कविता : पिकदान या पाइखाना

~सरिता तिवारी~Sarita Tiwari

सुकिलो छ तपाइँको दौरा
बेदाग छ सुरुवाल
ठूलै छ शान र शौकत तपाइँको
तर सारै नराम्रो छ आदत
नबिर्सिकन प्रत्येक दिन
थुक्नुहुन्छ खकार भरिएको थुक
मेरो दैलै अगाडि
र बनाइदिनुभएको छ मेरो प्रवेशद्वारलाई
पिकदान ।

शरमहीनता
तपाइँको सर्वकालिक स्वभाव हो
हिड्दा हिड्दै बाटोमा
जब महसुस हुन्छ लघुशङ्काको
जहीं कहीं निकाल्नुहुन्छ गुप्त अङ्ग
र सम्पन्न गर्नुहुन्छ सुचीकर्म
मानौं, कुनै पनि सार्वजनिक ठाउँ
तपाइँका सहज पाइखाना होउन् ।

ठान्नुहुन्छ आफूलाई
अब्बल नश्लको उत्तराधिकारी
उच्चकोटीको भाषाको वक्ता
तर तपाइँकै मुखमा छ झुण्डिएको
दुनियाँको सबभन्दा निकृष्ट शब्दकोश ।

भनाउनुहुन्छ आफूलाई
नैतिकताको पवित्र पुजारी
तर चाहिन्छ तपाइँकै जिब्रोलाई हरसाँझ
भर्जिन आँसुको नुनिलो सितन ।

बजाउनुहुन्छ मन्दिरमा
सबभन्दा चर्को सुनिने गरी घण्ट
फलाक्नुहुन्छ भद्रसभामा
घाँटी च्यातिनेगरी कानूनका दफा
तर तपाइँ नै हो
धर्म र मानवताको दुच्छर अभियुक्त
तपाइँ नै हो
कानूनले पर्साइ छोडेको मत्ता साँढे ।

एकातिरको आँधी
एकातिरको झोलुङ्गो
सामले, दामले, दण्ड या कुन्नि के ले
कसरी–कसरी
पुग्नुभएको छ यतिबेला
यो देशको महान संसदमा
र, बन्नुभएको छ माननीय
अब निश्चित छ एउटा कुरा
मुलुकको संसद भवन
कि बन्नेछ पिकदान कि पाइखाना ।

(स्रोत : शब्दशिखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.