~गणेश कार्की~
इश्वर बाचुन्जेल
यत्र-तत्र घुमिरह्यो
अनेक ठक्कर खाएर
सयों भुमरिमा रुमल्लिएर
कहाँ-कहाँ मात्र पुगेन इश्वर
के-के मात्र भोगेन इश्वरले
जीवनको बृत बनाउन
कुन-कुन बाटो मात्र हिडेन इश्वर
जब समयलाई उछिन्न सकेन
जब जीवनको बृत बनेन
मृत इश्वर धेरै दिनसम्म
सड़क किनार ढलिराह्यो
चाहे तिमी मान या नमान
इश्वरको पनि आयु हुन्छ
तिमी जसरी नै जन्मन्छ
अनि,
भयानक मृत्यु मर्दछ
मान्छे,
इश्वरको लाश माथि चढेर भाषण दिन्छ
इश्वर अमर छ
इश्वर अजर छ
इश्वर यत्र-तत्र-सर्बत्र छ
अनि,
मान्छेले इश्वरको चिहान बनाउछ
र,
त्यही चिहानलाई
मन्दिर भन्छ
मस्जिद भन्छ
चर्च भन्छ
गुम्बा भन्छ
अनि फेरी मान्छे
इश्वरको चिहानबाट
इश्वरलाई पुकार गर्छ
एक पटक सुनेपछि
चाहेर पनि सुन्न नसकिने मान्छेको आवाज
मृत इश्वरले सुन्न सक्दैन
मृत इश्वरले महसूस गर्दैन
बिडम्बना,
मान्छे फेरी भन्छ:
इश्वर अमर छ
इश्वर अजर छ
इश्वर यत्र-तत्र-सर्बत्र छ .
March 6, 2010
(स्रोत : रचनाकारको ब्लगबाट सभार)