~कमल प्रकाश पौडेल ~
तिमीलाई विर्सिएर, सम्झिनु नै कस्लाई छ र ?
सारा जीवन जवानी, आजन्म नि तिम्रै भर ।।
सुनैसुनको महल् बन्छ, तिम्रो मनमा बस्दाखेरि
झुपडी नै किन नहोस्, छाउने होस् न सुकेको खर ।।
यति चोखो यति मीठो, प्रीति साट्दा रिस गर्ने
सबै हुन्छन् भन्दैमा, जालै तोड्न कसको कर ।।
रीस, राग, गाली, गलौंच, सहन त सक्नुपर्छ
निश्चल प्रीतको मालाभित्र, पर्दैन नि गाउँको डर ।।
जति–जति कुरा काट्छ, दुनिँयाले हाम्रो सामु
त्यति–त्यति सवल् बन्छ, पिरतीको न्यानो घर ।।
आउ तिमी साथ दिन, अँगालो मै बाँधिदिन्छु
हेरा हेरै दङ्ग पर्छन्, कुरा काट्ने सर्छन् पर ।।
–रचनाकालः–२०६१÷०६÷२६
(स्रोत : रचनाकारको ब्लगबाट सभार)