~दीपकजङ्ग हमाल~
हाई मार्लिन!
हेलो!
उताबाट जवाफ आयो। मेरो खुशीको सीमा रहेन। एकै साथ भावनाहरु मेरो मस्तिष्कमा तरंगीत भए। अब चिनजान, भेटघाट, चियापान, आत्मियता र सम्भवत ………. मीठो मिलन।
निशान्त, मेरो एकजना साथी। उसले दिएको जुक्ति हो यो। याहु च्याटमा जाने, अनि कुनै केटीसँग मित्रता गाँस्ने अनि फोन नम्बर माग्ने, भेटघाट गर्ने, प्रेमको नाटक गर्ने र अनि विस्तारै कुरा मिलाएर सेक्स। यहिहो तरिका वर्तमान समयमा प्रेम गर्ने। उसकै सल्लाहमा मैले याहु च्याटरुममा गएर मार्लिन भन्ने नामलाई डबल क्लिक गरी उसको च्याट बक्समा हाई मार्लिन लेखेको थिँए।
अब कसरी कुरा अगाडि बढाउने भन्दै सोचिरहँदा उतैबाट प्रश्न आयो “योर लोकेसन?” मैले जवाफ दिएँ, काठमाण्डौ र साथमा प्रश्न पनि “अनि तिम्रो नि?”
“धरान। ”
ओहो धरान!, टाढा भयो कसरी भेट्ने? मैले मनमनै सोचेँ तर ठीकै छ यसले खास फरक पर्दैन भन्ने लाग्यो। फेरी सोधेँ “तिमी के गर्छ्यौ?” “म विद्यार्थी हुँ, १२ कक्षामा पढ््छु,” कम्प्युटरमा पिलिक्क झुल्क्यो यो वाक्य। “अनि आफु नि?” उसले सोधि। यो प्रश्नले मलाई अलिकति सोच्न बाध्य बनायो? मेरो वास्तविक पेशा कलेजको अध्यापक भनेँ भने त सम्पूर्ण सम्भावनाका ढोकाहरु बन्द हुनेछन। एक जना विद्यार्थीले अध्यापकसँग मित्रता गाँस्नमै अरुचि देखाई भने त्यसपछिका सबै सम्भावनाका ढोकाहरु बन्द हुन्थे। त्यसैले म स्नातकोत्तर तहमा अध्ययन गर्दै रहेको झुटो जवाफ दिएँ। “अनि उमेर?” फेरि अर्को प्रश्न झुल्कियो? लौ पर्यो फसाद, १२ कक्षा पढ्ने केटी बढीमा १८ वर्षकि होली अनि म ३५ नाघेको विवाहित पुरुष। वास्तविक उमेरले त सम्वादको पुर्णविराम निश्चित छ भन्ने आशंका मनमा उब्जियो। त्यस पछि एउटा अर्को झुट, “२५ वर्ष।”
उसले सम्बादको दौरान पहिलो पटक मलाई तिमी भनेर सम्बोधन गर्दै प्रश्न सोधि, “तिमी के काम गर्छौ?” उसले तिमी भनेर गरेको सम्बोधनले मलाई कता कता असहज महशुस भयो। कता कता मेरो खोक्रो स्वाभिमानमा ठेस लागे जस्तो भयो। अनैतिक उद्देश्यकासाथ आफु प्रस्तुत भएको भएपनि कता कता अध्यापक हुनुको दम्भ मनमा जागेर आयो। अनि मैले प्रतिप्रश्न गरेँ, “ला! अनि तिमीले मलाई तिमी भनेको?” स्थिति ज्यादा नबिग्रियोस भनेर प्रश्नको पछाडि ठट्यौलि जनाउन हा….हा….., टाइप गरेर पठाएँ।
“ए! तिमी भनेको मन परेन? त्यसो भए तपाई नै भन्छु है त?” उसले यति भने पछि फेरि अलिकति स्थितिलाई सामान्य र आत्मिय बनाउन तिमिलाई जे मन लाग्छ भन्दा हुन्छ भनेँ। फेरि दोहोर्याएर उसले काम सोधिन।
“म तिमीलाई मेरो म्यासेन्जर लिष्टमा समावेश गर्न सक्छु?“ मेरो प्रश्नको उत्तरमा उसले भनि, “दुरुपयोग हुँदैन भने”। दुरुपयोग नहुने आश्वासन दिदै मैले उसको इमेल ठेगानालाई याहू म्यासेन्जरमा एड गरेँ। त्यसपछि मैले म्यासेन्जरबाटै च्याट गर्न थालेँ।
“तिम्रो फोटो सारै राम्रो छ!” मैले भनेँ।
“कुन? प्रोफाइल फोटो?”
“हो”।
“यो त मेरो फोटो होइन”, उसले भनी।
मलाई खल्लो लाग्यो र उ प्रति केहि घृणा पनि। सुन्दर फोटो कै कारणले मैले उपलब्ध धेरै विकल्प मध्ये उसैलाई छानेको थिएँ। म केहि निराश भएँ। तथापि मैले जुन आसयका साथ मित्रता गाँस्ने प्रयत्न गर्दै थिएँ त्यकालाई सुन्दरताको खासै ठूलो आवश्यकता थिएन। त्यस्ौले सम्बादलाई निरन्तरता दिने निर्णय गरेँ। केहिबेरको वार्तालाप पछि आज म साइन अफ गर्छु भोलि भेटौंला भन्दै उ विदा भई।
मनमनै एक जना भएपनि केटी मित्र बनाउन सफल भएकोमा सन्तुष्ट भएँ। केहि प्राप्ति हुँदै गरेको अनुभुनि भयो। उसलाई फेरि भोलि भेट्ने मीठो आशा संगाल्न थालेँ। भोलिको तिब्र प्रतिक्षामा मेरो त्यो दिन बित्यो।
भोलिपल्ट करिब १२ बजे मेरो डेस्कटपको किनारामा सन्देश आयो, “मार्लिन जष्ट साइन्ड ईन”। हतार हतार च्याट बक्स खोलेर “हेलो…!” टाइप गरेर पठाएँ। उताबाट पनि हाई!, के गरिरहेको भन्ने प्रश्न आयो। मैले जवाफ दिएँ “तिम्रो प्रतिक्षा”। “हो र?” उसले लेखी। त्यसपछि हाम्रो वार्ता अगाडि बढ्यो, ब्यक्तिगत कुराहरु हुँदै गए।
करिव दुई घण्टा जति मीठो र आत्मिय बार्तालाप पश्चात उसले “नरिसाउने भए एउटा कुरा भनौँ?” भन्दै प्रश्न गरी। मैले अनौपचारिक हुँदै यत्रो मित्रता भैसकेपछि किन अनुमति लिइरहनु पर्यो र? भन न भने। त्यसपछि उसले भनि “मित्रता गाँस्ने मेरो सानै देखिको शोख हो, मलाई विभिन्न ठाउँका धेरै साथीहरु बनाउन मन छ। त्यसैले म इन्टरनेटको माध्ययमबाट साथी बनाइरहन्छु।”
“त्यो त ठिकै छ नि, मलाई पनि साथि बनाउन मन लाग्छ, यसमा रिसाउने कुरा के छ र?” भनेर मैले प्रश्न गरेँ।
उसले भनि “कुरा अर्कै छ? मैले आफ्नो वास्तविक नामबाट साथि बनाउने धेरै प्रयत्न गरेँ तर खासै कसैले रुचि राखेनन् त्यसैले मैले आफ्नो नामै परिवर्तन गरेर झुठो नामबाट साथी बनाउन थालेँ। तपाईको मप्रतिकेा असल प्रस्तुति देखेर तपाईलाई वास्तविकता नबताई रहन सक्दिन र तपाईजस्तो असल ब्यक्तिसँग साँचो मित्रता गाँस्ने मन छ तर……।”
“तर के?” मैले प्रश्न गरेँ।
“म वास्तवमा एउटा पुरुष हुँ र मेरो नाम महेश हो।”
उसको जवाफ पढेर म खङ्रङ्ग भएँ, रिगटा लागेजस्तो भयो। सबै सपनाहरु चकनाचुर भएको महशुस भयो। कुनै निर्णय लिन सकिन। उसको झुटप्रति तिब्र घृणा र आक्रोश जाग्यो। तत्काल मेरो मेसेन्जर सूचिबाट उसको नाम हटाएँ र साईन आउट गरेँ।
झुटो बोल्नेहरु मलाई पटक्कै मन पर्दैन !
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)