~युद्धप्रसाद मिश्र~
बलात्कारीमाथि आमा दिदी बैनी सारा
संगीनले लालाबाला हुन्छन् चिरा-फारा
चेतनाको उज्यालोमा जाग्यो र्सवहारा
ब्यूँझीदै छन् अनगिन्ति धरतीका सारा
उम्लिसक्यो हृदयमा प्रतिक्रिया चर्को
बदलाको भावनामा जनताको लर्को
संर्घषको मैदानमा नबलेका ज्योति
शहरिया साहित्यको फुस्किसक्यो धोती
एकातिर भोका नांगा दरीद्रको आँधी
अर्कोतिर उठेको छ यथास्थितिवादी
वीरवीरंगनासित देशले रगत माग्यो
खुकुरीको धारमाथि बलिदान जाग्यो
उम्लेपछि उम्ल्यो उम्ल्यो जनताको रगत
बढेपछि बढ्यो बढ्यो पीडितको जगत
आत्मवान दाजुभाइ देखा पर्दै जाओ
सन्तोषको सास फेर्नेतिर बढ्दै जाओ
क्रान्तिकारी चरित्रका वीर स्वाभिमानी
देखाइद्यौ तिमी पनि नेपालीको पानी
बढ्दै जाउ यथार्थको धरातलमाथि
मानवीय न्याय खोज्दै लड्दै जाउ साथी
पीडितको गुहारमा हामी अघि सर्र्छौ
बोल्दै जाउ सत्यताको उज्यालोमा मर्र्छौ
नदिनलाई शान ढल्न कतै नेपालीको
बन्नु पर्यो भाइबैनी हामी एकै ढिको
(लहर -१७, २०४६)