~सन्तोष चिमरिया~
बिबाहको अघिल्लो दिन बडो हतारमा उसको उपनयन अथवा बर्तमन गरियो २७ औ बर्षमा । गुरुमन्त्रको औपचारिकता पनि पूरा भयो तर गायत्री कण्ठ गर्नु उसले अनावश्यक ठान्यो । बास्तबमा बर्तमन नै पनि आवश्यक ठानेर गरेको थिएन । यदि त्यसो हुन्थ्यो भने १२ बर्षमा नै उसको बर्तमन शास्त्रनुसार भैसकेको हुन्थ्यो तर कर्म नचलेकाको बिहा नहुने सनातन परम्पराको खुड्किला छिचोल्न उसको बर्तमन झारो टार्ने हिसाबले हतारमा सम्पन्न भएको थियो ।
भोलिपल्टै बिबाह भयो र सुहागरातमा उसले कपडासंगै जनै पनि खोलेर कांटीमा झुन्ड्यायो । भोलिपल्ट कपडा लगायो तर जनै त्यो दिन देखि कांटी मै झुण्डिरहयो । टुप्पी उसको थिएन । टुप्पी धान्ने जिम्मेवारी हजुरबुबाले बाउलाई सुम्पेर गएका थिए तर बाउले उसलाई सुम्पिन चाहेनन् अथवा ब्यर्थ ठाने उनै जानुन । हजुरबुबा बाचुन्जेल कुखुरो आगनमा पाक्थ्यो र बाउ गुपचुप खान्थे बुढा बितेपछी कुखुरो भान्सा मै उक्लियो र बाउ हाकाहाकी खान थाले । आगनको रिक्त स्थान परिपुर्ति गर्न सस्तो रांगोले चुलोग्रहण गर्यो। बाउको गुपचुप अब कुखुरोबाट रांगामा पुस्तान्तरण भयो ।
नामको पछाडि सधै झुन्डिरहने उसको तागाधारी जातको प्रशासनिक र प्राबिधिक उपयोग बाहेक अन्य प्रायोजन शून्य जस्तै थियो । काठमाडौ बसेर पढ्दा होस अथवा खाडीमा केही बर्ष भासिदाका बर्षहरु उसले हजुरबुबाका पालामा भए चिताई नसक्नुको कुकर्म गरेको थियो । चारजात छत्तीस बर्णका कुजातहरुसंग एउटै भान्सामा भोजन त्यो पनि दैनिक ! एक मानो गौउत र ७ जना पुरेतले पखाल्न नसक्ने पाप ! जात काड्नु बाहेकको कुनै सजायले द्ण्डिन गर्न नसक्ने अक्षम्य अपराध । तर बाउको पुस्ता हाम्फालेर उ त्यहाँ आइपुग्दा त्यो सहज र स्वाभाविक भैसकेको थियो तर निर्मुल हुन बाकी नै थियो ।
उसले गणतन्त्रका लागि ढुङा हानेको थियो तर पुरस्कार स्वरुप धर्म निरपेक्षता पनि दिइयो जसले उसलाई फरक परेन । जसलाई धर्मसंग लिनुदिनु केही छैन त्यसलाई किन फरक पर्थ्यो र ? पछिल्लोपटक चलेका प्रगतिशील र समाजबादी आन्दोलनको अत्यन्तै धेरै श्रम र समयले निर्माण गरेको थियो उ र उ जस्ता लाखौं लाख तागाधारीहरुलाई ! जसलाई जनै कांटीमा सिउरिने पुस्ता भनियो । जसले छुवाछूत विरुद्ध संगठित तर मौन धावा बोल्यो । जसले ब्राह्मणबादको उपदेयतालाई भाषण नगरी जरैदेखी हल्लाई दियो । जस्ले कर्मकाण्ड विरुद्ध बैज्ञानिक चेतनालाई स्वीकार गर्यो, जस्ले भाग्यबाद विरुद्ध कर्मलाई महत्व दियो । जस्ले झाक्रीवाद अस्विकार गर्यो र जो बलीप्रथाको बिरोधि भयो । उसले भुत मन्साउन छोड्यो र बोक्सीको अस्तित्व माथि प्रश्न गर्ने हिम्मत राख्यो । यंहासम्म कि आफ्नो समाजमा इसाई दर्शनको माईक बज्दा सुनिदियो । क्रीसमसमा मेरी क्रीसमस भन्दियो । छिमेकीको घरमा प्रभुको सेवा हुँदा गएर प्रभु वचन सुन्दियो । चर्चको उपस्थितिलाई सहज मान्यो । छिमेकीको धर्मान्तरलाई नियोजित भनेर ठानेन । उ र उसको पुस्ताले यति द्रुत यति लामो यात्रा गर्यो कि पछिल्लो तीन हजार बर्षमा उसका पुस्ताले यो दुरी छिचोल्न सकेका थिएनन् । उ बडो दौडधुप गरेर र जोखिम मोलेर आज मा आईपुग्यो । उसले बर्तमानलाई भेट्टायो ।
उ बडो दौडधुप गरेर र जोखिम मोलेर आज मा आईपुग्यो । उसले बर्तमानलाई भेट्टायो । तर एक निश्वास छोडेर उसले आफू वरिपरि हेर्यो उ बाहेक सबै बर्तमान छोडेर ओरालो झर्दैछ्न । सबै तछाड- मछाड गर्दै अतितको भग्नावशेषबाट कुंडा कंकड बटुलेर आफ्नो आफ्नो उपनयन गर्न ब्यस्त छ्न । कोहि फेटा गुथेका छ्न कोहि जामा लगाउदै छ्न । उसले बर्तमानको डांडाबाट हेर्यो ओरालो यात्रा रोकिने छेकछ्न्द छैन । हेर्दा हेर्दै ओरालो लाग्नेहरु अब नाङ्गै होलान, अतितको क्षितिजमै पुगेछ्न भने पछाडी किर्तिम पुच्छर प्रत्यारोपण गरेर मानिस हुनुकै पहिचान अस्विकार गर्ने हदसम्म उधौली यात्रा जारी राख्लान ! उसले आँखा चिम्लियो तर अतीत उन्मुख भिड बिबेक बर्तमानमै छोडेर अन्धाधुन्ध दौडमा क्षितिज सम्मै धुलो उडाउदै पुग्न सफल भयो ।
क्षितिज पुगेपछि बर्तमानको चौर भरी इतिहासका उधिनिएका चिहानहरुले समय दुर्गन्धित भयो । उसले हेर्दाहेर्दै क्षितिजको धुलाम्मे र दुर्गन्धित आकाश मुनिको भिडले ट्रीब्युनल खडा गर्यो । ट्रीब्युनलले न्यायाधीश र न्याधिबक्ता खडा गर्यो, अनि चिहान उधिनेर साक्षी र प्रमाणहरु जुटाईए ! अभियुक्त इतिहास दोषी ठहर भयो र बर्तमानलाई संजाय सुनाईयो । उसको बर्तमान दोषी भयो । उसको नाक दोषी भयो । उसको कांटीमा सिउरिएको जनै र उसको नभएको टुप्पी दोषी भयो । हजार न्यायाधीशका हजार फैसलाहरु उ विरुद्ध सुनाईए । उ देश निकालामा परो र काशी धपाईयो । उ अबैध आप्रवासी भयो। उ सहभागी भएर गरेको मुलुकको एकीकरण बदर भयो र रजौटाहरु स्वतन्त्र घोषण गरिए । उ मधेसको उपनिबेशक ठहर भयो । उ मात्रै सामन्त भयो । उ मात्रै दलाल भयो । उसको दशै नाजायज र तिहार पाखण्ड भयो । उसको तिज अस्लिल र होली उशृखल भयो । उसको आस्था मात्रै झुटो र उसका परम्परा मात्रै क्रूर भए । बाकी सकल संसार निर्दोष र मानबिय भए उ एउटा दोषी र दानव भयो । उसको निधारको पबित्र रातो टीका छिमेकीको रगतले मुछित अपबित्र र दानबताको प्रतीक घोषित भयो । उ युगदेखी युगसम्मको अपराधी घोषित भयो ।
उसले प्रशस्त आफ्नाहरु पछाडी छोडेर आएको थियो । धेरै जनैहरु अझैसम्म काधमै झुण्डीरहेका थिए । धेरै टुप्पीहरु सगर्ब स्वस्थानमा थिए । ललाट र चंदनहरुको उसले चित्त बुझाउन सकेको थिएन । पुरेत्याईसंग उसले बिद्रोह गरेको थियो । छुवाछूत र जातपातसंग सम्बन्ध बिच्छेद भैसकेको थियो । उसले गायत्री चिनेको थिएन । उसले हरे कृष्ण हरे राम जानेको थिएन । उ जहाँ थियो म्लेच्छ्यको उपाधी सहित अल्पमतमा थियो र जहाँ आईपुग्यो काठाको उपमासंगै अल्पमत मै रहयो । उ र उसका जस्तै धेरै थोक पछाडी छोडेर आएकाहरु सहधर्मीहरु जो हिजो यात्रा सुरु गर्दा आर्य र मंगोल थिए । छुत र अछुत थिए । चुच्चा र थेप्चा थिए । उभो र उधोका थिए । ती सबै अनाथ भए । मानिस मात्रै रहने तिनको महत्वकांक्षा अपुरो रहयो । ती सबै बर्तमानमा बन्दी बनाईए । गद्दार र जातीद्रोहीको तातो त्रिशुलले डामिन ती उसंगै अभिषप्त भए ।
तरपनी उ इतिहासको ओरालो झर्न चाहेन । उ भिडको अंश हुन चाहेन । तर उसले देख्यो उसको कांटीको जनै मात्र कांटीमा यथा स्थानमा छ । अरु थुप्रै सिउरीएका जनैहरु ओरालो लागेर कांध कांधमा सुशोभित भई सकेछ्न । थुप्रै टुप्पीहरु पुनर्निर्मीत भई सकेछ्न । पुनर्जागरणको शंखनादले गुन्जयमान छ बर्तमान, मान्छेहरु आफ्ना गोत्र पहिचान गर्न पात्रोहरु पल्टाउदै छ्न । गायत्री कण्ठ गर्दैछ्न । हरे राम, हरे कृष्ण चर्कोसंग घन्किदो छ । खोपीमा थन्किएको गिता, स्वास्थानी र रामायणका पन्नाहरु एकजुग पछि पल्टिदैछ्न । सम्भत अब गौरक्षा दल खडा होला र बिधालय भन्दा धेरै मन्दिरहरु बन्लान । तर पनि उसको कांटीको जनै काँटीमै उसै गरि झुण्डी रहयो । र उ हिजोको म्लेछ्य अल्पमत मै थियो र आजको काठो पनि अल्पमत मै रहन पुग्यो ।
(स्रोत : Kantipath.com)