~शीतल गिरी~
सुनको दिन एक उदाउँछ रे
यस देश खुलिकन आउँछ रे
रङ्गिला बनी बादल छाउँछ रे
जल चञ्चल भैकन गाउँछ रे ।
म श्री वैद्यनाथ हाई स्कूल महेन्द्रनगर, कञ्चनपुरमा २०२६ सालमा ६ कक्षाको विद्यार्थी छँदा महाकवि लक्ष्मीप्रसादको प्रस्तुत कविता पढेको थिएँ । सुनको बिहान नामक पुस्तकमा रहेका अरू पनि कविता पढियो । महाकविका कविताहरू लय हाली हाली पढियो । मेरो बालसुलभ मन साहित्यप्रति आकर्षित गराउनमा यस कविताको महत्त्व धेरै रहेको म स्विकार्दछु ।
महाकविबारे चर्चा गर्न सक्ने मेरो क्षमता छैन । यस कविताको चर्चा गर्दा पनि कतै अन्याय पो हुन जाने हो कि भन्ने डर लाग्छ ।
शतवार्षिकीको अवसरमा महाकवि लक्ष्मीप्रसादको चर्चा देश विदेशमा भयो । अनुमान अनुसार आफ्नी पत्नी मनदेवीबाट पाउनुपर्ने सहयोग–विश्वास–प्रेम नपाउँदा नारीप्रति अति नै सकारात्मक भावना राख्ने देवकोटाले एउटा अङ्ग्रेजी निबन्धमा विपक्षीको रूपमा तिनलाई खडा गराएका छन् । किर्तनिया कविप्रसाद गौतमलाई उपहार दिन कतरामा देवकोटाले कमाएको असर्फी माथि दही जमाएको रहस्य स्वयं देवकोटाले थाहा पाएको कतिपय अन्तर· मित्रहरूबीच नमीठो चर्चा गर्नुभएको गाइँगुईं अझ पनि सुन्न पाइएकै छ । यस्तै घटना बारम्बार दोहोरिएकाले स्वाभाविक हो उक्त अङ्ग्रेजी निबन्ध भावुक देवकोटाद्वारा लेखियो । अन्तिम दिनमा उहाँले मृत्युलाई अभिनन्दन र स्वागत गरे, मनदेवीले मनदेखि आफूलाई प्रेम नगरेको थाहा पाएर पनि पारिवारिक र सामाजिक मर्यादाले गर्दा सड्ढेतको रूपमा मात्र उल्लेख गरे ।
सत्य जहिले पनि तीतो हुन्छ र मृत्युझैं भयड्ढर पनि । को हो त्यो, जो सत्य पचाउन नसकेर तल्लो स्तरको गाली गलौज र उद्दण्ड व्यवहारमा उत्रन्छ । गाली गर्दैमा कसैको सत्य छोपिंदैन जहाँसम्म महाकवि देवकोटाको कुरा छ, उहाँ सार्वजनिक राष्ट्रिय सम्पत्ति हुन्, व्यक्तिको नाता सम्बन्ध मात्र होइन । केही मानिसले आफ्नो निजी पेवा ठान्ने गरेका छन्, त्यस्ताले वास्तवमा सत्य अगाडि नआओस् भन्ने चाहन्छ, सत्यसँग डराएर मरिचझैं च्याउरिएर त्यस्ताले सही मूल्याड्ढन हुन दिंदैनन् । यानि महाकविलाई रहस्यमय बनाइराख्न चाहन्छन् । रौतहटको चन्द्रनिगाहपुरका उत्साही युवाहरूले २०३७ सालतिर सूर्योदय पुस्तकालय स्थापना गरी प्रत्येक वर्ष लक्ष्मी पूजाको दिन महाकविको सम्झनामा साहित्य गोष्ठी २०५० सालसम्म गर्दै आएका थिए । लाग्दछ भाषाप्रेमीहरूले महाकविको सम्मानमा स्वत:स्फूर्त कार्यक्रम राख्ने गरेका थिए र पछिकाले पनि राख्नेछन् । देवकोटाका कवितामा तीव्र संवेग पोखिएको पाइन्छ । अनुभूतिहरू विकिरित भएको पाइन्छ, संवेगहरू प्रवाहमय भए पनि देवकोटाको मनमा शान्ति थिएन । देवकोटा प्रकृतिका सौन्दर्योपासक थिए ।
आजका चर्चित कवि मनु मञ्जिल, मुक्तककार हरिकृष्ण काफ्ले, शब्दको माला उनेर निबन्ध सिंगार्न सफल माधव काफ्लेहरूलाई सूर्योदय पुस्तकालयबारे थाहा छ । तर देवकोटाको दाम्पत्य जीवन सफल र प्रेमपूर्ण नभएको थाहा पाएर पनि उहाँका समकालीनहरूले त्यसतर्फ आँखा चिम्लिने गरेका छन्, यो आवश्यक थिएन । महाकविका समकालीनहरूले त देवकोटाको मात्र हैन, मनदेवीका दिदी बहिनीहरू कसैको पनि दाम्पत्य जीवन सुखमय बन्न नसकेको देखेका थिए, कहिलेकाहीं अहिले पनि प्रस·वश कुरा खोल्ने गर्छन्, त्यो सत्य साहित्यमा उल्लेख गर्नुपर्ने हो । यस पङ्क्तिकारको भनाइ अतिरंजित निश्चय नै होइन, अझ पनि स्वतन्त्र अध्ययन गरेर सत्य पत्ता लगाउन सकिन्छ । आशावादी देवकोटाले आफ्ना कृतिहरूमा आफूले चाहेजस्तो वैवाहिक प्रेमको मधुर सम्बन्ध झल्काएका छन् । उनले चाहेको प्रेम के हो, अनुभव गर्न भने पाएनन् र त आफ्ना कृतिहरूलाई वियोगान्त बनाएको पाउँछौं, मृत्यु सबै कुराको समाप्ति हो यो भाव छोडेका छन् । आर्थिक चापबाट मुक्त हुनका लागि अठार घण्टासम्म पढाउने काम गरे । पढाएर प्रशस्त कमाएको कुरा सर्वथा सिद्ध छ । घरमा विश्वासको कमी, धर्मगुरु सेविका प्रवृत्तिकी पत्नी भएको हुँदा सञ्चय हुन सक्दैन/सकेन । त्यस्तोमा अभाव देखिनु त एउटा सिद्धान्त नै हो ।
आदर्शतिर उन्मुख यथार्थवादी कथाकार गुरुप्रसाद मैनाली, वि.सं. २००८ सालमा कटरवन अपिल अड्डाका हाकिम मीर सुब्बा बनी गौर आइपुग्नुभएको थियो । गुरुप्रसाद मैनालीले रचनात्मक कार्यद्वारा शारदा पुस्तकालयको इज्जत र इतिहास उच्च गराउनमा अहम् भूमिका निर्वाह गर्नुभयो । पुस्तकालयको कार्य समितिमा नबसे पनि उहाँको योगदान अति उच्च छ, बिर्सनै नसकिने । उहाँको हिन्दी भाषामा राम्रो पकड थियो । रचनात्मक प्रवृत्तिहरूको विकास, देश उन्नतिको एक मापदण्ड हो । पुस्तकालयमा प्रौढ, वृद्ध सबैले आत्मरुचि अनुसार ज्ञान मनोरञ्जन प्राप्त गर्छन् । राणा शासनको अँध्यारो समयमा गौरका केही उत्साही नवयुवकहरू मिली वि.सं. २००४ सालको वसन्त पञ्चमीका दिन गौरमा पुस्तकालय स्थापना गरे ।
राणा शासनमा पुस्तकालय खोल्नु पनि अपराध थियो । त्यस्तो कठिन परिस्थितिमा स्थापना गरेको सार्वजनिक पुस्तकालयको नामाकरण भयो–शारदा पुस्तकालय । संस्थापकहरूले २००७ साल देशको सारै नै विषम र नाजुक राजनीतिक अवस्थामा पनि पुस्तकालय स्थापना गरी नियमित सञ्चालन गर्नु कम आश्चर्यको कुरा हैन । संस्थापकहरू क्रियाशील थिए । सामाजिक क्रियाकलापमा सहभागी हुन्थे । समाजमा छाएको अँध्यारो अलिकति भए पनि प्रकाश छर्न सक्नेछ भन्ने विश्वासका साथ अथक प्रयत्नद्वारा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको अभिलेख छ । संस्थापकहरूको सक्रियता र नागरिकको सहयोग पाएर उन्नति पथमा लम्कँदै गयो शारदा पुस्तकालय । पिछडिएको समाजलाई मार्ग दर्शन गर्न वि.सं. २००९ सालमा प्रौढ शिक्षा सञ्चालन पनि गरेको रहेछ । रौतहटमा ज्ञान ज्योति प्रज्वलित गर्न सक्रिय योगदान छ शारदा पुस्तकालयको । शिक्षाको अन्धकारले ढाकेको समयमा पुस्तकालय स्थापना हुनु नै गौरवको कुरा हो । प्रौढ शिक्षा सञ्चालन गरी स्वच्छ ज्योति छर्न सक्यो । सो ज्योतिले गर्दा चारैतिर शारदा पुस्तकालय परिचित भयो । संस्थापकहरू पुस्तकालयलाई शारदाको प्रसाद बनाउन चाहन्थे, सम्पन्न बनाउन चाहन्थे अनि चाहन्थे लोक कल्याणकारी बनाउन । यही उद्देश्य लिएर संस्थापकहरू लगिपरेका थिए । राणा शासनमा स्वावलम्बनकै आधारमा खडा गरिएको थियो शारदा पुस्तकालय । हो यही शारदा पुस्तकालयले आयोजना गरेको बृहत् साहित्यिक समारोहमा सहभागी हुन २०१० साल चैत्र २३ गते महाकवि देवकोटा गौर पुग्नुभएको थियो ।
सो समारोहमा सहभागी राजनीतिज्ञ नारायणमान बिजुक्छे (का.रोहित)का अनुसार महाकविले ‘प्रभुजी, मलाई भेडो बनाऊ’ भन्ने कविता वाचन गर्नुभएको थियो । देवकोटाले सो कविता पहिलोपटक गौरको साहित्यिक समारोहमा नै प्रस्तुत गर्नुभएको रहेछ । त्यतिखेर १० वर्ष उमेर भएका रोहितको रुचि साहित्यमा थियो । महाकवि देवकोटाले पुस्तकालयको मन्तव्य पुस्तिकामा लेख्नुभएको छ–“जनचेतना जगाउने, शिक्षाको महत्त्व बुझाउने पवित्र भावना समेटी स्थापना भएको प्रत्येक पुस्तकालय मसाल हो । यसका किरण लामा हुन्छन्, प्रत्येक छेकवारहरू (अप्ठ्याराहरू) हट्दै जान्छन्, जन जागृतिको प्राथमिक जग पुस्तकालय शोभित हुँदै जान्छ । त्यस क्षेत्रका क्रियाशील, बुद्धिजीवीहरूले पुस्तकालय नामको बत्तीलाई निभ्न नदिनु कर्तव्य हुन आउँछ ।” प्रगतिशील लेखक श्यामप्रसाद शर्माले ‘भाइ बहिनीहरूसँग केही प्रश्न’ भन्ने पुस्तिकामा ‘लक्ष्मीप्रसादको सम्झना’ मा यसो भन्नु भएको छ–“…..शारदा पुस्तकालयले साहित्यिक समारोहको आयोजना गरेको थियो । त्यहाँ लक्ष्मीप्रसाद पनि पुग्नुभएको थियो ।” उहाँ विशिष्ट शिक्षक र समाज सुधारक भएकाले परम्परालाई बदल्न चाहनुहुन्थ्यो ।
अधिकार खोज्नु भनेको अरूमाथि अन्याय गर्नु होइन । तराईबाट पहाडीहरूलाई विस्थापित हुन बाध्य पानेर् काम (कथित आन्दोलन)लाई उचित भन्न मन लागेन । म र मजस्ता धेरैले, जो पहाडी मूलका थिए, समय प्रतिकूल भएको हुँदा आफ्नो थातथलो छाडे । तर आधा शताब्दि खाई खेलेको माटोलाई बिर्सिन सकिंदो रहेन छ र म गौर छोडेर चन्द्रनिगाहपुरमा केही समय बसेको थिएँ, त्यहीको चर्चा गदैछु । मेरो प्रयत्न चन्द्रनिगाहपुरका साहित्यकार, साहित्यानुरागीको स·तमा सफल भयो र महाकवि देवकोटाको शतवार्षिकी समारोहको नाममा २०६५ कार्तिकदेखि प्रत्येक महिना विशेष कविगोष्ठी गर्दै केही साहित्यकारहरूलाई महाकवि देवकोटा शतवार्षिकी सम्मान गर्न सक्यौं । १. विजय चालिसे, २. गोपाल अश्क, ३. आर.आर.चौलागाई, ४. डा. राजेन्द्र विमल, ५. वनमाली निराकार, ६. मुरारी पराजुली, ७. नकुल सिलवाल, ८. श्रीओम श्रेष्ठ ‘रोदन’, ९.रमेश श्रेष्ठ, १०. प्रेम छोटा ११. अच्युत खनाल, १२. डा. मोदनाथ प्रश्रित, १३. गोविन्दराज विनोदी, १४. मोहन दुवाल, १५. मायामितु न्यौपाने । चन्द्रनिगाहपुर बस्नु थिएन र बसिएन । तर चन्द्रनिगाहपुरका साहित्यकारले जिल्ला (रौतहट) त्यागेको हुँदा चिनोस्वरूप नरेन्द्रबहादुर श्रेष्ठ, हरिमञ्जुश्री, जीवनचन्द्र कोइरालाको साथमा २०६६ सालमा मलाई पनि सम्मानित गरियो । रौतहट छाडेपछिका मेरा दिनहरू एक–एक गरी कट्दैछन् । मैले भन्न खोजेको कुरो के भने श्रद्धावश कतै हात नफैलाएर आफ्नो आस्था प्रकट गरियो–वषौंभरि कार्यक्रम गरेर । यस अवधिमा महाकवि प्रति अन्धभक्ति प्रदर्शन गरेर औपचारिकता निभाउनेहरूले देवकोटालाई कतिको आत्मसात गर्न सके, सत्य कति पत्ता लगाए वर्तमान पुस्ताले त्यसको अपेक्षा गरेको छ । उनको घरको समस्याले लेखनीमा अप्ठारो पारेको तथ्य मिथ्या र भ्रम होइन । देवकोटा महासागर थिए, उनको अगाडि पारिवारिक उपेक्षा गौण थियो भनेर आँखा चिम्लनु असत्यलाई बढावा दिनु हो ।
नेपाली भाषाको अनादर गर्ने विश्वमषी बुडो थियो । महाकविले त्यति ज्याद्रो पनि गर्नु नहुने भन्छन् कोही । महाकविले ठीकै गरेका हुन्, मलाई त्यस्तो लाग्छ । तर महाकविलाई विक्षिप्त बनाउने, कमाएको पैसा दुरुपयोग गर्ने जो कोहीप्रति पनि ठाडै जाइलाग्न सकेनन् । मात्र आफ्ना रचनामा तिरस्कार गरेका छन् । साहित्यमा आएको सामान्य कुरो भनेर पन्छिन मिल्दैन । त्यो सत्य थियो, चाहेको व्यवहार पाएनन् । प्रकृतिको काखमा एकान्तमा आफ्नो व्यथा बिर्सन भौतारिदै भुतभुताउँथे । मानवलाई गर्नुपर्ने अगाध माया प्रकृतिमा पोख्थे यो सत्य हो । उनै देवकोटा हुन्, स्वेच्छाले निर्वासन स्विकारेका ।
देवकोटा जीवन र प्रकृति खोज्दथे, कलामा राख्दथे । सम्मुखमा मृत्यु देख्दासम्म कलाको पूजा गरिरहे । त्यसो भएको हुँदा त देवकोटाले मृत्युलाई जिते । ‘जीवन र प्रकृतिलाई दर्पण र कला हो’ भन्ने महाकवी मरेर पनि बाँचेका छन्, अमर बनेका छन् र अमर नै रहने छन् ।
देवकोटाले २००० सालमा लेख्नुभएको बालकविता ‘सुनको बिहान’ले मेरो विचारमा देवकोटाको अद्वितीय कला झल्काउन र दुनियाँलाई सुखमय राज्य आउँछ भन्ने देखाउन खोज्दछ । स्वदेशको मिहिन सौन्दर्य र गूढ रहस्यहरू अन्धकारमा छोपिएको छ समानताको राज्य आएपछि देखा पर्नेछ । असमानता पक्कै हट्छ यो खँदिलो सत्य हो । पानी पार्ने रंगीला बादल छाएपछि किसान रमाउँछन् । प्रकृतिको एकान्तमा रमाउने देवकोटा सिमसिमे पानीमा हराउँछन् । बच्चा जन्माएपछि बालकको मुहार देख्दा जसरी आमाहरू प्रसव पीडा भुल्दछन्, प्रकृतिको काखमा पुग्दा देवकोटाले शक्ति प्राप्त गर्दथे, यसर्थ मन चञ्चल हुने बित्तिकै एकान्तको खोजीमा निस्कन्थे । प्रकृति देवीको काख देवकोटाको लागि लाख थियो ।
पीडाजति छातीभित्रै समेटेर प्रकृतिमा शान्ति खोज्ने देवकोटा चराको तानमा बिउँझन्थे र रोमान्टिक काव्य लेख्ने ऊर्जा प्राप्त गर्थे । प्रेम स्वर्गीय चिरातन र चिरशाश्वत र चिरनवीन भावना हुँदा भक्त प्रभातमा मन्दिरको घन्ट बजाउन थाल्दछ । दीनहीन, आपदविपदमा परेको मान्छेको जानकारी देवकोटालाई हावाले गराउँदथ्यो । जाडोमा कक्रिएको–कामेको मान्छेलाई फूलको काम नभएको हुँदा लाएको कोट फुकालेर दिन्थे । आफूसँग पैसा भएको दिन दु:ख आपदमा परेकाको समस्या टारी दिन्थे । कठोर मन भएकाहरूका व्यवहार ठीक यसको उल्टो हुन्छ र सबै डराउँछन् । तब वास्तवमा त्यस्तासँग सहायताको अपेक्षा पनि कसैले राख्दैन । देवकोटाका समकालीन त्यस्तासँग सहायताको अपेक्षा पनि कसैले राख्दैन । देवकोटाका समकालीन त्यस्ताबारे कसैलाई थाहा छैन । दम्भी, ढोंगी, पाखण्डी, भ्रष्ट, चरित्रहीन पानीका फोका हुन् जो बिलाउँछन् । लोकले सम्झँदै छ यसको अर्थ देवकोटाबाट हिजो मात्र हैन, आज पनि पाउँदै छौं । यस्तो अनुभव गरिएको हुँदा त सम्झिरहेका छौं, किनभने कालले समाप्त पार्न सकेन, देवकोटालाई । अनन्तकालसम्म नेपाली साहित्यले यो अनुभव गर्नेछ । बालकजस्तो मन भएका देवकोटा फूल, आकाश, बादल, वर्षा, घाम र इन्द्रेणीजस्तै राम्रो, रमाइलो र पवित्र हुनुहुन्थ्यो तब त प्रकृतिको सहारा लिनुभयो । कविता उहाँको साथी थियो कागजमा कोर्न सहज भयो । काव्य सिर्जन गर्ने काम उहाँको लागि सजिलो थियो, कवितामा कुरा गर्न सक्ने साधक समक्ष त पुग्दछ काव्य ।
दुनियाँ सब चहार्दछ भनेको के हो ? यसबारे देवकोटालाई तथ्यगतरूपबाट बुझेमा थाहा पाउन सक्दछौंं । स्वयं घुमेर पनि देवकोटा चहारेको दुनियाँबारे कसरी थाहा पाउने । थाहा पाउने साग्रह चेष्टाले हिमाललाई उचाइमा झल्काउँदछ र देशप्रतिको भक्ति भावको राग बढाउँदछ । महत्त्वाकाङ्क्षाले गर्दा हामी सत्यमा पर्दा हाल्छौं, बिर्सन्छौं महान् देशभक्त महाकविको पारिवारिक जीवनमा सुनको बिहान छाएन । जलबिन्दुले सुशीतल ल्याउँछ भन्ने विश्वास उहाँमा थियो । यो सत्य हो आफ्नो परिवारको, राष्ट्रको स्थिति सुशीतल होस् भन्ने चाहनुहुन्थ्यो । प्रभातको प्रकाश आफ्नो आँखा सम्मुखको घमाइलो हो हामी अनुभव गर्दछौं । यस्तै घमाइलो चारैतिर छाओस् यस्तो विचारवान सत्वशाली महाकविको अन्त देख्दा कहाली लाग्छ । मृत्युका कारकलाई सत्तो सराप गरेर मात्र पुग्दैन ?
भावनामय देवकोटालाई धेरैले झुक्याए । नाताकाले झुक्याउनु महिमा ठाने । जो जति नजिक थियो, उसले त्यतिकै बढी पीडा दियो । समकालीन साहित्यकार उनको प्रतिभादेखि भयभीत थिए । नाना आरोप लगाएर आघात पुर्याए । बिरामी देवकोटाको तलब रोकिनु विकराल आघात हो, त्यो क्रूरता दुर्दान्त र दारुण छ । यस कारण कलकत्ता उपचार गर्न लग्दा मोजमस्ती गर्न पट्टी लागेकाको परिणति हो, लाचार देवकोटा । धर्मले देकोटाको जीवन छोटो बनायो । यो सत्यको समग्र पाटो अध्ययन गरिनुपर्दछ । ममत्व यहाँ मित्थ्या बनेको छ । केलाउँदा अहिलेसम्म प्रमाण पाइन्छ मेटिइसकेको छैन । महाकवि उच्च मानवीय गुणले सज्जित अत्यन्त कोमल र दयालु व्यक्ति हुनुहुन्थ्यो । हामी सबैको सपना, आशा र विश्वास यस कविताले बोकेको छ । विशुद्ध प्रात: जीवनमा मानवता बाँच्दछ यो विश्वास उहाँमा थियो । यसैले उहाँले आफ्ना रचनामा प्रकृति र मानवको सम्बन्धमा आधारित मानवतावादी चिन्तनलाई जीवन दृष्टिको मूल आधार बनाउनुभयो । यसैले प्रकृति चित्रणका दृष्टिले देवकोटा नेपाली साहित्यमैं महान कविका रूपमा देखिनुभयो ।
– शीतल गिरी
चित्लाङ–६, मकवानपुर
(स्रोत : प्रतीक दैनिक पत्रिका)