समीक्षा : पाश्चात्य साहित्यमा नीतिपरक काव्यविधानको प्रयोजन

~डा बमबहादुर थापा ‘जिताली’~dr-bam-bahadur-thapa-jitali

प्राचीन युनानी सभ्यताकालदेखि नै काव्यलाई धार्मिक सिद्धान्तसँग जोडेर धर्म-प्रचार वा मानव-कल्याणको साधन मान्दैआएको पाइन्छ । साहित्य वा कलाका सम्बन्धमा पश्चिमी जगत्मा विभिन्न सम्प्रदाय र मतमतान्तर पाइन्छन् । सभ्यताको विकासका साथै मानव विचार र दृष्टिकोणमा परिवर्तन आउनु स्वभाविक मानिन्छ । ‘कविता नैतिकताका निम्ति’ हुनुपर्ने धारणा नीतिवादीहरूले अगाडि सारेपछि कलावादी दार्शनिकहरूले त्यसको तीव्र प्रतिक्रियास्वरूप कला वा कवितालाई नीति, उपदेश, धर्म-प्रचार, मानव-कल्याण आदिभन्दा भिन्नै ठान्न थाले र ‘कला, कलाका लागि’ वा ‘कविता कविताका लागि’ भन्ने कलावादी सिद्धान्तको प्रतिपादन गरे । केही विद्वान्ले त उपर्युक्त दुवै सिद्धान्तको समन्वय गर्ने चेष्टा गर्दै काव्यमा जीवन र कला दुवैको सामञ्जस्य हुनुपर्छ भने । यसरी पश्चिममा काव्य-प्रयोजनका सम्बन्धमा दृष्टि परिवर्तन भइरहेको पाइन्छ । यसको चर्चा मूलतः नीतिवादीहरू र विभिन्न प्रकारका मूल्यका प्रवक्ताहरूद्वारा भएको छ ।

पाश्चात्य साहित्यमा काव्यको कार्य वा प्रयोजनका सम्बन्धमा प्राचीन युनानी आदिकवि होमर (आठौँ शताब्दी ईसापूर्व)ले आनन्दलाई काव्यको उद्देश्य माने भने हेसिओद (आठौँ शताब्दी ईसापूर्व)ले काव्यको प्रयोजन उपदेश दिनु ठाने । ग्रीसेली आचार्य प्लेटोले काव्यको विवेचन सौन्दर्यशास्त्र वा काव्यशास्त्रका दृष्टिद्वारा नगरी समाज सुधारका दृष्टिद्वारा गरेका छन् । उनी लोकमङ्गल वा कल्याणलाई कविताको चरम प्रयोजन ठान्छन् किनभने ईसापूर्व चौथो शताब्दीमा एथेन्सको पतन चरम चुलीमा पुग्दा मानिसहरू चारित्रिकरूपमा भ्रष्ट हुन थालेकाले एथेन्सको पुनर्निर्माणका लागि उनले आफ्नो ज्ञान र दर्शनलाई नैतिक मूल्यमा स्थापित गरिसकेका थिए । यसकै परिणास्वरूप उनले कविलाई आदर्श गणराज्यबाट हटाउन विचार प्रकट गरेका हुन् । उनले कविलाई असंयमित जीवन र अवाञ्छित भावनाद्वारा उत्तेजना उराल्ने अर्थमा लिए भने समाजको हितसम्बर्द्धन गर्ने नैतिक मूल्यलाई साहित्य-प्रयोजनका रूपमा लिएको बुझिन्छ । (हिमांशु थापा साहित्य परिचय, काठमाडौँ, सा.प्र. २०४२) प्लेटो कवितालाई त्यति सीमासम्म ग्राहृय मान्छन्, जुन सीमासम्म त्यस राज्य र मानव जीवनका लागि शुभ र उपयोगी हुन्छ । उनी काव्यको प्रयोजन ऐन्दि्रय आनन्दलाई नमानेर बुद्धिलाई आनन्द ठान्छन् । उनको निश्चित धारणा के छ भने काव्य धार्मिक तथा नैतिक हुनुपर्छ । यसैद्वारा मानव मात्रमा महान् र उदात्त भावनाको उद्घाटन र सम्बर्द्धन हुनुपर्छ । (शान्तिस्वरूप गुप्त, पाश्चात्य काव्यशास्त्रको सिद्धान्त, नई दिल्ली, १९९७) ।

उपर्युक्त कारणले प्लेटो कविता समाजको हितका निम्ति, विवेकमय बौद्धिकताका निम्ति, नैतिकताका निम्ति र सत्साहित्यका निम्ति हुनुपर्ने ठहर गर्दछन् । यसबाट प्लेटोलाई नैतिकताका प्रथम प्रवक्ताका रूपमा लिन सकिन्छ । (वासुदेव त्रिपाठी, पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा, सा.प्र., २०३६) ।

प्लेटोका शिष्य एरिस्टोटल (३४८-३२२ ई.पू)ले काव्य-प्रयोजनका सम्बन्धमा अझ स्पष्ट गरेका छन् । उनले काव्यका दुई प्रयोजन माने -ज्ञानार्जन वा शिक्षा र आनन्द । यसरी उनले आनन्दलाई अत्यधिक प्रयोजन मान्दै शिक्षाको महत्वलाई पनि स्वीकारे । उनले प्लेटोको काव्यसम्बन्धी अपेक्षाका उत्तरमा कविताको विशिष्ट उद्देश्य आनन्द हो तर त्यो आनन्द नीतिसापेक्ष छ, जुन अनैतिक हुन सक्दैन भनेका छन् । यसबाट उनी पनि नीतिपरक कविताका पक्षधर देखिन्छन् ।

लोन्जाइनस् (२१३-२७३ ई.)ले शिक्षा दिनु, आनन्द प्रदान गर्नु र आफ्नो भनाइलाई युक्तिसङ्गत तुल्याउनुलाई काव्य-प्रयोजन मान्दै काव्यको चरम उद्देश्य चरमोल्लास प्रदान गर्नु हो भनेका छन् । यसभन्दा पहिले स्टोइकले काव्यको प्रयोजन नीति-शिक्षालाई माने । होरेस (६५-८ ई.पू.)ले काव्यको प्रयोजनमा नीति-शिक्षा र आनन्दलाई स्वीकार्दै उपयोगिता र आहृलादको समन्वयलाई पनि जोडे । उनका विचारमा उत्कृष्ट काव्यले पाठकलाई आनन्दित गर्छ र शिक्षित पनि बनाउँछ । अर्थ प्राप्तिका लागि लेखिने काव्य सफल हुँदैन । राष्ट्रिय संस्कृतिलाई अक्षुण्ण राख्नु समाजलाई बर्बरताबाट मुक्त पार्नु हो र एकातर्फ वीर हृदयमा सौर्यको सञ्चार गर्नु र अर्कातर्फ परिश्रमद्वारा परिश्रान्त व्यक्तिलाई आनन्द प्रदान गर्नु काव्यको प्रयोजन हो । सारांशमा, होरेसको समन्वयवादी प्रवृत्तिले कविताको प्रयोजन आनन्द र शिक्षा दुवैलाई मान्छ । सर फिलिप सिडनी (१५५४-८६ ई.) होरेसको यस मतबाट प्रभावित छन् । यी दुईका विचारमा के अन्तर छ भने सिडनीले आनन्दलाई साधन र शिक्षालाई साध्य मानेका छन् । सिडनीका विचारमा सदाचार सर्वश्रेष्ठ गुण हो र कवि आफ्नो काव्यद्वारा यही शिक्षा दिनका लागि गौरवका साथ प्रवृत्त हुन्छ, यसैले यो सबैभन्दा कुशल कालिगड हो । (जगदीशचन्द्र जैन, पाश्चात्य समीक्षा दर्शन, वाराणसी, १९६९)

नवशास्त्रवादी युग (लगभग १७-१८ औँ श.) मा केही विद्वान्ले काव्यको प्रयोजन आनन्द प्रदान गर्नु ठाने भने अधिकांशले नैतिक उपयोगितालाई नै काव्यको परम लक्ष्य माने । यिनीहरूले आनन्द र नीति-उपदेश दुवैको समन्वय गरे पनि नीति-उपदेशप्रति विशेष बल दिए ।

जोन ड्राइडन (१६३१-१७०० ई.)ले काव्यको लक्ष्य आनन्द र शिक्षा दिनु हो र कविताको प्रयोजन मधुर रीतिद्वारा शिक्षा दिने हुनुपर्छ भनेबाट काव्य-प्रयोजनका लागि शिक्षा र आनन्द दुवैको बराबर महत्व देखिन्छ तर शब्दचयनका आधारमा आनन्दलाई प्रमुख र शिक्षालाई गौण स्थान दिएको मानिन्छ । कविताले आत्मालाई आहृलादित तथा प्रभावित पारोस् र पाठकको मनोभावलाई उद्वेलित गरोस् अनि मात्र कविता सफल हुन्छ भन्ने उनको धारणा छ ।

जर्मनेली विद्वान् शिलर (१७५९-१८०५ ई.)ले काव्य वा कलाको प्रमुख प्रयोजन आनन्द दिनु मान्दै मानव सुखभन्दा अधिक उदात्त र गम्भीर समस्या अर्को छैन भनेका छन् । उन्नाइसौँ शताब्दीमा यो धारणा अझ प्रबल भयो । वर्डस्वर्थ (१७७०-१८५० ई.), कलरिज (१७७२-१८३४ ई.), शेली (१७९२-१८२२ ई.) र अन्य स्वच्छन्दतावादी कविले काव्यको प्रयोजन आनन्दलाई माने ड्राइडन र कलरिजका बीच भिक्टर कजिनले कविताको उद्देश्य नैतिक सौन्दर्य मानेका थिए तर अन्य स्वच्छन्दतावादी कविहरूले नैतिक पक्षलाई छोडेर सौन्दर्य अभिव्यक्तिलाई नै काव्यको लक्ष्य घोषित गरे । कलरिजका अनुसार कवि आफ्ना पाठकलाई नैतिक उपदेश दिन्छ, तर यसको प्राथमिक माध्यम चाहिँ आनन्द हो । उनका विचारमा जहाँ सौन्दर्य हुन्छ, त्यहाँ आनन्द हुन्छ । वर्डस्वर्थको विचारानुसार काव्यको लक्ष्य आनन्द प्रदान गर्नु मात्र होइन र काव्यले सत्य र सौन्दर्यका माध्यमद्वारा आनन्द प्रदान गर्छ । उनी आनन्दका अतिरिक्त काव्यको उपयोगिता पक्षलाई पनि समर्थन गर्छन् । उनका दृष्टिमा पाठकका मनमा सत्प्रभाव पार्नु, ज्ञान उपलब्ध गराउनु वा मानसिक तथा नैतिक स्वास्थ्य र सुख काव्यको उपयोगिता हो । उनका मतानुसार सच्चा कविको कर्तव्य पाठकको भावना परिष्कार गर्नु हो र उक्त भावनालाई सन्तुलित, शुद्ध र प्रकृतिअनुरूप बनाउनेहरू सारांशमा वर्डस्वर्थका लागि काव्य प्रयोजन नीति र आनन्द दुवै हुन् ।

कवि शेलीले काव्य र जीवनको अटुट सम्बन्धलाई प्रयोजन ठाने । उनका मतानुसार जुन कवितामा जीवनजगत्को सत्य अभिव्यक्त हुँदैन, त्यो कविता बन्न सक्दैन र आनन्द प्रदान गर्नु पनि काव्यको प्रयोजन हो ।

जोन किट्स (१७९५-१८२१ ई.)ले पनि मुख्यतया आत्मभिव्यक्तिलाई विचार र नैतिक आदर्श नमानेर सौन्दर्यात्मक अनुभूतिको अभिव्यक्तिलाई नै कविता मानेको पाइन्छ ।

यसरी १९ औँ शताब्दीमा काव्यको प्रयोजन आनन्द र उल्लाससँगसँगै शिक्षासमेत रहृयो भने जहाँ नवशास्त्रवादीहरूको नित्युपदेशमाथि अधिक बल रहृयो र त्यहाँ स्वच्छन्दतावादीहरूले आनन्द तत्वलाई प्रधानता दिए ।

स्वच्छन्दतावादी विचारधारापछि युरोपमा नीतिवादी वा लोकमङ्गलवादी विचारधाराको प्राबल्य दृष्टिगत हुन्छ । रस्किन (१८१९-१९०० ई.)का विचारमा साहित्यको ध्यय अधिकाधिक जनसमुदायको बढीभन्दा बढी हित गर्नु हो । टाल्सटोय (१८१८-१९१० ई.)को मतानुसार कविता भनेको मानव एकताको साधन हो । कविता (कला) आनन्द होइन, बरु मानव एकताको साधन हो, जसले मानव मानवलाई सह-अनुभूतिद्वारा परस्पर सम्बन्धित गर्छ । यसरी रस्किन र टाल्सटोय दुवैका दृष्टिमा कविताको लक्ष्य मानव सेवाका साथै सद्भावनाका प्रचार गर्नु पनि । यसलाई जीवनवादी प्रचारशैलीको नैतिक दृष्टिकोण मानिन्छ । मेथ्यु आर्नल्ड पनि यसै दृष्टिकोणका समर्थक हुन् । उनका दृष्टिमा साहित्यको आदर्शकसी लोकमङ्गल हुनुपर्छ । काव्यको प्रयोजन आनन्द नभएर मानवीय आत्म विकास र समाज उत्थान हो । उनका विचारमा नीतिप्रतिको विरोध जीवनप्रतिको विरोध हो र नैतिक मूल्यप्रति उदासीन काव्य जीवनप्रति उदासीन हुन्छ । नैतिकताप्रति मानिसको वितृष्णा देखेर उनी भन्छन्- हिजोआज नैतिकता र सदाचारलाई रुढीको पर्याय मानिन्छ, यसैले नैतिकताप्रति वितृष्णा फैलिएको हो । वास्तवमा यो वितृष्णा नैतिकताद्वारा नभएर रुढीद्वारा आएको हो ।

उपर्युक्त उद्धरणबाट आर्नल्ड (१८२२-८८ ई.)का दृष्टिमा आनन्दको भन्दा नीतिको विशेष महत्व छ जस्तो लाग्न सक्छ तर वस्तुस्थिति विपरीत छ । शिलर (१७५९-१८०५ ई.)झैँ आर्नल्डको अवधारणामा पनि आनन्द नै काव्य-प्रयोजन हो र उपयुक्त कविता त्यही हो, जसले परम आनन्दको सृष्टि गर्छ । यसरी आर्नल्ड आनन्दलाई काव्यको प्रयोजन मान्दै नीति तथा समाज कल्याणमाथि नै बल दिन्छन् । निष्कर्षमा उनी नीतिसापेक्ष आनन्दलाई काव्य प्रयोजन मान्छन् ।

उन्नाइसौँ शताब्दीका अन्त्यमा कला वा कवितासँग नीतिको कुनै सम्बन्ध छैन भन्ने मत युरोपमा देखापर्‍यो । कवितालाई लोककल्याणको कसी नमानेर स्वीनबर्नले कविताको मूल्याङ्कन गर्नका लागि नैतिक मूल्यहरूको आधार ठीक छैन, यो अनावश्यक हो भने र काव्य मूल्याङ्कनको कसी नीति नभएर सौन्दर्य हुनुपर्छ भन्न थाले । त्यसपछि वाल्टर पेटर (१८३९-९४ ई.), हृवीस्लर (१८२४-१९०३ ई.) आदिले नयाँ ढङ्गद्वारा अत्यन्त तीव्र शब्दमा ‘कलाका लागि कला’ भन्ने सिद्धान्त प्रवर्तन गरे । अस्कर वाइल्ड (१८५६-१९०० ई.), डा. ब्रेड (१८५१-१९३५ ई.)ले यसको समर्थन गरे । यिनीहरूका विचारमा कवि या कलाकार कविता वा कला रचना गर्ने समयमा कुनै निश्चित उद्देश्य लिएर बसेको हुँदैन । कविको प्रतिभामाथि कुनै नीति बन्धन हुनु हुँदैन, प्रतिभा स्वच्छन्दरूपमा प्रस्फुटन हुनुपर्छ । कविको उद्देश्य कविता सृष्टि हो, अतः उसलाई कुन प्रयोजनको सिकार बनाउन हुन्न । ब्रेडका विचारमा काव्यस्वाद स्वयं लक्ष्य हो र यसको आफ्नै मूल्य छ । जीवनका अन्य मूल्यहरूसँग यसको कुनै सम्बन्ध छैन । भौतिक जीवनको मूल्य भौतिक जीवनसम्म सीमित रहनुपर्छ ।

सर्वप्रथम कवि सामाजिक प्राणी हो, ऊ समाज र यसको समस्यासँग अलग रहन सक्दैन । यदि काव्यको विषय जीवन हुन्छ भने त्यसमा जीवनको विवेचना पनि हुछ जहाँ जीवनको विवेचना हुन्छ, त्यहाँ त्यसको असल पक्षको आलोचना र सत्पक्षको अभ्यर्थना हुन्छ । अतः काव्यलाई जीवन नीतिसँग भिन्नै राख्न असम्भ छ । त्यस्तै, ‘कलाका लागि कला’ भनेर उद्घोषण गर्ने व्यक्तिले यदि कविताको नाममा अरूचिकर, अश्लील, दूषित वा बीभत्स साहित्य रचनालाई समर्थन गर्छ भने त्यो पनि अनुचित हो । यसैले आई.ए. रिचर्डस् (१८९३ ई.)ले कलावादी सिद्धान्तलाई नमानेर कवितामा हुने नैतिकतालाई सही अर्थमा ग्रहण गरे भने लोककल्याणलाई आवश्यक माने अनि अनुभूतिहरूसँगै काव्यगत मूल्यहरूलाई निर्धारण गर्नमा संस्कृति, धर्म, शिक्षा आदिको विशेष अर्थमा र भावनाहरूको परिष्करण तथा सद्भावहरूको प्रसारलाई पनि आधार बनाउन सकिन्छ भने तर जीवनवादी वा नीतिवादीहरू कला वा साहित्यको उद्देश्य जीवनका लागि हुनुपर्छ भन्छन् । उनीहरूको मूल सन्देश- ‘साहित्य जीवनका लागि’ हो । यस पक्षका साहित्यकारहरू साहित्यमा नैतिक मूल्यका लागि आग्रह राख्छन् । यस सिद्धान्तको सूत्रपात प्लेटोबाट हुन्छ र ग्रीसवासीहरूको क्षयोन्मुखी नैतिक मूल्यको पुनरुद्धार गरी ग्रीसको वैभव, सभ्यता र संस्कृतिको पुनर्निर्माणमा आफ्नो भूमिका निर्वाह गर्न चाहन्छन् । यसमा प्लेटो, लियोटाल्सटोय, कार्लाइल, जोन रस्किन, मेथ्यु आर्नल्ड आदिले प्रमुख भूमिका खेलेका छन् ।

उपर्युक्त विवेचनाद्वारा पाश्चात्य काव्यशास्त्रमा प्रयुक्त नीतिपरक काव्य प्रयोजनका समबन्धमा तीन मत प्रचलित रहेको स्पष्ट देखिन्छ-

पहिलो मतानुसार, काव्यको प्रयोजन केवल लोकमङ्गल वा कल्याण हो । प्लेटो, रस्किन, कार्लाइल र टाल्सटोय यस मतका मुख्य अनुयायी हुन् र यिनीहरू नीतिवादी वा जीवनवादी पनि हुन् ।

दोस्रो मतानुसार, नीतिसँग काव्यको कुनै सम्बन्द्ध छैन, आनन्द्रप्राप्ति नै काव्यको प्रयोजन हो । हृवीस्लर, शिलर, पेटर, शेली, किट्स आदिले यस मतलाई समर्थन गरेका छन् । यस मतको समर्थनमा स्वच्छन्दतावादी रस कलावादी छन् ।

तेस्रो मतानुसार, नीतिसापेक्ष आनन्द काव्यको प्रयोजन हो । एरिस्टोटल, ड्राइडन, मेथ्यु आर्नल्ड आदि यस मतका समर्थक हुन् । यस मतका समर्थनमा नवशास्त्रवादी र यथार्थवादी छन् ।

वस्तुतः उपर्युक्त काव्यप्रयोजनहरू एकअर्काका विरोधी छैनन् बरु पूरक छन् । दीर्घकालीन आनन्द नैतिकताभित्र निहित हुन्छ र उत्कृष्ट कविताका प्रयोजन कलात्मक सौन्दर्यको सृष्टि पनि हुन्छ र लोक कल्याण पनि । काव्यरचना एउटा सिर्जनात्मक आवश्यकता हो । अतः स्रष्टा-प्रतिभा व्यक्ति, समाज र सिर्जनाविना रहन सक्दैन । ऊ सिर्जनात्मक आवश्यकता परिपूर्तिका लागि लेख्छ तर कवि हुनाको नाताले उसको रचनामा कलातत्व वा कवित्व र सामाजिक तथा जागरुक चेतना सम्पन्न प्राणी हुनाको नाताले उसको कृतिमा लोककल्याणकारी तत्व आउनु स्वाभाविक हो । नीतिपरक साहित्यमा जीवनवादी र कलावादी दृष्टिको समन्वय अपेक्षित हुन्छ ।

(स्रोत : मधुपर्क २०६६ मंसिर)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.