~रमा अधिकारी ‘कादम्बरी’~
“काकी, के गर्नुभा’को ?”
“काकी, तपाई कति काम गर्नुहुन्छ है ?”
“काकी, म पनि सघाऊँ तपाईंलाई”
“काकी, आज स्कुलमा मैले हजुरजस्तै अर्को काकी देखेको नि !”
“काकी, के गर्नुभा’को ?”
सन्देश एकपछि अर्का वाक्यहरू थपिरहेको थियो, क्रमैसँग । ऊ सबिनाको ध्यान आफूतिर तान्ने कोसिसमा थियो । भान्छामा व्यस्त सबिनाले भने ऊतिर कुनै ध्यान दिइरहेकी थिइनन् ।
सन्देश र सबिनाको छोरो आकाश एउटै स्कुलमा कक्षा दुईमा पढ्थे । गाउँमा उनीहरूका परिवार छिमेकी थिए । ती दुई बालक सँगै स्कुल जान्थे र सँगै फर्कन्थे । फुर्सदको बेला छिमेकमा सँगै खेल्ने गर्थे ।
तर बिगतका केही दिनदेखि सन्देशले सामान्यभन्दा बाक्लो गरी आकाशको घर आउने गरेका थियो । स्कुलबाट घर पुग्नासाथ बैठक कोठामा झोला फ्याँकेर आकाशका तिर कुद्थ्यो । खाजा, पढाइ र गृहकार्यतिर उसको चासो घट्दै गएको देखिन्थ्यो ।
आफ्नो छोराको स्वभावमा आएको यस परिवर्तनबाट सन्देशका बुवा निकै चिन्तित थिए । उनले सन्देशलाई बारम्बार आकाशको घर नजान भने तर उसले मानिरहेको थिएन । स्कुलबाट पनि सन्देशले पढाइमा ध्यान दिन छोडेको र गृहकार्य पनि गर्न छोडेको गुनासो आएपछि उनको चिन्ता झनै बढ्यो । त्यसैले एक साँझ उनले सन्देशलाई हप्काए, “तँलाई अर्काका घर यति धेरै नजा भनेको, सुन्दैनस् ?” तर सन्देशले भने टेरपुच्छर लाएको देखिएन ।
“काकी, हेर्नुस् त । म फेरि आएँ नि !” भन्दै सन्दैश एकदिन एकाबिहानै चिया खाने बेलामा आकाशकी आमा छेऊ पुग्यो । उसको बोलीलाई सबिनालो सुनेको नसुन्यै गरिन् ।
“काकी ! हेर्नुुस्, मैले तपाईको लागि के ल्याएको छु ?” उसले ध्यान नदिएको देखेर फेरि भन्यो ।
सबिनाले पुलुक्क फर्केर सन्देशलाई हेरिन् । सन्देशले उनलाई कागजमा कोरिएको एउटा चित्र देखायो ।
“काकी, यो मैले तपाईंको चित्र बनाएको । हिजो साँझ बनाएको हुँ । रङ् पनि मैले नै लगाएको । लिनुस्, राख्नुस् ।”
आफ्नै चित्र कोरिएको त्यो कागज समाउन सबिनाले हात लम्काउँदा उनको अर्को हातमा रहेका चियाको गिलास चिप्लिएर भैंमा खस्यो र गिलास फुट्यो । तातो चिया अलिकति उनको शरीरमा पनि पोखियो र उनलाई पोल्यो । सन्देशदेखि अगाडि नै दिक्क भएकी सबिनालाई धेरै रिस उठेर आयो । रिसले चूर हुँदै उनले भनिन्, “जा घर । तुरुन्तै गैहाल ।”
उनले सन्देशलाई पाखुरामा समातेर बाहिर निकालिन् र गाली गरिन्, “एकदिन होइन, दुईदिन होइन । दिनैपिच्छे आएको छ, आएको छ । खै किन आउँछ, दैबै जानोस् ।”
अनेक थरी गाली गर्दै सन्देशलाई उसकै घरतिर गलहत्याउँदै थिइन्, अलि पर सन्देशका बुवा देखापरे ।
“आफ्नो छोरोलाई निगरानीमा राख्नुस् है दाजु । नत्र…” उनी गर्जिन् ।
सन्देशलाई उसको घरका सँघारमा छोडेर सबिना भुत्भुताउँदै घर फर्किन् । अचम्मित र लज्जित भएका बुवाले छोरोलाई अँगालोमा लिँदै भने, “तिमी भनेको किन मान्दैनौ बाबु ? तिमी त धेरै बिग्रिसक्यौ । अब म तिमीलाई टाढा सहरको स्कुलमा भर्ना गरिदिन्छु अनि उतै होस्टलमा राखिदिन्छु । कुरा बुझ्यौ । अनि त जालाऊ आकाशको घर ।”
सन्देशको मनमा चिसो पस्यो । उसलाई बुवाले साँच्चिकै सहरको स्कुलमा पठाउनुहुन्छ भन्ने डर भयो । उसले अबदेखि आकाशका घर नजाने बाचा ग¥यो र बैठकमा गएर चुपचाप पढ्न बस्यो । भोलिपल्ट बिहानै ऊ सोझै स्कुल गयो र फर्केर सरासर घरै आयो । खानापछि गृहकार्य र पढाइका लागि थपक्क बस्यो, कसैसँग कुरा पनि गरेन । तर बीचबीचमा कोठामा रहेको झ्यालबाट चियाएर आकाशको घरतिर हेरिनै रह्यो ।
केही दिनपछि सन्देशको जन्मदिन आयो । छोरो उठ्नुभन्दा अगावै बुवा उठे र छोराको जन्मदिन भव्य बनाउनका लागि सरसामान र उपहार दिन बजारतिर दौडिए । फर्केपछि छोरो के गर्दैछ भनेर हेर्न कोठामा पस्दा सन्देश भेटिएन ।
‘कहाँ गएछ त्यो ? आज त उसको जन्मदिन हो,’ उनले सोचे र घरआँगनमा यताउति छोरो खोज्न थाले ।
“सुुन्तली!” उनले सुुसारे केटीलाई बोलाए । ऊ तुरुन्तै हाँजिर भई ।
“सन्देश कता गयो, तिमीले देखेऊ ?” उनले सोधे ।
“देखिनँ त, भिनाजु । अहिलेसम्म त यहीँ थियो । मैले उसलाई नुहाइदिएँ र नयाँ लुगा लगाइदिएँ ।”
“राम्रो गरिछ्यौ । तर त्यो गयो कहाँ ?”
“त्यो थाहा भएन, भिनाजु । नुहाइसकेपछि मैले उसलाई पूजा गर्न लगाएँ, ग¥यो । त्यसपछि म भान्छामा गएँ, रोटी पकाउन । ऊ पनि त्यहीँ आयो, र सेतो पीठो रातो भएको बडो चाख मानेर हे¥यो । केके सोधिरह्यो मलाई ।”
“अनि ?”
“अनि सोध्यो, ‘सान्दिदी, मलाई दुई—तीनवटा रोटी कागजमा पोको पारिदिनुुस् न । म उता खाँदै होमवर्क गर्दै गर्छु ।’ मैले जन्मदिनका दिन बिहान—बिहानै होमवर्क नगरे पनि हुन्छ भनें । तर उसले भन्यो, ‘नाई, गर्छु । नत्र बुवाले मार्नुहुन्छ मलाई ।’”
बुवाको मनमा चिसो पस्यो । आफू ज्यादै कडा भएकोमा पछुतो पनि लाग्यो ।
“तर ऊ त बैठक कोठामा छैन ।”
“थाहा भएन भिनाजु । म त भन्छामै छु, पकाउँदै–बनाउँदै ।”
उनले घरका सबै कोठा र बाहिर–भित्र हेरे । तर छोरो कतै भेटिएन ।
‘कति ध्यान पु¥याउँछे यो सुन्तली,’ उनले छोरो खोज्दै गर्दा सोचे । सुन्तली नाताले साली पर्ने हो उनकी । उनकी श्रीमतीको क्यान्सरका कारण तीन महिना अगाडि निधन भएपछि सन्देशको हेरचाहका लागि उसलाई यहाँ ल्याइएको हो । उनी दुई मिलेर सन्देशको हेरचाहमा कुनै कसर छोड्दैनथे । तर सन्देश भने त्यति खुसी देखिँदैनथ्यो र घरमा बस्न पटक्कै मनपराउँदैनथ्यो ।
छोरो घरमा छैन भन्ने पक्का भएपछि उसलाई खोज्न बुवा निस्किए । बाटोमा आउने—जाने सबैलाई देख्यौ कि भनेर सोधे, तर कसैले पनि देखेको कुरा गरेनन् । अन्तमा विश्वास नलागे पनि आकाशका घर पनि सोधिहालौं भनेर त्यतातिर लागे । आकाश आँगनमा परेवालाई चारो हालिरहेको थियो । उनले आकाशलाई सोधे, “बाबु, तिमीले सन्देशलाई यतातिर आएको देख्यौ?”
“देखिनँ त ठूलाबा,” आकाशले जवाफ दियो । पछिल्लो समय आकाका बा—आमाले सन्देशसँग नखेल्न भनेको हुँदा उसले सन्देश आएको—गएकोमा चासो दिन छोडेको थियो ।
छोरालाई त्यहाँ पनि नभेटेपछि निराश भएर घर फर्कन लाग्दा उनले आकाशको घरको भान्छामा सन्देशको आवाज सुने ।
“काकी, मैले ल्याएको रोटी किन नलिनुभाको? सुन्तली सान्दिदीले पकाएको । मैले उनलाई कागजमा पोको पार्न लगाएर अरुलाई दिनुभन्दा अगाडि हजुरलाई दिन लिएर आएको,” सन्देशले भनेको सुनियो ।
“हैन कस्तो झमेला हो यो? अस्तिमात्रै हैन मैले तिमीलाई यहाँ नआउनू भनेको? जाऊ, घर जाऊ,” सबिनाले सन्देशलाई बाहिरतिर धकेल्दै भनिन् ।
“म जान्छु काकी । म गैहाल्छु । तर हजुर यो रोटी अलिकति खानुहोस् न । हजुरले नखाई त म पनि खान्न । आज मेरो….”
उसले वाक्य पूरा गर्न सकेन । उसका परेला आँसुले भिजे । सबिना पनि अवाक बनिन् । उनको रिस् एउटी आमाको मायालु हेराइमा परिणत भयो ।
बाहिर उभिएका बुवाल आफ्नो छोरालाई यस अवस्थामा देखे । बुवालाई देख्नासाथ सन्देश कुद्यो र अँगालोमा बाँधियो ।
“बाबु, मैले तिमीलाई यहाँ नआउनू भनेको थिइनँ? तिमी किन मान्दैनौ, हँ? आज तिम्रो जन्मदिन हो भन्ने तिमीलाई थाह छ? मैले तिम्रो लागि केके कुरा ल्याइदिएको छु । आऊ, घर जौं ।”
तर सन्देशले हलचल गरेन । बरु ऊ फेरि कुदेर सबिनाकै छेऊमा गयो र रुँदै भन्यो, “मलाई आज बर्थडे हो भन्ने कुरा थाहा छ । त्यसैले म सबिना काकीलाई सेल दिन आएको ।”
बुवा अवाक बनेर उभिरहे । छोराका कुराले उनको मुटुलाई भित्रैसम्म घोचिदियो ।
केहीबेरपछि बुवा बोले, “आऊ, घर जाऊँ । हामी घरमै गएर तिम्रो जन्मदिन मनाउने ।”
“म जान्नँ, बुवा । मलाई आज गाली नगनुर््स् । म काकीले रोटी नखाँदासम्म घर जाँदै जान्नँ ।”
“तिमी घर किन नजाने, बाबु ? घरमा कुन कुराको कमी छ ? तिमी किन सधैँ अरुको घरतिर कुद्छौ ? मलाई भन त । भन, हाम्रो घरमा के छैन, जो यहाँ आकाशकोमा छ ?”
सन्देशले बुवाका आँखामा सीधा हे¥यो र भन्यो, “बुवा, हाम्रो घरमा आमा हुनुहुन्न ।”
पछाडिबाट उनीहरुको छेवैमा आइपुगेको आकाशले आफ्नी आमालाई भन्यो, “आमा, सन्देशलाई गाली नगर्नुस् ।”
“आमा…ए, काकी ! सेल खानुस् न ।”
त्यहाँ उभिएर सन्देशका कुरा सुनिरहेका ठूलाहरूले उनीहरुका परिवारका बीच बच्चाहरुका लागि लगाइदिइएका तघाराहरु खोलिदिने निधो गरे ।
– कुशादेवी-७, काभ्रे, नेपा
(स्रोत : केटाकेटीअनलाईन डट कम)