~गोपीकृष्ण प्रसाई~
आउँदै गरेको देखेँ
लण्डनको सडकमा
कुदिरहेका चिल्ला कारहरु
उन्मत्त श्वेत वदनमा सजिने हिराका हारहरु
मानौँ ईन्द्रको नन्दन वनमा विहार चलिरहेछ
मानौं रातको व्यग्रताले चाँडै दिन ढलिरहेछ
तर त्यो नेपाली मन
आफ्नो मुस्कानमा अभ्यस्त भई सकेको छ
आफ्नै इतिहास र वर्तमानले समाई सकेको छ
र परदेशिएको मन वासनाहरुमा अलमल्लिएको देखिन
आँखाभरि लण्डनको आधुनिक छाया देखिन
मेरो स्वाभाविक हेराईमा अहिले ऊ डायस्पोराको मान्छे हो
डायस्पोराको कुन चरणमा छ ? त्यो मलाई थाहा छैन
तर यही माटोले उसलाई चिनिसके पछि
यहीँका पसलहरुमा उसले पानसुपारी किनिसके पछि,
यही हरियालीले छोड्ने अक्सिजनमा बाँचेको उसको जीवन
कर्म खोज्दै यो पाश्चात्य दुनियाँमा आएको ऊ
गरिबीले धकेलेर विटुलो बनिएको पुर्पुरो
अनि डायस्पोरामा झरेको यो नेपाली आँशु
परिस्थितिले दह्रो बन्न अभ्यस्त छाती
तर ऊ निर्दयी हुन सक्दैन
डिस्को र पबमा कुदिरहने ऊ
समरका पार्कहरुमा डुलिरहने ऊ
त्यहाँ पनि उसलाई रोधी र चौतारीले छोडेन
त्यहाँ पनि उसले नागी र लेक वेसीलाई बिर्सेन
भौतिक संयन्त्रले जति नै ताने पनि
आफ्नै भीर पाखामा रमाई रह्यो
सामुन्द्रिक किनारमा समेत खोला गड्तिरको याद थमाई रह्यो
नुनिला छालहरु सँगै नारायणीको राफ्टिंगलाई समाई रह्यो ।
डायस्पोराको नेपाली मन
देउरालीमा पाती चढाई मनको ढाकर बिसाउँछ ऊ
असार पन्ध्रमा दही चिउरा खान नपाए आफैसँग रिसाउछ ऊ
दसैँ र तिहारले अनुवन्धित मन
डायस्पोराको रोटे पिङमा झुलिरहन्छ
निधार भरि टीका र शिरमा जमरा लिएर भुली रहन्छ
मनले मागेको प्यास आफ्नै माटोले मात्र दिने रहेछ
मुटुको भाषा त आफ्नै बस्तीले मात्र बुझ्दो रहेछ
काममा जान्छ पैसासँग जिस्कन्छ
नाइट क्लबमा जान्छ तरुनीसँग इत्रिन्छ
गरिरहन्छ लण्डन बस र ट्यूबको यात्रा
हेरिहन्छ अँग्रेजहरुको नाना थरीका जात्रा
कहिले पिउँछ व्यथा भुलाउन फरक फरक अल्कोहलको मात्रा
प्यासी बनेका घडीमा कुवा र हिटीको संझनाले रुन्छ
मनमा लागेका दागहरु छंछंगिएका खोलाहरुमा धुन्छ
आफैलाई खोजी रहेछन् मान्छेहरु यहाँ
ऊ पनि प्राय आफ्नै मात्र कुराहरु सुन्छ
सुन्दरता र नसालु यो दुनियाँ
जवानी उडिरहेछ यत्र तत्र
तर ऊ आफ्नै सोल्टिनीको गाऊँमा ब्यूँझिरहेको हुन्छ
आफ्नो छाया भेट्टाउन यो दूर क्षितिजमा बल्झिरहेको हुन्छ
यात्रा भरि आफ्नो संसार बनाउँछ
यो त परदेश न हो
यहीँको परिवेशमा रमाउछ ऊ
आफ्नो धर्म र संस्कारको सिरानीमा निदाँउछ ऊ
म्याक र केएफ्सीको मिष्ठान्न भोजन
ब्ल्याक लेबल र रेड वाइनको सुरापान
तर ऊसले मकै भट्मास पोल्टामा राखेको छ
कोठाको आल्मारीमा तीन पाने रक्सी साँचेको छ ।
काममा जोतिइरहेको ऊ
स्टर्लिग पाउन्डमा पोतिई रहेको ऊ
उसलाई म दोहोरी गीतको कुरा गर्छु
उसको भाव भरि म नेपाली संगीतको धुन भर्छु
नजानिदो रुपमा उसको आभा चम्केको देख्छु
नेपालीपनले उरालेर नाच्न अघि लम्केको देख्छु
कामको सास्तिले मन रुँदो हो
कामैकामको पीडाले कलेजो छुँदो हो
पैसा ऊसँग छ पनि, छैन पनि
त्यसैले त ऊ घर संझन्छ अनि एक दुई प्याग वाइन पिउँछ
एकान्तमा बसेर आफ्नै मनलाई सिउँछ
धेरै भयो घर छाडेको उसले
धेरै भयो जीवन मोडेको उसले
आँखामा आशु आएको पनि त्यति देख्तिन
म उसको अन्र्तहृदयको कथा पनि यहाँ लेख्दिन
छोरा छोरीको सुन्दर भविष्यमा आफैलाई गालिरहेछ
मनमा अस्त व्यस्त बनेका ठुटा मुडाहरुलाई यो नभमा बालिरहेछ
डायस्पोरामा प्रेयसीका आँशुहरु मोती बनि चम्किरहे
औद्योगिक सहरमा सबै सबै रहरहरु पैसासँगै लम्किरहे
पसिना र रगतको कर्मले पस्किएको ब्रह्मविन्दु
जीवन जगतको यो कहाली लाग्दो महासिन्धु
संयन्त्रमा रमाउने उसको बानी
आँखामा बगिरहन्छ थेम्स नदीको पानी
उसको जवानीसँगै दुख्यो लण्डनको बिहानी
तँुवालोले ढाकेको सहर
हिँउले खाएको रहर
मन्दिरमा हिडिरहेको ऊ
आफ्नैपनका साथी संगीहरुको खोजीमा ऊ
यो कस्मोपोलिटन सहर
संसार भरका मानिसका आ–आफ्ना रहर
पसिना पुछ्दै सबै सबै आ–आफ्नो थात थलो संझदा हुन्
सबैका आ–आफ्नै डायस्पोरा
सबैका आ–आफ्नै व्यहोरा
त्यो नेपाली मन, यो नेपाली मन
आखिर ऊ र ममा केहि फरक छैन
सबै सबै यही परिधी र संयन्त्रमा अनुबन्धित हामी
आँखामा देश बोकेर बाँचेका छौँ
डायस्पोरामा भाषाको गीत पस्कदै हाँसेका छौँ
यहि नै हामी आफ्नो संसार बनाउछौँ
चाहे बसाई अनन्तसम्म लम्बियोस्
यहीँ मिलेर हाम्रो नेपाल सजाउँछौं
आफ्नो ईतिहास छातीमा बोकेर
आफ्नै मनका बर पीपल यो भूगोल भरि रोपेर
सुख दुख सँगै डायस्पोरालाई उठाउनु छ
यही भित्र नेपालीपन जुटाउनु छ
वर्तमानको यो गर्भमा आफ्नो सभ्यताको मूल फुटाउन छ ।
(लण्डन )
(स्रोत : सत्यतथ्य मासिक)