कथा : घात

~अनिश भट्टराई~anish-bhattarai

मलाई झल्याँस्स उसको सम्झना आयो । ४ बजे भेट्ने भनेर हिजैमात्र बाचा गरेका थियौं । धरानबाट मेरो पुरानो स्प्लेन्डर मोटरसाइकल हुइँक्याउँदै तरहरा पुग्दा झन्डै २० मिनेट लागेछ । चोकमा पुगेर उसलाई फोन गरें । नजिकै एउटा सेकुवा पसलमा चुरोट खाँदै बसिरहेको रहेछ । मलाई ऊभन्दा पनि उसले भोगिरहेको नियतिप्रति चासो थियो । त्यसैले उसलाई कुरा गर्दागर्दै नियालेर हेरेँ । अघिल्लो पटक भेटेको भन्दा अनुहार अलि उज्यालो देखिएको थियो । अनुहारमा कसैले कोतरेको जस्तो देखिन्थ्यो । पहिलोचोटि पनि उसलाई भेट्दा मैले उसलाई सम्भवतः त्यही लुगामा देखेको हुनुपर्छ । अरु केही कुरा फरक देखिनँ ।

उसलाई मैले योभन्दा अगाडि हवाईजहाजमा भेटेको थिएँ । त्योभन्दा अगाडिचाहिँ मैले बुद्ध एयरको एयरपोर्ट काउन्टरमा भेटेको थिएँ ।

म ४ः२० बजेको टिकट लिन एयरलायन्सको अफिसमै पुग्दा ऊ काखमा यात्रा गर्ने बच्चाको पैसा तिर्दै थियो । पैसा तिर्ने बेला बच्चाको उमेर ११ महिना बताएको थियो । पहिरनकै आधारमा छोरा हो कि छोरी अनुमान गर्न नसके पनि हेर्दै चित्ताकर्षक देखिन्थ्यो ।

बोर्डिङ पास लिने बेला पनि ऊ मभन्दा अगाडि परेको थियो । काउन्टरमा उसको बोर्डिङ पास बन्दै गर्दा मैले उसलाई राम्ररी नियालेको थिएँ । अघि भर्खर हिँडिरहेको बच्चालाई प्लेन चढ्न दौडधूप गर्दा ढाडमा सुमसुम्याउँदै सुताउन खोजेको देखेपछि मैले लख काटें– ऊ अनुभवी होइन ।

मैले उसको वरिपरि कुनै महिला देखिनँ । एक्लै बच्चा लिएर हिँड्नुको अन्तर्य जान्न मन लाग्यो । तर, सोध्न सकिनँ । प्रश्न मनमै राखें ।

सुरक्षा जाँच सकेपछि प्लेनभित्र नपसुन्जेल मैले उसलाई देखिनँ । देखिनँ भन्दा पनि याद गरिनँ । किनभने सिट नम्बरको हिसाबले ऊ र म एउटै बसमा चढी हजाईजहाज चढ्ने ठाउँसम्म आइपुगेको हुनुपर्छ । ऊ र म सँगसँगैको सिटमा रहेछांै । बच्चालाई मेरो सिटमा राखेर ऊ सिटबेल्ट कस्दै थियो । मैले ब्याग सिटमाथि राखेर बस्न खोज्दा ऊ टाउको सुम्सुम्याउँदै ‘आइया भो मेरो छोरीलाई’ भनेर सुमसुम्याउँदै थियो ।

मलाई थाहा भयो– छोरी रहिछ ।

मैले सिट बेल्ट बाँधी नसक्दै उसले बच्चीको टाउकोमा दुई पटक चुम्बन ग¥यो ।

ऊ हेर्दै अलि कालो देखिन्थ्यो ।

मैले उसलाई सोधें, “बच्चाकी आमाचाहिँ अर्कै सिटमा पर्नुभो कि क्या हो ?”

उसले भन्यो, “हैन, यसकी आमा अर्कैसँग गई ।”

मैले यो उत्तरको अपेक्षा गरेको थिइनँ । बडो असहज महसुस भो । मेरो प्रश्न उसले मन नपराएरै यति असहज उत्तर दियो कि क्या हो भनेर उसको अनुहार हेरें । उसको अनुहारको भावमा कुनै परिवर्तन थिएन । उसले सहजताको साथ यो अवस्थालाई स्वीकार गरिसकेकोले मलाई त्यसरी भन्यो जस्तो लाग्यो । तैपनि म सहज हुन सकिनँ । मलाई त्यो बच्चाको अनुहार हेर्दैमा उसको बाबु मसँग मजाक गर्दैछ भन्ने लाग्यो ।

“छोरा हो कि छोरी ?” असहजतावश मेरो मुखबाट प्रश्न फुत्कियो ।

खासमा म सहज हुने प्रयास गरिरहेको थिएँ ।

‘छोरी’ भन्दै ऊ फेरि छोरीलाई छातीमा राखेर सुमसुम्याउन लाग्यो ।

“कति महिनाकी भइन् ?” खासमा मलाई हेर्दैमा गुडियाजस्ती बच्चीको उमेरसँग कुनै चासो थिएन । मैले यो कुरा अघि नै काउन्टरमा थाहा पाइसकेको थिएँ । वास्तवमा सहज हुन र कुरा अन्तै मोड्न प्रश्न सोधेको थिएँ । मेरो मनमा त्यो बच्ची १२÷१५ महिनाकी हुनुपर्छ भन्ने अनुमान थियो ।

“भर्खर ११ महिना लागी,” उसले मतिर हेरेर भन्यो ।

अब म के निश्चिन्त भएँ भने त्यो बच्चीको बाबुलाई मसँग कुरा गर्न कुनै अप्ठ्यारो भइरहेको छैन । अब म उसले अघि के भन्यो भनेर फेरि त्यही कुरा कोट्याउन सक्थें ।
“नानीकी आमाले कति सानैमा छोडिछिन् त ! कति महिना भो छोडेको ?” मैले सोधें ।

“यो ३ महिनाकी थिई, मैले यसको ममीलाई डिभोर्स दिँदा ।” उसको अनुहारमा कुनै परिवर्तन देखिएन ।

भनें, “भनेपछि तपाईंसँग व्यवहार नमिलेर यति सानी नानी हुँदा पनि त्यस्तो निर्णय लिएको हुनुपर्छ । तर, ३ महिनाकी दूधे नानी छोडेर डिभोर्स लिन सक्ने आमा त खत्रै हो नि है ?”
ऊ मसँग कुरा गर्न धक मानिरहेको छैन भन्नेमा म निर्धक्क थिएँ । त्यसैले कुराको गहिराइमा पुग्ने विचार गरें ।

‘चकलेट सर !’ भन्दै एयरहोस्टेस कपास र चकलेट लिएर आइन् । उसले ‘पर्दैन’ भन्यो, मैले पनि केही लिइनँ ।

“यसकी आमा अर्कैसँग लागेकी रै’छ । एकदिन म दिउँसै घर पुग्दा एउटा अरेबियन केटासँग ‘रेड ह्यान्ड’ भेटें अनि पुलिस केस गरेर उसलाई छोडिदिएँ,” उसले फरर भन्यो ।

“अरेबियन ? तपाईं कहाँ बस्नुहुन्छ र ?” ऊ नेपाल बस्दैन भन्ने लागेर सोधें ।

उत्तिखेरै भन्यो, “म न्युयोर्कमा बस्छु ।”

फेरि सोधें, “भनेपछि तपाईँले उतैको केटीसँग बिहे गर्नु भा’थ्यो ?”

“हैन, यही काठमाडौंकै हो । मैले नै उसलाई डिपेन्डेन्टमा उता लगेर पढाउँदै थिएँ,” उसले भन्यो, “बच्चा पनि भयो । तर लास्टाँ यस्तो धोका भो ।”

“के पढाउँदै हुनुहुन्थ्यो र ?”

खासमा म ‘तपाईंले लभ म्यारिज गर्नुभएको हो ?’ भनेर सोध्न चाहन्थें तर मेरो सोधाइ अलि वैयक्तिक थियो । त्यसमाथि लभ म्यारिज गर्दैमा यस्तो हुन्छ र ? भन्ने खालको चिचोड झल्किन सक्थ्यो । त्यसैले, यो प्रश्न फुत्किन दिइनँ ।

“मेडिसिन ।”

“ए ! डाक्टर पढाउँदै हुनुहुन्थ्यो ? तपाईँचाहिँ बिजनेस गर्नुहुन्छ ?”

मलाई ‘तपाईँ पनि डाक्टर हो ?’ भनेर सोध्न मन लागेन । विदेश बस्ने नेपालीलाई ‘तपाईं के गर्नुहुन्छ ?’ भन्ने ठाडो प्रश्न नगर्नू भन्ने बुझेकाले अर्कै कुरा सोधें ।

“हो, म्यानहटनमा मेरो एउटा मोबाइल स्टोर छ । तर, म अहिले सर्जरी पढ्दैछु ।”

कुरा गर्दै जाँदा के थाहा पाएँ भने केटो डीभी परेर बेलैमा अमेरिका गएको रहेछ । अलिअलि पैसा कमाएर फिलिपिन्समा एमबीबीएस, एमडी गरेछ । अनि फेरि फर्केर अमेरिकामै एमएस गर्न थालेछ । उसको जिउको बनावट हेर्दै त्यस्तो धेरै बूढो देखिँदैनथ्यो । त्यसैले मलाई सानै उमेरमा उसले दुनियाँ देखिसकेछ भन्ने लाग्यो ।

कुराकानीकै क्रममा हवाईजहाजबाट उत्रिएपछि उसले मलाई ट्याक्सी सेयर गर्न प्रस्ताव ग¥यो । म ऊसँग कुरा गर्न उत्सुक थिएँ । त्यसैले मलाई लिन आउने अफिसकै गाडीमा लैजाने प्रस्ताव गरें । उसले मान्यो । गाडीमा उसको व्यापार–व्यवसायको कुरा भयो ।

“तपार्इं बिजनेसमा राम्रैसँग जम्नुभएको रहेछ । त्यही भएर त नानीकी आमालाई मेडिसिन पढाउने हिम्मत गर्नुभयो है ?” मलाई उसको व्यापार–व्यवसायको बारेमा खासै जान्न मन लागिरहेको थिएन । हेर्दैमा फूलजस्ती त्यो बच्चीको आमा किन त्यसरी निष्ठुर भई भनेर जान्न मन थियो, त्यसैले फेरि त्यही कुरा कोट्याएँ ।

“अमेरिका जानेबित्तिकै एउटा मोबाइल कम्पनीमा काम गरेको थिएँ । अमेरिकामा मोबाइल बिजनेसको बारेमा सबै आइडिया भएकोले मैले पैसा पनि कमाएँ । पढें पनि । उसलाई पनि मेडिसिन पढाएर अझ राम्रो गरौं भनेको, यस्तो भो,” ऊ रोकियो ।

“शायद गल्ती मेरै होला । उसलाई त्यो मुस्लिम साथीले ब्रेनवास गरेछ क्यारे ! मलाई पनि घरिघरि मुस्लिम बन्छु भन्थी, मैले नाइँ भन्थें । भरे त्यो मुस्लिमसँग त्यसको त्यस्तो सम्बन्ध रहेछ ।” उसको अनुहार ओइलाएको गुलाबजस्तो भयो ।

ऊ मेरो सानोको मिल्ने साथी हुँदो हो त काँधमा प्याट्ट पिटेर ‘छोड्दे यार यो कुरा, तँ रुन लागिस्’ भन्ने थिएँ ।

“धर्म भन्दा पनि त्यो केटीको संस्कारको कुरा आउँछ होला । जुनसुकै धर्म लिए पनि ब्रेस्ट फिडिङ गरिरहेको ३ महिनाको बच्चा छोड्न सक्ने आमाको मनमा अर्कै कुरा थियो होला कि !” म उसलाई सान्त्वना दिन चाहन्थें ।

केटी काठमाडौंकी बाहुनी रहिछ । नेवार भनेर केटीको बाउले उसलाई बिहे गर्न दिएका रहेनछन् । केटोकै खर्चमा जोरजबर्जस्तीले ऊ अमेरिका पुगेकी रहिछ ।

फेरि सोधें, “३ महिनामै आमाले छोडेपछि यो बच्चा स्याहार्न तपाईंलाई गाह्रो परेन ?”

“गाह्रो भो नि । त्यो घटनापछि केही समय केस चल्यो । केटी मेरै पैसाले बसिरहेकोले कोर्टले लामो लफडापछि छोरी मसँग राख्न दियो । अनि मैले नेपाल ल्याएर यसको फुपूहरूसँग राखें ।” उसले छोरीलाई फेरि छातीमा टाँस्यो ।

ऊ आफैं फाइनल इयरको विद्यार्थी भएकाले अदालती प्रक्रिया पूरा गर्नेबित्तिकै छोरीलाई नेपाल ल्याएको रहेछ ।

“बहिनीहरू नर्स छन् । काम गर्ने मान्छे राखेर छोरीलाई बहिनीहरूसँगै राखेको छु । दिनदिनै स्काइपमा बहिनीहरूसँग कुरा हुन्छ । तर, छोरी यहाँ म उता । साह्रै गाह्रो भएर १० दिनको छुट्टी लिएर नेपाल आएको ।”

उसले यसो भनिरहँदा उसको स्वर भासिएको थियो । मैले यो कुरा सुरु गरेको थिइनँ । उसले मसँग किन यति खुलेर कुरा ग¥यो भन्न पनि सक्दिनँ । तर, उसले कथा भनिरहँदा रुन्छ कि जस्तो भो । मैले उसको काखमा भएको छोरीलाई बोलाएँ । एकछिन हामी दुवै बोलेनौं ।

झन्डै ४ दिनको हवाई यात्रा गरेर छोरी भेट्न आएको ऊ छोरीसँग १० दिनमात्र बिताउन पाउँछ भन्दा मलाई पनि नरमाइलो लाग्यो ।

“मेरी छोरी अभागी रहिछ,” अचानक उसले भन्यो ।

“त्यस्तो हैन, तपाईंकी छोरी भाग्यमानी हो । आमाको नियत राम्रो देखिएन, तर तपाईंजस्तो माया गर्ने बाबु पाएकी छे । हजुरआमा, फुपूहरूसँग हुर्किन पाएकी छे । आमासँग बसेकी भए यसको संस्कार कस्तो हुन्थ्यो होला ? तपाईं आफैं भन्नुस् न । यो नानीले दह्रै भाग्य लिएर आएकी रहिछ र तपाईँको छोरी हुन पाई ।” मैले यसो भनिरहँदा हाम्रो जहाज ल्यान्ड गर्न लागेको थियो ।

ऊ छोरी कतै ठोक्किन्छे कि भनेर सचेत देखिन्थ्यो । मैले नै उसको ह्यान्ड ब्याग बोकेर जहाजबाट उत्रियौं । बाहिर मेरो अफिसको गाडी मलाई पर्खिरहेको थियो ।

विराटनगर एयरपोर्टबाट इटहरीसम्म आइपुग्दाको झन्डै पौने १ घण्टाको बाटोमा हामी गफ गर्दै रह्यौं । कुराकानीको विषयवस्तु त्यही बच्ची थिई । छोरीकी आमाले छोड्नेबित्तिकै उसले बच्चा सम्हाल्न नजानेर दुःख पाएको कुरा बेलीबिस्तार लगायो । दिसा गरेकोले बच्चा रोएको कुरा नबुझेर उसलाई सुरुमा धेरै गाह्रो परेको रहेछ । सुरुसुरुमा छातीमा टाँसेर सुताउँदा सकस भएर हुनुपर्छ, राति रुँदिरहिछ । कतिपटक त छोरी फुत्किने प्रयास गर्दा उसको अनुहार कोतिरिएको पनि रहेछ । उसलाई यो कुरा पनि उतै बस्ने उसको आफन्त महिलाले बताइदिएर थाहा भएको रहेछ ।

उसले हाँस्दै भनेको थियो, “त्यसपछि छोरीले कोतर्ने गरी कहिल्यै नि सुताइनँ । राति रुन्थी, कति कुरा बुझ्दिन रहेछु । ऊ रुन्थी, म पनि उसलाई अँगालो हालेर रुन चाहन्थें । मेरो भाग्यले गर्दा उसले दुःख पाई भनेजस्तो लाग्थ्यो ।”

“कता जाम् ?” उसले सोध्यो ।

“यहीँ बसुम् न, हुन्न ?” मैले भनें ।

त्यसपछि हामी झन्डै डेढ घण्टा सँगै बस्यौं । उसले बियर मगायो । मैले सेकुवा अर्डर गरें । यो भेटमा म उसको विगत कोट्याउन चाहन्नथेँ । छोरी र उसको विगतबारे खासै कुरा भएन । तर, छुट्टिनुभन्दा केहीअघि उसले भनेको कुराले मेरो मनमा बज्र हान्यो ।

यो मेरा लागि सर्वथा आश्चर्यजनक कुरा थियो । त्यसपछि ऊप्रति मेरो दृष्टिकोणले कोल्टे फेर्‍यो । बियरको नशामा उसले भन्यो, “डिभोर्सअघि नै एउटी केटीसँग मेरो कुरा हुन्थ्यो । साह्रै राम्री छे । अहिले उसैसँग बिहे गर्ने कुरा चल्दैछ ।”

मैले यसअघिका सबै कुरा सम्झिएँ । पत्नीले गरेको घात र त्यसपछि उसले मलाई बताएका आदर्श सबै आँखैअघि फनफनी घुमे । छोरीको भाग्य र आफ्नो बफादारिताबारे उसले भनेका कुरा एक–एक गर्दै पत्रझैं खुले । मलाई बच्चीको भविष्यले अझ बढ्ता चिथोर्‍यो ।

बच्चीले बूढी औंला चुसिरहँदा उसले गिलासभरिको बियर घुट्क्यायो ।

मैले कुनै औपचारिकताबिना ऊसँग बिदा मागेर बत्तासिँदै चारकोसीको बाटो मोटरसाइकल हुइँक्याएँ । म जति त्यो बच्चीको अनुहार सम्झिन्थें, बाइकको एक्सिलेटर त्यति बटारिन्थ्यो !

(स्रोत : बाह्रखरी डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.