~बासु शर्मा~
माटोको सुगन्धमा
हरेक बिहान ब्युँझने मेरो देश
अचेल माटो दुखेको पीडाले
छट्पटाइरहेको देख्छु
चेतनाका ब्यापारीहरुको बिगबिगी बढेर
सगरमाथा पुड्किन थालेको देख्छु
तर स्वाभिमान ब्युँझेर आँधी उठ्न सकेन ।
धेरै चुहिसके पसिनाका थोपाहरु यो माटोमा
समय भिजेर लफ्रक्क छ
तर सोच भिजेर उर्बर बन्न सकेन
धेरै बगिसके रगतका धाराहरु यो धर्तीमा
इतिहास भिजेर रातै छ
तर विवेक भिजेर न्याय फस्टाउन सकेन
बरु नयाँ जामा लगाएर केही मान्छेहरु
नयाँ नौटङ्कीको तमाशा गरिरहेछन्
स्वयम्लाई बिर्सेर अरु मान्छेहरु
त्यही नौटङ्कीको तमाशा हेरिरहेछन्
तर स्वाभिमान ब्युँझेर आँधी उठ्न सकेन ।
जमिन चिरेर फालीले पारेका सियाहरु जस्तै
अनुहार भरि परेका चाउरीहरुमा
सिङ्गो देशको चित्र उतार्ने
बृद्ध किसान
आफ्ना उमेरहरु झैं
आशाका थाक लगाएर
निरन्तर चढाइरहेछ पसिनाका थोपाहरु यो माटोमा
तर माटोको ईज्जत बढ्न सकेन
आगतको सिंढीमा चढ्न खोज्ने पाइला
नव सिर्जनाको आकांक्षा बाँड्दै
आदर्शका डोबहरु छोडेर
निरन्तर चढाइरहेछ रगतका थोपाहरु यो देशमा
तर देशको हालत फेरिन सकेन
दुष्टहरुको परेड चलिरहेछ उस्तै गरी
साँझ–बिहान–दिउँसो हरपल हाम्रा आँगनहरुमा
तर स्वाभिमान ब्युँझेर आँधी उठ्न सकेन ।
म मेरो मनको क्यानभासमा
देशको सुन्दर चित्र उतार्न खोज्छु
बगेका पसिना र रगत उनेर त्यसमा
बुट्टा भरी भरी सिंगार्न खोज्छु
तर मेरो चित्रलाई लतपत पारिदिन्छ
एउटा अदृश्य हातले
त्यसैले सोध्न चाहान्छु
आकाश थर्कने गरी चिच्याएर
स्वाभिमान ब्युँझेर किन आँधी उठ्न सकेन ?
(उलवीच, लण्डन)
(स्रोत : सत्यतथ्य मासिक)