~दिवाकर स्वप्नील~
“आज त मातातिर्थ औँसी , सबैले आफ्नी आमाको मुख हेर्नेदिन । आमालाई खुशी पार्ने दिन । कतिका आमा मृत्युपछिको लोकमा पुगेका छन् तापनि आमालाई सम्झिएर मठमन्दिरमा पुग्छन् ।” उसले आँखा खोल्नेबित्तिकै फेसबुक खोल्दा आजको दिनबारे थाहा पाएपछी एकैसाथ शब्दका ज्वारभाटा खेल्न थाल्यो । यतिबेला सम्म अर्कोकोठामा खङखङ खोक्दै आमा भगवानको नाम बर्बराउँदै थिइन् । ऊ आफ्नो कोठाबाट बाहिरियो । बजारमा पुगेर एक के.जी स्याउ , आधा के.जी. अङ्गुर अनि एक पोका मिठाइ बोकेर घर फर्कियो ।
आमा घोप्टो परेर चुलोमा आगो फुक्दैथिइन् । उसले आमालाई पिरामा बसायो । बोल्यो “आमा आज के हो था’छ तपाइलाई ?”
बुढी आमाले हातको कालो मोसो नाकमा दल्दै छोरालाई आश्चर्यले हेरिन् । एकचोटी खङखङ खोकिन केही बोलिनन् ।
छोरा पुनः आफै बोल्यो “आज आमाको मुख हेर्ने दिन हैन त ? यो सबै तपाइको लागी” उसले आफुले ल्याएको सौगात आमालाई टक्र्यायो ।
आमा मलिन स्वरमा बोलिन् “यतिका दुःख किन गर्छस् बाबै ! बरु सानो दुख्ने गोली ल्याको भा हुन्थ्यो । हिजो तुइले मातेको बखत हान्याँ मुक्काले अररिएछ यो घाँटी ।”
नोट : दुख्ने गोली = दुखाइ कम गर्ने औषधी ।
चारपाने , झापा ।
swapneeldiwakar@gmail.com
(स्रोत : रचनाकारको ब्लगबाट सभार)