~डिल्ली मल्ल~
हरेक बिहान म
फक्रिदै गरेका कलिला फूलहरुको माझमा उभिएर
उदाउँदै गरेको रातो लालीमा चुम्न चाहन्छु
हरेक बिहान म
प्रसव वेदनामा छट्पटाइरहेकी गर्भिणी रातलाई बिदा गरेर
जन्मिदै गरेको सुन्दर बिहानी भेट्न चाहन्छु
बिहान उठ्नुअघि नै उठेर
देख्न आतुर हुन्छु म सधैं सुकोमल बिहान
जसरी आतुर हुन्छ टेक्नलाई आफ्नै घरको आँगन
वर्षौंअघि प्रियसी र भान्टाङभुन्टुङ छोडेर विदेशिएको लाहुरे
वा
जसरी आतुर हुन्छ वर्षौं पहिले छुट्टिएकी प्रेमिकालाई भेट्नुअघि
ऊ आउँदै गरेको बाटो कुरिरहेको कुनै अनाम प्रेमी
विडम्बना !
म उठिनसक्दै फूलहरु फक्रिसकेका हुन्छन्
र, बिहान ‘बिहान’ हुँदैन मेरा लागि
थाप्लोमाथि टेकेर चर्को घाम
उत्पात मच्चाइरहेको हुन्छ मेरा रहरहरुमाथि
र, मुर्झाइरहेका हुन्छन् सुकोमल फूलहरु
किनकि
हरेक बिहान म सधैं ‘अबेला’ उठ्छु ।
३१, असार २०७० दाङ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)