~रन्जु ‘मार्ग’~
उसले आफ्नो बिगतमा गरेको पापकर्मको सजायं भोगी सकेको थियो | त्यसैले ऊ अबको बाँकी जीवनलाई नयाँ तरिकाले जिउने विचारका साथ अघि बढिरहेको थियो | यही क्रममा ऊ यदाकदा सार्वजनिक कार्यक्रममा जान थालेको थियो |
आज पनि उसलाई एउटा प्रतिष्ठित कार्यकर्ममा जानु थियो | त्यस कार्यक्रममा देशका नाम चलेका गन्य मान्य बहुप्रतिष्ठित व्यक्तिहरु पनि सहभागी हुने निम्तो थियो |यसपल्ट उसले आफ्नी पत्नीलाई पनि लिएर जाने विचार गरयो | उसकी पत्नीपनि आफ्नो पतिले धेरै दिनपछि यति ठुलो कार्यक्रममा लैजान लागेको देखेर फुरुङ्ग भई कपडा लगाउन गई |
दुवै जना कार्यक्रममा जानको लागि तयार भए |पत्नी सम्पूर्ण पहिरहन अनि सिङ्गारका साथ पतिको नजिक आई | उसले आफ्नी पत्नीलाई निकैबेर हेरिरह्यो | आफ्नो पतिले यस अघि यसरी कहिल्लै नहेरेको पत्नीले महशुस गरी र लजाउदै भुईंतिर निहुरी मुस्कुराई |
’हेर ,तिमीलाई यो लुगा अनि गरगहना लगाएको पट्टक्कै सुहाएन |जाऊ ,यो सबै फुकाल !’-अचानक पतिको यो आदेशले पत्नीको मृदुल मुस्कान एकाएक हरायो र उसले शशंकित हुदै सोधी –’
’किन र हजुर ?हजुरले नै यो सबै किनेर ल्याइदिनु भएको होइन र ?”
’त्यो त हो तर पनि किन किन आज मैले तिमीले यो लुगा, गहना लगाएको पट्टक्कै सुहाएको देखेको छैन |’पतिको बचन स्वीकार्दै पत्नी सबै गरगहन लुगा फुकालेर सामान्य पहिरनमा सजिएर आई र परै बसी |पति उनको नजिक गए र मलिन अनुहारमा बसेकी पत्नीलाई सुम्सुमाउदै भने –
“आज म तिमीलाई साँच्चै नै सुन्दर देखिरहेछु | केहि वर्ष अगाडी तिमीलाई यतिको सुन्दर देखेको भए सायद म किन देशको सम्पति दुरुप्रयोग गरेर तिमीलाई यो गहना ,महंगा कपडाले सिंगार्ने चेष्टा गर्थे होला र ? महँगो लुगा, गरगहना त नलगाउदा पनि सुन्दर देखिदो रहेछ तर निधारमा लागेको दाग चाँही कहिल्लै नमेटिने रहेछ !”