~मोहनराज शर्मा~
घडीले दस बजाएपछि ऊ ढल्किँदैढल्किँदै आएर सात नम्बरको बेन्चमा बस्यो । सार्वजनिक थलो ‘खुला उद्यान’को त्यो बेन्च पनि सार्वजनिक नै थियो । त्यहाँ भुइँमा खुट्टो गाडेर अड्याइएका अरू पनि थुप्रै बेन्च थिए ।
खुला उद्यानको विशाल हातावरिपरि पसलैपसल रहेकाले त्यहाँ सदाकाल चहलपहल भइरहन्थ्यो । हाताभित्रको ठूलो फाँटमा पनि बडाबडा दुईवटा मण्डप थिए† जसमा सभा, सम्मेलन, मेला, प्रदर्शनी आदि चल्थे । यतिखेर मण्डप दुईमा ‘टक मेला’ चलेको थियो ।
चहलपहल र न्यानो घामका कारण उसलाई सात नम्बर बेन्चमा एक्लै दिन कटाउन गारो पर्दैनथ्यो । स्वास्नी र छोरी नहँदाको रित्तो कोठा उसलाई टोक्न दौडिन्थ्यो ।
प्रश्न—ऊ भनेको को हो ?
उत्तर—ऊ भनेको निम्न वेतनभोगी कर्मचारी शक्तिराम हो, जसले एक महिनाअघि मात्रै अनिवार्य अवकाश पायो ।
दस बजेतिरको जुन समयमा ऊ निरन्तर तीस वर्षदेखि दर्ताचलानी फाँटको कुर्सीमा बस्न पुग्थ्यो, त्यही समयमा यता एक महिनादेखि सात नम्बर बेन्चमा थन्किन
आउँथ्यो । कहिले यो विभाग र कहिले त्यो विभागको दर्ताचलानीमा काम गर्दागर्दै सेवा अवधिले तीसवर्षे नेटो काटेको हुँदा अठचालीस वर्षकै उमेरमा एक महिनाअघि ऊ जागिरबाट बाहिरियो ।
वर्षौंवर्षको बानी भएको हुँदा अवकाश पाएपछि पनि ऊ पूर्ववत् आठ बजे खाना खान्थ्यो, नौ बजे लुगा लगाउँथ्यो र साढे नौ बजे कोठाबाट बाहिर निस्किन्थ्यो । जागिर छउन्जेल ऊ दस बजे कार्यालयमा रुजु हाजिर हुन पुग्थ्यो, तर अवकाश पाएको भोलिपल्टैदेखि ऊ आफ्नी हलुका पोलियोग्रस्त छोरीलाई डोर्याएर विद्यालय पुर्यउन जान लाग्यो । त्यसपछि कतै जाने ठाउँ नभएर ऊ त्यही सात नम्बरको बेन्चमा टाँसिन पुग्थ्यो ।
बेन्चमा बसेको लगत्तै पछि उसले खल्तीबाट फोटो झिकेर केहीबेर नियाल्यो र मुखबाट तात्तातो बाफ निकालेर सुस्केरा हाल्यो, ‘हा चन्द्रु, तिमी कता ?’ अनि उसले त्यो फोटो कसैको आँखा लाग्छ कि जस्तै गरेर झट्ट खल्तीमा लुकायो ।
प्रश्न—चन्द्रु को हो ?
उत्तर—शक्तिरामकी स्वास्नी चन्द्रु अर्थात् चन्द्रमुखी चालीसतिर पुग्न लागेर पनि तीसभित्रकी पठ्ठ जस्ती लाग्ने, एक छोरीकी आमा भए पनि जीउ नबिग्रेकाले कोरेली घोडी जस्ती देखिने, बडाबडा आँखामा गोरिल्ला छापामारको जस्तो जुझारु आक्रामकता टल्किने, घूस नखाएबापत लोग्नेसँग गृहयुद्ध गरिरहने र लोग्ने रिटायर भएकै दिनदेखि हराइराखेकी एक रूपवती महिला हो ।
फोटो खल्तीमा राखेपछि ऊ सात नम्बर बेन्चमाथि तन्नाझैं ओछियो र मुख आँ गरेर न्यायो राप फोक्सोभित्र तान्न थाल्यो । कोही आएर बस्न खोज्दा आफू समेटिएर उसले आगन्तुकलाई ठाउँ दिन्थ्यो अन्यथा तीन बजेसम्म दुवै गोडा पसारेर ऊ लम्पसार परिरहन्थ्यो । त्यसबीच ऊ एकपल्ट मुत्न र तीनचारपल्ट खैनी माड्न उठ्थ्यो ।
छेउछाउ नारी आवाज सुन्दाचाहिँ ऊ आँखा उघारेर चन्द्रमुखी आएकी हो कि भनी पल्याकपुलुक हेथ्र्यो । उसलाई देख्न नपाउँदा रिसले प्याच्च खैनी थुकी फेरि आँखा चिम्लिन्थ्यो ।
प्रश्न—ऊ त्यहाँ तीन बजेसम्म मात्र किन बस्थ्यो ?
उत्तर—एक महिनाअघि चन्द्रमुखी बेपत्ता भएदेखि पोलियोग्रस्त छोरीलाई घर ल्याउने कामसमेत थपिएकाले ऊ तीन बजे बेन्च त्याग गरेर विद्यालयतिर लाग्थ्यो ।
उद्यानमा आएदेखि बेन्चमाथि उत्ताना पसारिएर मीठो रापमा उसले आफूलाई सुपारीपाक बनाएको एक डेढ घन्टा भयो । घमाइलो आनन्दको त्यस रमाइलो क्षणमा अकस्मात् एउटा कुकुर आएर उसका कानमै भुक्यो । उसलाई त्यसको भुकाइ अचम्मको लाग्यो, जिउँदो कुकुर होइन कर्कश मेसिन बोलेजस्तो । त्यसले तारन्तार भुकिरहेपछि झर्को लागेर उसले गालीको लबज काढ्यो, ‘माम्पाखा, चुप् ।’
कुकुर तैपनि चुप नलागेको हुँदा ऊ त्यसलाई धपाउन जुरुक्क उठेर बेन्चमा बस्यो, तर कुकुर देखेर उसले जिल खायो । त्यो कुकुर हाडछालाको नभई स्टिलको थियो, एकदमै चिल्लो, चम्किलो र अजङ्कको । त्यसको सोभैm आकाशतिर ठडिएको पुच्छरमा केही लेखेर टाँसिएको थियो । अझै अचम्मचाहिँ के थियो भने त्यसका जीउभरि राता, हरिया, पहेँला बत्तीहरू बल्ने र निभ्ने गर्थे । त्यो कुकुर उसलाई संसारमै नभएको कुकुर जस्तो लाग्यो ।
प्रश्न—कुकुरको पुच्छरमा के लेखेर टाँसिएको छ ?
उत्तर—लेखिएको छ, ‘सूचना, सूचना, सूचना ! मण्डप दुईमा लागेको ‘टेक मेल’को प्रचारार्थ डुलाइएको यस रोबट कुकुरलाई कसैले नछुनू, नचलाउनू, नजिस्क्याउनू । छोयोचलायो भने टोक्छको प्रचारार्थ डुलाइएको यस रोबट कुकुरलाई कसैले नछुनू, नचलाउनू, नजिस्क्याउनू । छोयोचलायो भने टोक्छ । सावधान, सावधान, सावधान !
कुकुरले आफ्ना बल्ढ्याङ्ग्रा जस्ता बडाबडा आँखामा पहेँला बत्ती बालेर उसतिर हेर्यो र बिस्तारै भुक्यो । भुक्ता त्यसका पिठ्यूँमा ठूलो रातो बत्ती झलल्लै बल्यो । ऊ मुत्न जान भनी बेन्चबाट उठ्न लाग्दा उसको ध्यान त्यतैतिर तानियो । त्यहाँ एउटा सानो खुत्रुक्के पुक्क माथि उठेको थियो । खुत्रुक्केमा पैसा छिराउने प्वाल पनि थियो ।
कुकुरको पिठ्यूँमा ठूलो जुरोझैं मास्तिर उक्सेको खुत्रुक्केमा मसिनो अक्षरले केही लेखिएको हुँदा उसले खल्तीबाट पढ्ने चस्मा झिकेर नाकमाथि भिर्यो र लेखेका कुरा पढेर छक्क पर्यो । उसले मुत्न जान बिर्सेर खल्तीमा हात छिरायो र पाँचको नोट बाहिर झिक्यो । त्यसपछि उसले नोटलाई पट्याएर सानो बनायो ।
प्रश्न—खुत्रुक्केमा के लेखिएको छ ?
उत्तर—लेखिएको छ, ‘यहाँ पैसा खसाऊ र आफूले मनमा चिताएको सामान पुच्छरमा पाऊ ।’
पट्ट्याएर ठिक्क पारेको पाँचको नोट उसले खुरुक्क खुत्रुक्केको प्वालमा छिरायो । स्वास्नीले जतिखेर पनि एउटा छाप्रोसम्म ठड्याउन नसक्ने खाते भनेर उड्किने गरेको सम्झी उसले मनमनै सानोसानो बङ्कला चितायो । कुकुरभित्र चर्को खलबल र घ्यार्रघुर्र भएपछि टीँटीँटीँको आवाज निकाल्दै त्यसको पुच्छर अङ्ग्रेजीको ‘नो’ शब्द पिलिकपिलिक बालेर बेसरी हल्लियो ।
कुकुरका पहेँला आँखा झट्ट राताराता भएर बलेका हुँदा उसलाई डरडर पनि लाग्यो । माछा मार्न जाल हाल्दा विषालु सर्प बल्झेर आएझैं उसको मुटु ढक्क फुल्यो ।
प्रश्न—कुकुरको पुच्छर किन ‘नो’ शब्द बालेर हल्लियो ?
उत्तर—खुत्रुक्केमा छिराएको दामभन्दा चिताएका मालको मोल बढी भएर त्यसो भएको हो ।
बङ्गलाभन्दा कम मोलको सामान के होला भन्ने सोच्तासोच्तै उसले अपाङ्क छोरीका लागि ह्विलचेयर लिनुपर्यो भन्ने ठानी दोस्रो पटक त्यही चितायो । त्यसका साथै कुकुरभित्र गड्याङगुडुङ भएर मेसिन चलेको आवाज आयो र टीँटीँटीँ गर्दै पुच्छर हुन्न भन्ने अर्थमा हल्लियो । अनि उसले आफूलाई तिर्खा लागेको जस्तो अनुभव भएको हुँदा पानी चितायो । कुकुरको पेटभित्र सर्र मेसिन चलेको आवाज आयो र पुच्छरका टुप्पाबाट प्लास्टिकको सानो गिलासमा कञ्चन पानी फुत्रुक्क बाहिर आयो ।
प्लास्टिकको लुलोलुलो गिलास उसले हलुकासँग समायो र थोपै नराखी जम्मै पानी सारै स्वादले खायो । अनि गिलास कच्याककुचुक पारेर फाल्दै एक महिनादेखि स्वास्नी गिजोल्न नपाएको रनाहामा बरबरायो, ‘चन्द्रे, तँ कता अन्मरिस् हँ !
प्रश्न—स्वास्नी गिजोल्न नपाउँदा ऊ किन त्यसरी बरबरायो ?
उत्तर—ऊ जतिखेर पनि यौनेच्छा भइरहने अत्यन्त कामुक वर्गको व्यक्ति थियो ।
ऊ त्यसरी बरबराउँदा स्टिलको कुकुर यन्त्रझैं हिँडेर छ नम्बरको बेन्चमा पुगी भुक्न थालेको थियो । त्यहाँ बसेका केटाकेटीहरूले रौसिएर खुत्रुक्केमा पैसा हाली चकलेट, कुरकुरे, आइसक्रिम आदि खाए । कुकुर छ नम्बर बेच्नबाट अघि लाग्न नपाउँदै केही सोचेर ऊ खुर्र कुद्यो र पाँच नम्बर बेन्चमा बसेर त्यसैलाई कुरिरह्यो ।
कुकुर छ नम्बरबाट हिँडेपछि पाँच नम्बर बेन्चमा पुग्नुअघि कताकताबाट कुद्दै आएर एउटी काली कुकुर्नी त्यसको बाटो छेलेर बेसरी भुक्न लागी । भुक्ताभुक्ता कुकुर्नीले स्टिलको कुकुरका नाकमा आफ्ना पुच्छरले झ्याप्पझ्याप्प हान्दै रडाकोपूर्ण चर्तिकला गरिरही । त्यसको कत्ति वास्ता नगरी प्रतिक्रियाहीन भएर स्टिलको कुकुर लुरुलुरु अघाडि बढ्यो ।
कुकुरको त्यो चाला देखेर उसले मनमनै गम्यो, कुकुर्नीले स्टिलको कुकुरलाई धीरललित नायक देखेर अभिसारका लागि प्रस्ताव राखेकी हो अथवा उसकी स्वास्नी चन्द्रमुखीझैं युद्धको आह्वान गरेकी हो ।
प्रश्न—कुकुर्नीको वास्ता नगरी स्टिलको कुकुर किन अघि बढ्यो ?
उत्तर—त्यो रोबोट कुकुर यन्त्र भएकाले त्यसमा चेतन प्राणी जस्तो भावना र आवेग थिएन ।
काली कुकुर्नीको चर्तिकलाबारे गम्दागम्दै ऊ फ्ल्यासब्याकमा गयो । फ्ल्यासब्याकमा समयको सियो उल्टो घुम्यो र उसका कोठाको दैलो देखियो । दिनभरि जागिरको धामा बेहोरेर ऊ सस्तो भाडाको बतास न उज्यालो छिर्ने आफ्ना कोठामा पस्नुअघि केहीबेर दैलामै त्रस्त भएर
उभिन्थ्यो । त्रस्त भावले उभिएपछि पस्नुपर्ने कारण के थियो भने कोठाभित्र स्वास्नीसँग जम्काभेट हुनासाथ उसले एउटा सङ्गष्टपूर्ण गृहयुद्धको सामना गर्नुपथ्र्यो । अरू दिनझैं त्यस दिन पनि छोरीको पोलियोग्रस्त खुट्टामा तेल घसेर बसेकी स्वास्नी उसलाई कोठाभित्र छिर्दै गरेको देख्नासाथ आफ्ना कपालमा सिउरेको बडो काइँयो हातमा लिएर चम्काउँदै छेउमा आई युद्धारम्भको मङ्गलाचरण गाउन थालिहाली, ‘ए शक्ति, तिमीसँगै काम गर्ने त्यो हरिकङ्काल जगमानेले पनि हिजो घडेरी किनेछ, तिमी कहिले किन्नर ?’
‘था छैन चन्द्रु !
‘हरे शक्तिराम, तिमी कस्ता परालखुट्टे भन्या, घूससूस खाने नाउँमा थर्ररै काम्छौ ! तिमीलाई रातभरि मेरै मासु खाएर पुग्छ, मैले पो भाडावाल छिँडीमा बसेर जोरीपारीलाई के नाक देखाउनु ! सधैँ सुकुम्बासीको सुकुम्बासी, छ्या ! आफ्नै फुटेको खप्पर, बरु त्यो चुत्थो पिउन गङ्गाधरेले समेत नयाँ बाइक किन्न भ्याएछ ! त्यसले साँझसाँझ अनुहार न दनुवारकी स्वास्नीलाई पछिल्तिर बसाएर क्या ठाँटले गुडाउन थाल्यो, तिमी म जस्ती राम्री स्वास्नीलाई कहिले पछाडि राखेर गुडाउँछौ भन्या ?’
‘था छैन चन्द्रु !’
‘शक्ति, तिमी त एक नम्बरका पानीआन्द्रे हौ, हातमा परेको बकस पनि मुठी पार्न नसक्ने ! यस्तो जन्मै लाटाबुङ्कासँग जोडी बाँधेर त मेरो कर्मै जल्यो । माथिको आम्दानी भनेको कहिल्यै सुँघ्न पाउनु छैन, आफ्नो त मनको एउटै रहर पनि कहिल्यै नपुग्ने भो, छ्या ! ल छिटो भन, मलाई गहना कहिले किनिदिने ?’
‘था छैन चन्द्रु !’
‘तिमीलाई अरू केही था छैन शक्ति, उही रातभरि मलाई गिजोल्न मात्रै था छ । कस्ता माटाका थास हौ तिमी, सोझो पकाएको तलबबाहेक अरू पैसै नचिन्ने ! सुन ए भुसका थैली, एउटै झुत्रो सारी लगाउँदालगाउँदा मैले आÇनो जवानी खरानी पारेँ, आज त नयाँ कि; बजार जानैपर्छ ! भन कहाँ जाने, ठूलो दोकानमा कि पेटीको पसलमा ?’
‘थाहा छैन चन्द्रु !’
‘थुइक्क पामर !’
स्वास्नीले काइँयाको सारो झटारो हानेपछि विधिवत् युद्ध प्रारम्भ भयो । लोग्नेका निधारमा काइँयाको तीखो दाँतीले खोस्रेर एक थोपा रगत उच्छ्रयो । तत्काल स्वास्नीले छोरीको कपाल लुछेर कोठाभरि रणक्षेत्रको जस्तै तुमुल नादको प्रवाह गराई । यता र उति मिल्काउन थालेपछि कुच्चिएका भाँडाकुँडाहरू पनि मृत सैनिकझैँ कोठाभरि छरिए । उसले सेनापतिझैँ ठूलो स्वरमा हाँक पारी, ‘ए पानीमरुवा, तिमी स्वास्नीका लागि एउटा नयाँ सारी पनि कि; सत्तैmनौ भने यो थोत्रो मजेत्रोसमेत आफैँसँग राख !’
अब गृहयुद्ध चर्केर चरमतिर लागेको उसलाई भान भयो । स्वास्नीले आङको सारी फुकालेर गुटुमुटु पार्दै उसको खुइलेको टाउकामा शक्तिशाली बमझैँ बजारी अनि उसले जीउबाट चोलो काँचुलीझैँ छोडाएर उसका छातीमा हातेगोलाझैँ फाली । त्यसपछि उसले थोत्रो पेटीकोट झिकेर उसका मुखमा तोपको गोलाझैँ हानी । त्यति बाहेक अरू भित्री लुगा लगाउन कहिल्यै नजुरेको हुँदा ऊ सर्वाङ्क नाङ्किएर महान् विजेताझैँ जितको उन्मादमा काम्दै केहीबेर कोठाभित्र बुरुकबुरुक उफ्री । अन्त्यमा ऊ युद्धको विभीषिका देखेर ग्लानिग्रस्त योद्धाझैँ डाँको छाडेर रुँदै छोरीका ओछ्यानमा ढली । युद्धको यस अन्त्यपछि अब लोग्नेको भूमिका सुरु हुने पालो आयो ।
लोग्नेका रूपमा उसको भूमिका भनेको स्वास्नीलाई फकाइफुलाइ गरी थाम्पुरो लाउनु थियो । ऊ तनमनले त्यसैमा जुट्यो । सबभन्दा पहिले उसले तल्लो वर्गको जीवन यस्तै सकस, अभाव, द्वन्द्व र सङ्खर्षले ग्रस्त हुन्छ भन्ने सनातन मालश्री राग गाएर उसलाई फकिनेतर्फ उन्मुख तुल्यायो । अनि आउँदो समयमा छिट्टै नै गरिबीको निवारण हुने र गरिबको नायकी कायम हुने रिमरिम सपना देखाएर गरिबको पनि सुखसयलका दिन अवश्य फिर्छन् भन्नर ठोकुवा गर्दै उसले स्वास्नीलाई आफ्ना ओछ्यानसम्म ल्यायो । त्यसपछि उसले स्वास्नीको कपाल सुमसुम्याएर उसको मौलिक र अन्तरङ्क नारीलाई जगाउन थाल्यो । टाउकाबाट झरेर देहभूगोलका यात्रामा लागेको उसका हातले कोलम्बसको भूमि छोएपछि त्यस अघिसरा हातलाई ट्याप्प समाएर स्वास्नीले भनी, ‘भो, नफकाऊ ¤ अब म यस घरमा एक दिन पनि बस्तिनँ, निस्केर जान्छु !’
त्यसो भन्दाभन्दै स्वास्नी मुसुक्क हाँसेर अँगालामा पस्नासाथ ऊ गिजोलगाजलतर्पm लाग्यो र उसको फ्ल्यासब्याक पनि सकियो । त्यति खेर पाँच नम्बर बेन्चमा आइपुगेको स्टिलको कुकुर उसैतिर ठाडो घाँटी पारेर बेसरी भुक्तै थियो ।
प्रश्न—उसकी स्वास्नी किन सधैँ गृहयुद्ध गर्थी ?
उत्तर—साँझबिहान टार्न पनि धौधौ पर्ने लोग्नेको छुसी तलबबाट स्वास्नीको कुनै इच्छाआकाङ्क्षा पूरा नहुने हुँदा अतिरिक्त आम्दानीका लागि पोइलाई भड्काउने उद्देश्यले ऊ गृहयुद्ध गर्थी ।
पाँचौँ बेन्चमा आएर भुक्ताभुक्तासमेत अतीतमा अल्झेको उसले केही नसुनेको हुँदा स्टिलको कुकुर अनुहारभित्र क्रोधको रातो बत्ती धपक्कै बालेर चौथो बेन्चतिर लाग्यो । त्यसको रातो अनुहार देखेर ऊ फेरि कटब्याक पद्धतिबाट अतीतसँग जोडियो । एक महिनाअघिको त्यस अतीतमा ऊ अवकाश प्राप्त गरेर मुखभरि अबिर दलिएको रातो अनुहार र बिदाइको खादामाथि खादा भिरेर साँझतिर कोठामा फर्केको थियो । कोठामा स्वास्नीको मुसुमुसु गन्ध पनि थिएन, छोरी एक्लै लुलो खुट्टा सुमसुम्याएर रुँदै थिई । बाबुको बाँदर जस्तो रातो र विरूप अनुहार देखेर ऊ झन् अतालिँदै च्याँठिएर रोई । बल्लतल्ल छोरीलाई चुप गराएर ऊ स्वास्नीको खोजखबर लिने धन्धातिर लाग्यो । छरछिमेकसँग सोध्दा कसैले के भने र कसैले के !
पहिलो फतफतायो—त्यही क्या त्यही पछिल्तिर गोदाम हुने साहूको पाँचतले महल छ, त्यहीँ रानी बनेर बस्छु भन्थिन् । उसैसँग गइन् कि, के जानम् ?
दोस्रो गनगनायो— मैले देख्ता त तिमै्र कोठाछेउको झिल्क साहिँलाका बाइकमा च्याप्प छाती जोरेर बसेकी थिन् क्यार, उसैले फकाएर कतै घुइँक्यायो कि !
तेस्रो बरबरायो—दिउँसो खुब सिँगारपटार गरेर पल्लो घरको नकच्चरासँग गहनापसल हिँडेको भन्थिन्, के उनी अभैm फर्केकी छैनन् र ?
चौथो चुकचुकायो—एउटा अधबैँसेको पाखुरा समाएर सपिङ सेन्टरमा दामीदामी सारी छान्दै र अग्लाअग्ला कुर्कुच्चाका स्यान्डल नाप्तै थिइन् । खोइ बा, त्यसपछि उनी कता लागिन्, था भएन !
जति मुख त्यति कुरा, टुङ्कोचाहिँ केही लागेन । स्वास्नी कहाँ गई भन्ने कुनै पत्तो नलागे पनि ऊ पक्कै फर्किन्छे भन्ने आसमा ऊ छोरी स्याहारेर बस्यो, तर एक महिना बितिसक्ता पनि उसकी स्वास्नी फर्केर आइन ।