~नीरज लवोजु~
ऊ हल्ला गर्छ र
माला लगाउँछ
ऊ माला लगाउँछ र
हल्ला गर्छ।
उसको हल्लाबीच सत्य खोज्नुपर्ने भएजस्तै
उसले लगाएको मालाबीच
उसको टाउको खोज्नुपर्छ।
सबैले सुनोस् भनी ऊ हल्ला गर्छ
तर कसैले उसको चुरो खुट्याउन सक्दैन
सबैले चिनोस् भनी ऊ माला भिर्छ
तर कसैले उसको गिँड पहिल्याउन सक्दैन।
ऊ मालासँगै चाला फेर्छ
अनि चालासँगै माला फेर्छ
फेरि मालासँगै चाला फेर्छ।
ऊ हल्ला गर्छ र
माला फेर्छ
ऊ चाला फेर्छ
र हल्ला गर्छ।
(स्रोत : मजदुर दैनिक)