर्णनात्मक समालोचना हो । विशेष गरेर लेखक स्वयंले आˆना कृतिका बारेमा वर्णन गरेर यसको लक्ष वा उद्देश्य आदिको उल्लेख पूर्वकको समालोचनालाई वर्णनात्मक समालोचनाको रूपमा लिएको लिएको पाइन्छ । जर्ज वाटसनका आनुसार वर्णनात्मक समालोचना कवितको आत्म मूल्याङ्कनबाट नै प्रारम्भ हुन्छ र यसमा लेखक स्वयंले आˆनो लेखनको उद्देश्य, विधि, प्रभाव आदिका बारेमा चर्चा गर्दछ -तिलक, इ. १९८९ : १४) । यो समालोचना एक प्रकारले समालोचनात्मक पद्धति हो र अधिकांश समालोचकले यसलाई उपयोग गरेको पाइन्छ ।
२.७ निर्णयात्मक समालोचना
शास्त्रीय सिद्धान्तका आधारमा कृतिको मूल्य निर्णय सहितको समालोचना निर्णयात्मक समालोचना हो । यसले शास्त्रीय नियममा आबद्ध कृतिलाई मूल्यवान वा उत्कृष्ट ठहर गर्दछ भने तत् इतरलाई मूल्यहीन ठहर्याउँछ । यसमा समालोचक मूल्य निर्णय गर्ने न्यायाधीश हुन्छ र कृतिका बारेमा निर्णय दिन्छ । एरिस्टोटल, लन्जाइनस, जोन्सन जस्ता समालोचकहरू यस वर्गमा पर्दछन् । प्रायः गरेर समालोचनामा मूल्य निर्णयको अपेक्षा गरिन्छ । कृष्णचन्द्र सिंह प्रधान समालोचनाको जुनसुकै प्रणालीमा पनि समालोचनाले मूल्य निर्णयको अपेक्षा गर्ने ठान्दछन् -प्रधान, २०४४ ः १८) । साहित्य सिद्धान्तहरू परिवर्तन भइरहने हुँदा र नवीन सिद्धान्तहरूको उद्भव भइरहने हुँदा निर्णयात्मक समालोचना अस्थिर हुने देखिन्छ ।
२.८ व्याख्यात्मक समालोचना
यो समालोचना कृतिको व्याख्या विश्लेषणमा केन्दि्रत हुन्छ । कृतिलाई सिद्धान्तको अतिशय प्रभावबाट मुक्त गर्दै लेखकले प्रस्तुत गरेका भाव, विचार आदि पक्षलाई व्याख्या गर्नु यसको विशेषता हो । यस समालोचनाले कृतिमा रहेका तथ्यहरूको व्याख्या गरेर पाठक सामु ल्याउने काम गर्दछ । कार्लाइल, म्याथ्यु अर्नोल्ड जस्ता समालोचकलाई यस प्रकारका समालोचक मानिन्छ । यसमा कृतिका तथ्यहरूलाई व्याख्या गरिए पनि मूल्याङ्कन गर्ने काम भने गरिदैन ।
२.९ प्रभाववादी समालोचना
कुनै सैद्धान्तिक निर्देशबाट मुक्त हुँदै कृतिबाट पर्ने प्रभावका आधारमा गरिने समालोचना प्रभाववादी समालोचना हो । यसलाई एक प्रकारले वैयक्तिक अभिलेखका रूपमा लिइन्छ । पाठकले कृतिको अध्ययनबाट अनुभूत गरको आनन्द र कलात्मक पक्षलाई सम्प्रेषण गर्ने काम यसमा गरिन्छ । प्रभाववादी समालोचना प्रायः गरेर हठपूर्ण, असन्तुलित र भावपूर्ण हुने मानिन्छ । पाठकले पाठप्रति आˆना धारणा व्यक्त गर्ने हुँदा यो वैयक्तिक, आत्मपरक, निबन्धात्मक र भावुक हुने गर्दछ । यस प्रकारको समालोचनाका निम्ति पाठकमा कृतिको सौन्दर्य उद्घाटन गर्न सक्ने गम्भीर दृष्टि हुनु आवश्यक मानिन्छ ।
२.१० आद्यरूपीय/मिथकीय समालोचना
साहित्यलाई आद्यरूप र मिथकसँग सम्बन्धित मानेर गरिने समालोचना आद्यरूपीय मिथकीय समालोचना हो । यस समालोचनाका अनुसार साहित्यमा आद्यरूप र मिथकहरू वंशानुगत रूपमा नै आएका हुन्छन् । साहित्यको मूल ढाँचा नै मिथकात्मक हुने हुँदा मिथकको गम्भीर र अनुशीलनबाट मात्र साहित्यको वास्तविक रहस्य उजागर हुने हुँदा हुने यस समालोचनाको धारणा रहेको छ । यो समालोचना मानवशास्त्र र मनोविज्ञानको सैद्धान्तिक पृष्ठभूमिमा अडेको छ । यसलाई विस्तारसाथ प्रयोग गर्ने क्याडाली समालोचक नर्थ्रप प|mाई हुन् । अन्य समालोचकहरूमा मड बोडि्कन, लेस्लाइ फिड्लर, जोसेफ क्याम्पवेल आदिको नाम उल्लेखनीय छ ।
२.११ प्रगतिवादी समालोचना
माक्र्सवादी सौन्दर्यशास्त्रको सैद्धान्तिक आधारमा कृतिलाई मूल्याङ्कन गर्ने समालोचना प्रगतिवादी समालोचना हो । यसले साहित्य र समाजको वैज्ञानिक अन्तः सम्बन्धको खोजी गर्दै वर्गीय साहित्यको वकालत गर्दछ । माक्सै र एङ्गेल्सले स्थापित गरेका वर्ग सिद्धान्त, द्वन्द्वात्मक भौतिकवाद, सर्वहाराको आधिपत्य, समाजवाद आदिबाट सैद्धान्तिक आधार ग्रहण गर्दै साहित्यिक कृतिको विश्लेषण गर्नु यसको वैशिष्ट्य हो ।
२.१२ मनोवैज्ञानिक समालोचना
फ्रायड, एड्लर, युङ, लकाँ र अन्य अनेक मनोवैज्ञानिकहरूका सिद्धान्तका आधारमा साहित्यलाई विश्लेषण र मूल्याङ्कन गर्ने समालोचना मनोवैज्ञानिक समालोचना हो । यस समालोचनाले साहित्यलाई मानसिक यथार्थसँग सम्बन्धित गरेर हेर्दछ । साहित्य मनको अचेतनाको अभिव्यक्ति हो र दमित, विस्मृत र कृष्ठित भाव नै साहित्यका रूपमा प्रकट हुने धारणा यसको रहेको छ । मनोजगत्का वास्तविकतालाई प्रकट गर्नका निम्ति अनेक बिम्ब र प्रतीकको सहारा लिनु पर्ने र यस्ता बिम्ब प्रतीक बाहृय सत्यका प्रक्षेपक नभएर सुषुप्त मनका द्योतक हुने चिन्तन यस समालोचनाले देखाएको छ । यसमा साहित्यलाई लेखकीय मनोग्रन्थि, पात्रीय अवस्था र ग्रन्थि, घटनाको अवस्था वा स्थिति आदिका आधारमा विश्लेषित गरिन्छ ।
२.१३ रूप/संरचनावादी समालोचना
साहित्यमा रूपवादी, संरचनावादी, शैली वैज्ञानिक आदि अनेक आधुनिक समालोचना प्रणालीको विकास भएको छ । यी सबै समालोचना साहित्यको भाषिक रूप एवं शैलीसँग सम्बन्धित छन् । रूप संरचनावादी समालोचनाको प्रेरक भूमि भाषाको पृष्ठभूमि हो भने क्लाउड लेभि स्ट्रासको संरचनावादी मानवशास्त्रले पनि महत्वपूर्ण आधारभूमि तयार गरेको छ । संरचनावादी अनेक सम्प्रदायहरूमा जेनेभा, रसियाली, कोपेन हेगेन, प्राग, प|mान्सेली, बेलायती र अमेरिकाली आदि सम्प्रदाय रहेका छन् । यस समालोचनाले पाठलाई मूल आधार मानेर पाठका विभिन्न अवयवहरूको विश्लेषण गर्दछ । यसले पाठभन्दा बाहिरी पक्षको सर्वथा उपेक्षा गर्दछ । भाषाको विशिष्ट रूप नै साहित्य भएकाले यही भाषिक वैशिष्ट्यका आधारमा कृतिको मूल्य निरूपण गर्ने कार्य यस समालोचनाले गर्दछ ।
२.१० उत्तर संरचनावादी र उत्तर आधुनिकतावादी समालोचना
इ. बीसौं शताब्दीको उत्तरार्द्धदेखि पाश्चात्य समालोचनामा नवीन चिन्तनको प्रारम्भ भएको छ । संरचनावादले स्थापन गरेका भाषिक सिद्धान्तको पृष्ठभूमिबाट नै उत्तर संरचनावादी मान्यता विकास भएको हो । यसलाई आधुनिकताको उत्तरवर्ती चिन्तन र त्यसको विरोधमा आएको नवीन चिन्तन दुवै अर्थमा बुझिएको छ । उत्तर आधुनिक शब्द छाता शब्दका रूपमा रहेको र यसभित्र अनेक समालोचना समाविष्ट छन् । विनिर्माण, नारीवादी, विपठन, नव इतिहासवाद, नव माक्र्सवाद, नव मनोविज्ञान, पाठक प्रतिक्रिया, वाणीक्रिया, उत्तर उपनिवेश, भाष्यविज्ञान, घटना क्रिया अर्थात् आत्मिक प्रक्रियावाद, पूर्वीयवाद, जनजातीय आदि अनेक समालोचनाका चिन्तनको समष्टि रूप नै उत्तर आधुनिक समालोचनाका रूपमा व्याख्यायित भएको पाइन्छ । समालोचनाका क्षेत्रमा विशेषतः भाषापरक अध्ययन, लेखकीय मृत्यु र पाठकको सर्वोपरिता, पाठको महत्व, बहुल दृष्टिकोण जस्ता पक्ष महत्वपूर्ण छन् ।
३. निष्कर्ष
पाश्चात्य जगत्मा समालोचना प्राचीन समयदेखि हुँदै आएको छ । साहित्यको सिर्जनासँगै समालोचनाको बीजाधान भएको हो र क्रमशः यसले छुट्टै विधाका रूपमा अस्तित्व पाएर अनेक स्वरूप र प्रकारमा विभाजित हुन पुगेको छ । जीवनीपरक, ऐतिहासिक, प्रभावकारी जस्ता परम्परागत समालोचना प्रणालीदेखि संरचनावादी, उत्तर रचनावादी हुँदै अनेक उत्तर आधुनिक चिन्तनले पाश्चात्य समालोचना समुभत र बहुल प्रकारको बन्न पुगेको छ ।
सन्दर्भ सामग्री
- गुरिन र अन्य -इ. २००५), ए हेन्डवुक अफ क्रिटिकल एप्रोचेस टु लिटरेचर, पाँचौँ सं., अक्सफोर्ड : अक्सफोर्ड युनभर्सिटी प्रेस ।
- तिलक, रघुकुल -इ. १९९६), हिस्ट्री एन्ड पि्रन्सिपल्स अफ लिटरेरी क्रिटिसिज्म, १६ औँ सं., न्यू दिल्ली : रमा व्रदर्स ।
- प्रधान, कृष्णचन्द्रसिंह -२०४४), साझा समालोचना, ते.सं., काठमाडौँ : साझा प्रकाशन ।
- प|mाई, नथर््रप -इ. १९५७), “मिथ, फिक्सन एन्ड डिस्प्लेसमेन्ट”, ट्वेन्टिथ सेन्च्युरी क्रिटिसिज्म, सम्पा. विलियम जे. हेनरी र म्याक्स वेप्स्टर, दिल्ली : लाइट एन्ड लाइफ पब्लिसर्स, पृ. १५६-१६९ ।
- मिश्र, हरिमोहन -इ. १९६७), आधुनिक हिन्दी आलोचना, कानपुर : ग्रन्थ भारती ।
- राजशेखर -२०३०), काव्यमीमांसा, अनु. डिल्लीराम तिमसिना, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
- विम्सेट र ब्रुक्स -इ. २००७), लिटरेरी फिटिसिज्म ए सर्ट हिस्ट्री, दिल्ली : सुरजित पब्लिकेसन ।
(स्रोत : शब्द-संयोजन असोज २०६८ अङ्क ८९ )