~भारती गौतम~
सबैसंग सधैं बिउँझिने प्रभातलाई
जहाँको बिहानी पनि प्यारै लाग्छ ।
स्वच्छन्द आकाशमा उड्ने चरीलाई
जहाँको आकाश पनि आफ्नै लाग्छ ।
ढकमक्क फक्रने गुलाफलाई
संसारभरिको बगैंचा प्रिय लाग्छ ।
खै, कहाँ छ यिनीहरुको घर ?
कस्ले दिएको छ यिनीहरुलाई बेग्लाबेग्लै थर ?
चीसो हावा चल्न पात भए पुग्छ,
झरी बर्सन कालो बादल भए पुग्छ ।
सगरमाथा अग्लिन हिउँ चुलिए पुग्छ ।
खोला बग्न अलिकति पानी
अनि लामो खोंच भए पुग्छ,
नदी बन्न त्यस्तै धेरै खोला भए पुग्छ ।
खै, कहाँ छ यिनीहरुको सीमाना ?
खै, कस्ले तोकेको छ यिनीहरुको निशाना ?
भगवान् बन्न पनि आस्था र भक्ति भए पुग्छ,
कहीं पनि, कतै पनि किल्ला गाडी
भूगोलका रेखाले नियन्त्रण गरेको छैन ।
किन मान्छेको मन, मान्छेहरुको माया,
मान्छेहरुको आस्था, मान्छेहरुको निष्ठा
भूगोल र इतिहासको किल्ला नाघी
संसारभरि, आकाशभरि, परिवेशभरि
अनि,
सबै मान्छेको मनभरि झाँगिन र फैलिन सक्तैन ?
सबै मान्छेले सबैलाई किन आफ्नै ठान्न सक्तैन ?
(हाल अमेरिका)