~दीपक घिमिरे~
छोराको अनुहार दुई दिन नदेख्दा न्यास्रो लाग्यो, सम्झिएँ उसले मेरा खुशी जति जम्मै बोकेर मामा घर गएछ । भित्र गएँ, अँध्यारो कोठामा मनै बसेन । बाहिर ऊ थिएन ।
घरबाट आमाको फोन आयो ‘बाबु खै ? बाबुलाई फोन दे ।’
मैले हेल्लो भन्न नपाउँदै आमाले नाति केटो खोज्नु भयो । उहाँलाई पनि मेरोभन्दा नातिकै माया छ । भन्छन् नि साउँको भन्दा ब्याजको माया, साच्चिकै रहेछ ।
‘अस्ति मामा घर गएको हो आमा । आएको छैन, सायद भोलि आउँछ ।’ मैले जे हो त्यै बताइदिएँ ।
आमा खासै खुल्नु भएन । जति हो मैले नै प्रश्न गरे ‘बा खै ?’
‘खेत ।’ छोटो उत्तर दिनु भो ।
‘अनि वसन्ती खै त ?’ प्रतिप्रश्न गर्नु भो ।
‘यतै छे ।’ मैले पनि छोटो उत्तर दिएँ ।
खासै कुरा थिएनन् । फोन राख्नुभयो, राख्छु पनि नभनी । सायद आफै कटेको पनि हुन सक्छ ।
आमालाई फोन फर्काउन मन लागेन । छोराको यादले सताइरहेको थियो । उसकै मामालाई फोन गरेँ ।
‘ज्वाइँ साप नमस्कार !’ सामान्य भलाकुसारी भए, बाबु खेल्दै छ भन्ने थाहा पाएँ । नजिकै भएकाले फोन त दिए जेठानले तर ऊ बोलेन ।
धेरै जिद्दी गरेसी उसले उत्तर दियो, ‘म खेल्दै छु, फोन राख्नुस् ।’
मन पिरो भयो, अमिलो भयो । उखान छ नि ‘आमाबाउको मन छोराछोरीको माथि, छोराछोरीको मन ढुङ्गामुढामाथि ।’ साच्चिकै यतिबेला मेरो छोरो ढुङ्गा–मुढासँगै खेल्दै छ सायद तर उसले बाउसँग गफिन चाहेन, उसका लागि त्यही धुलो, त्यही माटो प्यारो भयो ।
शनिबारको दिन, जाने कुनै ठाउँ छैन । न अफिस छ न त मन बहलाउने कुनै बाहना ।
मोबाइल निकालेँ, ग्यालरीमा भएका सयौं फोटामध्ये उसकै फोटा हेर्दै भने ‘काले केटो । बाउको माया मान्दैनस् है ?’
म एक्लै मोबाइल खोलेर बर्बराएको बुढीले सुनिछे, मलाई कुहिनाले घचेट्दै भनी ‘बौलायौ ?’ म झस्किएँ, ऊ हाँस्दै थिई । अहिले म लजाएँ ।
छोराको फोटासँग कुरा गरेको देखेर बुढीले भनी ‘दुई दिन अलग बस्न सक्दैनौँ अझ बोर्डस गर्दिन्छु भन्छौ त ?’
साच्चिकै म छोरोबिना एक्लो महशुस गर्छु । साथमा भएका सबै मेरा हैनन् जस्तो लाग्छ, तर छोरो मात्र भए पनि पुग्ने ।
एकैछिन घरकी आमालाई सम्झिएँ, बालाई सम्झिएँ । सन्तानप्रतिको माया सबै प्राणीमा उत्तिकै हुन्छ, सायद । झन् हामी त मानव हौं । मैले छोरालाई गर्ने माया र बाले मलाई गर्ने मायामा कत्ति पनि अन्तर छैन होला । तर समयले यस्तो कोल्टे फेरिदिँदो रहेछ कि मायाको बदला माया दिन सकिँदो रहेनछ ।
बाध्यता हुन्छन् कसैका त कसैका आ–आफ्नै तरिका । भर्खरै ब्याएको पेटारी बाख्रीले आफ्ना दुई पाठीलाई गर्ने माया र मेरा बाआमाले मलाई गरेको मायामा केही अन्तर छैन । तर अहिले मेरा बाआमा पनि मलाई भन्दा नातिलाई खोज्छन् र मैले पनि मेरा बाआमा भन्दा मेरै छोरा खोज्दैछु । यो एक प्राकृतिक नियम पनि हुन सक्छ ।
बिहे नगर्दै बाआमाको आँखाबाट नजानेरै आँसु बगाइदिएको छु । आज छोराले माटो–ढुङ्गासँग खेल्दा बाउलाई फोन राख्नुस् भन्दा मन अमिलो र पिरो बनाउने म कति पटक जानेरै पनि आँखामा आँसु ल्याइदिएको सम्झन्छु ।
एक्कासि हरक्क आमाको माया लाग्यो । छोराको माया हटेको थिएन । फोन गरेँ, ‘किन फोन गरिस् ?’
आमाको फोनमा हेल्लो भन्ने चलन नै छैन । सीधै कामका कुरा ।
‘माया लाग्या थ्यो, अघि कुरा गर्दा गर्दै राख्नुभो । सायद कट्यो होला । मैले स्पष्ट पार्दै भलाकुसारी गर्न खोजेँ ।
आमासँग दुःख–सुखका कुरा गर्ने रहर आज एक्कासि पलाएको थियो तर आमा अहिले पनि खुलेर बोल्नुभएन । अनि अरु अनि अरु गर्दै फोनमा कुरा सकियो ।
बासँग गफिन्छु भनेर सोधेँ, बा बजार जानुभएको रहेछ ।’ आज धेरै माया लागेको छ तपाईंहरुको ।
फोनको लास्टमा मैले आमालाई भनेँ । आज मात्रै किन लागेछ त ? अरु दिन पनि यस्तै लाग्दिए हुन्थ्यो । आमा अलि रुखो स्वरमा बोल्नुभो ।
सायद मनमा धेरै पीर छ । सम्झाउन धेरै खोजेँ, तर नबोलेरै टार्नुभो ।
बाआमाको माया आफ्नो सन्तान भएसी थाहा हुँदोरहेछ । हिजो छोरा नहुँदासम्म आफ्नै दुनियामा रमाइयो । कहिल्यै पनि यति दुःख गरेर बाआमाले हामीलाई हुर्काए भनेर कल्पनासम्म गरिएन । कल्पना मात्र गर्न सकिन्थ्यो भने पनि बाआमाको आँसु पुछ्न सकिन्थ्यो । तर, वास्तै भएन, लाग्थ्यो हामी आकाशबाट फुत्त धर्तीमा खसेका हौं ।
बिरामी हुँदा आमाले गर्ने माया, भोको हुँदा बाउले गर्ने हिम्मतको कुनै मूल्य देखिएन । देखियो त मात्र गाली गर्ने बाउ अनि काम अह्राउने आमा । जान्छु भन्दा जान नदिने र खान्छु भन्दा खान नदिने बाउको कहिल्यै याद आउँदैनथ्यो । आउँथ्यो त्यति बेला जब खर्च गर्न भनेर घरबाट पठाइदेको रुपियाँ सकिन्थ्यो । सजिलो थियो ‘बा खर्च सकियो’ भन्न तर मायाले एक कल फोन गर्ने दिमाग कहिल्यै फुरेन ।
डोकोभरि घाँस अनि मजेत्रोभरि च्याऊ टिपेर दिन डुब्नेबेला घर आएकी आमालाई सघाउनतिर कहिल्यै लागिएन । बरु खाना मीठो भएन भनेर धेरै पटक थाल फालियो, आधा पेट खाएर बजारको मम, चाउमिनले पेट भरियो । त्यतिबेला आमा कुना बसेर रुनुभयो होला भनेर सोचिएन ।
आज हाम्ले छोराछोरीलाई गरेजस्तै माया हिजो हाम्रा बाआमाले पनि गरेका हुन् भनेर नसोच्ने धेरै छोराछोरी यही समाजमा छौं । बिहेपछि सन्तान हुनेले त बाआमाको माया महशुस गर्न सक्छ । नहुनेले त त्यो पनि सक्दैन । किनभने बाआमाले तेरा लागि भोकै बसे, तेरा लागि लडे भनेर भन्दैनन् । भोकै बस्छन् तर भोकै छु भनेर कहिल्यै भन्दैनन् । नाटकै गर्छन्, तर पेट भरिएसरी डकार्छन् ।
छोराको यादले बाआमाको माया सम्झाइदियो तर ढिला भइसकेको थियो । अब म चाहेर पनि पहिले जस्तो आमाको काखमा निदाउन पाउने छैन किनभने समयले मलाई धेरै टाढा पु¥याइदिएको छ । आमाको हातले बनाको खान पाउने छैन किनभने ती दिन गइसके ।
बाआमा पनि यति चाहन्छन्, कमसेकम छोराले माया मानोस् । याद गरोस् । बैगुनी नबनोस् ।
मनभरि माया, याद र गुनको बदला गुन तिर्ने सपना हुँदाहुँदै पनि आफ्नै भुमरीमा छु, आफ्नै समस्याले घेरेको ठूलो पर्खालमा छु । उहाँहरुको गुनको बदला नुन पठाउन सक्छु ! मनको बदला धन पठाउन सक्छु । तर अब त्यसको आवश्यकता मेरा बाआमालाई छैन ।
बाध्यताबस बाआमाको साथमा बस्न नपाउनेहरु निक्कै अभागी हुन् जस्तो लाग्न थालेको छ, यतिबेला । दुई दिन छोरा नहुँदा सबै गुमाए जस्तो लाग्ने म र वर्षौंदेखि अलग बस्दै आएको छोराप्रतिको मेरा बाआमाको माया एकै हो । उहाँहरुलाई पनि मेरो अभाव हुँदो हो तर त्यो मैले समयमै महशुस गरिनँ । म टाढिएपछि मेरो अभाव पूरा गर्न नाति खोज्दै छन् मेरा बाआमा । साच्चै बाआमा चिन्न धेरै ढिला गरिएछ ।
(स्रोत : रातोपाटी डट कम)