संस्मरण : महाकवि कि महाकाव्यकार ?

~दिल साहनी~dil-sahani

बनारसको कुरा हो । पुष्पलालको पालाको कुरा हो । त्यतिबेला पुष्पलालको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यालय दशपुत्र गल्लीमा थियो । पार्टी कार्यालय पार्टीका कार्यकता नेता तथा समर्थक भेला हुने एउटा निकै महत्वपूर्ण ठाउँ भएको थियो । यस कार्यालयमा बराबर बस्ने एकजना व्यक्ति थिए गोबिन्द ज्ञवाली । गोबिन्द ज्ञवाली पुष्पलालका ठूला भक्त थिए । पुष्पलाल पनि गोबिन्द ज्ञवालीलाई आँखाका नानीलाई जस्तै माया गर्दथे । गोबिन्द ज्ञवाली बिचारले जति गहिरा भए पनि ठट्टा रमाइलो मन पराउने मान्छे थिए । आफू पनि खुश हाँस्दथे र अरुलाई पनि निकै हसाउँथे । यिनको रोचक तरिकाले कुराकानी गर्ने बानी थियो । यिनी कविता पनि कोर्दथे र राम्रा कविता कोर्दथे । अहिले पनि उनी त्यस्तै छन् । खासै परिवर्तित भएका छैनन् ।

एक दिन उनले हामीसित कुराकानी गर्दै भनेका थिए– मोदनाथ प्रश्रितले कार्यालयमा आएका मान्छेहरूसित उनको परिचय गराउँदै भनेछन्– गोबिन्द ज्ञवाली कवि हुन् । खुब राम्रा कविता लेख्छन् । यो कुरा गोबिन्द ज्ञवालीको निम्ति उनको टाउकोमा ठूलो पहाडको भारी बोकाइदिएको जस्तो भएछ । कवि भनेपछि कविको जस्तो व्यवहार गर्नुप¥यो । कविको मर्यादामा बस्नु प¥यो । जथाभावी बोल्न भएन । शब्द पनि अड्कलेर प्रयोग गर्नुपर्ने भयो । जोखेर प्रयोग गर्नुपर्ने भयो । जसरी भए पनि कविको इज्जत राख्नैपर्ने भयो । जोगाउनै पर्ने भयो । साह्रै गाह्रो भयो उनलाई कविको मान पदवी थाम्न । गोविन्द ज्ञवालीले यो कुरा ठट्टा रमाइलोकै रुपमा भनेको भए पनि यसमा ठूलो गंभीरता थियो । सत्यता थियो ।

रक्सी खाएर धेरै मान्छे नालीमा ढल्छन् । तर नालीमा ढल्ने गरी पिउँदा भूपि बदनाम भए । हरिभक्त कटवाल बदनाम भए । अरु कारणले होइन ठूला कवि भएको कारणले । निश्चित रुपमा कवि हुनु कुनै चानचुने कुरा होइन । कवि हुन त यति कठिन कुरा छ भने झन् महाकवि हुन कति गाह्रो कुरा होला रु तर हाम्रो रुपन्देहीमा भनौं बुटवल भैरहवाको सेरोफेरोमा महाकवि हुनु निकै सजिलो कुरा भएको छ । अरु कारणले होइन यस क्षेत्रले मुलुकमा सबभन्दा बढी महाकविलाई प्रस्तुत गरेको छ । राजधानीले भन्दा पनि बढी महाकवि यस क्षेत्रले प्रस्तुत गरेका छ । सिंगो देशले मात्र एउटा महाकवि जन्मायो । एउटा महाकवि प्रस्तुत ग¥यो । तर, बुटवल भैरहवाले तीन तीन जना महाकवि प्रस्तुत गरिसकेको छ । महाकवि मोदनाथ प्रश्रित । महाकवि मोदनाद शास्त्री । महाकवि अमरध्वज खाती । यस भेगमा सबभन्दा बढी महाकाव्य लेख्ने मोदनाथ शास्त्री सबभन्दा ठूला महाकवि भए होलान् । त्यसपछिका महाकवि होलान् मोदनाथ प्रश्रित र अजम्बर खाती । मलाई त लाग्दछ कविता कोर्दैमा कोही कवि हुँदैन । आखिर पारसमणि प्रधानले पनि त भनेकै छन् –

कवि कविता होस्
कविता कवि होस्
कविता तब पो हुन्छ
शब्द थुपारिकन के हुन्छ
भाव भए पो हुन्छ

कविताको सम्बन्धमा यो कुरा साँचो हो भने महाकाव्यको सम्बन्धमा पनि साँचो हो । महाकाव्य लेख्दैमा कोही महाकवि हुँदैन । मैले नेपाली साहित्यको इतिहास पढ्दा सयौं महाकाव्यको नाम पढेको हुँला । तर मैले मात्र एउटा महाकविको नाम सुनेको छु । महाकवि लक्ष्मीप्रसाद देवकोटा । हामीहरू महाकवि भन्नासाथ लक्ष्मीप्रसाद देवकोटालाई सम्झिन्छौं । नेपाली साहित्यको इतिहासमा हामीले लक्ष्मीप्रसाद देवकोटालाई भेट्ने कुनै अर्को कवि देखेका छैनांै । महाकवि देखेका छैनौं । त्यसैले हामीले उनीहरूलाई जति महाकाव्य लेखे पनि महाकवि भनेका छैनौं । लक्ष्मीप्रसाद देवकोटाले भन्दा बढी महाकाव्य लेख्नेलाई पनि हामी महाकवि भनेका छैनौं । बरु भनेका छौं महाकाव्यकार । हो महाकाव्य लेख्नेलाई महाकाव्यकार भन्दा हुन्छ । त्यो पनि उसले लेखेको महाकाव्यको सन्दर्भमा । कविता लेख्नेलाई कवि कथा लेख्नेलाई कथाकार निबन्ध लेख्नेलाई निबन्धकार, नाटक लेख्नेलाई नाटककार भने जस्तै महाकाव्य लेख्नेलाई महाकाव्यकार । मलाई कस्तो पनि लाग्दछ भने महाकवि लक्ष्मीप्रसाद देवकोटालाई हामीले महाकवि भनेको उनले महाकाव्य लेखे भनेर भन्दा पनि उनी असाधारण कवि थिए भनेर हो शायद । उनी कवितामा कुराकानी गर्न सक्दथे भनेर हो शायद । उनी धाराबाहिक रुपमा कवितामा बोल्न सक्दथे भनेर हो शायद । उनी धाराबाहिक रुपमा महाकाव्य लेख्न सक्दथे भनेर हो शायद । उनी आँशु कवि थिए भनेर पनि हो शायद ।

महाकाव्य लेख्ने जतिलाई हामीले महाकवि भनेका छैनौं । महाकाव्य त बालकृष्ण समले पनि लेखेका छन् । चिसो चुल्हो महाकाव्य नै हो । आधुनिक महाकाव्य । प्रगतिशील महाकाव्य । तर पनि हामी बालकृष्ण समलाई महाकवि भन्दैनौं । महाकवि शव्दले सम्बोधन गर्दैनौं । भन्दछौं त उनलाई नाट्य सम्राट । नाटक त अरुले पनि लेखेका छन् । भीमनिधि तिवारीले पनि लेखेका छन् । गोपालप्रसाद रिमालले पनि लेखेका छन् । तर उनीहरूलाई नाट्य सम्राट भन्दैनौं । सबै नाटक लेख्ने मान्छे सोफोक्लिज हुन सक्दैनन् । सबै नाटक लेख्ने मान्छे शेक्सपियर वा इब्सन हुृन सक्दैनन् । बालकृष्ण समलाई त मान्छेहरू नेपाली साहित्यका शेक्सपियर भनेर पनि चिन्दछन् । जसरी अंग्रेजी साहित्यमा जर्ज बनर्ड शालाई पनि बीसौं शताब्दीको शेक्सपियर भन्दछन् । अग्रेजी साहित्यमा स्पेन्सरलाई कविका पनि कविको रुपमा चिनिन्छ । उसरी महाकाव्य त भानुभक्तले पनि लेखेका छन् । रामायण महाकाव्य नै हो । तर पनि भानुभक्तलाई हामी महाकवि भन्दैनौं । आदि कवि भन्दछौं । भानुभक्तले भन्दा पहिला कविता लेख्ने कवि अरु पनि थिए । तर, हामीले भानुभक्तलाई नै आदि कवि भन्यौं । आदिकवि भन्नाले भानुभक्तलाई बुझिन थालियो । बुझिन्छ ।

साहित्यकारहरूको पनि खासखास पहिचान हुने रहेछ । लेखनाथ पौड्याललाई हामीले कवि शिरोमणि भनेर चिन्दछौं । बालकृष्ण समलाई नाट्य सम्राट भनेर चिन्दछौं । लक्ष्मीप्रसाद देवकोटालाई महाकवि भनेर चिन्दछौं । माधव घिमिरेलाई राष्ट्रकविको रुपमा चिन्ने गरिएको छ । धर्मराज थापालाई जनकविकेशरी भनेर चिन्दछौं । भानुभक्तलाई आदि कवि भनेर चिन्दछौं । हिन्दीमा प्रेम चन्दलाई उपन्यास सम्राट भनेर चिनिन्छ । हिन्दीका प्रसिद्ध कवि रामधारी सिंह दिनकरलाई राष्ट्रकविको रुपमा पनि चिनिन्छ । संस्कृत भाषामा कालिदासलाई महाकविको रुपमा चिनिन्छ । गोकुल जोशीलाई जनकवि भनेर चिनिन्छ ।

चर्चा यहाँ अरु कुराको होइन । महाकविको भइरहेको छ । नेपाली जगतले महाकवि भन्ने बित्तिकै लक्ष्मीप्रसाद देवकोटालाई नै चिन्दछ । तर पनि यता बुटवल भैरहवाका कति लेखकहरूले मोदनाथ प्रश्रितलाई महाकविको नामले संवोधन गर्न थालेको देखिन्छ । तिनीहरूले नै मोदनाथ शास्त्रीलाई पनि महाकवि भनेर संवोधन गरेको देखिन्छ । तिनीहरूले नै अजम्बरध्वज खातीलाई महाकवि भनेर संवोधन गरेको देखिन्छ । मोदनाथ प्रश्रित, मोदनाथ शास्त्री तथा अजम्बरध्वज खातीलाई महाकवि भन्ने हो भने देवकोटालाई के भन्ने रु मलाई लाग्दछ महाकाव्य लेख्ने जुनसुकै व्यक्तिलाई महाकवि भन्ने हो भनेर देवकोटाको परिचय नै हराउन सक्दछ । महाकवि भन्नाले देवकोटा नबुझिन पनि सक्दछन् ।

नेपाली साहित्यको इतिहासमा यदि हामीले लक्ष्मीप्रसाद देवकोटालाई महाकविको रुपमा चिन्ने हो भने कसैले एउटा महाकाव्य लेख्नासाथ उसलाई महाकवि भन्न भएन । बरु महाकाव्यकार भन्दा हुन्छ । त्यो पनि उसको महाकाव्यको चर्चा हुँदा । अरु बेला उसलाई कवि भन्दा पनि हुन्छ । काव्यकार भन्दा पनि हुृन्छ । साहित्यकार भन्दा पनि हुन्छ । महाकवि शब्दलाई हल्का रुपमा प्रयोग गर्नु ठीक कुरा होइन । कसैले एकाध महाकाव्य लेख्नासाथ उसलाई महाकविको पदले विभुषित गर्नु ठीक कुरा होइन । परीक्षण गर्ने कुरा हो महाकाव्य महाकाव्य भयो कि भएन । महाकवि महाकवि भयो कि भएन । फेरि अर्को ध्यान दिने कुरा हो जसलाई पनि महाकवि भन्दै जाँदा महाकविको कति महत्व रहला ? महाकाव्यको कति महत्व रहला ।

मलाई कस्तो लाग्दछ भने एकाध कविता कोर्दैमा कोही कवि हुँदै्रन । एकाध कविता कोर्ने जतिलाई कवि भन्दै जाने हो भने कवि नभएको मान्छे पाउन गाह्रै पर्ला । कलम नचल्ने मान्छेको मुखबाट पनि कविता बर्षेको हुन सक्दछ । निश्चित रुपमा जसलाई पनि महाकविको दर्जा दिनु एक प्रकारको चाकरी हो । अर्कोतिर कसैले महाकविको दर्जा दिंदा मख्ख परेर चुपचाप बस्ने अझ स्तुति खोज्ने व्यक्ति पनि प्रशस्तिको भोको हो । यस्तो भोक त राजा महाराजामा पो हुन सक्दछ ।

मोदनाथ प्रश्रितले गोविन्द ज्ञवालीलाई कवि भन्दा उनले आफूलाई बोक्नै नसक्ने भारी बोकाइदिएको अनुभूति गरेका थिए । तर गोविन्द ज्ञवाली कविता नै लेख्न नसक्ने व्यक्ति भने होइनन् । उनी एउटा योग्य गणितज्ञ हुँदाहुँदै कविता पनि कोर्दथे । राम्रै कविता कोर्दथे । तर, पनि उनले आफूलाई कहिले साहित्यकारको रुपमा प्रस्तुत गरेनन् । कविको रुपमा प्रस्तुत गरेनन् । यसैले उनलाई नेपाली साहित्यले कवि नमान्न पनि सक्दछ । कविको रुपमा स्वीकार नगर्न पनि सक्दछ । कविता त लेनिनले पनि लेखेका थिए । तर, हामी उनलाई कवि भन्दैनौं । कविता त माओले पनि लेखेका थिए । तर, हामीले उनलाई कवि भन्दैनौंं । कविता मोहनबिक्रम पनि लेख्छन् । कविता झलनाथ खनाल पनि लेख्छन् । कविता राधाकृष्ण मैनाली पनि लेख्छन् । कविता मणि थापा पनि लेख्छन् । उनीहरूलाई हामी कवि भन्दैनौं । कविता त मदन भण्डारी पनि लेख्दथे । कविता त जीवराज आश्रित पनि लेख्थे । कविता त वीपी कोइराला लेख्दथे । हामी उनीहरूलाई कवि भन्दैनौं । भन्दछौं त हामी उनीहरूलाई वाम कांग नेता ।

कुरो यसो हो भने कसैले महाकाव्य लेख्दैमा उसलाई महाकवि नभन्दा जहाज नै डुविहाल्ने कुरा हुँदैन । महाकाव्य लेख्नेलाई महाकाव्यकार भन्दा महाकवि देवकोटाको गरिमा कायम रहन्थ्यो कि रु लक्ष्मीप्रसाद देवकोटालाई पनि पछि पार्ने अर्को कुनै कवि जन्मेछ भने उसलाई पनि महाकवि भन्दा हुन्छ । तर, अहिलेसम्म त्यस्तो अवस्था सृजित भएको देखिएको छैन । अर्को कुरा चलनचल्तीको भाषामा महाकाव्य लेख्नेलाई महाकाव्यकार भन्दा उसको बजन घट्ने पनि होइन । कसैले राम्रो कृति सिर्जना ग¥यो भने त्यसलाई कसैले नराम्रो भन्न सक्दैन । त्यसको अवमूल्यन हुन सक्दैन । राम्रो कुरा राम्रै हुन्छ । यहाँ भन्न खोजिएको कुरा यो कि कसैले महाकाव्य लेख्यो भन्दैमा उसलाई तुरुन्त महाकविको गह्रुगो भारी नबोकाइदिउँ । बरु यो कुरा इतिहासको जिम्मामा लगाइदिउँ । महाकवि शव्द त्यस्तो सस्तो शब्द होइन ।

(स्रोत : झिल्को अन्तर्कृयात्मक विश्लेषणात्मक पत्रिका)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.