व्यङ्ग्य लघुकथा : एक कार्यकर्ताको कथा

~वसन्त प्रवीण~

तिनी थिइन् टनकप्रसादकी दुलही । पहिले बत्तीसै लक्षणले नभएपनि बत्तीसै दन्तले युक्त भएकी भनेर भित्राइएकी उनी अहिले दन्तस्खलन रोगबाट पीडित थिइन्, र त्यहीं दाँत कयौंपटक टाल्दाटाल्दै टनकप्रसादको खल्ती चुहिनथालिसकेकोले उनले यो अनवरत प्रक्रियालाई अन्त्य गरिसकेका थिए , फलस्वरुप उनी शुद्ध शाकाहारी भैसकेकी थिइन् । पहिले उनी आफ्नी दुलही हाँसिरहेको , बोलिरहेको हेर्न मन पराउँथे , तिनका स्वस्थ दन्तलहरमा उनी आफ्नो पुरुषार्थ पाउँथे , तर अचेल उनी आफ्नी दुलही सकेसम्म मौन रहुन् भन्ने चाहन्थे, तिनका ध्वस्त दन्तलहरमा उनी आफ्नो नालायकीपन, असफलता र निकम्मापन देख्थे ।

पुर्वावस्थामा टनकप्रसाद दलाल थिए । यताको जग्गा उता र उताको जग्गा यता गरेर अलिअलि कमिशन चुहाउँदै उनी जसोतसो टिकिरहेका थिए , तर जसैजसै दलालतन्त्रमा ठगतन्त्र हावी हुँदै गयो, उनिजस्ताको बाटो बन्द हुँदै गयो । आखिरीमा केही आय-उपाय नलाग्ने भएपछि उनी राजनीतिमा लागे। उनी आबद्द थिए, “भोकमरी उन्मुलन दल”सँग । केही समय त उनको चुरी-फुरी देख्न लायकको थियो । शुष्क भुँडी र हातमा रित्तो थाल लिएको मान्छेको आकृति अंकित उनको दलको झन्डा बोकेर उनी खुबै खटिए । उनको निष्ठा यति विंघ्न थियो कि आफ्नो घरको छाना र यहाँसम्म कि आफ्नो सुत्ने कोठा र चर्पिमासमेत झन्डा गाड्न छोडेका थिएनन् । घरमा आउने हरेकलाई र बाटामा भेटिने जोसुकैलाई उनी आफ्नो दलको विचार, सिद्दान्त र भावी योजना सुनाउँदै हिँड्थे । तर यस्तैमा उनको दल “भोकमरीपीडित उन्मुलन दल” सँग एकिक्रित हुनगयो । उनी आफ्नो दलको यस्तो कामको घाँटी नसुकुन्जेल घोर विरोध गरिरहे, तर उनको आवाज उनीबाहेक कसैले सुनेन ।

केहीदिन त उनी भोकमरी उन्मुलन दल (मुलधार) लिएर पनि हिँडे, तर सबै कार्येकर्ता पाखा लागिसकेकोले उनको एक सदस्यीय पार्टीको कुनै अस्तित्व रहेन , त्यो आँफै भंग भयो । स्व. भोकमरी उन्मुलन दलको पीडाले आहत भइ उनी गाउँ फर्कन वाध्य भए , केही दिन सम्म त सपनामा पनि रित्तो थाल बोकेको मान्छे देखिन थाल्यो, तर घर आउँदा पो चाल पाए, आफ्नै घर भोकमरीले ग्रस्त हुनथालिसकेको रहेछ । त्यसपछि उनले छोरालाई सदस्य बनाइ आफ्नो पुर्खौली हलोपार्टी मा आबद्द भए, दुलही र छोरी लाई गाइ-वस्तु पार्टी जिम्मा दिए, र अहिले सुखमय जीवन बिताइरहेकाछन् ।

अहिले पनि टनकप्रसादलाई पार्टीको कुरा गर्यो भने झनक्क रिसाउँछन् र उस्तैलाई दनक दिन पनि पछि पर्दैनन् ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in लघुकथा, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.