~ज्ञानेन्द्र यक्सो~
हाम्रो ठुल्दिदीको अनुहार
फूलजस्तो थिएन
हाम्रो ठुल्दिदीको अनुहार
जूनजस्तो थिएन
तर उनी हाम्रो बा थिइन्।
एक दिन यो पहाडमा.. बर्खायाममा
बारोजको बादल उड्यो
त्यही बादलले छेकिएर
उनीहरूले मारे
हाम्रो बाबालाई।
त्यसै दिनदेखि नै
ठुल्दिदी हाम्रो लागि बा भइन्।
उता बाबा ढले सँधैलाई
यता ठूल्दी उठिन् सँधैलाई।
हामीले
बा सम्झेको दिदीको त्यो अभागी जोबन्
र उनको निलो आकासमा उडिहिँड्ने
हाम्रो नहुने भेनाको रातो अनुहार
हाम्रो नजन्मेकी भान्जीको पुतली रङ्गको जामा…
अबत कता पुगे पुगे कठै!
के भन्थिन् आमालाई
हाम्रो लागि बा भएकी ठूल्दीले
फकाउनेहरूलाई कसरी भन्थिन् कि ऊ
हाम्रो बा हुन्।
सबै भन्छन्
दुखीयाले गीत गाउँछ
लै.. लै..
तर
हाम्रो दिदीले कहिले
गीत
गाइनन्।
ठूल्दीसँग धेर सीप छैन
अलि अलि
चिनेकी अक्षर पनि भुलिन्
रे त्यो अवसादपछि।
सुङ्गुर कसरी पुस्टिन्छ ?
कस्तो मर्चाले जाँड चर्को पार्छ ?
र कस्तो मान्छेले
मातेपछि कसरी हेर्छ
त्यो छुट्याउने सबै सीप छ
हाम्रो ठुल्दीसँग।
एक थुम्सेमा कति केजी
स्कुस
अँटाउँछ ?
कस्तो घामले सागको मूठा सर्लङ्गै
घटाउँछ ?
काँक्राको दाम
कति लामो कस्नुपर्छ ?
थुक्पा खान कुन
दोकानमा पस्नुपर्छ ?
यस्ता यस्ता सीप छन्
हाम्रो ठूल्दीसँग।
ठुल्दी कहिले भोट हाल्न जान्थिनन्
तर कसैले धम्काउँदैन थिए
हाम्रो ठूल्दीलाई किन कि
ऊ
हाम्रो बौ थियो।
बिचबिचमा यस्तै
हरियो बर्खामा बाबा मारेकै दिन
हाम्रो घरमा
प्रेसर कुक्कर आउँछ…
कहिले व्ल्याङकेट आउँछ…
एक दिन
त्यही प्रेसर कुकर हेरेर
रूइन् हाम्री आमा
जोडजोडले
कि यो कस्तो आलो सम्झना
हो कसैको ?
यो कस्तो सलामी हो
प्रेसर
कुक्करको ?
हाम्रो ठूल्दीले बाबा खसेको
बीस
बर्षपछि भर्खर बिहे गरिन्
स्वास्नी खसेको
एउटा मान्छेसँग
अनि फेरि सुरू भएको छ
अर्को बाको कथा…