कथा : हवन

~नीलम कार्की निहारिका ~Neelam Karki Niharika

सजियो बग्गी ।

बाजा बज्यो धूमधाम ।

पड्किए आकाशे पटाका ।

साइपाटाका लस्कर बोकेर सुन्दरी कन्या अघि लागे । हीरामोती जडिएका थरीथरीका गरगहना किस्ती भरीभरी । रङरङका बहुमूल्य साडीहरू ।

दुलाहा निस्कियो बग्गीमा चढेर दुलही लिन ।

घोडाका लस्कर अघिअघि, मानिसका ताँती पछिपछि ।
दुलही बिछट्टै राम्री । धपक्क बलेकी ।

स्वयंबर भयो ।

चाँदीको खड्कुलोमा सुनको करुवाले गोडा धोइयो ।

दान दिए कन्याका बाबुले । राखिदिए ज्वाइँको अञ्जुलीमा छोरीको हात ।

बहुमूल्य सिन्दूरे झोलीबाट सिन्दूर निकालेर छरिदियो सिउँदोभरि बेहुलाले ।

बिहेको विधान पूरा भयो ।

दुलही ल्याउँदा-बाटाभरि फूल बर्साए दर्शकले । बाटाका दुवै दिशामा पेटीभरि खचाखच हेर्ने तमासेहरू ।

स्वस्थानी कथामा चन्द्रावतीलाई नवराजका डोलेले पालकीमा लिएर आउँदाझैँ । हेर्न आउनेहरू कसैले पकाएको भात छाडेर आए, कसैले काखका बालबच्चा छाडेर आए । कसैका हात भाँच्चिए, कसैका टाउकै फुटे ।

बग्गी हिँड्छ खट् खट् खट्

दर्शक फूल बर्साउँछन्

ताली बजाउँछन् उफ्री उफ्री ।

दियो बलिरहेछ बाटोमा स्वागतार्थ ।

पतिगृह प्रवेश गराइयो । मन्त्र उच्चारण गरे ब्राहृमणले ।

पहिलो रात,

दोस्रो रात हुँदै

सयौँ रात बिते उसै गरी ।

रात मात्रका रात । रातले दिन ल्याउन सकेन महलमा ।

दुलहीले उत्तराधिकारी दिन सकिनन् ।

कोख बाँझै रहृयो फुल्न सकेन कुनै फूल ।

वंश चलाउनैपर्‍यो ।

वंशका लागि केही सोच्नैपर्‍यो ।

सानो गोप्य पारिवारिक सभा बस्यो । सर्वसम्मतिबाट स्वीकृति भयो उत्तराधिकारी चाहिने कुरामा ।

वंशका लागि नयाँ दुलही भित्र्याउने निर्णय भयो ।

सभा टुङ्गयिो ।

बधूको तय भयो ।

उसै गरी- बग्गी सजियो ।

बाजा बज्यो ।

आकाशे पटाका पड्कियो ।

घोडा र मानिसको लस्कर लाग्यो अघिपछि ।

सुन्दरी कन्याले साइपाटा बोकेर हिँडे अघिल्लो पङ्क्तिमा ।

बेहुला निस्कियो बग्गी चढेर ।

स्वयंबर भयो ।

जल खाइयो ।

कन्यादान गरियो ।

बहुमूल्य सिन्दूरे झोलीबाट सिन्दूर निकालेर छरिदियो वरले बधूको सिउँदोभरि ।

बिहे सम्पन्न भयो ।

सडकपेटीमा दर्शकको भीड पहिलाभन्दा दोब्बर सङ्ख्यामा थियो । जयजयकार भयो । फूल बर्साए दर्शकले ।

बग्गी हिँड्दै रहृयो खट् खट् खट् ।

आइपुग्यो महल ।

भित्रिई नवबधू ।

पतिगृह प्रवेश गर्दा मन्त्र उच्चारण गरे ब्राहृमणले ।

बधू नं. २ ले पनि

पहिलो रात

दोस्रो रात हुँदै

तेस्रो र कैयौँ रात बिताई ।

रात, रात नै रहृयो । कोख बाझै रहृयो । फुल्न सकेन यो कोख पनि ।

अब कसो गर्ने ?

महलमा हलचल भो ।

उत्तराधिकारी चाहियो नि ?

भाकल बोलियो । धामी बोलाइयो ।

पालैपालो बधूको कोठा, चाहारे पनि कुनै सङ्केत देखिएन बेहुली नम्बर २ ले पनि जन्माउन सकिन लोर्के छोरो ।

फेरि,

पारिवारिक सभा बस्यो ।

निर्णय भयो- यिनीहरूबाट भएन बधू नं. ३ भित्र्याउनुपर्छ ।

पारिवारिक सर्वसहमतिबाट तेस्रो पटक ऊ उसै गरी दुलाहा बन्यो ।

भीड लाग्यो सडकपेटीमा तमासेहरूको ।

उसै गरी हेरिरहेका थिए तमासेहरू तेस्रो डोली भित्रँदा पनि ।

फूल बर्साइरहेका थिए । मङ्गलगान गाइरहेका ।

तमासेहरू सोच्थे-

आखिर उत्तराधिकारी नभए हामीमाथि कसले शासन गर्ने ?

कृष्णका गोपिनी हजार, पटरानी आठ थिए रे ।

हाम्रा राजनका तीन न हुन् ।

कृष्ण पनि त पुजिएका छन् भगवान् भनेर ।

राजन पुजिएका छन् हाम्रो मालिक बनेर ।

बधू नं. ३ सँग पनि- उसै गरी रातहरू बिते ।

हरेक महिना जब सबै दुलहीहरू रजस्वलामा नुहाउँछन् ।

राजनको अनुहारमा औँसी छाउँछ ।

छटपटिन्छ- “रमिता हेर्ने रमितेहरूका सन्तान बाटाभरि दगुर्छन् ।

नाङ्गै, भोकै, दर्जनका दर्जन तर आˆनो ?”

बाहिर निस्कँदा समाजका आँखाले गिज्याएझै भान हुन्छ ।

“थुइक्क ! तेरो पुरुषत्व !”

अब भएन । कसो गर्ने ? यो वंश कसरी थेग्ने ? यो राजपाटको के होला ?

राजन दिनदिन गल्दै गए चिन्ताले ।

अझै एउटी भित्र्याउनुपर्छ । त्यसबाट हुन्छ कि ?

हिम्मत भने हारेनन् ।

यिनीहरूको भाग्यमा कहाँ पुत्रसुख ? भाग्य बलिई भएकी ल्याउनुपर्छ ।

चौथो पटक-

महल डोली भित्र्याउने तयारीमा लाग्यो ।

बधू नं. १ ले विनम्र अनुरोध गरी-

“राजन ! हामी हजुरको बिहेको शुभमुहूर्त समयमा यहाँ यज्ञ राख्छौँ । त्यहाँ वैदिक कार्य चलेकै बेला हामी हजुरका लागि होम गर्छौं ।”

पारिवारिक सभाले अनुमोदन गर्‍यो ।

उसै गरी बग्गीमा चढेर, किस्तीमा हीरामोती अलङ्कार अघि लगाएर वर निस्कियो । पछि-पछि घोडाका लस्कर । आफन्त र सबै ठूलाबडा भन्नेहरू । महलमा ठूला दुई मण्डप तयार भए । एउटा महलको सम्मुखमा अर्को शयनकक्षमा । याज्ञिक आइपुगे ।

गोडपूजन गरे बधूहरूले, पालैपालो ।

बधू नं. १ ले गम्भीर भएर सम्झाई बहिनीहरूलाई दशरथले यज्ञ गरेर, पुत्र प्राप्त गरेको कथा ।

याज्ञिकलाई स्नान गराए ।

राजनको पोसाक पहिराए ।

आलमारीबाट निकालेर वास्नादार अत्तर छरिदिए ।

दुलहीहरू नवबधूझैँ सिँगारिए ।

याज्ञिक लागे नववर जस्ता ।

यज्ञमण्डपमा बस्ने तयारीमा सुगन्धित बास्ना र मधुर ध्वनि गुन्जियो ।

पाण्डु, धृतराष्ट्र र विदूर जन्मेको कथा पुनः सुनाई दुलही नं. १ ले २ र ३ नम्बरका बधूलाई ।

सबैभन्दा पहिला भित्री मण्डपमा पठाइयो दुलही नं. ३ लाई ।

यज्ञक्रिया सुरु भयो ।

बाहिर महल अघिल्तिर थरीथरीका अन्न, घिउ, चरु हवन गर्दै रहिन् बधू नं. १ ।

अब भित्री मण्डपको पालो दुलही नं. २ को ।

यज्ञमय छन् दुवै मण्डप ।

भित्रबाट निस्कँदा एक सन्तुष्टिको श्वास फेर्छन् उनीहरू ।

अब पालो आफ्नै-

दुलही नं. १ भित्र पसी । यज्ञकुण्डको उपक्रमका निम्ति । रात्रि यज्ञ सकियो, उज्यालो खस्न नपाउँदै ।

याज्ञिक- दान, दक्षिणा लिएर बिदा हुन्छ ।

राजनको जन्ती र्फकंदै गरेको छ । बाजा सुनिन्छ महलमा पनि ।

बधू नं. ४ भित्रिँदा महलमा, तीनै दिदीबहिनी स्वागतमा उभिन्छन् ।

रात, दिन बिताउँछे बधू नं ४ ले पनि उसै गरी । कुनै सङ्केत देखिँदैन । राजन निरास हुन्छन् यस पटक पनि ।

तर ३ नं. सम्मका बधूले यज्ञफल प्राप्त गरे ।

सूचित गर्छन् राजनलाई ।

राजन हर्षले गद्गद भएर भारदारलाई सुनको सिक्का बाँड्छन् ।

३ नम्बरसम्मका दुलही गर्भवती भएको कुरा जनमानसमा ठूलो समाचार बन्छ । शुभकामना चढाउनेको भीड लाग्छ महलमा ।

हर्षोल्लासका कार्यक्रम आयोजना हुन्छन् । “अब हाम्रो मिही खाँबो को बन्ने ? हामीलाई शासन कसले गर्ने भन्ने चिन्ता रहेन भारदारमा ।”

“वंश सुक्न पाएन । आखिर चौथी स्वास्नी भोग गर्ने ग्रह रहेछ राजनको । हाम्रै लागि राजनले ठूलो कष्ट सहे चार पटक बेहुला बन्नुपर्‍यो । धन्य हाम्रा राजन । नत्र हामीमाथि कसले दया गथ्र्यो ? कसले शासन गथ्र्यो ? धन्य हाम्रो भाग्य ।”

राजनगृहमा शिशु आवाज गुन्जियो । पाण्डु, धृतराष्ट्र र विदूर जस्ता तीन शिशु । गाउँ, सहर सजियो ध्वजा-पताकाले दुलहीसरि ।

हर्षबढाइँ भयो । पुष्पवृष्टि भयो ।

देश-विदेशबाट बधाई-पत्र आउनेक्रम चलिरहेको छ ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.