~अजयभद्र खनाल~
झरीले मक्किएको झ्याल खोलेर म तल बेँसीतिर हेर्छु । तरेली परेका डाँडाका नाकहरू जाँगर नलागी नलागी तुयेंल छिचोलेर चिहाइरहेका छन् । निकै पर एउटा सानो बस्ती टल्किरहेको छ । त्यही ठाउँमा, जहाँ ती डाँडाहरूले भिरालिएर गंगाको विशाल मैदानमा पुग्न हतारिएको एउटा खोलो भेट्छन् ।
मेरा हजुरबा त्यही घना जंगलका बीच साहु र भरियाहरूको लस्कर लिएर मट्टितेल, सलाई र नून लिन भारत पस्थे । ढाडमा डोको र निधारमा पसिनाले भिजेको नाम्लो भिरेर भरिया अगाडि बढ्थे, मुखबाट असजिलो सास फाल्दै । ढाडको भारी थेग्न उनीहरूको टाउको अगाडि निहुरिएको हुन्थ्येा अनि काँपिरहेका घुँडालाई टेको दिन हातमा एउटा लट्ठी । अक्करे भीरमा उनीहरू घस्रन्थे— तल कतै सुसाएको नदीबाट भयभीत हुँदै ।
म एउटा बालक । उनीहरू मलाई पसिनाले निथ्रुक्क चिप्लो ढाडमा बोक्थे । म उनीहरूको जीउ र जातको गन्ध सुँघ्थे –- कहिले लोग्नेमान्छे, कहिले स्वास्नीमान्छे । स्वास्नीमान्छे डरलाग्दी थिइ । उसको देब्रे आँखा पूरै सेतो थियो, जंगलमा छेस्का बिझेर । ऊ तल्लो जातकी, मलाई आफ्नो ढाडमा बोक्थी । म बाहुनको बच्चो । “काँठा,” ऊ मलाई बोलाउँथी । “काँठा !” उसको पुर्ख्योली रिस कहिल्यै रित्तिदैनथ्यो । तैपनि ऊ काँठाहरूको पहिलो रोजाइ, ढाडमा एक मन भारी बोकेर टल्किने बस्तीसम्मको चार कोस सजिलै पूरा गर्न सक्थी ।
म मान्छेको बुई चढ्ने एउटा बच्चेा। गाउँको मेरो अनुभव, तल्ला जातका भरियाहरूको पसिनाको गन्धसँग मिसिएको थियेा । त्यस बखतसम्म जब म आफैँ हिँड्न सकिन — पहिला टिनको छानाले गर्मीको घाम टल्काउने त्यो बस्तीसम्म, अनि त्यसपछि निकै परको बेँसीसम्म । अलकत्रा पग्लिएको एउटा सडक यी दुई बस्तीलाई जोड्न मरूभूमिमा सर्पजसरी तन्किएको थियेा । छहारी भेटाउन आतुर ।
०००
त्यस रात म एउटा क्षेत्रीको घरमा बास बस्न पुग्छु । गाउँबाट सबै बाहुनहरू निख्रिसकेका छन् । सपनामा एउटा बूढो मान्छेले मलाई लखेटिराखेको म देख्छु, मानौँ आकाशमा नदेखिने सडक छ । एउटा तीनटाउके जीव मलाई बचाउन खोजिरहेको छ । यसको अर्थ के हुन सक्छ ? म घोत्लिन थाल्छु । यो तीनटाउके जीवलाई मैले सबैभन्दा पहिले यहीँ भेटेको हुँ । सायद म त्यतिखेर सात वा आठ वर्षको हुँदो हुँ ।
जब मेरा बालाई सरकारी जागिरबाट दुईमहिने छुट्टी मिल्यो तब हामी फेरि एकपल्ट तरंगपुर फर्कियौं । त्यतिखेर मसँग भएका सबैभन्दा मूल्यवान् कुराहरू थिए सातवटा चंगा, दुई प्याकेट चकलेट र चार पोका ग्लुकोज बिस्कुट । सँधैझैँ हामी आएको खबर पाकेको आँपको सुवासझैं फैलियो र आधा घन्टाभित्रै हाम्रो घरको आँगनमा सिंगाने केटाकेटी माखाझैँ भन्कन थाले ।
पहिला सबैलाई मैले दुईदुईवटा चकलेट बाँडे । सबैलाई बाँडिसकेपछि पनि चकलेटको प्याकेट आधामात्र रित्तिएकोमा म साह्रै खुशी भएँ । तर केटाकेटीहरू आँगनको डिलमै उभिरहे । उनीहरू बा र उनको साथमा रहेको दुईवटा टिनका ट्यांकामा एकरट लगाएर, दयाको भीख माग्दै थिए । निकै बेरपछि शायद उनीहरूलाई लाग्यो, मेरो दया नजाग्ने भयो वा यसबारे मेरा बाले केही नगर्ने भए, अनि केटाकेटीहरू आफ्नो बाटो लागे ।
खल्तीको चक्लेटको प्याकेटलाई सुमसुम्याउँदै म निकैबेर पेटीमै बसिरहेँ। तर जसलाई मैले कुरेको थिएँ, ऊ आएन । म आँगनको छेउमा गएँ र कटहरको रूखबीचबाट उसको घरतिर हेर्न थालें । उसको घर खोल्सापारि थियो, पँधेराको पारिपट्टि । खरको छानामुनि पेटीमा मैले सातआठजना मान्छे देखेँ, अनि उनीहरूबीच पल्टिराखेको एउटा आकृति । टाढाबाट मैले यसै हो भन्ने मेसो पाइनँ, तर संकेत राम्रो थिएन ।
जब अँध्यारो छायो तब डांग्रे, ढुकुर र भंगेरा कोकोहोलो मच्चाउन थाले, कटहरको रूखमा बास बस्न तँछाडमछाड गर्दै । चराहरू रूखमा कतै बास बसेपछि अचानक शून्यता छायो, मसानसरह । अन्धकार डरलाग्दो बन्यो । त्यसदिन ऊ आउला भन्ने आश मारिदिएँ ।
भोलिपल्ट बिहान बाले मलाई पारि नैया गाउँ लिएर जानुभयो । बाटामा केही घर र गोठहरू । न्यार्बा गुन्द्रीमा पल्टिरहेका थिए, माखा शरीरभरि । केही माखा उनको नाकका प्वालमा छिरेका थिए भने केही आँखाको कुनाबाट रस तानिरहेका । छिनछिनमा न्यार्बा हातको कमजोर हल्लाइले हम्किन खोज्थे, तर उनीहरू के टेर्थे र ! तुरून्तै नाकभित्र तारो हानिहाल्थे ।
“न्यारदाइ, म,” चिथ्रो गुन्द्रीको छेउमा बस्दै मेरा बाले भन्नुभयो । “चिन्नुभयो?”
न्यार्बा हल्लिन खोजे । उनको शरीर इशारा गर्नपुग्ने गरी मात्र हल्लियो ।
“कान्छाबाबु, हैन?” उनका ओठहरू काम्दै कमजोर मुस्कानमा परिणत भए ।
न्यार्बाका छोरा भीमे र बुहारी माटाको घरबाट बाहिर आए । भीमेको हातमा हुक्का थियो र बुहारीको हातमा बाट्दै गरेको बाबियो । न्यार्बा शायद अन्तिम सास फेर्दै थिए । मर्न लागेका मान्छे देख्दा मलाई वाक्वाकी लाग्थ्यो । मैले प्लास्टिकको झोलाबाट एक प्याकेट ग्लुकोज बिस्कुट झिकेँ र न्यारबाका काम्दै गरेका हातमा थमाइदिएँ । उनको हत्केला चाउरिएको थियो, एक हप्तासम्म दलिनमा अड्किएर ओइलाएको ग्यास बेलुनजस्तै । उनका हर्थुंगा र औँलाका नसा काला भैसकेका थिए ।
न्यार्बाले मलाई देखे र उनका आँखा चम्किए । टाउको उठाउन खोजे अनि हात तन्काएर मेरो हात समाते । उनका हत्केला मरेको साँपजस्तो पटक्कै थिएनन् । बरू न्याना र नरम थिए । बूढाका ओठहरू एकपल्ट फेरि कामे । शायद उनी मलाई केही भन्न खोज्दै थिए । किन हो बाले मेरो हात समातेर तान्नुभयो, मानौँ न्यार्बाको हात साँच्चिकै सर्प थियो । न्यार्बाले आँखा चिम्लिए, कलेँटी परेका उनका नीला ओठहरू काम्न छाडे । आजसम्म पनि किन मेरा बाले त्यसो गर्नुभयो मैले ठम्याउन सकेको छैन ।
मैले बिस्कुट न्यार्बाको छेउमा गुन्द्रीमै राखिदिएँ, शायद उनले खान पाउलान् नपाउलान् । शायद उनका छोराबुहारीले ती बिस्कुट आफैँ लिएर जालान् । वा न्यार्बाले आफ्ना नातिनातिनालाई बाँड्लान् । अनि मैले सम्झेँ, ऊ खोइ त !
कसैलाई सोध्नु अगावै मैले गोरे र दामलीलाई देखेँ, हिउँदले खंग्रिएका अग्ला घाँस पन्छाउँदै कान्लाबाट उक्लिरहेका । दामलीले एक डालो तरुल पेटीमा बिसाई । गोरेले परै उभिएर म र मेरा बालाई एकटक हेरिरह्यो ।
“न्यारदाइलाई के भएको छ?” बाले भीमेलाई सोध्नुभयो । बाको संसारमा गोरे र दामली अस्तित्वमा आइसकेका थिएनन् ।
“खै,” भीमेले भन्यो । “बुढ्यौली होला ।”
“अनि डाक्टरकहाँ लग्यौ त?”
“दिमारपुरमा पुर्याएका थियौँ, अघिल्लो महिना हो क्यार ।”
“अनि के भन्यो त डाक्टरले ?”
“केही भन्न सकिन्न ।”
“अनि के के हुन्छ त न्यारदाइलाई ?” अबचाहिँ मेरा बा आफैँ डाक्टर बन्न तम्सिनुभयो ।
“खै । रिंगाउँछ भन्नुहुन्छ । अनि राम्रो देख्नुहुन्न रे ।”
“प्रेसर हुनसक्छ,” बाले भन्नुभयो । “प्रेसरको औषधी त मसँग पनि थियो ।”
“हैन, हैन,” भीमेले भन्यो । “बुढ्यौली हो, डाक्टरले भन्या । केही गर्न मिल्दैन रे ।”
केही गर्न मिल्दैन । भीमेले न्यार्बालाई डोकोमा हालेर बतासेडाँडाबाट खसालिरहेको मैले सम्झें । स्कुलमा हामीले पढ्ने कथामा त्यस्तै एउटा गाउँ थियो, जहाँ बूढाहरूलाई भीरबाट फाल्ने चलन थियो । मेरो कल्पनामा बतासेडाँडा नै त्यो भीर हो भन्ने परेको थियो ।
एकपल्ट मैले साहिँलीआमाको भैँसी भीरबाट खसेर तल वनमा पल्टिएको देखेको थिएँ । करिब डेढसय हात तल भैँसी उत्तानो परेर लडेको थियो । चार खुट्टा भाँच्चिएका, अनि सुन्निएको सेतो भुँडी माटो र रगतले पोतिएको । भैँसीको पेट छुँदा नरम र न्यानो हुन्छ । नरम रौँमा टाँसिएका गोबरका सुकेका टुक्रा बिझाउँछन् । तैपनि हातले पेटको छालामा छुँदा काउकुती लागेर आउँछ, केटीको जीउ छुँदा जस्तै । भैँसीको पेट छुँदा मर्न लागेको मान्छेको हात छोएको जस्तो हुँदैन ।
मैले न्यार्बाले भैँसीको भाँचिएका करङ ठीक बनाएको देखेको छु । एकदिन सबेरै आमाले मलाई साहिँलीआमाको घरमा नून लिन पठाउनु भयो । खोटो पोतिएको कालो ढोकामा भोटेताल्चा झुन्डिएको थियो । साहिँलीआमालाई मकैबारीमा मैले भेटिनँ, तरकारी बारीमा पनि उनी थिइनन् । आखिरमा गोठनजिकै मैले उनलाई फेला पारेँ, सुक्न लागेका मकैले छेकिएकी । भैँसी गोठमा बिछ्याइएको काठमा लडिरहेको थियो, गोबरमाथि । न्यार्बाले जडिबुटी जम्मा पारेर ल्याएका रहेछन् । उनले साहिंलीआमासँग हलेदो र चामलको पीठो मागे, अनि के के हो मिसाएर पिन्न थाले । साहिँलीआमा सामान लिन भान्छातिर लागिन्, अनि मैले मलाई पनि पिङ हाल्द्यौ भनेर कचकच गर्न थालेँ । न्यार्बाले मतिर अनौठो तरिकाले हेरे र भने, “मलाई फुर्सद छैन ।” दशैं नजिकै आउन लागिसकेको थियो र घर नजिकै मलाई पिङ चाहिएको थियो । “हल हल,” उनले त्यसदिन पनि भने । तर मलाई थाहा थियो, त्यो उनको जिस्कने बानी थियो । उनी मलाई साह्रै माया गर्थे । मलाई हिलोमैलोमा खेलेको देख्न नचाहने न्यार्बा मेरा खेलौना र मनोरञ्जनका हरेक चाहनालाई हल हल भन्दै पुर्याइदिन्थे । साहिँलीआमा आएपछि न्यार्बाले औषधी बनाएर भैँसीको भाँचिएको करङ र खुट्टामा दलिदिए र सानो पोका उनलाई राख्न दिए । भैंसीको खुट्टामा काठको काम्रो बनाएर बलियोसँग बाँधिदिए । त्यसको भोलिपल्ट बाबियोको डोरी बाटेर धन्सारनेर न्यारबाले पिङ हालिदिए ।
केही दिनपछि बा र म फेरि न्यारबालाई भेट्न गयौँ । यसपल्ट उनी हलचल पनि गर्न नसक्ने अवस्थामा थिए ।
“मलाई चिन्नुभयो ?” बाले न्यार्बाको दाहिने हात समातेर सोध्नुभयो । उनी टोलाएकोटोलायै थिए । होसको कुनै सङ्केत थिएन ।
“न्यार्बा भूत बन्न लागेको हो?” मैले सोधेँ ।
“खै थाहा भएन,” बाले भन्नुभयो । तर पक्कै पनि बालाई थाहा थियो । भीमलाल पाडो र रक्सी लिन गैसकेको थियो । गोरे र दामली कुनामा बसेर रोइरहेका थिए ।
बाजेले अब भूत निकाल्न लागेका हुन् जस्तो छ, गोरेले भन्यो । हत्केलाले आँशु पुछ्दा मुखभरी धूलो लेसारिएको थियो ।
न्यार्बाका आँखाको चमक हराइसकेको थियो । उनका आँखा पहेँलो झिल्लीले ढाकिएका थिए । अझै पनि उनका आँखा र नाकका प्वालमा झिँगाहरू खनिएका थिए, मैले अघिल्लो पटक देखेको भन्दा निकै धेरै । मैले धेरै बेर न्यार्बालाई हेर्न सकिनँ ।
हामी घर फर्कंदै गर्दा गाउँलेहरू न्यारबाको घरतर्फ जाँदै थिए । न्यार्बा अब भूत बन्छन् रे भनेर सोच्दै थिएँ, उनको गोठनेर सुँगुरलाई छुन पुगेछु । मैले बातिर पुलुक्क हेरेँ । बाले थाहा पाउनु भएको रहेनछ, र मैले पनि कसैलाई सुँगुर छोएको भनिँन । नत्र घर छिर्नु अगाडि मैले कतिपल्ट नुहाउनु पर्ने थियो !
जब हामी घर पुग्यौं, बा र म पारि डाँडाका रूखहरू हेर्दै बस्यौँ । घाम ओझेल परेपछि, डाँडाका मौन आकृति चलमलाउँदै थिए—एउटा बडेमानको जुरो भएको ऊँट अनि उसलाइ डोर्याएर हिँडेको एउटा मान्छे । सिस्नेबेँसी जोतिएर उकाली लागेका डिँगा जसै गोठमा फर्कन थाले, मेरो क्यान्भासमा ताराहरू एक एक गर्दै छापिन थाले अनि डाँडाका आकृतिहरू पारि मन्द चाँदनीमा अड्किए, अर्धसजीव, अर्धमृत ।
पछि साँझमा भीमलालले पक्कै पनि एउटा पाडो र दुई ग्यालन रक्सी लिएर आएको हुनुपर्दछ । पेटीमा बसेर त्यस दिनको घटना सम्झँदै गर्दा पाडोको टीठलाग्दो चिच्याहटले साँझको निस्तब्धतालाई चिर्यो, अनि त्यसपछि एउटा ढ्वाङ्गले त्यो आर्तनादलाई बन्द गराइदियो । मलाई थाहा थियो त्यो रातभार गाउँलेहरू पाडोको मासु खानेछन् र रक्सी पिउनेछन् । यसको अर्थ थियो न्यार्बा अब रहेनन्, उनी अब भूताहा बेंसीमा कतै खाल्डोमा पुरिए । उनलाई जलाएको भए के बिग्रन्थ्यो र? म न्यार्बा अर्को एउटा भूत बनेको देख्न चाहन्नथेँ, तरंगपुरमा यसअघि नै प्रशस्त भूत थिए ।
०००
जब असार लाग्यो खेतको हिलोमा पौडी खेल्ने समय आयो । खेतका गह्रा हावामा बयेली खेलिरहेका बिउ ग्रहण गर्न तयार थिए, जुन भीमलालले रोप्थे फटाफट अनि दिन घर्कनुअघि नै हिलाम्मे खेतहरू हरिया बालीले लिपिएका हुन्थे थप आकाशे पानीको अपेक्षा गर्दै । आकाशमा बादल मडारिन थालेपछि दिनहरू लामा र धूमील हुन थाले । बादल छेक्थे उत्तरतिरका हिमाली भित्ता, जसले संसारभरिका आरोहीहरूलाई तानिरहेका हुन्थे । एउटा इटालियन, मेस्नर, जसले अन्नपूर्ण चढ्न खोजे, उनको गाला हिउँले खाएर कालो भयो । हामी उनको दाह्री हेर्न गयौँ, हप्तौं नकाटिएको, हिमाली देवताहरूको रहस्यमय हावाले छोएको । तर उनको कालो चस्मामा हामीले साना केटाकेटीमात्र देख्यौँ ।
फेरि दिनहरू छोटा हुँदै गए, आकाश अझ नीलो बन्न थाल्यो र बादल अझ सेता देखिन थाले, भर्खर धोएर सुकाइएका जस्ता । हाम्रो पूरै गाउँ चाडपर्वको लयमा नाच्न थाल्यो । यस्तै एउटा घमाइलो दिनमा पसिना र धूलोको अमिलो गन्हाउने स्कुलशिक्षकहरूले हामीलाई भिरालो घाँसे मैदानमा राखेर राजा महेन्द्रको पाठ घोक्न लगाए । आफूहरू भने भर्खरै मारिएको चौघडा: खान नजिकैको चियापसलमा गफ चुट्न थाले । रूखमुनि एक्लै, लामो ढाड कुप्राएर गोरे बसिरहेको थियो, कापीमा केही कोर्दै । यति राम्रो अक्षर भएको केटोको लागि जाँचमा सधैँ फेल हुनु विस्मयकारी थियो ।
“के लेख्दैछैा?” उसको काँध पछाडिबाट चियाएर मैले सोधेँ ।
गोरेले आफ्नो कापी बन्द गर्यो र सीधा उभियो । उसको व्यवहार अलि बाउँठो थियो, जुन म बुझ्न सक्दिनथेँ ।
“तिमी बुझ्दैनौ,” उसले भन्यो ।
“पहिला देखाउन त देखाउ ।”
“तिमी बुझ्दैनौ क्या !” ऊ च्याँठ्ठियो ।
“किन?”
“किनभने तिमी धनीको छोरो ।” “ उसको स्वरमा निराशा झल्कन्थ्यो, जसले उसको मुहारलाई अझ गम्भीर बनाएको थियो । “गरिब कसरी बाँच्दछन् तिमीलाई के थाहा ।”
“म कसरी धनी भएँ ?” मैले उसलाई सोधें । “हाम्रो घरमा कति दु:ख छ तिमीलाई के थाहा ?” हो उसलाई के थाहा? मेरी आमा एउटा जँड्याहा कर्मचारीकी दुलही । एकदिन गाउँ आउनु अघि घरमा बच्चालाई खान दिने केही नभएर तीन घण्टा हिँडेर पुगिन् देउरानीसँग ४० रूपियाँ सापटी माग्न । उनीसँग बस चढ्ने पैसापनि थिएन । देउरानीले सापटी दिइन् आँफैलाई धौधौ भएपनि । उनी सम्मान गर्थिन् मेरी आमाको हिम्मतलाई, जुन मेरा बाको जँड्याहापनको नतिजा थियो ।
“मलाई थाहा छ तिम्रो घर कस्तो छ,” गोरेले भन्यो । “तिम्रा बा सरकारी जागिरे, तिमीहरू काठमाण्डूमा बस्ने ।”
“तर यसले के फरक पर्छ र ?” हामी साथी होइनौँ ।
“फरक पर्छ,” उसले भन्यो । म तल्लो जातको ।”
“तँ किन जैले पनि त्यही कुरा गर्छस् ? गर्मीमा हामी खेतमा सँगै पौडी खेलेको बिर्सिस् ?” म तँ तँ मा झरिसकेको थिएँ । भीमलालले खेतमा पानी भरेका थिए, एक फुट गहिरो । त्यही नै हाम्रा लागि काफी थियो ।
“फरक पर्छ,” उसले भन्यो । तिमी र हामी फरक छौं । हामी कहिल्यै साथी बन्न सक्दैनौँ । देखेनौ, तिम्रा बाले मसभग कहिल्यै कुरापनि गर्दैनन् ।
“तर म त तेरेा साथी हुँ नि । भन् न के भयो ।”
“यो सबै तिमीहरूले गर्दा भएको हो,” गोरेले भन्यो, “धनी बाहुनहरू ।”
“हैन ।” उसको हात तान्दै मैले भनें ।
“हो,” गोरेले मलाई दाहिने हातले पर धकेल्यो ।
“मलाई नधकेल् !” मलाई रिसको पारो चढ्न थालिसकेको थियो । “म तेरो साथी, बुझ्दैनस् ?”
“हैनौ,” उसले भन्यो । “तिमी मेरो साथी हैनौ । तिमीहरू सबै उस्तै, हाम्रो बारे मतलब छैन ।”
केही हप्तादेखि गोरेको बानीबेहोरा परिवर्तन भैराखेको थियो । ऊ ढिपी कस्थ्यो, र हाम्रो संवाद जहिले पनि झगडामा गएर टुंगिन्थ्यो । यसपल्ट मलाई पनि रिसको पारो चढ्यो र झर्किएर मैले लात हानेँ । उसको नलीहाडमा मेरो जुत्ताको टुप्पो बज्रियो ।
गोरे चिच्यायो र खुट्टा समातेर भुईंमा लडिबुडी गर्न थाल्यो । त्यो चिच्याहट अझैपनि मेरो कानमा गुन्जिन्छ ।
“ठिक्क पर्यो,” मैले भनेँ । अनि फरक्क फर्केर कुलेलम ठोकेँ ।
म गाउँको एकमात्र केटो जो छालाको जुत्ता लगाएर हिँड्थ्यो । मेरा काला जुत्ताका अघिल्लो भाग खिइएर सेताम्मे भएको थियो । दाहिने जुत्ता कालोभन्दा बढी सेतो थियो । किनभने स्कुल जान उकालो चढ्दा बाटाका ससाना ढुंगालाई फुटबल बनाउने मेरो बानी थियो । ढुंगालाई लात हान्दा जस्तो हुन्छ, हड्डीमा हान्दा पनि त्यस्तै हुँदो रहेछ । खालि यसपल्ट मलाई पनि भित्र कतै गहिरोसँग दुख्यो । एउटा सम्मिश्रण दुखाइ, रिस र पश्चात्तापको ।
त्यो साँझ मैले पचभैया देखेँ ।
हाम्रो गाउँको छेवैमा, दुईचार कान्लामुनि एउटा वन छ । बेँसी झर्ने बाटो यसै वनभित्र हराउँछ । त्यही ठाउँबाट मैले एउटा सेतो जीव देखे । त्यो कुकुरमा सवार थियो । यो आमाले वर्णन गरेजस्तो थिएन । यो मानव पक्कै थिएन, किनभने यसका कान तीखा चुच्चा परेका थिए, अनि तिनवटा टाउका थिए । अनुहार न्यार्बाको जस्तै । त्यो जीव सीधा हाम्रै घरतिर आइरहेको थियो । यसलाई देख्ने बित्तिकै छातीमा ढ्यांग्रो ठोकिन थाल्यो र मुटु ढक्क फुलेर आयो ।
म घर पुग्दा पिँढीमा न्यानो थेगेका चिथ्रा गुन्द्री र थर्कटी बेरिएर बास बस्न भित्र पसिसकेका थिए । म घरभित्र भागें अनि आमाको काखमा गएर धोतीको सप्कोमा लुकेँ । आमा अगेनामा ढुंग्रोले आगो फुक्दै हुनुहुन्थ्यो, भात पकाउन । मैले आमालाई पचभैयाका बारे केही पनि भनिन । यसको नाम लिन पनि मलाई डर लागिरहेको थियो किनभने यसको नाम लियो भने येा घरको तगारो नाघेर मझेरीसम्म आउन सक्थ्येा र बच्चाहरूलाई लान्थ्यो । नत्र यो तगारो बाहिर नै हिँड्थ्यो ।
त्यस साँझ आमालाई धन्दा सक्न निकै समय लाग्यो । त्यसपछि फेरि मेरी आमाले त्यो पिरो धमिलो लाल्टिन बोक्नुभयो र मलाई एक्लै अँध्यारो बिछ्यौनामा छोडेर थान्कोमान्को गर्न लाग्नुभयो । मेरा बा र दाजु सँधैझैँ बाहिर नै हुनुहुन्थ्यो । घरमा म र आमामात्र । आमासँगै लागे चलपल छाया, केही थकित भित्तामा कोत्रिएका, केही भुईँमा लमतन्न लत्रिएका । डरले म निथ्रुक्क भिजिसकेको थिएँ । हलुका सास फेर्दै म आमालाई कुर्न थालेँ । निकैबेर पछि आमा ठूलो छाया बनेर हल्लँदै आउनुभयो र लाल्टिनलाई सन्दुकमाथि राख्नुभयो । जब भित्ता र दलिनका छाया सल्बलाउन छाडे र आमा मेरो छेवैमा आएर बस्नुभयो म निदाउन सकें ।
(स्रोत : सेतोपाटी डट कम)