~डा. रविन्द्र समीर~
एक जना वृद्ध दुर्गमदेखि उपचार गर्न सुगमको एक निजी अस्पताल गए । डाक्टरले उनलाई सोधे— ‘के हुन्छ बा तपाईंलाई ?’
चिकित्सकको पहिलो प्रश्नको उत्तर दिए— ‘आन्द्रामा घाउ भएको छ ।’
‘कसरी थाहा पाउनुभयो, आन्द्रामा घाउ भएको छ भनेर ?’ त्यसपछि चिकित्सक चर्को स्वरमा बोले— ‘आजभोलि कस्ताकस्ता बिरामी आउँछन् भने, आफ्नो रोगको डाइग्नोसिस आफैं गर्छन् ।’
वृद्धले डराएको स्वरमा भने— ‘पेट पोल्छ, केही खायो भने चहराउँछ, दिसा पनि रगत पचेर होला कालो आउँछ । घाउ नभई कसरी रगत आउँथ्यो र ?’
त्यसपछि चिकित्सकले रगत, दिसा, पिसाब, पेटको अल्ट्रासाउन्ड, इन्डोस्कोपी र कोलोनोस्कोपी गरेर रिपोर्ट ल्याउन भने ।
उनले अनिच्छापूर्वक सबै जाँच गरे । अलिकति कुट्की, पाषाणभेद र पाँचऔंले बेचेको पैसा जाँचपडतालमै सकियो ।
अर्को दिन उनी रिपोर्ट बोकेर डाक्टरलाई भेट्न गए । अस्पतालमा झन्डै एक दर्जन सेतो कोट लगाएका सिकारूलाई उनले रिपोर्टबारे बताए । ‘ओकल्ट ब्लड पोजिटिभ छ, इन्डोस्कोपी गर्दा आन्द्रामा घाउ देखिएको छ । अरू सबै रिपोर्ट नर्मल छ ।’
उनीहरूले वृद्धलाई भने— ‘बाजे, तपाईंको आन्द्रामा घाउ भएको छ, अरू केही रोग देखिएन ।’
वृद्धले भने— ‘मैले सुरूमै आन्द्रामा घाउ भएको छ भनेको थिएँ । बेकारमा अनेक जाँच गरेर मेरो पैसा सत्यनास पारिदिए । त्यही बेला घाउ सुक्ने औषधि लेखिदिएको भए म अहिले बेखर्ची त हुने थिइनँ !’
(स्रोत : रचनाकारको लघुकथा संग्रह “एकलब्य दृष्टि” बाट सभार )