~होम सुनुवार ‘दसुचा’~
कति अनौठो अति अचम्मको यो मन
हसाउँने रुवाउँने नाना किसिम गराउने यही मन
भिन्ना भिन्नै प्राणीका भिन्ना भिन्नै आफ्नै मन
तन र धनलाई पनि कसी लगाउने उही मन
एक्लो जिन्दगीहरुका पनि किसिम किसिमका मन
कोही स्वतन्त्र आनन्दका साथ एक्लै रमाउने गर्दछन्
जसमा दार्शनिक, वैज्ञानिक, साधु सन्त यस्तै थुप्रै पर्दछन्
कोही एक्लो जीन्दगी व्यर्थ जिन्दगी हो भन्ने गर्दछन्
कुनै एक्ला मन जिन्दगी सार्थक बनाउन
दोस्रो मनको चाहना र खोजी जब गर्दछन्
पाउन त पाउँछन् त्यस्ता दोस्रो एक्लो मन
तर थाहा हुँदैन कस्ता छन् ? मन भित्रका मन
जब दुई मन एउटै धागोमा उनिन्छन् अनि
सुन्दर माला बन्दछन् अनन्त आकासमा चङ्गा झैं
पहाड पनि फुटाउँछन् अति गहिरो सागर पनि सुकाउँछन्
विशाल आकासे फाँट मरुभूमिलाई पनि रसाउँदछन्
रङ्गी विरङ्गी फूलका बगैँचासरी मगमग बसाउँछन्
बाध्यताको धागोमा उनीएर मन मन्दिरलाई सजाउँछन्
तर कुनै कुनै मनहरु एकै धागोमा उनिएतापनि
एउटै बाटोमा हिँड्न नसक्दा विचरा ती मनहरु
कति त्रसित हुन्छन्, अति थकित हुन्छन् कहिले
आगोको ज्वालामा दन्दनी सल्किन्छन् कहिले
साउनको झरीसरी रुझीरहन्छन्
कहिले महाभारत लडाईका पात्र पनि बन्दछन्
यस्तै यस्तै दुनियालाई अनेकौं नाटक देखाउँछन्
त्यसैले अनन्त यो मन अदृष्य यो मन
सधैँ प्राणको साथमा डुलिरहने यो मन
जब प्राण उडेर कतै जान्छ खोक्रो शरिरलाई त्यागी दिने
याने आफै विलिन हुने कस्तो अचम्मको यो मन !!!
(स्रोत : सत्यतथ्य मासिक)