कथा : शिव काका र तिकडमको राजनीति

~ध्रुव पन्थी~Dhruba Panthi

उनको औपचारिक पढाइ हाइस्कुल तहमै टुङ्गिएको थियो। मान्छे हेर्दामा उस्तो सुग्घर र भलाद्मी व्यक्तित्व भएका जस्ता पनि थिएनन्। प्रायजसो छुस्स बढेको पातलो दाह्री, पानीको मुख नदेखेर लेसिएजस्तो लाग्ने नकोरेको कपाल, खुजमुजिएका सर्टपाइन्ट र पान्डा भनेर चिनिने कपडाका मैला जुत्ता उनका परिचय हुन्थे। तर जब कतैबाट उनी गाउँघरमा टुप्लुक्क देखापर्न आइपुग्थे, मान्छेहरु उनीप्रति गहिरो श्रद्धाभाव प्रकट गर्दथे। गाउँलेहरुका नजरमा उनी किताबमा पढिने त्यो नेताजस्ता थिए जो आफ्नो सर्वस्व त्यागेर समाज र देशको सेवामा निस्केको छ।

घरमा बा भन्नुहुन्थ्यो , ‘यो शिवे अलि-अलि जान्ने भएदेखि नै राजनीतिमा छ। पल्ला गाउँका रत्ने मास्टरको सङ्गतले राजनीतिमा लागेको त्यतै रमाएको रमायै भयो।’ म त्यतिबेला तीन-चार कक्षामा पढ्दो हुँ। बाका कुरा सुनेपछि मलाई शिव काकाको बारेमा अरु पनि जान्ने खसखस हुन्थ्यो तर बासँग सोध्न धक लाग्थ्यो। अनि म आमालाई कोट्याउन पुग्थेँ, ‘शिव काका किन आफ्नो घरमा बस्दैनन? किन बाहिरफेर हिँडिरहन्छन्?’ आमा मलाई बुझाउनुहुन्थ्यो , ‘पार्टीमा लागेको मान्छे सधैँ घर बसेर पुग्छ त! उनलाई त पार्टीले जहाँ-जहाँ खटाउँछ, त्यहाँ-त्यहाँ पुग्नुपर्छ।’ यी पार्टी र राजनीतिका कुरा राम्ररी नबुझे पनि म बुझेजस्तो गर्थेँ। आमाका मनमा पनि शिव काकाप्रति ठूलो श्रद्धा थियो। त्यसैले त कहिलेकाहीँ प्रेरणा जगाउने किसिमले उहाँ सुनाउनुहुन्थ्यो – ‘कस्तो दु:ख पाएर हुर्केका हुन् ती। आमा सानैमा बितिन्, घरमा सधैँ सौतेनी आमाको टोकसो हुन्थ्यो। तैपनि पढ्नमा साह्रै टाठा थिए, छुट्टीको दिनमा गोठाला जाँदा पनि किताब टुट्थेन तिनका हातमा। पढ्न त त्यसरी पो पढ्नुपर्छ बाबै!’ साँच्चै पढ्नमा तेज भएर पो नेता बन्न सकेका रहेछन् कि क्या हो शिव काका? म बालसुलभ मस्तिष्कले विचार्थेँ।

भर्खर-भर्खर खुला राजनीतिक अभ्यास शुरु भएको भएर होला, गाउँघरमा राजनीतिको ज्वरो चर्को थियो। एउटा पार्टीकाले अर्को पार्टीकालाई फुटेका आँखाले पनि हेर्न नसक्ने। बिहेबारीको कुरामा समेत कुल-खान्दानका कुराभन्दा पहिले केटो कुन पार्टीतिरको हो, केटीका बाबु कुन पार्टीमा लागेका मान्छे हुन, आदि छिनोफानो गर्ने चलन बसिसकेको स्थिति थियो। त्यस्तोमा पनि शिव काकालाई भने सबैले सराउँथे। उनको पार्टीको उग्र विरोध गर्नेहरुले समेत उनीप्रति नाक खुम्च्याएको देखिँदैनथ्यो। म अचम्म मान्थेँ – के छ हँ यी काकामा त्यस्तो?

तर विस्तारै गाउँका मान्छेहरु शिव काकालाई सम्मानभन्दा बढी सहानुभूतिको दृष्टिले हेर्न थाले।

‘यसले राजनीतिमा लागेर केही प्रगति गर्न सकेन।’

‘यो ठूलाठालुहरुको भरिया मात्रै भयो।’

‘यसलाई अरु नेताहरुले खेलाए मात्रै, माथि उठ्न दिएनन्।’

‘यो जैरे आफैँ नामर्द हो।’

बेसीको चियापसलमा शिव काकाबारे यस्तै टिकाटिप्पणी गर्थे मान्छेहरु। आफ्नै पार्टी ठाउँमा हुँदा पनि उनले केही गर्न नसकेको ठहर थियो गाउँलेहरुको। यतिका वर्ष राजनीतिमा बिताएर पनि न आफ्नो अवस्था न त गाउँघरको अवस्था नै सुधार्न सकेकोमा क्षुब्ध थिए उनीहरु।
‘पारि गाउँको भक्तेले कति धेरै योजना पारिसक्यो आफ्नामा, हाम्रो आफ्नो नेता भनेको यस्तो छ,’ गाउँका पाकामध्येका ऋषिराम बाजे फत्फताउँथे। ‘भक्तेका कुरा गर्नुहुन्छ, त्यो अस्तिभर्खर नेता भैटोपलेको नरेन्द्रेले समेत ठूलाखर्क गाउँमा हाइस्कुलको स्वीकृति ल्याइसक्यो रे!’ गोविन्द बूढा रोष प्रकट गर्थे, ‘आफ्नो भने त्यही भएको एउटा प्राविको खाली दरबन्दीमा बुहारीलाई झुन्डाइदिन पर्‍यो भनेको पनि त्यो शिवे पाजीले केही गर्न सकेन। न गाईका थन, न बाच्छाका मुख भनेजस्तै न मेरी बुहारीले जागिर पाउने भई न गाउँका अरु कसैले। अब कुनचाहिँ पराइ आएर रजाइँ गर्ने हो!’

कन्नापछाडि जेजस्ता कुरा गरे पनि शिव काकाकै अगाडि भने मान्छेहरु बोल्न हच्किन्थे। ‘सबैले आफ्नै गाउँमा मात्र योजना पार्न खोज्ने हो भने, सबैले आफ्ना नातागोता र सम्बन्धीलाई मात्र जागिर खुवाउन खोज्ने हो भने यो देश कसरी बन्छ?’शिव काका सबैलाई सम्झाउँथे, ‘हामीले खोजेको त समग्र देशको विकास हो, देशको परिवर्तन हो।’ उनी हँसिलो मिजासमा प्रतिप्रश्न गर्थे, ‘ के गाउँमा कनिके विकास ल्याओस् भनेर तपाईँहरुले मलाई नेता बनाउनुभएको हो र? त्यस्तो कनिके विकास त हिजो पनि आएको थियो, तर खै गाउँको मुहार फेरिएको?’ भित्रभित्र मुर्मुरिए पनि मौन असन्तोष प्रकट गर्नुबाहेक थप तर्क गर्न सक्दैनथे गाउँलेहरु। लामो मौनतापछि कसैले भन्थ्यो, ‘खै तैँलेजस्तै सबैले सोँच्ने भैदिए त जाती नै हुन्थ्यो।’ ‘सोँच्छन्, नसोँची सुखै छैन,’ शिव काका आश्वस्त पार्न खोज्थे, ‘एक-दुईजना फटाहाहरुलाई हेरेर हामीले हरेस खानु हुन्न।’

‘यसले खालि आदर्शका कुरा गर्छ, यसलाई टिकीखान देलान् के?’ मान्छेहरु शंका गर्थे।

‘यसको मन सफा छ, सबैको भलो सोँच्छ तर ठाउँमा पुग्न त चलाखी पनि चाहिन्छ। खै, यसले राजनीति गरी खाने छाँट ल्याएन।’

‘एक्लो वृहस्पति बन्न खोज्छ अनि कहाँ हुन्छ! कस्ता-कस्ता तिकडम गर्न जान्ने मान्छे छन् राजनीतिमा!’

‘यसले पनि अलि-अलि तिकडम गरे हुने हो केरे। पछि ठाउँमा पुगेर सबैको भलो हुने काम गरे दुनियाँले राम्रो-नराम्रो थाहा पाइहाल्छ नि!’

चियापसलमा यस्ता टिप्पणी चलिरहन्थे।

समयले कोल्टे फेर्दै गयो। गाउँलेले शंका गरेजस्तै आफ्नै पार्टीका मान्छेले टिकीखान दिएनन् कि अर्थोकै केही भयो, शिव काका माउ पार्टीबाट चोइटिएको नयाँ पार्टीको नेता बन्न पुगे। उनको पार्टी सानो भएकोले होला, मान्छेहरु व्यङ्ग्य गर्थे। कोही उनको पार्टीलाई ‘झोले पार्टी’ भन्थे त कोही ‘कोठे पार्टी’। जेहोस्, अब शिव काका ठूलो पार्टीका साना नेता नभएर सानो पार्टीका ठूला नेता भएका थिए। तर उनका आँखाको चमक र बोलीको ओज भने उस्तै थियो। उनी बोल्दा शब्द-शब्दमा उस्तै विश्वास पैदा हुने गरी बोल्थे। एकचोटि गाउँका रामजी काकासँग कुरा चल्दा उनले भनेको हिजैजस्तो लाग्छ – ‘पार्टी सानो र ठूलो संख्याले हुने होइन, विचारले हुने हो। संख्याले तपाईँहरुलाई मेरो पार्टी सानो लाग्ला तर विचारले म निकै ठूलो पार्टीमा छु।’ त्यसपछि उनले पहिले साना भनेर हेपिएका तर आफूले बोकेको विचारको बलले संसारै हल्लाइदिने परिवर्तन ल्याउन सफल भएका अनेकन् पार्टीको उदाहरण दिएका थिए। उनले सुनाएका थिए – ठूला पार्टीका नेताले उनलाई फकाउन खोजेका कुरा अनि उनले विचारशून्य त्यस्ता नेताहरुलाई मुखभरिको जवाफ दिएर फर्काइदिएका कुरा। प्रतिक्रियामा आफूलाई राजनीतिको लालबुझक्कड ठान्ने रामजी काका पनि नतमस्तक भएका थिए। जीवनमा पहिलोपल्ट आफ्नै अगाडि शिव काकाको राजनीतिक-वैचारिक उचाइ अनुभव गर्न पाउँदा म पनि दङ्ग परेको थिएँ। मेरो मनमा भएको उनीप्रतिको सम्मान त्यो दिन झन् चुलिएको थियो।

बाँचे के-के देख्न र सुन्न पाइन्छ के-के। एकदिन सुनियो – शिव काका त अर्कै राजनीतिक पार्टीमा पो प्रवेश गरे रे। पार्टी त उनको पहिले पनि फेरिएकै थियो तर यसपालि भने उनी आफूले सधैँ आलोचना गर्ने पार्टीमा पो छिरेछन्। गाउँलेहरु सबै आश्चर्यचकित भए – ‘के भएछ यो शिवेलाई!’ चाँडै नै अरु आश्चर्यका खबर पनि सुनिन थाले – शिव काका त अब साँच्चैका पावरफुल नेता भएका छन् रे। शहरमा घर पनि बनाइसके रे। गाउँका धने र शंकरेलाई पनि जागिर लगाइदेका छन् रे। जागिर पनि फेरि कति आनन्दको – महिनादिनमा एकपल्ट विभाग पुगेर हाजिर धस्काए तलब पाक्ने। शिव काका आफू त कुनै पदमा थिएनन् तर उनले भनेपछि मन्त्री, सचिव सबै लुतुक्क पर्छन रे। शिव काकाको रवाफ र पहुँच एकाएक आकासिएको थियो। गाउँलेहरुले ठूलो सन्तोष माने – बल्ल आफ्नो मान्छे पनि ठाउँमा छ भन्ने भयो।

बिस्तारै शिव काकाका बारेमा अरु गाइँगुइँ पनि सुनिन थाले – ‘शिवे त आजभोलि त्यो धर्मेसित पो साख्खै छ रे!’ धर्मे अर्थात् गाउँबाट धेरै पहिले बाबुका पैसा चोरेर शहर पसेको एउटा आवारा। शहर पसेपछि भने सानतिना गुण्डागर्दीदेखि ठूल्ठूला तस्करीसम्म सबै सिकेर सेठ भएको थियो ऊ। ऊ जतिसुकै सम्पन्न भए पनि गाउँलेहरुमाझ उसप्रति श्रद्धा होइन, घृणाको भाव नै छताछुल्ल थियो। उसका आफ्नै बाबु ‘त्यो धुन्धुकारी उहिले मरेको हो मेरा लागि’ भन्थे। सधैँजसो धर्मकर्ममा लीन रहने बाबुलाई थाहा थियो – धर्मेले कमाएको धन सत्को धन हैन, त्यस्तो धनले कहिल्यै सुख दिँदैन।

‘त्यस्तो साधु शिव एकाएक यस्तो कसरी भयो?’ मान्छेहरुलाई पत्याउन मुश्किल पर्थ्यो। कोही भन्थे, ‘स्वास्नीले बिगारी।’ पछिल्लोपल्ट नयाँ पार्टीमा लागेपछि उमेर केही ढल्किसकेका शिव काकाले त्यसै पार्टीका एकजना नेताकी छोरीसँग घरजम गरेका थिए। केटी शहरिया, मान्छेलाई लख काट्न सजिलै थियो। फेरि अरुचाहिँ भन्थे, ‘केको स्वास्नीले बिगार्नु नि! त्यसले पार्टी फेर्दै हिँड्दा उकास्नलाई स्वास्नी थिई र? त्यो शिवेको आफ्नै मतिभ्रष्ट भएको हो।’ अरुजस्तै म पनि शिव काका कसरी बदलिए केही बुझ्न सक्दिनथेँ। तर अब राजनीतिका कुरा अलि-अलि भेउ पाउन सक्ने भएकोले उनलाई भेटेँ भने सबै कुरा कोट्याएर सोधीछाड्छु भन्ने हिम्मत भने ममा आउँथ्यो। आफ्नो आदर्श हेर्दाहेर्दै त्यसरी पाखण्डमा परिणत भएको स्वीकार्न मनले सजिलै नमानेको भएर होला।

कामविशेषले काठमाण्डौं पुगेका बेला उनकै पार्टीका मदन दाइहरुसँगै म पनि पुगेँ शिव काकाको शहरिया घरमा। उनको घर पुगुञ्जेल बाटोमा मनभरि थुप्रै प्रश्न थुपारेको थिएँ मैले उनलाई सोध्न भनेर तर उनलाई भेटेपछि भने ती सबै प्रश्न घाँटीमै अड्किए। ती शिव काका शिव काका नै थिएनन्। उनको लवाइखवाइदेखि बोल्ने, हाँस्ने तरिकासम्म सबै बदलिइसकेका थिए। तर उनी आफ्नो नयाँ परिचयलाई यति स्वभाविक रुपमा हामीसामु प्रस्तुत गर्दै थिए कि पुराना कुरा झिक्नु त्यहाँ आफू जोकर बन्ने बाटो मात्र हुन्थ्यो। मैले निकैबेर चिहाएर हेरेँ, उनका आँखामा कतै पश्चात्तापको लेशमात्र पनि भेटिन्छ कि भनेर तर अहँ त्यस्तो केही भेटिएन। म टोलाएकोजस्तो देखेपछि उनले भने ‘मैले केही काम गरिदिनुपर्नेछ भने भन, तिमी त आफ्नै मान्छे पो हौ त, अप्ठ्यारो मान्नुपर्दैन।’ साँच्चै, उनकोमा काम नलिइकन त को पो पुग्थ्यो होला र! कामका मान्छेसँग कामबाहेक केको कुरा हुनु!

यता पहिले-पहिले शिवले राजनीतिमा लागेर पनि तिकडम गर्न जानेन भन्ने बूढापाकाहरुको बोली भने बन्द भएको थियो। शिव काकाको कुरा चल्दा बूढाहरु खुइय्य सुस्केरा मात्र काढ्थे – न उनीहरु शिव काकाले राम्रो गरे भन्न सक्थे न त उनले बाटो बिराए भन्न नै।

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.