~वासुदेव पाण्डेय~
छन्द : शार्दूलविक्रीडित
हर्के हङकङ राम रोम छ भने माने छ मुग्लानमा
बिर्खे बेरुत कालु काबुल पुग्यो जेठो छ जापानमा ।
कान्छो खट्छ कुवेतमा विवश भै घैॅटे छ घानातिर
आधा देश विदेशमा मुलुकको फेरिन्छ के तक्दिर ?
पढ्दैमा घरखेत बन्धक भयो घट्दै गयो तागत
खोज्दा काम मिलेन यो मुलुकमा खाडी पुगे अन्तत: ।
नेपाली श्रमले विदेश सजियो, खट्दै बिताए जुनी
बोकाझैॅ बलिको भईकन रहे जो बन्न खोज्थे धनी ।।
कोही मात्र पुगे त्यहाँ रहरले धेरै जना बाध्य भै
बस्दा हुन् यदि काम माम घरमै मिल्थ्यो भने देशमै ।
खोज्दै काम र माम बाहिर गयो सारा युवा लस्कर
हुन् वृद्धाश्रमतुल्य मौन मधुरा छन् शून्य सारा घर ।।
जो विप्रेषण भित्रियो मुलुकमा बाँडेर खोज्छन् लिन
अन्धो यो सरकार अग्रसर भो श्रद्धाञ्जली अर्पिन ।
नेपाली कति जेलमा र कति छन् ज्यामी बनेका भनी
अन्धा शासक, राज्य पूर्ण बहिरो के गर्दथ्यो खोजनी ।।
गल्ती नै नगरी बसे कति जना निर्दोष पीडा सही
नेपाली जनको चिहानसरि भो खाडी बडो निर्दयी ।
छोरा योग्य विदेशमा र त स-यो हाम्रो सिमाना वर
ए अन्धो सरकार ! यो मुलुकको माटो सुरक्षा गर ।।
कोही बाध्य भए कुनै रहरले हो देश भन्ने भुले
नेपाली किन जान खोज्छ र यतै उद्योगधन्दा खुले ?
यी हाम्रा वन सम्पदा, जल, बुटी, हुन् रत्न, छन् हेलित
देऊ अर्जुन दृष्टि नागरिक हो ! के छैन हामीसित ?
कुर्छन् काल कठै! भईकन बुढा आमा र बाबा यता
लोग्नेको धनधान्यसाथ कतिका पत्नी भए बेपता ।
छन् सन्तान अनाथतुल्य कतिका, भत्के सयौॅका घर
ए अन्धो सरकार ! दोष कसको देऊ छिटो उत्तर ?