~निर्मला पुतुल~
अनुवाद : मनोज बोगटी
त्यसै त काली
भित्रबाट चम्किने सेतो दाँतजस्तो
मलिन हुन्छ उ।
कोमल हुन्छ उ।
जब हाँस्छ उ
फिनाइल-दूध
पोखेजस्तो
निश्चल हाँसो
झर झर गर्दै गर्छ पहाडबाट
मिठो पानी
आह, क्या दामी हुन्छ
उसको जिन्दगानी।
हातमा बीऊ बोकेर उभिन्छिन् जब
मादलको तालमा असमय आँउछ
बसन्त
र बज्छ एउटा सुन्दर
तरूणीजस्तो मादक गीत।
खेतमा
बाली रोप्दै-उठाउँदै जब गीत गाउँछे
भुल्छ जिन्दगीको सम्पूर्ण पीडा
भुल्छ दुःख
भुल्छ आँशु।
यसो भनिन्छ।
आदिवासी केटीको बारेमा
खै कसले
बोलेको हो यसरी उसको परिचयमा
यति ठूलोठूलो,
गह्रौ गह्रौं झुठ
कसले बोलेको हो?
निश्चय पनि उ हाम्रो जमातको
ठूलोठाला मानिस होलान्
जो सत्यलाई गोजीमा हालेर
झुठको व्यापार गर्छन्
कि त पक्कै पनि
यस्तो कवि हो उ जो
शब्दलाई झुटको भारी बोकाउँछ
र
गर्छ कविताको यात्रा
हो कि त हो त्यो
पक्कै पनि
दिमागी विकलाङ्ग कवि।
( झारखण्डकी आदिवासी कवि निर्मला पुतुलको कविता )
