छन्द कविता : दुःखी चेली

~डा. हेमनाथ घिमिरे~Dr Hemnath Ghimire

लहरै फुले जाही र जुही बेली र चमेली ।
फुलीनौ तिमी किन हो कैल्यै भन न ए चेली ॥
आएन बैंश लागेन मात जवानी सकियो ।
मनका ईच्छा सपना सारा मनमै रोकियो ॥ १ ॥

दाउरा घाँस मेला र वन जीन्दगी यै हो कि ।
हाँसो र खुसी उमंग सबै अरुकै पो हो कि ॥
चन्द्रमा जस्तो मुहार तिम्रो चाँदनी छाएन ।
जीन्दगी भयो औंशीको रात पूर्णिमा आएन ॥ २ ॥

छोपेर आयो बूढ्यौली कैले थाहा नै भएन ।
बैंसालु मन जवानी पन आउँदै आएन ॥
पन्ध्र र सोह्र नलागी कनै पच्चीस पुगेकी ।
संसार के हो थाहा नै छैन घुम्टो मै लुकेकी ॥ ३ ॥

बिहान साँझ ढिकी र जाँतो कुवा र पँधेरो ।
पढ्नु र लेख्नु केही नि छैन जिन्दगी अँधेरो ॥
पसिना श्रम रात र दिन अरुकै बन्धकी ।
न मीठो खाना न राम्रो नाना के यस्तो जिन्दगी ॥ ४ ॥

डा. हेमनाथ घिमिरे
बाहुन डाँडा ५, लमजुङ् ।
हाल : बानेश्वर, काठमाडौं

(स्रोत : Majheri.com)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.