~जया राई~
शनिबार दिउसो तीन बजे काम सकिनु पर्ने । सवा तीन बजिसकेको म अझै काममै छु । काम छ नौ तला माथि । लिफ्ट पर्खदा अरु बढी समय लाग्यो । क्लक रुममा पुग्दा हात गोजीमा अनायस पस्यो । ला…गोजीमा भएको लकरको चाबी त छैन ! भएन त फसाद !
कसरी घर जाने, बस पास, लुगा, जुत्ता, ज्याकेट सबै लकर भित्रै छ । हिँडेर जाने भए पनि घर त पुगिन्छ, तर आजको मौसम खराब छ नि । यदि हिँड्दै जाने हो भने पनि बाटैमा पानी परेर बिजोक होला । आदि इत्यादि कुरा क्षण भरमा आएर मनमा फन फन घुम्न थाले ।
बिहानै काम नथाल्दैको कुरा झट्ट याद भयो । लकरको चाबी ढोकाको सेक्यूरीटी कार्डसँगै डोरीमा थियो । डोरी चुँडियो र बाँधेको पनि थिएँ । तर हतारमा राम्ररी बाँधिएन रहेछ । आठ घण्टाको समयमा घरि पेन खोज्न, घरि टीस्यू पेपर राख्न, घरि भएको टीस्यू पेपर फाल्न, घरि सेक्यूरी कार्डले ढोका खोल्न कति पटक गोजीमा हात पस्यो पत्तो भएन । जति पटक गोजीमा हात पसे पनि चाबी भए नभएको छनकसम्म भएन ।
लन्च ब्रेकमा गोजीबाट ठूलो टिस्यूको पोका फालेको याद आयो । पक्कै पनि स्टाफ रुमको डस्टबिनमा होला ! देव्रे बूढी औैंठा सेन्सर मेसिनमा टवाक्क छुवाएर साइन आउट गरेँ । नजिकै टेबलमा बसेकी श्रीलंकनमूलकी सूपरभाइजर पूजालाई, “मेरो त लकरको चाबी हराएछ, माथि वार्डमै खस्यो क्यार, गएँ म त” भन्दै फनक्कै फर्केर गएँ ।
दुई मिनेट लिफ्ट पर्खिदा पनि घन्टौँ पर्खे झैँ लाग्छ । बिहान सात बजेदेखि तीन बजेसम्म हस्याङ फस्याङ गर्दै काम गरेको यो ठाउँबाट कहिले भागौँ भएको बेला, फेरि त्यही ठाउँमा फर्की जाँदा, मोर्निङ्ग सिक्नेस भएको जस्तै वाक्वाकी लाग्छ ।
बिहान ब्याग राखेको ठाउँमा हेरेँ, अँहँ, छैन । सरासर गएर स्टाफ रुमको डस्टबिनमा ग्लोभ लगाएर सबै टिस्यू खोतलेँ, छैन । किचनको डस्टबिन त म जान अगाडि नै फालिसकेको छ, त्यहाँ गएर खोज्नै परेन ।
ट्वाइलेटको बिनमा खोतल्ने जाँगर भएन, विश्वास पनि छैन । रन्थनिँदै अरु स्टाफहरुलाई “मेरो चाबी कतै कसैले भेटे खबर पाऊँ है”, एउटा झिनो आशा राख्दै खबर छाडेर म फनक्क फर्केर फेरि लिफ्ट पर्खन थालेँ । हरेक फ्लोरमा लिफ्ट रोकिन्छ । मेरो हतारलाई उसले बुझ्दैन । बल्ल बेसमेन्टमा पुगेर रोकियो ।
सिधै सेक्यूरिटी अफिस गएँ । नेपाली दाइ नै रहेछन् । मैले मेरो लकरको चाबी हरायो, मास्टर की ले खोलिदिनु प¥यो दाइ भनेर अनुरोध गरेँ ।
“लौ मास्टर की पनि भाँचिएको छ, अब लकर भत्काउन त मेनेजर अथवा सुपरभाइजरको आदेश चाहिन्छ । लकर भत्काउँदा कम्पनीको प्रोपर्टी बिग्रन्छ रे । अब बिना अनुमति लकर भत्काउन हुन्न रे ।” उनको भनाईले म असमान्जस्यमा परेँ ।
पूजालाई फोन गरेँ र भने “लौ मास्टर की पनि भाँचिएको रहेछ, ताला तोड्न पनि अनुमति पो चाहिने रहेछ हैन ?” उनले सोधिन् “तिम्रो लकर कस्तो छ, भित्रपट्टी वान पाउण्डको क्वाइन राख्ने हो कि, बाहिर प्याडलक झुन्डिएको हो ?” । “पाउण्ड वाला होे” मैले भनेँ ।
“ल ठीक छ, यहाँ तल आऊ म मिलाउँला ।” म ढुक्क भएर तल ग्राउण्ड फ्लोरको लकर रुममा पुग्दा किचनको सुपरभाइजर मिस्टर अली उसको सेतो युनिफर्म नै नफुकाली, हातमा सेतो बिँड भएको लामो स्टीलको चक्कु लिएर आएको रहेछ । दुई सय भन्दा बढी स्टाफहरुको ठूलो लकररुममा मेरो लकर ढोका नजिकैको तेस्रो लहरमा छ ।
लकररुम भित्र पस्नु अगाडि मिस्टर अली सतर्क हँुदै सोध्छ, “भित्र कोही छ कि ?” पूजा, ढोका खोलेर भित्र कराई “लेडिज, कोही लुगा फेर्दै छौ कि ? मिस्टर अली भित्र आउँदै छन् ।” कुनै उत्तर आएन । घर जानेहरु गइसके, नजानेहरु काममा फर्किसके । त्यत्रो ठूलो कोठामा हामी तीन जना मात्र छौँ । सरासर गएर देखाएँ, “यो हो मेरो लकर ।”
मानिस भन्दा अग्लो, करिव सात फीटको निलो रंगको स्टीलको दराज, जस्मा दुई खण्ड छ । माथिको खण्ड सानो छ । त्यसमा ब्याग, किताव र अरु सामान राख्न सकिने छ । तलको खण्डमा युनिफर्म र कोट आदि झुन्ड्याउन सकिने र भूँईमा जुत्ता राख्न सकिने ठाउँ छ । एक जनाको सामान मनग्यै अटाउँछ ।
हामी उसलाई अली भाइ भन्छौँ, ऊ हिन्दी भाषा पनि बोल्छ । अग्लो अली भाइ हातमा भएको चक्कू मेरो लकरको चाबी छिराउने दुलो निर लगेर तल–माथि जताततै छिराउँछ । मलाई आशा छ, अली भाइको त्यो छुरीले ठ्याक्–ठयाक्, तल–माथि हान्दा, यस्सो निहुरिएर आँकुसे लागेर अड्किएको चाबी अवश्य नै खोलिन्छ ।
दिनको चार बजिसकेको छ, अलीले मलाई सोध्छ, “लुगा कहाँ छ तल छ कि, माथि ?”
म भन्छु “तल ।”“अनि तिम्रो बस पास नि ?”“त्यो तल ह्यागरमा झुन्डिएको ज्याकेटको गोजीमा ।”
अली भाइले चक्कू यताउता, तल,माथि छिराए, लकरलाई हल्लाउदै ठोकठाक पारे । चाबी पस्ने तल माथि चक्कु जता छिराए पनि, जतैबाट ठ्याक ठ्याक गरे पनि चाबीले टेरे पो ! टसमस भएन । केही सीप नलागे पछि दुबैजना फेरि किचनमा अर्को हतियार लिन जाने भए ।
मैले भने “भो, अब छोडिदेऊ, म हिँड्दै घर जाउँला ।” अली भाइले भने, “बस पास भित्रै भए कसरी जाने, भोलि काम छ हैन, अनि भोलि कसरी आउने ! आजै खोल्नु पर्छ, पख म अर्कै सामान लिएर आउँला ।” उनीहरु गए ।
यो खाली समय के गरौँ, के गरौँ भयो । कसैलाई फोन गरौँ र जानकारी दिऊँ की भन्ने पनि लाग्यो तर यो बिजोग कसैलाई सुनाउनु हुन्न भन्ने सोचाइृ पनि आयो । फेरि सुन्ने मानिस पनि हुनु प¥यो नि ! आफ्नो बेहोसीपनको भो बढी हल्ला नगरौँ । अन्तमा निकालिसकेकोे फोन पनि गोजीमा राखेँ ।
बाहिर पूजा र अली बोलेको आवाज आयो । मलाई लाग्यो, अब चाहिँने पक्कै चाबी खूल्यो ! अली भाइ, थप दुई जना किचनको लाठे लिएर आएछन् । एउटा एसियन र अर्को बृटिश । दह्रो र मोटो बिँड तथा टुप्पामा तीखो भएको अर्कै हतियार अलीको हातमा थियो ।
अलीले ती अरु दुई जनालाई मतिर देखाउँदै भने “हेर यिनको लकरको चाबी हराएछ, लकर नतोडी भएन, बस पास र ज्याकेट भित्रै छ रे ।”
बृटिशले, म तिर हेरेर भन्यो “झोला, गोजीमा सबैतिर छामेको हो ? हराएकै हो त ?” मैले टाउको हल्लाउँदै भने “हो, हराएको पक्का हो ।”
अली भाइ र अरु दुईजना आएकाहरुले पनि लकरलाई यताउता, गल्ड्याङ गुल्डुङ हल्लाउँदा हल्लाउँदा ल्याएको तिखो हतियारलाई ढोकाको च्यापमा बल्लबल्ल अलिकति मात्र छिराउन सफल भए । त्यो भन्दा बढी केही भएन ।
तीन जनाले हल्लाउँदा उभिएको लकर त हल्लिन्छ, तर बन्द ढोका मरे खोल्न मान्दैन, पूजा घरिघरी बोल्छे, “कत्ति दरो !” अर्को बोल्यो “दरो नभए सबले फोड्दैनन अरुको लकर ।”
खै कसरी हो हात चिप्लियो, एसियन मूलको मानिसको हातमा चोट लाग्यो । ऊ हात समात्न थाल्यो । मेरो मन कटक्कै खायो, कठै ! उसको काम गर्ने हात, मेरो बेहोसीले गर्दा दुःख पायो ।
मैले भने “भो भो छाडि दिऊँ, पर्दैन खोल्न, युनिफर्म लगाएरै म हिँड्दै जाउँला ।” अली भाइ बोल्यो“ पख, हतार नगर, खोलिँदै छ ।”
लकरको माथिल्लो भागको ढोकाको पल्ला अलिकति प्याक्क भयो । अलीको प्रश्न “लुगा कहाँ छ ?” मैले भने “तल हेङ्गरमा झुन्डिएको छ ।” पूजा कराई “पख पख मेरा हात छिर्छ होला ।”
उसले लम्केर हात छिराई, बिहान लगाएर आएको कालो रेनकोट लम्केर तानेर निकाली, जहाँ मेरो बस पास थियो । मन निचोरेको घाऊ जस्तो शान्त भयो ।
उसले सोधी “लुगा अरु पनि छ ?”“माथिल्लो भागमा छ ।” ट्राउजर र टप्स उसले तन्केर तानी । “छाता पनि रहेछ नि !” भन्दै छाता निकाली, मैले यो त भुलिसकेको रहेछु ।
अब म आधा खुशी, आधा बेखुशी । सामान पायो खुशी, आफ्नो लकर तोडियो बेखुशी, दुःखी ! मास्टर की कहिले बन्ला तब लकर खोलौँला पनि ठानेको हो । तर पूजा भने नयाँ मास्टर की को कहिले ब्यवस्था होला पत्तो नभएको बताउँछिन् । ल ! ठीकै छ, तोडियो लकर, जे पो होला !
विहान घरबाट लगाएर ल्याएको जुत्ता लकरको फेदमा छ, मैले त्यो निकाल्न चाहिन । उनीहरुलाई भन्दा पनि भनिन । औँला दिँदा डँुडँुला निल्ने भने जस्तै होला । त्यो माथिको खण्ड खोल्न त त्यतिको हैरानी भयो । अब अर्को हैरानी दिनु हुदैन – गर्नु हुदैन । मनले त्यसै भन्छ । काम चलाउ त भयो । मैले उनीहरु सबैलाई धेरै धेरै धन्यवाद दिएँ । जीवनमा उनीहरुले लगाएको यो गुनको पैँचो पो कैले तिर्ने होला ! मन भारी भएको छ । उनीहरु बाहिरिएपछि लुगा फेरेँ ।
भोलि बिहान र आउँदा बाँकी दिनहरुमा जुत्ता, लुगा र कोट कता राख्ने फेरि अर्को चिन्ता भयो । त्यसैले नजिकै कतै त्यसरी नै मेरो जस्तै कसैको भत्केको खाली लकर छ कि भनी खोज्न थालेँ । एउटा सिंगल लकर, नजिकै त भेटेँ । तर कसैले सामानहरु टन्न राखेरहेको रहेछ, त्यो मलाई भएन ।
खोज्दै जाँदा मथुरा गुरुङ्गको लकरनिर एउटा मेरो जस्तै लकर चाबी तोडेको रहेछ । तर दुबै ठाऊँ तलमाथि सामानहरु टनाटन छन् । जेहोस् भोलि बिहान भेटमा सोधौँला भनेर निस्किएँ । जुत्ता निकाल्न सकिएन, ठीकै छ । दिनभर काममा लगाएको सेफ्टी जुत्ता खट्याक खट्याक गर्दै बाटो लागेँ ।
यो बेला पाँच बज्न लागेको छ, बस स्ट्यान्ड्मा छु । कालो मैलो बादल ओढेर आजको दिन खूब रिसाएको छ । झ्यालबाट दिउसो बाह्रबजेतिर हेरेको थिएँ घनघोर पानी परिरहेको थियो । कुनै पनि बेला फेरि वर्षा बर्सिन सक्छ, आकाश उधुम रिसाएको छ । धेरै बेर पर्खन परेन, बस पनि आयो । भित्र पसेँ र श्रीमानलाई फोन गरेँ । हराएको चाबीको छोटो कथा सुनाएँ । उनले टिप्पणी गरे, “लौ कति बेहोसी होला !”
उनलाई डर छ कुनै दिन घरको चाबी पनि त्यसरी नै हराउने छु र चाबी लिन उनको काम गर्ने ठाऊँ खोज्दै म पुग्ने छु । आफ्नो चाहिँ भोलि लुगा कता राख्ने होला भनेर भित्र पिर छँदैछ । उनको सानो गालीले पनि अझ बिझाउँछ ।
फेरि भोलि बिहानै काममा पुग्छु । लकर रुममा पसेर हिजो प्याक्क भएको मेरो लकर हेरेँ – माया लाग्यो । उसको रुप बिग्रिएको छ । अब कहिले यसलाई सकुसल प्रयोग गर्न पाईएला नि ! मास्टर कीले खोले पनि यो माथिल्लो भागको प्याक्क परेको ढोका त मिल्दैन क्यारे । अब त वालेट, बस पास, ब्याग आदि राखेर छाड्न पनि भएन । कुनै दह्रो मानिसले त्यो प्याक्क भएको ठाउँलाई बल गररे ताने सामान निकाल्न पनि सक्छ । मैले यसो खोल्ने प्रयास गरेँ । मैले चाहिँ खोल्न सकिन, बल पुगेन । म भन्दा अल्ली दह्रो मानिस भए सक्ने रहेछ । “हिजो धन्न सेफ्टी जुत्ता भित्रै छुटेन छ बाई ! कत्रो फसाद हुने थियो । युनिफर्म त अर्को थियो, तर जुत्ता त थिएन ।”
हिजोको घटना संझदै मेरो बिग्रेको लकर नजिकैको बेन्चमा बसेर युनिफर्म फेरेँ । बाहिर खल्याङमल्याङ आवाज सुनियो । धेरै साथीहरु पनि भित्र छिरे । बैनी मथुरा पनि रहिछिन् ।
हिजो मैले हेरेको उनको छेउको लकर कस्को हो भनी सोधेँ । उनलाई मेरा चावीको बारेमा थाहा थियो । “ए त्यो त भाईडा बूढीको हो है । चलाउने भए चलाउनुस् । ऊ त रिटायर्ड भएर गइसकी नि ।” अनुमति दिइन् । घरबाट लगाई आएको ज्याकेट, कपडा, झोलामा लगाई सकेको छु । राख्ने ठाउँ पाएँ भनेर खुशी हुँदै उतै गएँ ।
माथिको खण्डमा हेरेँ – चियाको साना व्यागहरु, कफी, चिनी, बिस्कुटका टुक्राहरु, डिस्पोजेबल कपहरु, डिस्पोजेबल चम्चाहरु, माटाका कप, प्लेटहरु रहेछन् । पर्पिm्युमका कुनै आधा, कुनै खाली, करीब आधा दर्जन जति शिशीहरु पनि छन् । ती सबै समानहरु पोलिथिनको व्यागमा हालेर तलको खण्डमा राखी सफा गर्न थालेँ ।
मथुरा “म त गएँ है दिदी, बिस्तारै आउनुस्” भन्दै गइन् । म चाहि जमैकन बूढिया भाईडाको श्रीसम्पत्ति राख्ने भण्डार सफा गर्न लागेँ । मलाई पनि समय त कहाँ थियो र त्यहाँ अल्झिरहने ! अति आवश्यकताले गर्दा त्यो घैमल सफा गर्न एउटा हातमा ह्न्याड टावल पानीमा भिजाएर अर्को हातमा सुक्खा टिसु पेपरले सफा गर्न थालेँ । भाईडा खोज्न आईहालेमा पोलिथिन ब्यागमा सबै सामान हालेर तल्लो भागमा उनको जुत्ताको माथि राखेँ । त्यसलाई चलाइन । ह्याङ्गरमा युनिफर्मको निलो रंगको भाईडाको हाफज्याकेट अझै झुन्डिरहेको छ । घरबाट लगाई आएको लुगा र ज्याकेट बिस्तारै ह्यागरमा झुन्ड्याएँ ताकि भाईडाको निलो हाफज्याकेटसँग मेरो नटाँसियोस् । माथिल्लो भाग अझै सफा भएको छैन । भोलि सफा गरौँला – यो भन्दा बढी अल्मलिने समय छैन । लामो सास फेरेर मथुरा र भाईडालाई धन्यवाद दिँदै काम गर्ने ठाउँतिर लागेँ ।
बिहानको काम धमाधम सुरु भयो । लकरको चाबीको बारेमा सोच्ने समय नै छैन । पौने दश बजेको हँुदो हो, हतार भैरहेको बेला गोजीको फोनको घन्टी बजेको बज्यै छ । फोन नउठाई भएन । डा.रुपकको रहेछ । करिब तीन हप्तादेखि हाम्रो कुरा भएको छैन । वहाँले वाङमय प्रतिष्ठानको स्थापना गर्दा खै किन हो “दिस इज नट माई वे, आइम अफ्” भनेर पर रहनु भयो । नङ र मासु जस्तो भएर साहित्यिक क्षेत्रमा काम गरेका हामी बीचमा साना तिना कुरामा रहेको विमतिले टाढा बनाउन थालेको हो कि भन्ने कुराले कता कता चसक्क घोच्ने गरेको थियो ।
वाङ्मय प्रतिष्ठान स्थापना गर्ने बारेमा हामी बीचमा फोनमा बीसौँ पटक छलफल भएको थियो । पाँचौँ पटकसम्म बैठक बसेको हो । हरेक पटकको मिटिङ्गमा प्रतिष्ठान स्थापना गर्ने बारेमा डा. रुपकको सहमति रहेको थियो । तर जब सस्थाको विधिवत गठन गर्ने कार्यले अन्तिम आकार लिन थालेको थियो, वहाँमा अचानक फरक सोच देखा प¥यो । यसपछि मेरो मनमा गुलियो, अमिलो, पिरो, टर्रो र तितोको खिचडी पाक्यो, जुन मानवीय स्वभाव भन्दा परको कुरा थिएन तर पनि वाङ्मय प्रतिष्ठानको विधिवत स्थापना गरेर कामको सुरुवात ग-यौँ ।
आज केही विषेश काम परेर नै फोन गर्नु भएको होला भनेर मैले वहाँको फोन उठाएँ । भर्खरै वहाँले आफ्नो फेसबुक वालमा भिष्मपितामहको उपमाले आफैलाई पुकार्नु भएको थियो । त्यसैले मैले फोन उठाउँदै भने, “नमस्कार भीष्मपितामहज्यू !”
वहाँको सहज उत्तर आयो,“नमस्कार, कता हो ?”
“काममा हो नि हजुर” मैले भने ।
“अनि आज नेपाली मेलामा आउने होइन ?” वहाँले सोध्नु भयो ।
“ आउने त हो तर तीन बजेकोे काम सकेर आउने । हिजो लकरको चाबी हराएकोले घर गएर जुत्ता, लुगा फेर्नु पर्ने भएको छ अलि ढीलो होला । तपाई जाने हो ?” मैले भनेँ ।
“जाँदै छु, सुमल दाइले भनेको, नेपाली मेलामा हुने पुस्तक प्रदर्शनी बारेमा थाहा होला नि ! यहाँ दराजमा दशवटा किताव रहेछन् तपाईको, के गरौं म जाँदा लगि दिऊ ?” वहाँले भन्नु भयो ।
“अप्ठ्यारो पर्दैन भने लानु होला, नत्र म आउँदा लिएर आउने छु । तर म आईपुग्दा पाँच, साढे पाँच – अलि ढीलो होला जस्तो छ” मैले जानकारी गराएँ ।
“अप्ठेरो पर्दैन, त्यसैले त फोन गरेको नि, ल म लिएर जाउँला” वहाँले भन्नु भयो ।
“धन्यवाद, भरे मेलामा भेटौंला” भन्दै मैले विदा मागेँ ।
बिहान नयाँ लकर पाएर मनमनै दंङ्ग छु, भाईडा बूढीयालाई धन्यवाद दिएँ । उसले पनि मैले जस्तै चाबी हराइछे क्यार, अनि फोरियो लकर ! र नै त मैले उसको चलाउन पाएँ । नत्र त लुगा बोक्दै जाँदा कुन बिजोग हुने थियो होला, विशेष जाडोमा लगाएको ओभरकोट कता राख्थेँ होला । मनमा यस्तै कुरा खेल्दै म क्लक रुममा पुगेँ । आधा घण्टा अगाडि म घर जाँदै छु । लकर रुममा कोही पनि छैन ।
आज मौसम सफा छ, घाम चरक्कै लागेको छ । मन रमायो । तुम धीः यूकेले आयोजना गरेको रिचमन्डको नेपाली मेलामा आज खुबै रमाइलो हँुदै होला ! तमु धीः ले यो राम्रो काम गरेको हो । हामी बेलायती डायस्पोराका नेपालीलाई वर्षमा एक दिन एउटै थलोमा भेला गराएर विभिन्न व्यापार, व्यवसायको प्रदर्शन र सांस्कृतिक झाँकीहरुको प्रदर्शन हुन्छ । २०११ सालको नेपाली मेलामा त पानी परेर हैरान । प्रदिप नेपाल दाइलाई अतिथि बोलाइएको थियो – त्यो दिनको सम्झना भयो ।
“आधा घन्टा अगाडि विदा मागे पनि के को छिटो हुन्छ र ! आज सन्डे सर्भिस, बस ढिलो आउँछ !” आफै गनगनाउँछु । मन भने नेपाली मेलाको लागि उसै हतारिन्छ । श्रीमानको पनि विदा छ उनी सँगै जान मलाई घरमा पर्खिरा‘छन् ।
बल्ल बस आयो । दिनमा सयौँ चोटी धोएको हात फुस्रो र खस्रो छ । झोलाको पकेटमा भएको लोसन खोज्न हात अनायस भित्र पसेछ । लोसनको ट्यूवसँगै हिजो मैले नभेटेको लकरको चाबी पो टुसुक्कै बसेको रहेछ । ए..राता मकै ! बसमा चढेर ह्यारो बस स्टेसन पुग्नै लागेँ । खुशी लाग्यो, मैले झटपट फोन गरेँ, इंगेज छ । फेरि गरेँ – गयो ।
मैले भने “पूजा म त गए नि है ।” उसले भनी “ल ल जाऊँ, तिम्रो दिन शुभ रहोस् ।” कुरा थप्दै भनेँ, “अनि पूजा चाबी त झोलैमा रहे छ, भेटेँ नि ।” उस्ले हाँस्दै भनी “ए…हो, ल आज त तिमी बाँच्यौँ । अर्को हप्ता म मार्छु, तिमीलाई ।” मैले हाँस्तै भनेँ “सरी पूजा” । “ल, ल अब मिस्टर अलीलाई पनि नभनी कहाँ पो छाडुँला र !” हाँस्तै फोन राखी पूजाले ।
अर्को हप्ता शनिबार बिहानै लकररुममा पुगेर खुशी हुँदै चाबी खोलेको त, के को खुल्नु नि चाबी ! बिगार्नसम्म बिगारेको छ । किन मान्थ्यो नि बाबै सजिलै फकिन । फन्किएर, ठुस्किएर, बडेमाको फेद हालेर बसेको रहेछ । अब मास्टर कीले फकाएर खोल्नु बाहेक अर्को उपाय छैन । गोजीमा भेटिएको चाबी फेरि बेकामे भयो । केही क्षण अघिसम्मको सारा खुशी हावामा फुस्स उड्यो ।
अनि एक्लै नारा लगाउन थालेँ— भाईडाको लकर – जीन्दाबाद ! भाईडा बूढी – जिन्दाबाद ! ठुस्किने लकर – चाहिँदैन ! धोका दिन – पाइँदैन !
(प्रकासोन्मुख निबन्ध संग्रहबाट), ९ सेप्टेम्बर २०१२
(स्रोत : सत्यतथ्य मासिक वर्ष १, अंक १२, अगस्ट २०१२)