~हिरण्यकुमारी पाठक~
त्यस दिन मलाई घरमा उकुसमुकुस भयो । केही काम गर्न पनि मन लागेन । दिन पनि धुम्म परिरहेछ । पानी पनि परेको छैन । बडो उदास उदास दिन भएको छ । मानो कुनै अशुभ समाचार सुन्न पर्लाजस्तो । कोठामा भित्रबाहिर गर्छु, बरण्डाबाट बाहिरको दृश्य निहार्छु । सबैतिर विरक्त वातावरण मात्र छ । कतै रमाइला दृश्य देखा परेन । घरमा पनि आफू एक्लै के गरेर दिन बिताउनु । अब त प्रत्येक घरका युवायुवती, बुद्धिजीवीहरू विदेशिन थालीसके । देशको अवस्था यस्तो छ । अको दिन काटामारी, अपहरण र बम विस्फोटका घटनाहरू सामान्य तरिकाले आत्मसात गर्नु नै दैनिकी जीवन भइसक्यो । घरमा उमेर पुगेकाहरू मात्र छन् । रित्तो घर आफैलाई तर्साउँछ कि जस्तो लाग्छ । कहिले कहिले मन दुखेको बेला सन्तानसाग बसी कुरा गरेर दुःख सुख साटासाट गर्ने दिन पनि हराइसकेको छ । कोसिन भन्नु मनमा उठेका अनेकौँ ज्वाराभाटाका लहरहरूलाई कसरी शान्त पार्नु ? मलाई छटपटी हुन्छ आफ्नो आत्मियसँग वार्तालाप गर्न । आज किन मन यस्तो अशान्त भइरहेछ । न कतै तिनीहरूलाई सञ्चो भएन कि ? वा कतै तिनीहरूको जीवनमा कुनै अप्रत्याशित घटना त घटेको छैन ? किन किन आज छोरासँग वार्तालाप गर्न मन आतुर भएको छ ? मनलाई धेरै सम्झाउँछु तर मन त मनै नै हो किन सम्झिन्थ्यो । सात समुद्र पार बसेको मुटुका टुक्राहरूको चिन्तन मनन गर्दा गर्दै निस्सासिन्छन मन । भएन यसरी मनलाई भारी बनाएर बस्नुभन्दा बाहिर साइवरमा गएर कुरा गर्नै पर्यो छोरासँग । भारी मन लिएर निस्कन्छु ।
साइवर क्लव नगिचै छ । तर आज मलाई त्यहाँसम्म पुग्न पनि कोसौं टाढा जस्तो भइरहेछ । सडकको वातावरण पनि शुन्य शुन्य खल्लो । मोटर, मोटरसाइकलले सडक वारिपारि गर्नै मुश्किल छ । पैदल यात्रुलाई कति बेला ठक्कर लाग्ने हो पत्तो छैन । बल्ल तल्ल साइवर क्लबमा पुगेँ । प्रायः म विदेशी सन्तानसाग कुरा गर्नु परे यसै साइवरमा आउँछु । तर आज साइवरको कोठाको रूप रङ्ग बेग्लै छ । चारवटा कम्प्युटरमा लाइन छन् ग्राहकहरू कुरा गर्न । एकैछिन ढोकामा उभिएर म छक्क परि भित्र लाइनमा बसेकालाई हेर्छु । सबे नै आतुर छन् आफ्ना हितैषीसँग वार्तालाप गर्न । पल्लो लाइन अलि सानो जस्तो लागेर म त्यतै अगाडि बढ्छु लाममा बस्न । छेउमा एकजना बुढी आमा हुनुहुन्थ्यो । उहाँको लाइन आउनै लागेछ । त्यसपछि त आफ्नो पालो आउला नि भन्ने ठानेर बसी हाले भित्र कोठाबाट कुरा गरेको एकतर्फी आवाज यतैतिरको मात्र सुनिन्छ ।
“हेलो, हेलो ! बाबु तिमीलाई कस्तो छ सञ्चै छ ?”
“ल राम्रै छ अब कहिले आउने ?”
“न आउने रे, बिन बाबु किन ? “
“सधैँ नै तिमी अर्को वर्ष आउँछु भन्छौँ तर खै आएको ? हैन कस्तो ठाउँ हो त्यो कहिले छुट्ट िनपाउने । म नब्बे वर्षकी भइसकेँ बाबु अब त बाहिर आएर तिमीलाई फोन गर्न पनि नसक्ने भइसकेँ । आज पनि बल्ल बल्ल कान्छाले डोराएर ल्यायो । तिम्रो स्वर मात्र सुन्न, तिमीलाई एकपटक राम्ररी हेर्न मात्र बाँची रहेकीछु बाबू आउन ।”
“हरे ! के भनेको त्यो । पैसा पठाएर मात्र हुन्छ र ? म एक्लै मर्ने बेलामा छोराको हातको एक घुड्को पानी पनि खुवाउन आउँदैनस् बाबु ?”
“लौ लौ तिमीहरूलाई देश, आमाभन्दा परदेश नै मायाको जालो भएछ हैन ? “
टक्क लाइन काटिन्छ । साइवरको केटाले “आमा लाइन त उताबाट नै काटियो अब पैसा तिर्नुस् । यता अर्कोको पाली छ ।
आमाको अनुहारी निलो कालो भइसकेको छ उनी फतफताउन थालिन्, “केही काम छैन छोरा पाएर कुरा गर्दा गर्दै काटिदियो अधर्मीले । के आफ्नो मात्रै माया त हो नि उसलाई मेरो वास्तै छैन । पैसा पठाएर मात्र जीवन सबै सुख पुग्छ र । यो कान्छा न भए त मेरो के हाल होला ? चाहिँदैन मलाई त्यसको पैसा” भन्दै फतफताउँदै गरेको बुढीआमालाई कान्छाले डोराएर घरतिर लग्यो ।
एकैछिन म कुन संसारमा छु भन्ने मलाई लाग्यो । लाममा बस्ने सबैको अनुहारमा पीडा, निरासा र आत्मग्लानी भएको र दुःखपूर्ण आक्रोस पनि झल्किरहेको थियो । सबैको एउटा नैराश्यले भरिएको अनुहार र मात्र शिथिलताले भरिएको शरीर मात्र थियो । विदेशिएका युवाहरूको सम्झनाले म कहिले अमेरिका पुगे भने कहिले अष्टे्रलिया पुगेछु । आफ्नो भन्दा पनि पालो भएकाहरूको कुरा सकिसकेछ तर मेरो मन कता कता युवाशक्तिलाई खोज्न रङ्गभङ्गी रहेछ । केही हलुको मन बनाएर घर जाउला भनेको त, झन् मन त गरुँगो भयो पहाडजस्तै । हैन हाम्रो देशमा यो के बतास चल्यो, विदेशिने । दैलामा बुढी आमा, लोरो टेक्दै बुढा बाबु छोराको कमाई खान, मायाको अँगालो मार्न पर्खी बसेका छन् तर खै सबै डाँडा माथिका जुन झैं बिलाउँदै गए । विदेशको रौनकले आफ्नो भित्रिएको महामारी, हाहाकारभित्र होम्मिन आउनै मन नगर्ने भए ।
भारी मन लिएर म उठ्छु फोन गर्न पनि मन लागेन । अघिको बुढी आमाको जस्तै विलौना गर्न पर्ने हो कि ? बरु अहिलेसम्म जे छ त्यसैमा सन्तोष छ भन्ने मनलाई बुझाउँदै विस्तारै भिडभित्र भित्रबाट आफ्नो गन्तव्य पछ्याउँदै घरतिर लागेँ ।
(स्रोत : गोरखापत्र – शनिवार – श्रावण २४, २०६६)