~राजीव~
हाम्रो घर ज्यादै पुरानो छ
यसका दलिनहरु
थामहरु
र डाँडाभाटाहरु
झुर्नाझुर्ना भएर कुहिसकेका छन्
छानामा
दलानमा
र जताततै
धमिरा छ्याप्छ्याप्ती छन्
लुगाहरु धोयो
र सफा पार्यो
भरे नै बुर्बुर्ती धुलो खस्छ र कात्ती बनाउँछ
यसो बिस्तारामा सुतेर माथि हेर्यो
आँखाभरि धुलो पर्छ
मिच्दामिच्दा आँखा नै टट्टाइसके
हाम्रो घरको ‘मूल ढोका’ नै खत्तम छ
लगायो उघार्न गाह्रो
उघार्यो लगाउन अप्ठ्यारो
हामीलाई सधैको हतारो ।
ढोका बाह्रै काल बाह्रै मैना ह्वाङ्ग छ
यसको टाउकोमा
‘सबैलाई स्वागतम्’ लेखिएको छ
भनौं के भनौं
नभनौं के नभनौं
ढोकाबाट जो पनि पस्छन्
जो पनि निस्कन्छन्
ढोकाबाट जे पनि लैजान्छन्
जे पनि ल्याउँछन्
ल्याउँदा पनि चुप्
लैजाँदा पनि चुप्
पस्दा पनि चुप्
निस्कँदा पनि चुप्
पस्ने को हो ?
निस्कने को हो ?
अत्तोपत्तो नै छैन
के के ल्याइयो ?
के के लगियो ?
अत्तोपत्तो नै छैन
आफन्त को हो ?
पराई को हो ?
छुट्ट्याउनै नसकिने भो
यो भद्रगोल कहिलेसम्म हो ?
घर भित्र धुलैधुलो छ
हिलैहिलो छ
पानी पर्यो कि घरको छाना चंधारा रुन्छ
कोपरामा पानी थाप्यो कोपरै चुहुन्छ
तसलामा पानी थाप्यो तसलै चुहुन्छ
हुरी चल्यो कि
जिन्दगीलाई डाँडाभाटामा झुन्ड्याउनुपर्छ
आफ्नो घर भनेर के गर्नु !
कहिल्यै ढुक्क भएर बस्न पाइएन
कहिल्यै मन फुकाएर हाँस्न पाइएन
घरमा जता हेर्यो उतै चिरा छन्
प्रत्येक चिरामा मुसाको दरबार
मुसा पनि साना हुन् र !
नसल सुधार गरिएका मुसा
स्वदेशी मुसा
बिदेशी मुसा
भन्छन्, गृहमन्त्रालय यिनैको हातमा छ
भन्छन्, परराष्ट्रमन्त्रालय यिनैको इसारामा नाच्छ
कृषिमन्त्रालय त यिनैको बाबुबाजेको बिर्ता’रे ।
‘नेपालको घन हरियो बन’ यिनैको दर्ता’रे ।
यो घरमा यिनै हर्ता छन्
यिनै कर्ता छन्
यिनै धर्ता छन्
भन्नै नमिल्ने मर्म परिसकेको छ हामीलाई
भन्नै लाजलाग्ने अत्याचारले बलात्कार गरिरहेछ हामीलाई ।
न गति, न प्रगति
न हार, न गुहार
न माया, न ममता
यो घरमा बाँच्न मात्र होइन
मर्न पनि सुख्खले नपाइने भयो
यो घरमा हाँस्न र खेल्न मात्र होइन
रुन र कराउन पनि नपाइने भयो
साँचो कुरा भन्न पाईंदैन
घर झन् झन् कुप्रींदै गयो
झन् झन् थोथ्रीँदै गयो
मुखमा बुझो लगाएर कति दिन झोल्सिने ?
टाउकोमा मृत्यु टाँसेर कति दिन ओल्सिने ?
यस्तो थोत्रो घरमा तपाई निदाउन सक्नुहुन्छ ?
यस्तो थोत्रो घरमा तपाई ‘सुखमय जिन्दगी’ देख्नुहुन्छ ?
खै! मैले त देखिनँ
तराईमा गएर हेरें
त्यहाँ पनि ‘सुखमय जिन्दगी’ छैन
पहाडमा अन्तरकुन्तरमा गएर छामेँ
त्यहाँ पनि सुखमय जिन्दगी भेटिएन
कलाकारका छातीभित्र छ कि भनेर चिहाएँ
अँहँ ! त्यहाँ पनि त्यो देखिएन
किसान र ज्यामीका झुप्रामा गएर हेरेँ
त्यहाँ त झन् मैले दु:खको महासागर नै देखेँ
साँचो कुरो यै हो
यो दु:खको धमिलो दहमा कति दिन डुब्ने हो ?
यो थोत्रो घरमा कसरी निदाउने हो ?
मान्छेको जिन्दगी न हो
कसलाई प्यारो लाग्दैन र !
आफु जन्मेको घर
प्राण भन्दा पनि प्यारो हुंदैन र !
कप्टी र पातकीहरुको कुरा नगरौं
तिनका छातीमा पीप र पाप मात्र छ
तर राष्ट्रभक्तहरुको इतिहास अर्कै छ
तिनमा छातीमा सधैं सधैं अमृत बग्छ
अपत्याए आएर हेर्नुहोस्
हाम्रा छातीमा सयौं सगरमाथा छन्
नपत्याए आएर हेर्नुहोस्
हाम्रा आँखामा कोशी र रोसी बग्छन्
नपत्याए आएर हेर्नुहोस्
हाम्रा प्रत्येक ढुकढुकीमा भक्तिथापाहरु छन्
मान्छेको जिन्दगी न हो
कसलाई प्यारो लाग्दैन र !
आफु जन्मेको घर
प्राण भन्दा प्यारो हुदैन र !
त्यसैले त म भन्दैछु
यो प्यारो जिन्दगीलाई धरापमा पारेर
पुर्पुरोमा मृत्यु टाँसेर
यो थोत्रो घरमा हामी अब निदाउन सक्दैनौं
हामी अब निदाउँदैनौं ।
प्रत्येक मान्छेको छाती भित्र
आशाको एउटा फूलबारी हुन्छ
मभित्र पनि एउटा फूलबारी छ
म मेरो फूलबारीलाई
बिचारका कुटाहरुले गोड्छु
फूलमा प्रत्येक पातसित
म आफ्नो जिन्दगी साट्न चाहन्छु
एक्लै होइन
सयपत्री झैं पत्रैपत्र भएर हाँस्न चाहन्छु
मभित्र एउटा कुत्कुती छ
यौटा रहर छ
नयाँ घरको नयाँ ढोका उघार्ने रहर
यो रहर मेरो मात्र होइन
हामी धेरैको हो
र हामी धेरैको ठहर छ –
पुरानोलाई नभत्काई नयाँ बन्दैन
हुन पनि हो
शिशिर नआई बसन्त आउँदैन
त्यसैले हामी पुरानो घरलाई भत्काउँदैछौं
त्यसैले हामी पुराना पातहरु च्यात्दैछौं
हामी नेपाललाई
नयाँ मुना र कुकुनामा हेर्न चाहन्छौं
हामी नेपाललाई
‘नयाँ नेपाल’मा फेर्न चाहन्छौं ।
गुरुहरु भन्नुहुन्छ –
‘घरलाई भत्काउनु भन्दा पहिले
पुराना बिश्वासलाई भत्काउनु पर्छ
बिश्वासै नबनी घर बन्दैन’
यो सारै राम्रो कुरा
हामी यिनै कुराका आँकुरा
इतिहासका पानाहरु भन्छन्
नयाँ घर बनाउने यो गौरबमय प्रस्ताब
हाम्रा आफन्ताहरुले धेरै अघि ल्याएका हुन्
पसिना पनि निकै बगाएका छन्
तर पुरानो बिश्वासलाई उखेल्न नसक्दा
बिचारले धेरै गोता खायो
पसिनाको मोल उनीहरुले पाएनन्
तैपनि हद्दर खाएनन्
त्यो हाम्रो गौरबमय इतिहास टुटेको छैन
झुकेको र न्युरेको पनि छैन
बिकासको क्रममा
थपघट भने अवश्य भएको छ
हाम्रो इतिहास यस्तै छ ।
त्यसै ताकाको एउटा कुरो
हाम्रो नयाँ इतिहास गर्भमा हुँदाको कुरो
उपल्ला घरे छिमेकीले नयाँ घर बनाए
अहो ! त्यो घरको चहलपहल
नयाँ पिँढी, नयाँ आँगन
थरिथरीका बुट्टाले सजिसजाउ झ्यालढोका
मूलढोकाको त के बयान गरौं !
धन्य हो चातुर्य !
वरिपरि बागबगैंचा
थरिथरिका फूलहरु
मगमग बास्ना
परिश्रमी मौरीहरुको भुनभुनले
र संगितमय गुनगुनले
त्यो घर सारै रमणिय बन्दै गयो
त्यो घर सगरमाथा झैं अग्लिंदै गयो
त्यो घरमा ढुंगो पनि पग्लिंदै गयो
त्यो घरमा सूर्यमुखिफूल मुस्कुराइरहयो ।
त्यसै ताकाको अर्को कुरो
हाम्रो नयाँ इतिहास गर्भमा हुँदाको कुरो
तल्लाघरे छिमेकीले पनि
घर बनाउने अभियान गरे
तर तिनले परिवारको आँखामा छारो छरे
घर केवल सजसाज पारे
खिर्राका थाममाथि
सिमलका दलिन
झ्यालबिनाको घर
जताततै अन्धकार
त्यो अन्धकारभित्र जे गरे पनि पाइने
चोरी
डँकती
बलात्कार, जे गरे पनि पाइने
कठै ! त्यहाँको जिन्दगी !
धर्म, पुराण र परम्पराको आडमा
त्यो सबै इन्जिनियरिङ्ग भएको थियो
मेरो परिवारले कुरो बुझेन
ठ्याम्मै त्यै छिमेकीको सिको गर्यो
शोषकहरु धाराशायी हुने कुर टर्यो
उपल्लो घरको सूर्यमुखीफूल जिल्ल पर्यो
घर सजाउने नाउमा यौटा दलिन फेरियो
भान्सा फेरियो
र यौटा ढोका फेरियो
तर सिमलका दलिन
भक्याउँलाका डाँडाभाटा
खिर्राका झ्यालढोका
नयाँ भनेर के गर्नु !
एक हिउँद नकाट्तै
घर धुल्याहाले सीताराम !
यहि हो २००७ सालको काम ।
नेपालमा चेतनाको सानो दैलो
२००६ सालमा उघ्रेको हो
सङ्घर्षको लामो घुम्तीपार गरेपछि
२००६ साल आएको थियो
६ साल नेपालीका छातीछातीमा छ
६ साल प्रणाम छ
६ साल टुसाएको हाम्रो चेतना
कहिले टाकुराबाट बेसीतिर
कहिले बेसीबाट टाकुरातिर
ढुक्कको कुरा
सचेतनाको स्पर्शले
सुतेकाहरु जुरुजुरु उठ्दैछन्
उठेकाहरु निरन्तर बढ्दैछन्
परिवारका सयौं सदस्यहरु
जीउको धुलो टक्टक्याउँदैछन्
आँगनमा झरेकाछन्
र सुन्दर सपनाहरु तुन्दै
घर बनाउने तरखरमा छन्
कुटो कोदाली लिनेहरु जग खन्दैछन्
कलम र कुचि लिनेहरु नक्सा कोर्दैछन्
जागरणका गीत गाउँदै सङ्गीतकारहरु
मधेसतिर ओर्लंदैछन्
पहाडतिर उक्लँदैछन्
उकाली र ओरालीहरुलाई
पसिनाले सिञ्चन गर्दै
परिश्रमीहरु दौडँदैछन्
नयाँ घर बनाउने
आफ्नो श्रम आफ्नै तलामा लौजाने
अठोट लिएर
मजदुर र किसानहरु
संघर्षका सुसेलीहरुमा
नयाँ राग र पराग छर्दै छन् ।
पक्षान्तरहरुलाई केलाउँदा
र सोचेर ल्याउँदा
नयाँ घर बनाउने हाम्रो अभियान
त्यति सजिलो र समथरिलो छैन
परिवारमा पुरानो बिचारले जरा गाडेको छ
यौटा चाहिँ हाम्रो छिमेकिले हाम्रो परिवारलाई पनि
नराम्ररी भाँडेको छ
दाजु जुवाडे छन्
भाउजुले आफ्नो अस्तित्व गुमाइसकेकी छिन्
जगल्ट्याहा भाई
सधैं मुखबाट रक्सी र जाँड धोक्छ
रक्सी र जाँद ओकेल्छ
बिहानीहरुको इज्जत लुटिएको छ
घरमा जताततै बेचैन मात्र छ
आमा सधैं थालमा बेइज्जत पस्किन्छिन्
बिचरी बिवस छिन् ।
यो सबै किन भैरहेकोछ
कतिलाई थाहै छैन
थाहा हुने कतिसंग बिरोध गर्ने हिम्मत छैन
बनाउनको लागि भत्काउन पर्यो
पगाल्नको लागि तताउन पर्यो
अत्याउँनको लागि अँठ्याउन पर्यो
सपार्नको लागि बिगार्न पर्यो
यिनै कुरालाई बङ्ग्याएर
बुर्जुवाहरु भुक्दैछन्
ठूलोठूलो स्वरले चिच्याउँदै छन्
भन्दैछन्
भत्काए
डढाए
अँठ्याए
बिगारे
कहिले हामीलाई डाँका भन्छन्
कहिले हामीलाई ज्यानमारा भन्छन्
कतिपय हाम्रा मानिसहरुलाई
हुँदनहुँदा आरोप थोपरेर जेलमा थुनेका छन्
कतिपय असल मानिसहरुलाई
भुमिगत हुन बाध्य तुल्याएका छन्
मैमत्त भएर
मदले र शक्तिले मातेर
जे पनि भन्छन्
जे पनि गर्छन्
र हाम्रो प्यारो घरलाई
मान्छेको अनुहार लिएका यिनै राक्षसहरुले
प्रति दिन थोत्र्याउँदै छन्
प्रति दिन छोक्रयाउँदै छन्
प्रति दिन कोप्र्याउँदै छन् ।
परिवारका धेरै सदस्यहरुले पटक पटक
हाम्रो यो घरको बारेमा
निकै सोच्यौँ
निकै बिचार गर्यौँ
छलफलमा के निष्कर्ष निकाल्यौँ भने
सबैको मोतो एउटै होला र
पुरानो घर भत्काउँला
नयाँ घर बनाउँला भनेर पर्खने बेला छैन
घर भत्काउनै पर्छ
र बनाउनै पर्छ
हाम्रा फूलजस्ता छोराछोरीलाई
यस्तो डरलाग्दो घरमा हुर्काउन सकिंदैन
हामीले नै कम्मर नकसी यो घर बन्दैन
हामी भत्काउन मात्र सिपालु छैनौँ
बनाउन पनि त्यत्तिकै सिपालु छौँ
हामीले नयाँ घरको इण्जिनियरिङ्ग गरिसकेका छौँ
नक्सा पास भैसकेको छ
सबै कुराको तय मिल्दै छ
हामीसँग डकर्मी छन्
हामीसँग सिकर्मी छन्
मजदुर र किसानहरु छन्
बुद्धिजिवीहरु छन्
समाजसेवी र बिद्यार्थीहरु छन्
यथास्थितिबादीहरु जत्ति नै कराउन्
यथास्थितिबादीहरु जत्ति नै चिच्याउन्
हामी यो घर बनाउँछौं, बनाउछौँ
हामी नयाँ घर बनाउँछौं, बनाउछौँ ।
१५ आश्विन २०३८ – लगन, काठमाण्डौं
कमिनी आमा
मुल्यः व्यक्तिगत – १५०।– संस्थागत–रु.५००।– रूपैयाँ
लेखकः राजीव
संस्करणः प्रथम, दोस्रो
प्रकाशकः विवेक सिर्जनशशील प्रकाशन प्रा.लि.
प्रकाशन वर्षः २०३९, जेठ, २०६७, जेठ
४६ वटा कविताहरुको सङ्ग्रह । कविताहरु प्रतिकात्मक शैली र चेतनामूलक छन् । जसमा सामाजिक शोषण, अन्याय, अत्याचार र व्यभिचारा विरुद्धमा आगो ओकलेका छन् ।
(पहाडघर कास्की हंशपुर भई हाल धापसी काठ्माण्डौ निवसी बरिष्ठ सर्जक साहित्यकार राजीवको २०३९ सालमा प्रकाशित ‘कमिनी आमा’ कबिता संग्रहमा संग्रहित थुप्रै समय सापेक्षित कबिताहरु मध्ये बर्तमान परिप्रेक्षमा अत्यन्तै सान्दर्भिक यो ‘हामी नयाँ घर बनाउँछौ’ शिर्षकको कबिता पस्किएको छ ।)
(स्रोत : Nirakaronline )