~रामहरि पौड्याल~
बिहानको सुन्दर प्रभाती क्षण – म मर्निंग वाकमा छु । हरेक आइतबार म किंग्सलिनको आउज नदीको किनारै किनार प्रभाती हिडाई हिँड्ने गर्दछु । किंग्सलिनको टाउन सेन्टर हुँदै बग्ने आउज मेरो हरेक दिनको साथी हो – आफ्नो एकांकी जीवनलाई परदेशी भूमिमा बिर्साउने । मेरो घरकै सन्निकट त्यो आउज नदीमा एउटा पुल छ र त्यसको अलि पर युरोपकै सबैभन्दा ठूलो पाल्म पेपर मिल छ । हरेक बिहान मेरा नानीहरु प्रेरणा र प्रेमाको स्कूल त्यही नदीको किनारै किनारको वाकिंङ जोन हँुदै जानु पर्दछ । प्रेजाको अफिस, टाउन सेन्टर हरेक ठाउ पुग्ने सजिलो ठाउँ मेरा लागि त्यही आउजको किनार हो । नदीको किनारलाई एउटा रमणीय वाकिंङ जोनमा बदलेका छन् बेलायतीहरुले । हरेक ठाउँका यस्ता नदीहरु सुन्दर बनेका छन् उत्साही पदयात्रीका लागी । बिहानीको सुरम्य वातावरणमा जगिंङ गर्नेहरु, कुकुर डुलाउनेहरु, बाइकवालाहरु सबैले आनन्द लिइरहेका हुन्छन् ।
पद यात्रामा लमक लमक लम्किँदै गरेका मेरा उत्साही कदमहरु वरपरका सुन्दर प्रकृतिसँग मुस्कुराई रहेको हुन्छ । आइतबारको मेरो फरक रुटमा बाटाहरु अप्ठ्यारा हुन्छन् । उकाली ओराली र हिले बाटो, ससानो झाडीले जङगलमय लाग्ने त्यो सुनसान गोरेटोमा म आफ्नो पन देख्ने गर्दछु । बाटामा पाइने, ब्ल्याकबरी, ब्लुबरी, सिस्नु घारी, कैलेकाहीँ फुत्त बाटो काट्ने खरायो, लोखर्के देख्दा म आल्हादित बन्ने गर्दछु । आफ्नो देश सम्झने गर्दछु । हो यस्तै छ मेरो आफ्नो आकाश । मेरो आफ्नो संसार । सात समुन्द्र पारी हजारौँ माइलको भौगोलिक दुरता मेरा आखाँ अगाडि तछाड मछाड गरेर आइपुग्छन् संझनामा । म भाव विव्हल भएर आफ्नो अतित संझन्छु । आफ्नो असार र साउने झरी संझन्छु । कति रमाइलो थियो त्यो हाम्रो आफ्नो संसार ! आफ्नो काम आफै गर्ने, परिआउँदा एक अर्कालाई मद्दत गर्ने, ऐँचो पैँचोको त्यो ग्रामीण परम्परा तर अहिले यो सबै मेरो लागि एकादेशको कहानी बनेको छ । युवाहरु विदेसियौँ डलरको खेतीमा, अनि बाँझा रहेका छन् हाम्रा खेतहरु । काम गर्न छाड्यौँ, सहरीया जीवन शैलीको पछि लाग्यौँ । आफूलाई सहरिया ठान्ने अरु सबैलाई पाखे भन्ने झुठा आडम्बरको रोगले हामीहरु ग्रस्त भएकाछौ । डाइबेटिज, हाई क्लोलेस्टोरेल, ब्लड प्रेसर, के के हुन् रोगका नाम ! यी सबैलाई रोक्ने र छेक्ने प्राकृतिक उपाय त्यही मर्निङ वाक हो । शारीरिक तन्दुरुस्ती हो र खानपिनमा अपनाइने सादगी हो ।
हामीहरु विभाजित भैरहेका छौँ के के नाममा । जात र सम्प्रदायमा । विदेशी भूमिसम्म पनि हामी कतिथरी संघ–संगठनमा बाँडिएका छौँ । खोइ हाम्रो समग्र नेपाली हुँ भन्ने गर्व र पहिचान ? कैले बन्ने हामी नेपाली एक ढिक्का ?
नेताहरुले हामीलाई सधैँ आफ्नो स्वार्थमा फुटाई रहे, टुटाई रहे । चुच्चे र थेप्चे, बाहुन र मतवाली, तराइ र पहाड, हिमाल र मधेशमा हामी विभाजित भइरह्यौँ ।
यस्तै यस्तै कुराहरु मनमा खेलाउँदै लमक लमक आफ्नो पदयात्रा हार्डिक इन्डस्ट्रियल स्टेटको पछाडि लाग्ने ‘सन्डे कारबुट’ तर्फ बढाउँदै थिएँ, अचानक आकाश भरि सयौँ सिगलका बथानहरुले गरेको चर्को कोलाहलले तर्सिएँ । च्याच्या ! च्याच्या !! ……..च्याच्या !!!
तिनीहरुको एकोहोरो कोलाहलपूर्ण रुवाइले म त्रसित भएँ । मन ढक्क फुल्यो । सम्झेँ, पन्छीहरुको त्यो विभत्स चित्कार कुनै प्राकृतिक प्रकोपको पूर्वसंकेत त होइन ? कुनै घोर अनिष्टको पूर्वानुमान त होइन ? किन यसरी सामुहिक रुपमा यति बिघ्न सिगलहरु एकजुट भएर आकासै थर्काउने गरी रोइरहेछन ? मलाई कतै यो हुलले आक्रमण गर्ने त होइन ? एकान्त ठाउमा यो बिहानै के आइलाग्यो यस्तो ?
मैले छिटो छिटो पाइलो चालेँ आफ्नो गन्तव्यतिर । ‘सन्डे कारबुट’ ग्राहकहरुले खचाखच भरिएको थियो । आ–आफ्ना कारका बुटमा आफूलाई नचाहिने घरयासी सरसामान बेच्नेहरुको स्टल । तिनै सस्ता सामानले आफ्ना गर्जो टार्ने सस्ता मान्छेहरुका भिड नै कारबुटका विशेषता हुन् ।
म फकिर्दा सडकको विपरित दिशाबाट फकिएँ । चराहरु त्यसरीनै कोलाहल मच्चाई रहेका थिए । च्याच्या ! च्याच्या !! ……..च्याच्या !!! यसो अगाडि मैले देखें एउटा सिगल घाइते भएर छटपटी रहेको थियो सडक किनारमा । प्याँ प्याँ कराई रहेको थियो । रोई रहेको थियो । आफूलाई बचाउन अनुरोध गरिरहेको थियो । जीवन र मरणको दोसाँधमा तड्पिरहेको त्यो बिचरा सिगलको पुकारलाई सुन्ने कस्ले ? सप्ताहन्तको दिन त्यो सुनसान सडकको कुनामा कसको दृष्टि पुग्ने ? मैले केही गर्न सकिन वा चाहिन ? मलाई आफ्नै जीवन प्यारो थियो । कतै त्यो आकाशे सिगलहरुको सयौँ जमात मैलाई बैरी ठानेर ठुँग्न आइपुगे भने ! मैले डरले छिटो छिटो पाइला चालेँ । संभाव्य खतराबाट बच्न अलि पर पुगेपछि मलाई त्यो बिचरा पन्छीको माया लागेर आयो । कसरी त्यो घाइते भयो अथवा घाइते बनाइयो ? को थियो त्यो दुष्ट शिकारी ? जसले आकासको सुन्दर त्यो चरीलाई आफ्ना दुष्ट तीरहरुले रोपेर धर्तीमा लडायो ? कुनै विषादी पो खायो कि ? करेन्ट लाग्यो कि ? त्यसका पनि आफ्नै परिवार आफन्त होलान् । माया गर्ने जोडी हुँदा हुन् । आशा गर्ने नानाबाला होलान् । साथी–संगती सबै होलान् – त्यो कोलाहल गरेर शोक मनाउने पन्छीहरुको ठूलो त्यो आकाशे झुण्डमा । कत्रो महान एकता ती पन्छीहरुको !!
चरी बोल्यो चि चि गरिकन कठै ब्याकुल बनि
म मर्ने हु मर्छु तर मनुज तिमी नराम्ररी चुक्यौ !
मलाई लेखनाथको त्यो चरी विलापले खेद्न थाल्यो बाटाभरि । एउटा हीनताबोधले ग्रस्त म किंकर्तव्यविमुढ़ भएँ । मेरो हातमा मोबाइल थियो र त्यसमा फ्री इन्टरनेट थियो तथापि मैले त्यस सिगललाई बचाउन केही गर्न सकिन । मैले पुलिसलाई फोन गर्न सक्थेँ । आरएसपिसीएलाई उद्धारका लागी अनुरोध गर्न सक्थेँ । अहँ कुनै बुद्धिसुद्धी मलाई फुरेन त्यस बखत । तथापि त्यो छटपटाई रहेको सिगलले मेरो मन अशान्त भइरह्यो ।
ट्वाक ! ट्वाक ! ……..ट्वाक । साँझ पख कसैले ढोका ढक ढकाएको सुनेँ । दौडेर खोलेँ । छिमेकीकी छोरी शेरा रहिछन् । उनले भनिन्, ‘एउटा घाइते सारुँग हाम्रो बगैँचाबाट उड्दै तपाईको बगैँचामा पस्यो । त्यो घाइते छ । म त्यसलाई बचाउन चाहन्छु । के म तपाईको बगैँचामा पस्न सक्छु ?’
म अवाक भएँ । एउटी टिनएजर फुच्चीको यत्रो अगाध पन्छीप्रेम देखेर । ‘अवश्य शेरा ! त्यो महान काम हो’ मैले भनेँ । उनलाई मदत गर्ने अभिप्रायले मैले ढोका खोलेँ । त्यो घाइते सारुँग मेरो बगैँचाको धुपीको रुखमा घुर्सिएर कुइँ कुइँ रुँदै थियो । सायद त्यसले हामीलाई व्याधाहरु पो संभm्यो कि ? प्रेरणा र प्रेमा दौडिँदै आए बाहिर गार्डेनमा । शेरा खुसी भईन् उनीहरुलाई देखेर । हाइ शेरा उनीहरुले अभिवादन टक्र्याए हात हल्लाउँदै । उतावाट शेराको बाउ टम निस्किए । तीस नम्बरका शीला र किथ निस्किए । उनन्तीस नम्बरकी रोज र जर्जले झ्यालबाटै आफ्नो उपस्थिति जनाए त्यो उद्धार कार्यमा ।
मेरी छिमेकी रोजा क्यान्सरले ग्रस्त छिन् बिचरा ! उनलाई हेरबिचार गर्दै रहेका श्रीमान जर्ज त्यतिबेला छाँगाबाट खसेझैँ भए जतिखेर डाक्टरले उनलाई बाउल क्यान्सर भएको घोषणा ग¥यो । जसो तसो चल्दै गरेको जीवनको त्यो गाडीका दुई पाँग्रा दुवै रोगग्रस्त भएको खवर केही दिन अघि मात्र कुकुर घुमाउँदै गर्दा भेटेर कस्तो छ जर्ज तपाईलाई, रोजलाई सम्झना सुनाइदिनु होला है भन्दै गर्दा थाहा पाएँ ।
बाहिरवाट हेर्दा सुन्दर घर, चिटिक्क परेको बाग–बगैँचा, चढ्ने कार, फराकिला र सफा सडक देख्दा लाग्छ यो पो भूस्वर्ग हो । यहाँको दुनियाँ पो बल्ल …… हो, त्यस्तै लाग्दछ सबैलाई । यी गोरा छालाका मान्छे पो दुनियाँका भाग्यशाली, हामी के मान्छे जस्तो लाग्छ । जव यो संसारलाई बुझ्दै गयो, यहाँका दैनान्दिनीलाई आत्मसात गर्दै रह्यो अनि पो देखिँदो रहेछ दुनियाँको असली रुप – समाजको आडम्बरी यथार्थ ।
तिनीहरुका छोरा बुहारी पनि छन् तथापि क्यान्सर ग्रस्त बाबु–आमालाई हरेक दिन भेट्न सेवा पु¥याउन भ्याउँदैनन् । बुढेशकालमा हरेकले केयर होममा बस्नै पर्छ । आफन्तहरु मात्र औपचारिकता निभाउने हुन्, लोकलाजका खातिर । मान्छेहरुमा हराउँदै गएको यो सामाजिकता र हुर्कदै गरेको व्यक्तिवादी सोचले मलाई ती पशुपन्छीबाट सिक्नु पर्ने जस्तो लाग्यो ।
कस्तो संयोग !!
‘आज बिहान मर्निङ वाकमा जाँदा मैले एउटा घाइते सिगल भेटेँ । उसका साथीहरु आकाशभरि कराई रहेका थिए उद्धारकालागि । स्वार्थी मैले केही गर्न सकिन । तिमीहरुको यो उद्धार कार्यले मलाई त्यो घटना सम्झेर लाज लागिरहेछ । तिमीहरुले राम्रो काम ग-यौ । बिचरा त्यो सानो पन्छीको त्यो पीडालाई तिमिहरुले बुझ्यौ ।’
‘यो हाम्रो तेस्रो उद्धार कार्य हो ।’ शेराले मोवाइल खोलेर आफूले बचाएका पन्छीहरुको फोटो देखाइन् । म ट्वाल्ल परेर त्यो महान कार्यलाई हेरी रहेँ । स्थानीय वेस्ट एङ्ग्लीया कलेजमा एनिमल केयर पढ्दै गरेकी त्यो सानी नानीको पशु पन्छीप्रतिको लगावले मलाई पुलकित बनायो । गत हप्तामात्र स्थानीय व्हाइट फ्राइज प्राइमरी स्कुलमा पढ्ने मेरी सानी छोरी प्रेमाले बेनम जू हेरेर फर्केको दिन आफू ‘जू किपर’ बन्ने घोषणा गरेको सम्झेँ । यी स–साना केटीहरुको जत्ति पनि मेरो बुद्धी भइदिएको भए त्यो सिगलको उद्धार हुँदो हो । म ग्लानीले गलेर पानी पानी भएँ त्यस दिन ।
हप्ता दिनसम्म फेरि सुरु भयो रुटिन लाइफ व्यस्तताको । समरको छुट्टीले नानीहरुलाई हेर्नुपर्ने अर्को ठूलो समस्या विदेशको । देशमा भए पो हजुरवा आमासगँ रमाउँथे । काकाकाकी सँग घुम्थे । छिमेकीहरु सँग कुद्थे ।
अर्को आइतवार मेरो प्रभातकालीन पदयात्रामा सोही रुटमा जाँदा त्यो बिचरा सिगललाई के भयो होला भन्ने खुल्दुली मनभरी पार्दै हिडिरहेको थिएँ । आकाशमा सारा सिगलहरु त्यसरीनै कराइरहेका थिए गत हप्ताझैँ । म त्यो सिगल घाइते भएर छटपटाई रहेको ठाउँ ठम्याउन खोज्दै थिएँ । कठै ! मरेर कक्रक्क सुकेर पसारिएको त्यो सिगललाई देखेर मैले तुरुक्क आशुँ चुहाएँ । मलाई ती पन्छीहरुको अगाध बन्धु प्रेमले भावुक पनि बनायो । चसक्क छोयो मुटुभित्रै । पन्छीहरु मानिस भन्दा बास्तवमै महान हुँदा रहेछन् । आफन्तको बिछोडमा हप्तादिनदेखि आकासमा त्यसरी एकत्रित भएर देखाइएको त्यो सिगलहरुको मित्रता र महानतालाई सलाम ।
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक १२, सेप्टेम्बर २०१३)