~वसन्त प्रवीण~
फर्की हेर्दा आफैलाई, मन रमाएको
एउटाले चाँडै आउने, निम्तो थमाएको
मन नलाई जानुपर्ने, कस्तो होला उर्दी
यस्तो पो त हुँदो रै’छ, भ्रष्टाचारको पुर्जी
जाने हो कि अलि-अलि, गरी कमाएको
एउटाले चाँडै आउने, निम्तो थमाएको
उनीलाई के थाहा र, हाँस्दै भित्र आइन्
रेडियोले भन्दाखेरी, बल्ल थाहा पाइन्
दिएँ अनि मैले पनि, हातमा समाएको
एउटाले चाँडै आउने, निम्तो थमाएको
एकै छिन त लाग्यो मलाई, कसले छुन सक्छ
भित्री मनमा डर थियो, जे ‘नि हुन सक्छ
क’ल्ले होला यस्तो गरी, कलम घुमाएको
एउटाले चाँडै आउने, निम्तो थमाएको
गरेको त के थिएँ र, मैले त्यस्तो भन्दा
याद आए अँधेरीमा, गरेका ती धन्दा
सम्झिंदा त मुख पनि, मेरो तमतमाएको
एउटाले चाँडै आउने, निम्तो थमाएको
त्यो दिन त के भएछ, हराएको भोक
मुख हेर्दा ढुक्क तर, मनमा ठुलै शोक
अरु दिन बेलुकीमा, हुन्थें रमरमाएको
एउटाले चाँडै आउने, निम्तो थमाएको
सधैं जस्तै गरी, भोलिपल्ट घाम ला’यो
दुनियाँले देखे जब, पत्रीकामा नाम आयो
मनै-मन खिसी गरी, बाहिर थमथमाएको
एउटाले चाँडै आउने, निम्तो थमाएको
हुँदोरै’न्छ बटुल्नलाई, आफ्नै आत्मा मारी
देब्रे हातले थुपारेको, हुँदोरै’छ भारी
पग्लिन्छ कि पल्याक-पुलुक, गर्दै जमाएको
एउटाले चाँडै आउने, निम्तो थमाएको
नपुग्ने त के थियो र, खान-लाउन लाई
नगर्नु नै गरिएछ, धेरै पाउन लाई
भाँडो घोप्टाइ खाँदा होला, भा’को गुमाएको
एउटाले चाँडै आउने, निम्तो थमाएको …
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )