~मुकुन्द आचार्य~
‘हजूर उठिसियोस् न ! ’त्यति भनेर श्रीमतीले चियाको कप ठ्यास्स राखिन् । श्रीमान् चैं अझ पनि ओछ्यानमा लडिबुडी गर्दै थिए ।
श्रीमतीले पुनः कराएपछि श्रीमान्को तन्द्रा भङ्ग भयो । एउटा हातले आँखा मिच्दै र अर्को हातले आफूलाई व्यवस्थित गर्दै श्रीमानले भने– ‘खै मेरो घडी ?’
श्रीमतीले घडी टेविलबाट झिकेर दिइन् र जिभ्रो टोक्दै भनिन्– क्या हो यस्तो उल्का ! यो घडीमा त भर्खर ६ पो बज्दैछ । उता रेडियोले सात बजेको समाचार फलाक्दैछ ।
श्रीमान्ले चियापान गर्दै भने– ‘यो बौलाह घडी हो । अहिले त सातै बजेको हुनुपर्छ । सात बज्यो भन्ठान् न !
यस्तो एक, एक घण्टा ढिलो हिँड्ने घडी पनि राख्छन् । चिया सुर्कदै श्रीमतीले टिप्पणीको निश्वास फ्याँकिन् । घडी थोत्रो भा हैन, हाम्रो सोचाइ थोत्रियो । मानसिकतामा धमिरा लाग्यो । श्रीमान् भाषण छाँट्न थाले ।
‘कसरी ?’ चियाको सुर्केपछिको नारी आवाज ।
‘आज मलाई एउटा कार्यक्रममा जानु छ । हामीकहाँ जुनसुकै कार्यक्रम पनि एक घण्टा ढिलो सुरु गर्ने चलन भै सक्यो । किन ढिलो भन्दा ङिच्च दाँत देखाएर भन्छन्, के गर्नु नेपाली टाइम हो ! यस्तै हो !
आफू चैं समयमा पुगेर सभ्य बन्न खोज्यो, उल्टो उल्लु बनिन्छ । अरु चैं अरु काम धाम सकेर एक घण्टा पछि लस्कँदै आउँछन् र समयको सदुपयोग गरेँ भन्ठानेर आफूलाई चलाख र हामीलाई उल्लू भन्ठान्छन् ।
‘ए त्यसो भए त ठिक छ !’ श्रीमतीले लालमोहर लगाइन् !
-बारा, हाल थानकोट