कथा : अभिना

~भावना परिष्कृत सुनुवार~Bhawana Parishkrit Sunuwar

आफूभित्र जतिसुकै पीर–व्यथा भए पनि बाहिर सधैँ हाँसी–खुशी देखिन्थिन् उनी । तर आज अभिनालाई निकै गम्भीर देखैँ मैले । सुरुमा घरको हालखबर सोधेँ । नेपालमा बहिनी अग्रता र बाँकी सबैलाई मङ्गल–कुशल रहेको बताइन् । आफू पनि सञ्चै रहेको र काम पनि राम्रै चल्दै गएको कुरालाई छोटो–मिठो जवाफ दिएर कुराको विषयलाई बिट मारिन् उनले ।

हाम्रो बसाई टाढा भएकोले भेट पातलै हुन्थ्यो हामीबीच । त्यसदिन पनि म दुई घण्टाको रेल यात्रा गरेर अभिनालाई भेट्न पुगेको थिएँ । म उनीकहाँ पुग्दा बिहानको ८:०० बजेको थियो कोरियाको समयअनुसार । जेठ–असारको महिना पानी, झरी, गर्मी … नेपालकै मौसमसँग मिल्दोजुल्दो छ यहाँको मौसम पनि । जाडोको याममा भने हिउँ खुबै पर्छ । तसर्थ नेपालभन्दा बढी चिसो हुने गर्छ । अभिनाको रुम पार्टनरहरू राधिका, लीला, पेमा र फूलदेवी कोही पनि थिएनन् त्यस दिन । सबै जनालाई एकै पटक भेट हुन्छ भनी सोचेको थिएँ । तिनीहरू कोही साथी भेट्न, कोही गाउँले भेट्न गएका रहेछन् । साँझ म फर्कनु अगाडि सबैले मसँग भेट्ने गरी फर्कने कुरा अभिनाले बताएपछि खिन्न मन केही बेरमै प्रफुल्ल भयो । “तिमी त अदुवा, मरिच हाली दूधमा पकाएको चिया पिउन खुबै रुचाउँछौ नि हैन ? ल यी चिया पिउन थाल तातो तातो” झण्डै भरिन लागेको हरियो बुट्टे मगमा चिया मेरो अगाडि राख्दै भनिन् अभिनाले । एकै क्षण अगाडि उनी मेरो आँखाबाट केही नभनी ओझेल भएकी थिइन् । चिया बनाउनलाई पो रहेछ ।

उनले गुलाबी रङ्गको मगमा आफ्नो लागि चिया भरेकी थिइन् । जुन मग सुन्दर गुलाफको फूल बुट्टाले कुँदिएको थियो र ‘हेप्पी बर्थडे टु यू’ लेखिएको थियो जसलाई मैले अघिल्लो वर्ष अभिनाको जन्म दिनमा उपहार दिएको थिएँ । उनले त्यो मगलाई आफ्नो नाजुक ओठमा छुवाएर चिया पिएको खुबै मन लगाएर हेर्न मन परेको थियो ।

“चिया पिउन थाल न, किन टोलाएको ?” उनले मलाई नै पहिला चिया पिउन आग्रह गरिन् । हामी दुबै जना सुरुप–सुरुप चिया पिउँदै आ–आफ्नो दिनचर्याको बारेमा कुराकानी गर्दै थियौँ । यत्तिकैमा अभिनाको मोबाइल फोन बज्न थाल्यो ।

“एकैछिन है कल्पित ! तिमी चिया पिउँदै टिभी हेर्दै गर । च्यानल चेञ्ज गर्नु प¥यो भने यी रिमोर्ट यहाँ छ” भन्दै उनी मोबाइल बोकेर कोठाबाट बाहिर निस्किइन् । अगाडि टेलिभिजन सेटमा डिस्कभरी च्यानल चलिरहेको थियो । मलाई त्यतिखेर टिभी कार्यक्रम कुनै पनि हेर्ने इच्छा भएन । म त सोच्न पुगेको अभिना र मेरो अगाडिको जीवनको बारेमा ।

हामी दुवै जना राजधानीमा अवस्थित एउटा प्राइभेट बैंकमा काम गर्थिम् । उनको बुवा बहालवाला सरकारी कर्मचारी थिए दुःख–सुख कान्तिपुरी नगरीमा एकै तले भए नि पक्का घर ठड्याउन भ्याएका । मेरो घर भने काठमाडौंबाट दुई घण्टा टाढा नजिकैको गाउँमा पथ्र्यो । म काठमाडौंमा डेरावाल थिए । क्याम्पस पढ्न भनी पसेको, पढाइपछि नोकरी खोज्ने क्रममा अभिनासँग पहिलो चोटी भेट भएको थियो । हामी दुवै अन्तरवार्ताको निम्ति पुगेको थियौँ । भाग्यवश दुवै जनाको नाम निस्कियो । हामी एकै दिनमा सँगसँगै नियुक्ति भयौँ, म म्यानेजर उनी सहायक म्यानेजर पदमा । सयौँ आवेदकहरूलाई उछिनेर छनौट भयौँ । सँगसँगै काम गर्दा हामी दुईबीच असल मित्रता कायम भयो । उनी केशव नाम गरेको प्राध्यापकसँग प्रेम गर्थिन् । म परिना नाम गरेकी सुन्दर नर्ससँग प्रेम गर्थेँ । हामीले सँगसँगै काम गरेको एक वर्षपछि अभिनाको आमा बित्नु भयो । त्यसको केही हप्तापछि पापी निष्ठुरी कालले मेरो बुवालाई नि लगेर गयो । अभिना मातृशोकबाट तङ्ग्रिन सकेकी थिइनन् । केही महिनापछि उनको बुवाले त आफूभन्दा तेब्बर उमेरले कान्छी श्रीमती भित्र्याए । त्यसबेलामा उनले मलाई भनेकी थिइन् “एउटा विधुवा नारी जसलाई सहाराको जरुरी थियो घर, परिवार र समाजमा मान–सम्मान, इज्जत र सुरक्षाको खाँचो थियो । उनलाई सबै कुराबाट वेवास्ता गरी अलग राखी व्यवहार गरिन्छ ।

नव यौवना होस् या वृद्ध दुवै स्त्रीलाई दुःख–सुखमा साथ दिने पुरुष चाहिन्छ यानिकि जीवन साथी । तर मौका यो नारीको भागमा पर्नु हुन्न । यो समाजले त्यो नारीको चाहना बुझ्दैन । तसर्थ अपहेलित भएर विधुवाको बिना रङ्गको, बिना खुसी र बिना उमङ्गको जीवन जिउन बाध्य हुनुपर्छ । तर पुरुष आफ्नो श्रीमतीको चिता जलिरहेकै अवस्थामा सायद उसले मनमा स्थिति बनाइसक्दो हो कि कसकी छोरी कसलाई बिहे गरौँ भनेर । अनि चिता सेलाउन नपाउँदै त्यो पुरुषले मनको कुरा मुखमा नल्याउँदै समाजले जवाफ दिन थाल्छ । यानिकि सहायता गर्छ उसलाई अर्को बिहे गराउनमा । हो पुरुषलाई साथी त चाहिन्छ । यो सामाजिक नियम हो । मानिस एक्लो बस्न गाह्रो हुन्छ । तर यो निमय पुरुषहरूलाई मात्र लागू हुन्छ । उसको उमेर सत्तरी होस् या सय वर्षको वृद्ध लाजै नमानी सोह्र वर्षको किशोरीलाई बिहे गर्न समाजले अनुमति दिन्छ, समाजले सहायता गर्छ । मेरो बुवाले नि मभन्दा उमेरले तीन वर्ष कान्छी २२ वर्ष कि नवयौवनालाई मेरो आमा बनाएर भित्र्याउनु भएको छ । मैले उनलाई सङ्गीनी भन्ने कि, बहिनी भन्ने कि, आमा भन्ने ? मेरी बहिनी अग्रता त यो सब सहन गर्न नसकेर सानीमुवाको घरमा गएकी छ । मेरी आमाकी बहिनी सानीमुवाले ‘अब अग्रताले आफूले नचाहेसम्म मकहाँ नै बसोस्, पीर नगर’ भन्नुभयो । यही कुराले अलिकता भए पनि मेरो मन हल्का त भयो । तर म आफै त्यो म जन्मेको घरमा सजिलोसँग सास फेर्न सकेकी छैन । मलाई साह्रै हुट्हुटी भइरहेछ कल्पित ।”

उनी यसरी मनको बोझ, पीर कुण्ठा आदिलाई सजिलै मसँग फुकाउँथिन् । आखिर समय न हो हामीले जे जसरी स्वीकारे पनि नस्वीकारे पनि यो त पछाडि नफर्की एकतमासले भाग्दै जान्छ । एक–अर्काको आँसु पुछ्दा पुछ्दै अर्को एक वर्ष नि बितेछ । उनको बहिनी अग्रता घर फर्कन अझै मानेकी थिइनन् । उनले एमबीबीएसको इन्ट्रान्समा आफ्नो नाम निकालिन् । उनको सपना थियो चिकित्सक बन्ने । उता उनको बुवाले ‘त्यो महङ्गो विषय पढिरहनुपर्दैन । आफ्नो इच्छालाई बदलेर सजिलो विषय पढ्नु र खर्च पनि कम लाग्छ । जुन व्यहोर्न सकिन्छ त्यही गर्नू’ भनी जवाफ दिन थाले । तर बहिनीको मनको इच्छालाई अभिनाले मार्न चाहिनन् । उनले निर्णय गरिन् बैदेशिक रोजगारमा जाने र बहिनीको मेडिकलको पढाइमा सहयोग गर्ने । उनको प्रेमी केशबले कि त प्रेम कि त बैदेशिक रोजगार यी दुईमध्ये कुनै एकलाई रोजे पाउने छौ, दुवै कुरा एकैसाथ पाउने छैनौ भन्यो । अभिनाले पनि प्रेम र भावनाभन्दा माथि उठी कर्तव्यलाई रोजिन् । उनले बहिनीको निम्ति आफ्नो प्रेमको बलिदान दिइन् । ठीक यसैबेला हामीले काम गरेको बैंकका सञ्चालकहरू रातारात फरार भएछन् । जम्मा हुन आएको मोटो रकमहरू कुम्लाएर ।

हाम्रो पनि नाम त्यसमा मुछिने नै भयो । धान खाने मुसा चोट पाउने कुन्नि के भनेझैँ म र अभिना बयानको कठघरामा उभिनुप-यो । रीतपूर्वकको आवश्यक छानबिनपछि हामी निर्दोष सावित भयौँ तर हामी दुवैको भएको नोकरी पनि सँगसँगै छुट्यो । अभिना बैदेशिक रोजगारको छनौटतिर लागिन् । म भने रातदिन लगाएर तीसौँ ठाउँमा फर्म भर्दै र अन्तरवार्ता लड्दै अल्झिरहेँ । जतापनि हात लाग्यो शून्य भएको थिएँ म । उता घरमा दुई जना बहिनीहरूको पढाइ खर्च मैलै नै पठाउनु पर्ने हुन्थ्यो । बेरोजगारीको बिल्ला लगाइएको मलाई पनि प्रेमिका परिनाले पर सार्ने उपाय खोजिन् । उनको सर्त थियो हप्ता दिनभित्र कुनै राम्रो पोष्टमा मेरो नोकरी लागेन भने उनका माता–पिताले बाध्य भएर अमेरिकाको ग्रीन कार्ड होल्डरसँग उनको बिहे गर्नेछन् । मैले कुरा बुझे । प्रेमिकाको भित्री मनको आवाजलाई प्रष्टै सुनेँ । उनी अमेरिका जान चाहन्थिन् चाहे त्यो उनलाई बिहे गरेर लाने श्रीमान विदेशीको रोडको धुलो सोर्ने नै किन नहोस् । अभिनाले जस्तै मैले पनि आफ्नो स्वार्थ हेरिनँ । परिनाको खुशीको निम्ति आफू पन्छिएँ । परिना सजिलैसँग पर भइन् मबाट – मेरो मुटुमा एकै पटक सयौँ तीखा काँडाहरू रोपेर ।

अनि त आफ्नो ग्र्याजुएशनको योग्यता पेपरलाई दराजमा थन्काएर म पनि तीन वर्षअगाडि अभिनासँगसँगै कोरिया आइपुगेँ भवन निर्माणको श्रमिक बन्न । अभिना भने शृङ्गार सामग्री उत्पादन गर्ने कम्पनीमा परिन् । त्यस दिनदेखि आजसम्म…….. । “ल हेर के टोलाएर बसेको हौ ? अघिसम्म त ठिकठाक छ भन्थ्यौ” अभिनाको आवाजले झस्किने क्रममा टिभीको रिमोर्ट कन्ट्रोल खस्न पुग्यो । जसलाई हातमा लिएर बसेको नि मलाई होसै पो भएनछ सोच्ने क्रममा । “हैन.. हैन.. सबै ठीक छ । अनि तिमी त फोन गर्न निस्किएकी हैनौ र ? अनि यो सब… यति छिट्टै ?” उनको हातमा भएको ट्रेतिर दृष्टि दिँदै सोधे मैले । जसमा सुगन्धित पराठा, मटरको तरकारी, आलुको अचार र दही थियो । “ल ! आधा घण्टा भै’सक्यो नि, फोनमा त तीन मिनट जति नि कुरा गरिन होला । तिमीलाई भोक लाग्यो होला भनेर हतार–हतारमा नास्ता बनाएँ ।

मिठो नमिठो जे–जस्तो भए नि चुप लागेर खाउ है मेरो लागि” उनले मेरो अगाडि खानाको थाली राख्दै बोलिन् । मिठो बास्ना भरिएको परिकार देखेँ मैले । आफ्नो भोक तीव्र भएको अनुभूति गरेर स्यालिभा पनि मुखबाट निस्किरहेको थियो । त्यस्तो घरेलु खाना नपाएको पनि धेरै समय भएको थियो । म चुपचाप खान थालेँ र उनी पनि मसँगसँगै खान बसिन् । “सबै कुरा अति स्वादिलो छ । हुन त तिमी सधैँ जे पनि मिठो पकाउँछ्यौ” हाते टावलले मुख पुछ्दै भने मैले । उनी आफ्नो सुन्दर मुखमण्डलको आभा चम्काउँदै मुस्कुराइन् । अनि लोभ लाग्दी प्यारो देखेँ मैले । “साँच्ची तिमी बिहान निराश थियौ र अहिले पनि त्यति फ्रेश भएकी छैनौ । के भयो अब त भन न” भोकबाट तृप्ति मिलेपछि फूर्तिलो आवाजले झक्झकाएँ मैले उनलाई ।

त्यसपछि उनले आफू दुःखी हुनुको कारण सुनाउँदै मिनाको कुरालाई जोडिन् “अरबको ज्यान निल्ने मरुभूमीको गर्मीमा आफ्नो आयु छोटाउँदै श्रम बेच्न बाध्य हर्कबहादुरले पटक–पटक गरेर नेपाली पाँच लाख रकम पठाएपछि मिनाको आँखामा हर्षको मोति झिल्मिलाएको थियो । गाउँको विकट पहाडी भेगमा गरीवी र अशिक्षाको कारण कष्टदायक जीवन बिताउनबाट मुक्ति पाउने उपाय म्यारिज व्युरोको दलालहरूबाट थाहा पाएकी थिइन् उनले । कोरियन नागरिक वा अन्य धनी राष्ट्रका विदेशीसँग बिहे गरेपछि खान–लाउन त सामान्य कुरा भइहाल्यो अन्य भौतिक सुख सुविधायुक्त जीवन भोग्न पाइन्छ । भाग्य मात्र फेरिने हैन कि जीवन नै साँटिन्छ । जादुको नगरमा पुगेपछि आफूले जस्तो सुख आनन्दको कल्पना र चाह ग¥यो त्यही अनुरूपको स्वर्गीय जीवन भोग्न पाइन्छ । यस्तै सुन्दर सपना र मिठा–मिठा कुराको लड्डुको नशामा मिनालगायत अन्य थुप्रै कलिला सिधासाधा अशिक्षित युवतीहरू लठ्ठीँदै गए । कोरियन नागरिकसँग बिहे गरेपछि बहिनी मिनाको भविष्य सुन्दर र उज्वल हुने कुराले हर्कबहादुर पनि निकै हर्षित भयो । जे जसरी भए पनि कोरिया जानको लागि र म्यारिज ब्युरोलाई दिने खर्च पठाउन कम्मर कसेरै लागे बरा ! सबै काम म्यारिज ब्युरोको स्टाफहरूले नै मिलाइदिएपछि मिनालाई केही गर्नु र बुझिरहनुको झन्झट भएन । बा आमा दुवै क्षयरोग लागेको बखतमा पोषण र औषधि उपचार नपाएको कारणले पूर्ण आयु भोग्न नपाइ माटोमा बिलाइसकेका थिए । भाउजु टिकामायाको हातबाट दहीको सगुन ग्रहण गरेर उनी राजधानी पुगिन् काठमाडौँमा । बिचरी आफू जन्मेको हुर्केको हाप्रे गाउँबाट कुनै डाँडा, खोल्सा, देउराली भञ्ज्याङ कटेर अर्को गाउँसम्म नगएकी अठार वर्षकी मिना बिरानो मुलुक कोरिया आइपुगिन् । उनीसँग अरू पनि बीसजना युवतीहरू थिए । सबैको एउटै सपना र चाहना थियो । कोरियन नागरिकसँग बैवाहिक सम्बन्ध गाँसी सुखी र आनन्दको सम्बन्धमा रमाउने ।”

बोल्दा बोल्दै अभिना भावुक भएर एकछिन रोक्किइन् । मेरो पनि मुखमुद्रा पूर्ण गम्भीर भएको अनुभूति गरेँ मैले । अगाडि टेवलमा भएको सीसाको जगबाट गिलासमा पानी थापेर पानी सारेर चुपचाप अभिनाको हातमा थपाइदिएँ । उनले पछि चुपचापै पानीको गिलास लिएर पिउन थालिन् । बिचरी ! मिनाजस्तै सुन्दर सपना बुनी म्यारिज ब्युरोको प्रलोभनमा फसेर आउने सबै किशोरी र युवतीहरूको जीवनले न्यानो घामको किरण कहिल्यै देख्न पाएनछ यो कोरियाको धर्तीमा । सामाजिक स्तरमा बिवाह गर्न अयोग्य व्यक्तिहरू, जो दीर्घरोगी छन्, शारीरिक अपाङ्गता, मानसिक दुर्वलता भएका, अति कुरूप, बृद्ध, विदुर, बदमास र भ्रष्ट चरित्र भएका जो एक्लो छन् आदि जस्ता समस्या भएका व्यक्तिहरूले नै अन्य गरिब राष्ट्रहरूबाट म्यारिज ब्युरो जस्ता संस्थाहरूमार्फत बैवाहिक सम्बन्धको नाममा केटीहरू झिकाउँदा रहेछन् । कोरियाको सरकारले पनि बहुसांस्कृतिक बिवाहको नाममा छुट दिएकोले यो देशमा नेपालसहित अन्य गरिब राष्ट्रबाट प्रत्येक महिना सयौँको सङ्ख्यामा युवतीहरू भित्रिने क्रम जारी रहेछ ।

हालसम्ममा नेपालबाट पाँच सयभन्दा माथि भित्रिसकेका रहेछन् र प्रत्येक महिना १५÷२० जना युवती भित्रीने क्रम जारी रहेको कुरा अभिनाले बताइन् । त्यसरी भित्रीने हाम्रा नेपाली चेलीहरूको श्रीमान केही अति वृद्ध र रोगी थिए । जसलाई सुसारे चाहिने थियो । कसैको स–साना धेरै केटाकेटी थिए । श्रीमती बितेकोले बच्चाको आया चाहिएको थियो । कतिको श्रीमान कति कुरूप, कतिको भ्रष्ट चरित्र, कतिको अपाङ्ग, विभिन्न तवरबाट अयोग्य भई आफ्नो देश कोरियामा विवाहको लागि बिक्न नसकेका थिए । एउटा आँखो फुटेको र ढाड कुँजो परेको, दुष्ट स्वभाव भएको र पहिले नै तीन जना बिवाह भइसकेको अधबैंशे पुरुष जो मिनाको बाबुको उमेरको थियो, त्यस्तो श्रीमान पाउँछु भन्ने विचरी मिनालाई के थाहा ?

अभिनाको भनाइअनुसार त्यो देशमा त झन् नारीहरूलाई घरेलु हिंसाको पराकाष्ठै कटेको रहेछ । मिनाजस्तै थुप्रै विदेशी महिलाहरूलाई स्वास्नीको नाममा किनेकोले त्यहाँको पुरुषहरूले शोषण गर्न कुनै कसर छाड्दा रहेनछन् । पैसा तिर्नु नपर्ने घरेलु नोकर, बच्चा जन्माइदिने मेशिन र पुरुषहरूको लागि यौनयन्त्र, सुसारे… आदिमा परिणत हुँदै घरको चार दिवारको कालकोठरीमा नारकीय जीवन बिताउने मध्ये मिनालाई अभिनाले नजिकैबाट चिन्दी रहिछन् ।

आफूसँगै काम गर्ने नेपाली कामदार सिकिस्तै बिरामी परेकोले अस्पतालमा भर्ना गर्न अभिना पुग्दा मिना पनि आफ्नो कुँजो, कानो र कुरूप लोग्नेलाई स्याहार्न अस्पताल पुगेकी थिइन् । नराम्रो कुलतमा फसेको र भ्रष्ट चरित्र भएको उनको लोग्नेले एक युवतीमाथि बलात्कार गर्ने कोसिस गरेछ । परिणाम केटीपक्षका समूहले थाहा पाई उक्त निच व्यक्तिलाई चुट्नसम्म चुटेछन् । त्यस दिनदेखि नारीमाथि कुदृष्टि राख्ने उसको एउटा गिद्धे आँखा सदाको लागि गुमेछ र ढाड पनि भाँच्चिएछ । दुष्टको बाबुसँग अलि मोटो पैसा भएकोले तीनवटी विवाह गरिदिएछन् । तर ती सबै श्रीमतीले त्यो घरको हिंसा, अत्याचार खप्न नसकी र आफ्नै देश खाली हात फर्केछन् जिन्दगी र भाग्यलाई जिउँदै मसानघाटबाट सेलाएर । अस्पतालको भेटमा सौचालय जाँदा अभिनासँग भनेको मनको भारी बिसाएर भक्कानो फुटाइन् मिनाले । उनको पेटमा पाँच महिनाको गर्भ थियो भने डेढ वर्षको दुधे छोरा घरमा थियो । रातदिनको कुटाइ, सासु र लोग्नेबाट अनि त्यस्तै कामको निरन्तर सताइले उनी थलिनसम्म थलिएकी थिइन् । त्यसमाथि उनलाई बारम्बार धम्की दिइन्थ्यो ।

तैँले हामीले भनेको जस्तो नगरे त अर्को बिवाह गर्छौँ । हामी त पैसावाला धनी देशका हौँ, तँजस्तो चपस्टिक पनि चलाउन नजान्ने, खान नपाउने, भिख मगुवा देशका हैनौँ । आफ्नो नाममा, आफ्नो राष्ट्रलाई, आफ्नो जन्मभूमीलाई बोलेको अपमानजनक शब्दले उनी साह्रै मर्माहत हुनसम्म भइन् । उनी कसैसँग प्रत्यक्ष या अप्रत्यक्ष सम्पर्क गर्न सक्दिन थिइन् । अभिनासँग समयको मौकालाई छोपेर आफ्नो दुखेसो फोनमार्फत सुनाउथिन् । जुन अस्पतालमा अभिनासँग मिनाको भेट भएको थियो । त्यहाँ काम गर्ने नेपाली नर्स कवितालाई अभिनाले राम्ररी चिनेकी थिइन् नेपालदेखि नै । उनले मिनालाई कवितासँग परिचय गराइदिएपछि । अस्पतालमा आउँदा यी दुईबीच दुःखको कुरा सुन्ने र सुनाउने भइरह्यो ।

अभिनालाई मिना र मिनाजस्तै धेरै पीडित नारीहरूको समस्याले विथोल्न थाल्यो । चाहेर पनि उनले त्यस्तो कुनै उपाय निकाल्न सकिनन् जसको कारणले घरेलु हिंसाबाट ती नारीहरूलाई पार लगाउन सकियोस् र श्रीमतीको मान–सम्मान र हक–अधिकार सुनिश्चित गर्न सकियोस् । अर्काको देशको कानूनमा बोल्ने कुनै त्यस्तो कुनै अधिकार छैन । आफू पनि कामदारकै रूपमा भित्रिएको । तैपनि उनी यस विषयलाई लिएर निक्कै सम्वेदनशील र गम्भीर देखिन्थिन् । “अनि अब मिनासँग भेट्न मन लागेको जस्तो छ हो ?” मैले उनको मौनतालाई भङ्ग गर्दै भनेँ । जुनबेला बोल्दाबोल्दै उनी अचानक ट्वाक्क रोकिएर एकोहोरो आफैँमा हराउन थालेकी थिइन् ।

“मिनाको अर्को महिना डेलिभरी डेट हो बच्चा जन्मने मिति डक्टरले तोकेअनुसार । तर हिजो साँझ उनको लोग्नेले भ-याङबाट हुत्याएर लडाएछ । उनको गर्भाशयबाट पानीको फोको (जुन बच्चालाई) सुरक्षित राख्नको लागि हुन्छ) फुटेछ र उनलाई सुत्केरी ब्यथा जुन नक्कली अप्राकृतिक तरिकाबाट सुरु हुन थालेछ । उनलाई हिजो राति अस्पताल पु¥याएछन् । बिहान मलाई कविताले फोन गरेकी थिइन् । मिनाको स्वास्थ्य अवस्था एकदमै नाजुक छ र बच्चा पनि सायद बाँच्ला जस्तो थिएन… तिमी आउनु अगाडि त्यही कुराको पिरलोमा डुबेकी थिएँ म । अनि अघि आएको फोन पनि कविताकै हो । मिनाको छोरी भएछ बच्चा पनि साह्रै कमजोरी छ रे । त्यसैले इन्क्युवेटरमा राखेको छ भनिन् । अनि मिना डर, त्रास, चिन्ता, शोक, दुःख–पीडासँग नराम्ररी गलेकी अवस्थामा मसँग भेट्न खोज्दै छिन् रे । भरे भिजिटिङ आवरमा बोलाएकी छिन् कविताले । थाहा छैन उनको घरकाहरूले भने भेट्न दिने हुन् कि हैनन् शङ्कै लाग्छ” अगाडि रहेको जुठो थाल, कचौराहरू समेट्दै बोलिन् अभिना ।

उनको कुराले मभित्र पनि ठूलो हुन्डरी चलिरह्यो । बेस्कन मेरो मर्म–मर्मलाई भेदन् गरिरह्यो । मिना र अन्य चेलीहरूले भोगेको दुर्दशाले । भान्सामा भाँडा पु¥याउन गएकी अभिना फलको ट्रे बोकेर आइन् । “कल्पित फल खाउ है अब । तिमीलाई मैले आज बोरिङ बनाएँ है नानाभाँतिको कुरा सुनाएर” अनुहारमा थोरै हाँसो ल्याउँदै मेरो मुख्खैमा ताकेर बोलिन् अभिना । मलाई मन पर्ने भुइँकटहरको टुक्रालाई निलेपछि मैले बोल्न सुरु गरेँ । उनलाई मिनाको विषयवस्तुबाट मोडेर लग्ने मनसुवाले ।

“यो भुइँकटहरको फल देखेर त मलाई नेपालको पो याद आयो । हाम्रो अफिस नजिकै फलवालाले भुइँकटहर टुक्रा पारी बेच्थ्यो नि हैन ? तिमी हामी नून खुर्सानीको धुलो छरेको फललाई खुबै रुचाएर खान्थ्यौँ । अनि याद छ नि तिमीलाई ? जब दुःखका घट्नाहरू घटे नि तिम्रो हाम्रो जीवनमा प्रायः सबै घट्नाको स्वरूपहरू उस्ताउस्तै हुन्थ्यो र हामीबीच ती घटनाहरू सँगसँगै घटेका थिए । जस्तो कि तिमीलाई मातृशोक परेको केही हप्तापछि मलाई पितृशोक परेको थियो । अनि हाम्रो अफिस बन्द भयो । उल्टै हामीले त्यस झमेलामा फस्नुप¥यो । चार महिनादेखि अफिसबाट तलब नपाएर हामी पीडित थियौँ । त्यसपछि तिमीले र मैले सँगसँगै नै आ–आफ्नो प्रेम जोडीलाई गुमायौँ र अबको दुःख पनि सँगसँगै यो विदेशमा भोगिरहेका छौ । अब सायद हाम्रो अगाडिको जीवनमा पनि कति यस्ता धेरै उस्ताउस्तै घटनाहरूसँग सँगसँगै सामना गर्नु पर्ने हुन्छ होला हगि ?” मेरो यो भनाइप्रति उनी मुसुमुसु हाँसिन् अलि लामै समयसम्म र बोलिन् “होस् जे–जे आइलाग्छ लागोस् । हिम्मत हार्नु हुन्न । डटेर सामना गर्नुपर्छ । विगतका दुःखद कुराले धेरै पाठ सिकायो हामीलाई । जीवन भोग्न सिकाएको छ । अप्ठ्यारा स्थितिबाट गुज्रन सक्ने क्षमनाको विकास गराएको छ । जस्तो परिस्थिति आइलागे पनि आफ्नो मनस्थितिलाई कमजोर पार्न हुन्न । बिस्तारै स्थिति ठीक भएर आउँछ । बस कर्म भने विचलित नभई राम्रो मात्र गर्नुपर्छ ।” उनले कति सहज ढङ्गबाटै खरर बोलिन् यसरी । म दङ्ग परेँ उनको त्यो जीवनप्रतिको सकारात्मक सोच बुझेर । “अनि अब तिम्रो अगाडि के योजना छ नि ? मेरो त दुवै बहिनीहरूको पढाइ पूरा गराएर बिहे गरिदिने विचार छ । आमा एक्लै हुने पीर छोरीहरूको बिदाइपछि…. तिमीले बुझि नै हाल्यौ होला” उनको आँखामा आफ्नो आँखालाई राम्ररी जुधाएर भने मैले ।

फेरि अनि उनी मेरो कुरा सकिने बित्तिकै मुसुक्क हाँसिन् र केहीबेर पछि बोलिन् “बहिनी अग्रताको एमबीबीएस पढाइ पूरा गराउनु नै मेरो मुख्य लक्ष्य छ । त्यसपछि त उनले आफूलाई आफै सम्हाल्न सक्ने छिन् । बुवालाई मैले सहारा दिनुपर्ने अवस्था छैन । कान्छी आमाबाट पनि यो उमेरमा आएर दुई जना भाइहरू जन्माइसक्नु भएको छ । अनि बहिनीको बिहेको बारेमा नि म सोच्दिनँ । कारण त्यो उनको आफ्नो निर्णय हुनेछ । बिहे मात्र नारीको निम्ति सम्पूर्ण हैन । तिमीले पनि बहिनीहरूको पढाइ पूरा भएपछि उनीहरूलाई मौका दिनु राम्रो होला । नोकरी गर्ने र आफ्नो योग्यताको सही सदुपयोग गर्ने इच्छा हुनसक्छ । आफ्नो आत्मनिर्भरता आफैले मात्र गर्न सक्ने कुरा हो । हाम्रो देशमा नारीहरूलाई यो स्थितिबाट अझै पनि बञ्चित राखिएको छ । पहिले–पहिले छोरीले पढेर केही काम छैन । घरधन्दा सबैभन्दा ठूलो योग्यता हो भनेर पछि पारियो । हिजोआज पढ्ने मौका केही नारीहरूले पाएका छन् । तर उनीहरूलाई केवल राम्रो घर–घराना भएको, उच्च पदमा कार्यरत, उच्च शिक्षा हासिल गरेको वरसँग विवाह गराउनका लागि नै ध्यानमा राख्ने गरिएको छ । यो सब त ठीक छ । परिवर्तन भन्ने कुरा समयको बदलावसँगसँगै बिस्तारै देखिने कुरा हो । आफै सजग नभएसम्म विभिन्न नारी समस्यामाथिको समाधान सजिलै हुने छैन । बिस्तारै नारीहरूमा चेत जाग्दै छ । आफ्नो आत्मनिर्णय गर्न सक्ने भएसी त सामाजिक कुप्रथाहरू अवश्य परिवर्तन हुनेछ ।”

“अनि साँच्ची तिमी आफूले चाहिँ बिहेको बारेमा के सोचेकी छौ त ?” मैले कुरालाई घुमाउँदै उनको भित्री मनलाई बुझ्ने बाटो खोजेँ ।

“भनिहालेँ नि बिहेमात्र नारीको निम्ति सम्पूर्ण हैन । बिहे हुँदैमा सबै नारी सुखी र आनन्दित हुन्छन् र उनीहरूको भविष्य सुनिश्चित हुन्छ भनेर म भन्न सक्दिनँ । त्यसो त विवाह विरोधी, सामाजिक नियम नमान्ने हिप्पी पनि हैन म । भोलिको दिनमा मेरो निम्ति कोही पुरुष सही लागेको खण्डमा सायद…. तर हालमा भने मेरो विवाहसम्बन्धी कुनै चाँसो छैन ।” यति भनेर अभिनाले आफ्नो भावी योजना र चाहनाको बारेमा बताउन थालिन् । बिदेशको भूमीमा बसेर पनि देशकै नारी समस्या कसरी हल गर्न सकिन्छ आदि जस्तो कुरामा व्यस्त देखेँ मैले उनलाई । चेतनाको कमीले अरूलाई विश्वास गर्ने परनिर्भरता भएकै कारण विदेशको विभिन्न भागमा नारीहरू बेचिने क्रम जारी छ । कसैले राम्रो नौकरी दिने लोभमा, कसैले श्रीमती बनाएर बिदेश घुमाउन लाने बहानामा भारतको वेश्यालयमा पु¥याइ बेच्ने अपराधीहरूको अझै पनि कमी आएको छैन । यस्तै वैदेशिक रोजगारको निम्ति बिदेशिएका चेलीहरूले संसारको विभिन्न देशमा नारकीय जीवन बिताउन बाध्य छन् । अनि मिनाजस्तै बिदेशी नागरिकसँग बिहे गरी आउनेहरूको व्यथा र दुर्दशालाई त मेरो आँखाले नै बाध्य भएर टुलुटुलु हेरिरहेको छ । बहिनीको पढाइ पूरा गरेपछि म पनि अर्काको देशमा नौकरी गरी बस्दिनँ । अन्य अत्याचारमा परेका बृद्धा, महिला, बालबालिका जो अनाथ र अपाङ्ग छन्, वा समाजबाट अपहेलित वा अन्य यस्तै शोषित, पीडित वर्गको उत्थान हेतु आफ्नो जीवन समर्पण गर्ने विचार छ । अनि तिमीलाई पनि मेरो एउटा अनुरोध छ कल्पित । यो कोरियामा अरू सोझा चेलीहरू बिहेको प्रलोभनमा फसी आउनबाट जोगाउन यसको निम्ति विभिन्न सञ्चारको माध्यमबाट आफ्नो लेख, रचना र सन्देशहरू फैलाउने काम गर । व्यापारिक दृष्टिले खोलिएको म्यारिज ब्युरोजस्तो संस्थालाई सरकारले बिना शर्त बन्द गर्न सक्नुपर्छ । यसको निम्ति तिमीहरूले आवाज उठाउन सक्छौ । देख्दै नदेखेको बिरानो मानिस जसको भाषा संस्कार र संस्कृति आफूसँग पूर्णरूपमा भिन्न छ उनीहरूसँग विवाहको निम्ति अरूको लहैलहैमा लागि पर्नु राम्रो हैन । यस खालको निर्णयले अँध्यारोमा झटारो हानेको सम्बन्धले आफ्नो दुर्दशा निम्त्याउन आफै पुगिन्छ । पाँच करोड भन्दा बढी जनसङ्ख्या भएको यो कोरियामा विवाहको निम्ति किन केटी पाउन सकेनन् होला कोरियाका पुरुषहरूले ? यो कुरालाई नि मनन् गर्न भुल्नुहुन्न, ती नदेखेका दुलहाले नदेखेकै दुलहीलाई यति सजिलै स्वीकार्न कसरी र किन तयार हुन्छन् होला ? यसको पछाडि अवश्य कुनै रहस्य लुकेको छ भन्ने कुरालाई शङ्काको घेरामा लिनुपर्छ । यसरी आफै सजग र चेतनशील भएमा, गराउन सकिएमा अन्य चेलीहरूलाई मिनाजस्तो दलदलमा फस्नबाट जोगाउन सकिन्छ ।”

“अभिना तिम्रो यो हिम्मतको म कदर गर्छु, यही पलदेखि यो तिम्रो गुरु योजनालाई मूर्त रूप दिनको निम्ति मैले तिम्रो साथ दिएँ सदासदाका लागि” उनको दुबै हातलाई आफ्नो दुबै हातमा लिँदै सङ्कल्प गरेँ मैले… “म सधैँ तिम्रो साथमा रहनेछु अभिना” ।

(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक १२, सेप्टेम्बर २०१३)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.