कथा : विष्णुमतीका किनारामा

~बाबुराम लामिछाने~baburam-lamichhane

कति वर्षदेखि एउटै टोलमा बस्दै आए पनि ती र म नदी वारिपारिका बासिन्दाजस्तै थियौँ भन्दा पनि हुन्थ्यो । कतैतिर भेट हुँदा एकले अर्कालाई पुलुक्क हेरेर एक धर्सो मुस्कान खेलाउँदै दुगुर्नु नै पर्याप्त हो जस्तो हामी जिइरहेका थियौँ । बितेर गएका सयौँ-हजारौँ दिन असमर्थ भइरहेका थिए हाम्रो धूमिल आकाशमा सूर्यको उज्यालो छिराउन र एउटा आत्मीय संवादमा हामीलाई अभिमुख, उत्सुक गराउन तर आज कुन साहसले हो कुन्नि तिनले मलाई लक्ष्य गर्दै भने- ‘आउनुहोस्, सँगै बसेर चियासिया खाऊँ ।’

प्रातःकालीन भ्रमणबाट सडकको ओल्लोपल्लो किनारामा एकखालको दूरी समातेर र्फकंदै गर्दा तिनको त्यो आवाजले मेरो ध्यान खिचियो । हो कि होइन जस्तो तिनलाई मैले पुलुक्क हेरेँ र आफ्ना पाइला गह्रुँगो गरी तिनीतिर उचाल्दै आफैसँग साउती गर्न थालेँ- ‘यी मान्छेलाई आज के भयो ? कसरी देखे यिनका आँखाले मलाई’ जेहोस् । ती र म नजिकैको रेस्टुराँमा छिरेर प्लास्टिकका कुर्सीमा मुखामुखजस्तो बस्यौँ । हामीबीच सेतो सनमाइका जडित टेबुल बिहानी सूर्यका धमिला किरणमा टाटासहित चम्कन खोज्दै थियो । अलि उता आफ्नो उही अस्तित्व, स्वच्छता र पवित्रताको स्मरण गर्दै विष्णुमतीले बाफ छोड्दै थिइन् । पश्चिमतिर स्वयम्भूको स्वणिर्म जलप सुनै हो कि जस्तो टल्कँदै थियो । आकाशमा गिद्ध र काग उडिरहेका थिए । चराहरूको चिर्बिराहट सट्टा वाहनहरूको कर्कश ध्वनि कानमा पर्दै थियो । तुँवालो र प्रदूषणले आकाश आच्छादित थियो । हावा तीखो दुर्गन्ध बोकेर दौडन विवश थियो । आफूप्रति भएको ज्यादती व्यक्त गर्ने ठाउँ कहीँ नभए जस्तो उहिल्यैदेखि अमिलिँदै गरेको काठमाडौँ उपत्यका एउटा ठूलै प्रयोगशालाजस्तो प्रतीत भइरहेको थियो ।

‘स्वयम्भूको हरियालीभन्दा स्वणिर्म जलप बढ्ता देखिने किन होला ?’ कताकता नियाल्दै तिनले आवाज निकाले ।

मेरो ध्यान तिनको भेषभूषा, आकृतिमा थियो- नीलो ट्रयाकसुट, कटराइजको कैलो क्याप, दम्भगर्भित जीउडाल, अनुदार प्रकृतिका ओठ, मध्यमखालको नाक, डल्लेडल्ले अनुहार, लालिमायुक्त आँखाका नानी, औसत उचाइ, यस्तै चालीस-बयालीसको उमेर- त्यतिविधि उघ्रेको व्यक्तित्वका लाग्दैनथे ती तर तिनको शब्दविन्यास कल्पनाशील प्रकृतिकै थियो । दुर्गन्धपान गर्दै बिहानबिहान हिँडडुल गर्नुपर्ने बाध्यताले मलाई जस्तै तिनलाई पनि यतातिर ल्याउँदो होला भन्ने अनुमान गर्दै मन नलागी नलागी आफ्ना शब्दहरू खेर फाल्न थालेजस्तो म बोलेँ- ‘कृत्रिम टलकमा झट्ट ध्यान जाने भएर होला कि’

केही तौले झैँ घच्चीका आँखाले तिनले मलाई हेरे ।

आँखा जुधाउँदै चिनी नहालेको चिया मैले घुटुक्क निलेँ ।

‘तपाइँको ओरिजिन…?’

तिनका अनुहारमा आफू काठमाडौँको हुँ भन्ने कुनै पाल्तु चीज देखापर्दै थियो । म बोलिनँ ।

‘नुवाकोट हो ?’

बोलिहाल्नुपर्ने कारण मैले देखिनँ ।

‘मेरो अनुमान प्रायः सही हुने गर्दैन ।’

‘के गर्नुहुन्छ र तपाइँ ?’

‘राजनीति ।’

खिस्रिक्क परेँ म । विगत पचास वर्ष यता राजनीति गर्नेहरूसँग गरेको सङ्गतले निराश नबनाई छाडेको कुनै त्यस्तो हृदयस्पर्शी सम्झना मसँग रहेनछ । दुःखपूर्वक त्यसलाई मनन गर्नु पर्दा म विस्मित् भएँ । समय, स्थान र शिष्टाचारको ख्याल गर्दै भनेँ- ‘टी.भी.सिभीमा त्यसरी देखेजस्तो त लाग्दैन, भिजुअलको जमाना, त्यसमा पनि राजनीति र राजनीतिक बलिदानको अवसरबाहेक अरू के नै छ र भने जस्तो लाग्ने यति बेलाको नेपालमा ‘

‘तर मेरी श्रीमती मोनिकाले मौकामा मलाई बाँदरको पुच्छर लौरो न हतियार भन्दै नहियाएको दिन हुन्न ।’ अलि दुःखितझैँ देखिए ती ।

तिनलाई मैले अलि गडेर हेरेँ । किन हो ममा तिनीप्रति नजानिँदो रुचि जस्तो केही चीज जागेर आयो । प्रतिक्रिया जनाएँ- ‘त्यस्तो भइरहन सक्नु पनि कम्ताको कुरा होइन होला नि त ?’

‘पत्रकार त होइन तपाइँ ?’

‘म प्राध्यापक ।’

‘मोज छ लौ तपाइँलाई’ अलि गम्भीरजस्तो हुँदै अड्कलीअड्कली तिनले भने- ‘हप्ता दसदिनमा एकाध क्लास लियो, त्यसपछि जता जाँदा पनि भयो, जे गर्दा पनि भयो । अरू के के गर्नु हुन्छ नि तपाइँ ?’

‘के भनेका हुन् यिनले’ भित्रभित्रै अलि छचल्किदै तिनका तिनै बिझाउने आँखा हेर्न म विवश भएँ ।

यति बेलै बिहान सात बजेको जनाउ दिँदै कुनै एफएमले चिच्याउन थाल्यो- ‘क्याम्पसमा आगजनी, अस्पतालमा ढुङ्गामुढा , मध्यतराईमा पहाडीहरूको उठीबास ् दलहरूबीच ख्यालठट्टा। ‘

कुनै नौल्याइँ थिएन । उही बर्बरतामा मान्छेहरू झिल्सिइरहेका थिए । त्यसमा उदेक मान्नुबाहेक के गर्नु थियो र । त्यस्तै के के कुरा अनुहारमा झुण्ड्याएर चियाका कप टेबुलमा राख्दै पसले फुसफुसाए- ‘अति हुन थाल्यो त’

‘ओझेलका कैयौँ कुरा अब आश्चर्यलाग्दा रहने भएनन्’ लौरो न हतियारले लेग्रो ताने, एकप्रकारले प्रफुल्लजस्तै देखिए ती, मानौँ तिनका लागि निकै रंगलाग्दा कुरा हुन् यी सब ।

मलाई खपिनसक्नु हुन थाल्यो । पहिले विष्णुमती र पछि तिनलाई हेर्दै म बोलेँ- ‘तपाइँको भूमिका ?’

‘त्यस्तोमा हामी ओझेलमा रहने भन्ने प्रश्नै आउँदैन । त्यसो गर्न थाल्यौँ भने त कहाँ हराइन्छ कहाँ प्रोफेसर साहेब हराउनकै लागि राजनीति त गरिँदैन ।’ तिनमा लाज, सङ्कोच, ग्लानिजस्ता कुनै कुरा थिएनन् ।

‘अरूका पीडामा कतिञ्जेल रमाउनु हुन्छ ?’ भित्रभित्र चिच्याए पनि बाहिर मैले संयम देखाएँ ।

‘त्यो त राजनीतिको एक कौशल हो । कसले कति हत्या गर्न सक्छ, कसले कत्तिको विध्वंस र उपद्रव मच्चाउन सक्छ त्यसकै आधारमा शक्तिको पहिचान हुने गरेको के थाहा छैन र तपाइँलाई ? देख्नुहुन्न कस्ताकस्ता मान्छेहरू कहाँकहाँ छन्् राजनीति बृहत् र व्यापक चीज हो नि त त्यसको सौन्दर्य पनि त्यस्तो हुने नै भयो ।’

म बोलिनँ । आफ्नै जीवनकालका अनेकौँ प्रसङ्गहरू मेरा दृष्टि-स्मृतिमा चित्रित, प्रतिबिम्बित नभई रहेनन् । राजनीति वा सत्ताको कुनै न कुनै आवरणमा मान्छेले मान्छेलाई पुर्‍याएको पीडा असहृय थियो । पश्चाताप, ग्लानि, सुधारको सङ्केत भन्ने कुरा त कहाँ हो कहाँ के भयौँ हामी ?

‘हामी त यस्तैउस्तैमा बूढा हुन थाल्यौँ तर अब केटाकेटीहरूले कहाँ गएर सास फेर्ने हुन् ?’ पसलेले भित्रैदेखि आफूलाई निचोर्दै ल्याए ।

‘विदेश’ लगभग बर्बराएँ म, व्यर्थमा ।

‘तपाइँलाई के छ र । कहाँदेखि यहाँ आएर अरूको भाग खोस्नु भएकै छ ।’ उनै राता बिझाउने आँखा तिनले मतिर तरे ।

‘राजनीति गर्छु भन्नेले जे बोल्दा पनि हुने, जे गर्दा पनि हुने भइसक्यो ?’ यति मात्र भन्न सकेँ मैले ।

‘अझै सन्देह छ ? कुन दुनियाँमा हुनुहुन्छ तपाइँ ? हेर्दा त समकालीन जस्तो देखिनु हुन्छ ।’

यति बेलै हाम्रो ध्यान बाहिरको होहल्ला र भागदौडतिर मोडियो । कहाँ के भयो भन्ने एक जगजगीसँगै हामी जुरुकजुरुक हुन पुग्यौँ । पसले वाल्ल पर्दै थिए कि स्वाँस्वाँ र फ्वाँफ्वाँसहित मेरा मित्र अंगद एक वेगले त्यहाँ छिर्न आइपुगे । ‘बाटोमा कुन सुरमा हिँड्दै थिएँ, ढुङ्गामुढा हुन थालिहाल्यो, कसो टाउको झुकाउने बुद्धि आएछ, नत्र त यो टाउको’ आफ्नो टाउको छाम्न थाले तिनले । सन्त्रासमै पनि हामी हाँस्न थाल्यौँ । केहीछिनमै वातावरण क्रमशः भिन्न हुँदै आयो । मान्छेहरू अब आफ्नै पारामा हिँडेका देखिन थाले । एम्बुलेन्सको भयोत्पादक ध्वनि घरिघरि आइरहृयो । हामी पनि एउटाएउटा कुर्सी समातेर गोलबद्ध बस्यौँ । ‘परिचय आदानप्रदान गरौँ’ मैले भनेँ- ‘म गोपी, उहाँ मेरा मित्र अंगद, सरकारी उच्च अधिकृत हुनुहुन्छ । उहाँ चाहिँ… हामी दुवै एउटै टोलनिवासी, कति वर्षमा आज चिनापर्ची गर्दैछौँ ।”म एक राजनीतिक कार्यकर्ता, अहिले त म लौरो न हतियार जस्तै छु ।’ आँखासाँखा चम्कंदै थिए दुवैका । ‘आजका कार्यकर्ता नै भोलिका प्रधानमन्त्री, मन्त्री अब त राष्ट्रपति हुने दिन पनि आए । कत्रो आशा र सम्भावनामा हुनुहुन्छ तपाइँहरू’ हात मिलाउँदै अंगदले यस्तो उद्गार निकाले । अलिक खुकुलो अनुभव गर्दै हामीले केहीबेर एकार्कालाई पल्याकपुलुक हेरिरहृयौँ ।

बोल्न निकै खसखस लागेझैँ अलिक तन्केर कार्यकर्ताले भन्न सुरु गरे- ‘हेर्नुहोस्, यहाँ कति बेला के हुने हो, के कता पर्ने हो, को कता पुगिने हो केही ठेगान छैन । उहाँ पनि मौकैमा आइपुग्नु भयो । यसै त हामी काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ उहिल्यैदेखि कहाँकहाँ अल्झिरहेका, अलमलिइरहेका छौँ । खास कुरा के भने बाहिर जे जस्तो देखिने गर्छ भित्र त्यो त्यस्तै भेटिँदैन । बाहिरफेर जे बोलिन्छ भित्रबाट त्यसरी बोलिएको पनि पाइँदैन । भित्रभित्रै के के भइरहेको हुन्छ केके । जालझेल, षड्यन्त्र र कपटका अनेक खेलहरू- जति बेला पनि एउटा न एउटा बिगबिगी र सन्त्रास व्याप्त रहेकै छ यहाँ । कति बेला को कुन भूमिकामा देखा पर्ने हो पत्तै हुँदैन । हत्या, हिंसाका अनेक शृङ्खला त्यस्तै त्यस्तै भूमिकाका उपज हुन्भन्दा फरक पर्दैन । नियालेर हेर्दै ल्याउँदा एकछिन अघि जे देखिएको हुन्छ एकछिनपछि त्यो त्यस्तै रहिरहँदैन । सम्मुख पर्दा नपर्दै, सामना गर्ने अवस्थासम्म पुग्दानपुग्दै रूप, आकृति सब बदलिइसकेको हुन्छ । यस्तोमा सामना गर्नेले के सामना गर्ने ? संवाद गर्नेले कोसँग संवाद गर्ने ? सहमति कससँग गर्ने ? केमा सहमति गर्ने ? कसले कसलाई के दिने ? कोसँग कसले के लिने ? सबै कुरा जब गर्ल्यामगुर्लम भइसकेका छन् । यस्तोमा जसको शक्तिले जता तान्छ त्यतै हुत्तिनु पर्ने पो हो कि ? यति बेलाको चिन्ता यही हो । बरु यही मौकामा तात्ताता पकौडा खाऊँ कि ?’ अंगदतिर सोझिँदै थिए तिनका आँखा ।

‘तपाइँंको चिन्ता त परिचित चिन्तनकै धङधङीजस्तो लाग्छ नि ?’ अंगदले टिप्पणी गरे ।

‘तपाइँ कम्युनिस्ट हो र ?’ तिनले वाहियात प्रश्न गरे ।

अंगदले हाँस्दै भने- ‘उहिले पञ्चहरूले मलाई इतर भनेर खेदो गरे, प्रजातन्त्र आयो, काङ्ग्रेसीहरूले कम्युनिस्ट भनेर खेदो गरे, अहिले लोकतन्त्र, गणतन्त्र आएको छ, कम्युनिस्टहरूले काङ्ग्रेसी भनेर खेदो गरिरहेका छन् । म के हुँ भन्ने कुरा मैले भनेर हुने भयो र ?’

‘कतै नलाग्ने मान्छेलाई त …’ पकौडाका प्लेट राख्दै पसलेले सहानुभूति दर्शाउन खोजे ।

विचारमग्नजस्ता कार्यकर्ताले पकौडातिर आँखा लगाउँदै भने- ‘यत्रो पढेलेखेको मान्छेको आफ्नो कुनै आइडेन्टिटी छैन ?’ मतिर मुखातिव हुँदै तिनले समर्थन खोजे- ‘के हो प्रोफेसरसाहेब ?’

‘अंगदजीको दृष्टि मानवीय हुनु अर्घेल्याइँ हो जस्तो त मलाई लाग्दैन ।, मैले पकौडा मुखमा हालेँ ।

यथार्थ के भने यस्ता कुरामा आफ्नो अभिमत प्रकट गर्ने छुट हामीलाई हुँदैन महोदय ।’ उस्तै मुस्कान खेलाउँदै अंगदले भने- ‘उहिल्यैदेखि परीक्षणका अनेक प्रक्रियाबाट हामी गुज्रँदै आएका छौँ । जहाँ पनि र जति बेला पनि अरूले खोजे जस्तो भइदिनु पर्ने, आफूजस्तो भएर नहुने नवीन मान्यताले गर्दा आफ्नो अस्तित्व लगभग बिर्सिसकेका छौँ हामीले । आफूूले गरेको जति कर्तव्य अरूले गरेको जति अपराध भन्ने एकखालको मनोविज्ञानले ग्रस्त पारिराखेको छ यति बेला हामी नेपालीहरूलाई ।’

‘कर्मचारीका पनि संस्थाहरू छन् नि त ?’

‘अँ, मौकामा तिनले आफ्नो परिचय दिइरहेका छन् ।’

ती दुवै पकौडा र अरू केके कुरामा अल्झे । म भने कताकता दृष्टिपात गर्दै मनमा कुरा खेलाउन थालेँ- कस्ताकस्ता व्यर्थका, बेतुकका हास्यास्पद कुरा पनि मान्छेको जीवनसँग जोडिँदै आएका छन् । अचम्म त के भने तिनले मान्छेलाई मृत्युको मुखसम्म धकेलिरहेका छन् । मानौँ ती जीवनका अपरिहार्यता हुन्, तिनका लागि मर्नु मानौँ जीवन र मृत्यु दुवैलाई गौरवान्वित तुल्याउनु हो तर जीवनका जुन साँच्चैका अपरिहार्यता छन् ती कसैसँग कुनै प्रकारको साइनो, सरोकार, चिनजान नभएजस्तो ओझेलमा कतै गौण, उपेक्षित हुन पुगेका छन् । समय बित्दै जाँदा एकदिन जब यस्तो तथ्य खुल्ला त्यति बेला मान्छेहरूलाई त्यसले निश्चय नै दुःखित तुल्याउने छ ।

‘त प्रोफेसरसाहेब किन केही भन्नुहुन्न ?’ तिनको अनुहार अलि उज्यालो र आँखा हँसिला देखिए ।

‘के भनूँ खै म कुनै सीमाभित्र अटाइरहनै सक्तिनँ ।’ मैले तिनलाई हेर्दै भनेँ- ‘अघि भर्खरै तपाइँले जालझेल, षड्यन्त्र, कपटका केके कुरा गर्नु भयो, म ती कुनैमा पनि सामेल छैन । हत्या, हिंसा, षड्यन्त्र… आदिको अनुयायी म थिइनँ, छैन र हुन पनि सक्तिनँ । आफूलाई थाहै नभएका, आफ्नो मनमा कहीँ हुँदै नभएका, आफूले कल्पनासम्म नगरेका कुराहरूलाई यी मेरा सम्पदा हुन्, यी मेरा शक्ति हुन्, यी अद्भूत छन्, यी नै परिवर्तनका वाहक हुन् भन्दै तिनमा जलप लगाउने, मलजल गर्ने काम मैले गर्न थालेँ भने मजस्तो मान्छेले आफ्नै सामना कसरी गरुँला खै ? यसै त खुला आकाशमा उड्ने चरालाई एउटा पिंजडामा हाल्ने र पिंजडामा पनि एउटा बट्टामा सीमित पार्ने के के कुरा गर्दै हुनुहुन्छ तपाइँहरू ।’

‘मतलब पानीमाथिको ओभानो बन्न चाहनु हुन्छ तपाइँ ?’

‘हामी सबै अहिले प्रदूषित विष्णुमतीका किनारामा छौँ ।’

‘अनि यो परिवर्तन…?’ तिनको गर्धन तन्कियो ।

‘षड्यन्त्रको उपज हो भन्ठान्दै हुनुहुन्छ तपाइँ ?’ मैले उल्टै प्रश्न गरेँ ।

तिनको गर्धन खुम्चियो, घोरिन थाले ती ।

मैले आफैसँग गन्थनमन्थन गर्न थालेँ- मान्छेको क्रियाकलाप, बोली, व्यवहार नै उसको पहिचान हो । आफ्नो स्वतन्त्र अस्तित्व, त्यसमा अन्तर्निहित स्वच्छता, पवित्रता उसको अभीष्ट हो । यो परिवर्तन त्यही अभीप्साको एक अभिव्यक्ति हो तर यिनी कहाँ अल्झँदै छन् ? आफू इतरको केलाई शक्ति सम्झिरहेका छन् ? कुनै पनि कुरालाई हेर्ने यिनको दृष्टि यतिविधि राजनीति ओतप्रोत किन छ ? किन यिनको ध्यान मानवीय व्यक्तित्व र कृतित्वतिर त्यति गइरहेको छैन ? राजनीतिक सिद्धान्त, दर्शन सधैँ उत्तिकै अपरिहार्य, उत्तिकै ग्राहृय र सर्वोपरि भइरहने कुरा हुन् र ? यति बेलै प्रसङ्गबश मैले अनुभव गर्दै थिएँ- कति यस्ता कुरा हुँदारहेछन् जो आफ्ना नहुँदानहुँदै पनि कहिलेकाहीँ आफ्ना भागमा पर्न आउँदारहेछन् ।

‘तपाइँहरूका गहन र सारगर्भित कुरा सुन्न पाउँदा अघिको त्यो सन्त्रास कहाँ गयो कहाँ ्’ मुस्कुराउँदै अंगदले भने- ‘तर कहिलेकाहीँ हामीले आफूलाई बिर्सिदिन्छौं, हामी मान्छे हौँ भन्ने कुरा नै बिर्सन थाल्छौँ । अनि हाम्रो सामथ्र्य, हाम्रा सारा प्रयास बेकार हुने हुन् कि भन्ने आशङ्का उत्पन्न हुन थाल्छ । त्यसो त हामीले आफ्नो परिचय नदिएका कहाँ छौँ र ?’

त्यसपछि किन हो हामी चुप लाग्यौँ, चिया सुरूपप पार्दै एकले अर्कालाई हेर्न थाल्यौँ, मानौँ त्यहाँ त्यस्तो केही छ जसलाई देख्न आवश्यक छ, साँच्चै, हामीबीच के छ ?

नवलपरासी,
हालः हेटौँडा

(स्रोत : मधुपर्क २०६७ असार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.