कथा : शहिदपत्नीको किड्नी

~दीपक नेपाल~

भूकम्पले घर भत्काएपछि बिचल्ली भयो शान्ति नेपालको । सम्पत्ति भन्नु त्यही एउटा घर थियो । कमाई खाने खेतबारी थिएन । बनीबुतो गरेर खान्थिन् । बस्नलाई त्यही एकतले घर थियो । अब त्यो पनि रहेन ।

शान्तिको परिवारमा अरु कोही थिएन । आठ वर्षकी छोरी रमिला र चौध वर्षको छोरो रमेश थिए, उनका सर्वस्व नै ।

शान्तिको लोग्नेले छोडर गएको दश वर्ष नाघिसक्यो । घर मात्र हैन, पृथ्वी नै माया मारेर गएको हो । लोग्नेले पहिले घर छोड्दा शान्ति दुई जिउकी थिइन् । हिँडेको ६ महिना नपुग्दै छोरी जन्मी । छोरी जन्मेको थाहा पाएर उनका पति सोमनाथ एकपटक घरमा आएका थिए । तोरीको भाऊजसरी राति आएर राति नै गएका थिए । साथमा भएको दुई चार पैसा छोडेर ।

अहिले ती दुई सन्तानले बाबुको अनुहार ठ्याक्कै सम्झँदैनन् । रमेशले त देखेको थियो । तर अहिले बिर्सिसक्यो । सानै थियो बाबुले घर छोड्दा । सम्झियोस् पनि कसरी ? उनी सर्वहाराको सत्ता लिन गएका थिए, फर्किएनन् ।

अचानक शान्तिलाई धागोले बाँधेको चिठी हात पर्‍यो । लोग्ने भिडन्तमा मारिएछन् ।

त्यसपछि शान्ति कसैसँग बोलिनन् । एकोहोरीजस्ती भइन् । काजकिरिया गर्न खर्च थिएन । एकान्तमा टोलाउने भइन् । जसोतसो मन बुझाउनुपथ्र्यो र बुझाइन् पनि । छोराछोरीको अनुहार हेरेर ।

शान्ति आफूले नपढेकी भए पनि पढ्नुपर्छ भन्ने जानेकी थिइन् । त्यसैले दिनभर आफू काम गर्थिन् । छोराछोरीको पढाइ खर्च पुर्‍याउँथिन् ।

शान्ति विधवा मात्र हैन, शहीदकी स्वास्नी भइन् । छोराछोरी टुहुरा भए । शहीदकै छोराछोरी भए पनि टुहुरा त हुँदारहेछन् ।

०००

रमेश भर्खर चौध लागेको थियो । उमेरले त सानै हो, तर हन्डर र ठक्करले पाको बनाइदिएको थियो । आमाको सहारा नै ऊ मात्रै हो । आमाको दुःख बुझ्थ्यो । बहिनी सानै थिई ।

शहीद परिवारको पगरी गुथेरै भए पनि जीवन रथ तानेका थिए ।

अचानक ठूलो भूकम्प गयो । उनीहरू हेरेकोहेर्‍यै भए । आत्तिए । के गर्ने कसो गर्ने थाहै भएन । गाउँभरिमा एक दुई घर मात्र ठाडा रहे । ती पनि थिलथिलो भग्नावशेषजस्ता भएका ।

गाउँ नै स्तब्ध र दूर्गन्धित भयो । घरभित्र थिचिएका बस्तुभाऊ ट्याँट्याँ… गरे । झस्किएका उनीहरु आधा भत्किएको घरवरिपरि घुमे । भित्र बस्ने हिम्मत छैन । पुरिएका गाईभैंसीको आवाज सुनेर नरुने कोही थिएन । दिन रुँदैमा बित्यो । रात आत्तिँदैमा । भूकम्प कसै गरे रोकिएन । बेलाबेला हल्लाउनु र प्रेतलेझै सात्तो जाने गरी तर्साउनुमा अझै आफ्नो बहादुरी ठान्यो भूकम्पले ।

रात काट्न महिना काटेजस्तो भयो । बिहान भत्किएको घरबाट गाईबस्तु निकाले । धेरै मरेका । ती गाईबस्तु देख्दा भक्कानिएर झण्डै आफैं लडुँलाझैं गर्थे उनीहरु । दुई दिन भोकै बसे । भोकले आन्द्रा बटार्न थालेपछि सबैले छाप्रो उभ्याउन थाले ।

शहीद परिवारका आमा-छोराले पनि चार खाँबा गाडे । रमिला सानै थिई । आमाको पछिपछि लागिरही । माथिबाट पाल र प्लास्टिकले आकाश टाले । घर त्यसैलाई माने ।

छाप्रो बनाएर हेरे, खाँबो बाङ्गो भएछ । छाप्रो बाङ्गो देखियो । आ… होस् । दिक्दार माने ।

लगाउने लुगा र पकाइखाने भाँडा त्यही घरले छोपेको थियो । एउटा माऊ बाख्रो पालेका थिए, साहुको । भर्खर दुई महिनाअघि मात्र ब्याएको । दुईवटा बोका थिए । दुईवटा मध्ये एउटा उनीहरुकै भागमा आउँथ्यो ।

त्यही बोको बेचेर आउँदो दशैंमा एक-एकजोर लुगा हाल्ने सोचेका थिए । त्यो सपना पनि त्यही घरले थिचिदियो । मरेका ती साना पाठा निकाल्दा आमा-छोराले त्यही
सम्झिए । उनीहरुका गह भरिए । घाँटीमा लोरो अड्किएझैं बोल्न सकेनन् । सानी छोरी चिच्याई ।

मरेको पाठो निकाल्दा भक्कानिएकी थिइन् शान्ति । दौडिँदै गएर रुँदै गरेकी छोरीलाई च्यापिन् । शान्तिका आँखाबाट ममत्वका थोप्ला खसे । केहीबेरसम्म जहाँको त्यहीँ भए ।

दिनहरु बित्दै गए ।

दशैं आयो । शहीद परिवारको दशैं मनाउँला भन्दाभन्दै रहरमै सकियो ।

०००

तिहार पनि उही निर्दयी तरिकाले सुरु भयो । शान्तिलाई झन्झन् चिन्ता थपियो । लक्ष्मी पूजा गर्नुपर्ने, छोराछोरीलाई एकजोर लुगा हालिदिन समेत सकेकी छैनन् । बिलखबन्दमा परेकी छिन् उनी । आमाको चिन्ता बुझेको छ रमेशले ।

रमिला त सानै छे ।

नौ/दश लागेकी रमिला । सानी फुच्ची । खै के पो सोचेर हो, आमालाई भनी, ‘आमा मलाई त केही चाहिँदैन । मलाई नयाँ लुगा लाउनै मन लाग्दैन । पोहोल किनेको घरले पुलो ।’

छोरीको तोते बोली सुनेर वाल्ल परिन् शान्ति । छोरीलाई छातीमा बेरिन् । उनको हृदय भक्कानियो । बरर आँसु झारिन् ।

रमेश अलिपर थियो । केके गर्दैछ ख्याल गरेकै थिइनन् उनले । आमा रोएको देख्यो । ऊ उनीहरुका अगाडि रुन्नथिन् । यसपटक छोरीका कुराले मन अडिएन । नचाहँदा नचाहँदै रोइन् ।

रमेश कुरो बुझ्ने भैसकेको थियो । शान्तिलाई पनि थाहा छ । सकभर छिटो आँसु लुकाउने उपक्रम गरिन् ।

एक छिनपछि आमा केके धन्दातिर लागिन् । रमेशले बहिनीलाई पर लगेर सोध्यो, ‘आमा किन रोको काली ?’

‘मलाई के था ?’

‘भन् न किन रोको ?’

‘मलाई के था त ? आमालाई सोध् न ।’

रमेश दिक्कायो । आमा किन रोइन् भन्ने उत्सुकताले मन भरिएको छ । आमालाई सोध्न सकेन ।

दाजु-बहिनी एक छिन चुप लागे ।

‘दाइ आइज न खेलांै,’ केके घोचा तयार पारेर बहिनीले दाजुलाई खेल्न बोलाई ।

दाजु बोलेन ।

‘दाइ आइज न के खेलौं,’ बहिनीले फेरि बोलाई ।

‘तँ एक्लै खेल्,’ रमेशले भन्यो । उसले आमा रोएको बिर्सन सकेको थिएन । ‘आमा किन रोएको भन् त अनि खेल्छु ।’

‘थाहा छैन के । आइज न चोर पुलिस खेलौं,’ बहिनीले फेरि बोलाई ।

बहिनीले चोर-पुलिस भनेपछि दाजुले भित्तामा झुण्डिएको बाबुको फोटो सम्झियो । उसका बाले पनि पुलिसको जस्तै लुगा लगाएका थिए । पुलिस जस्ता बहादुर र जोसिला बा कहाँ गएका होलान् ? कसलाई सोध्नु ।

वाल्ल परेर बसेकै बेला रमेशले आमालाई देख्यो । कुन्नि कता गएकी थिइन् । छाप्रोतिरै आउँदै थिइन् । छाप्रोअगाडि पुगेपछि रमेशलाई बोलाइन् ।

‘म चार दिनका लागि काठमाडौं जान्छु । बहिनीसँग बस्न सक्छस् ?’ शान्तिले सोधिन् ।

‘किन ? काँ जाने र ?’

‘अस्पताल जानु छ के । सञ्च छैन,’ शान्तिले निहुँ पारिन् ।

‘बिहानसम्म त ठीक’थ्यो त । के भयो ?’

‘भन्न मिल्दैन के,’ शान्तिले सम्झाइन् ।

‘बहिनी डराउँछे होली,’ रमेशले भन्यो । वास्तवमा डर उसैलाई थियो । बहिनीको निहुँ पार्‍यो । शान्तिले नबुझ्ने कुरै थिएन ।

‘चार दिन त हो, आइहाल्छु नि । मिल्यो भने एकजोर लुगा पनि ल्याइदिन्छु,’ शान्तिले लोभ देखाइन् ।

‘पर्दैन लुगासुगा । पैसा काँ छ र ?’ कति बुझ्झकी छोरो । आमाको मन एकपटक फेरि रोयो । यसपटक आँसु बलैले थामिन् शान्तिले ।

बल्लतल्ल छोरालाई मनाइन् । नयाँ छाप्रोमा छोराछोरी छोडेर शान्ति काठमाडौं हिँडिन् । लाहुरे दाइसँग ।

०००

झण्डै एक घण्टापछि ।

रमेश छाप्रोअगाडि उभिएको थियो । उसलाई बोलाउँदै मखमली आई । मखमली ऊसँगै आठ कक्षामा पढ्थी । ऊ हतार-हतार आएर सोधी, ‘तेरो आमा काँ गको रमेश ?’

‘हृया किन चाइयो तँलाई ?’ रमेशलाई कोही बोल्दा पनि झर्को लाग्ने भएको थियो ।

‘भन् न के । मलाई पनि भन्दैनस् त ?’ उसले मायामिश्रति स्वरमा जिद्दी गरी ।

‘सञ्च छैन रे । अस्पताल गको ।’

‘होइन । तेरो आमा र लाहुरे दाइ कुरा गरेको सुन्या’रे मेरो आमाले । तेरो आमाले किड्नी बेच्ने कुरा गरेकी थिइन् रे । तँ छिट्टो जा आमालाई फर्कार ले ।’
बिचरो रमेश के पो गरोस् ? आमा काँ पुगिसकिन् ।

‘म तेरो बैनीसँगै बस्छु । जाँ भेट्टाउँछस् । फर्कार ले,’ मखमलीले उपाय बताइदिई ।

रमेश दौडियो । आमा गएकै बाटो । रमेश पर पुगेपछि छाप्रोबाट बहिनी रोई । दौडिँदै गरेको रमेशले सुन्यो । दौडिन छाडेर रोकियो । फर्केर छाप्रोतिरै हेर्‍यो । बहिनी झन् ठूलो स्वरले रोई । ऊ रनभुल्ल भो । उताबाट मखमलीले सम्झाउँदै कराई । ‘जा रमेश जा । म बहिनीलाई हेर्छु ।’

अब रमेश पनि रोयो । बेस्सरी रोयो । मखमलीको आड पाएर होला आमा गएकै बाटो दौडियो । पाइलैपिच्छे आँसुका धारा खसाल्दै ।
डाँडामा पुगेर चिच्यायो, ‘आमा हो ….।’ त्यो उसको करुण स्वर अनन्त डाँडामा पुगेर ठोकियो । छाप्रोमा रुँदै गरेकी बहिनीले पनि सुनी । उसको रुवाई झन ठूलो भयो ।

दौडँदादौडँदै रमेश पसिना र आँसुका धाराले निथ्रुक्कै भयो । एक हातले पाइन्ट समाउँदै दौडिएको थियो । आमालाई भेटेन । एकान्तमा पुगेर रोकियो । अब ऊ दौडिन सकेन । खुट्टामा उनिएको चप्पल कता छोडियो थाहा छैन । बाटोमा खाली खुट्टा दौडिँदा गेग्य्रानले खुट्टा काटेछ । रगत बग्दै थियो । खुट्टोभन्दा मन दुखेको छ उसको । फेरि चिच्यायो, ‘आमा हो …..।’

अब केही लागेन । ऊ थ्याच्च बसेर बेस्सरी रोयो । रुँदारुँदा आँसु सकिए । बहिनी सम्झेर रुँदै छाप्रोतिरै फर्कियो ।

र्फकंदा बाटोमा भेटिए स्कूलका हेड सर । हेड सरले सबै सोधे । हेड सरलाई देखेपछि ऊ झन रोयो । सबै बतायो । उसको कुरा सुनेर हेड सरले मोबाइल झकिे, फोन गरे ।

फोन राख्दै भने, ‘नरोई घरमा जा । बेलुका आमा फर्किनुहुन्छ ।’
ऊ अलि ढुक्क भयो । हेड सर हिंडे । ऊ छाप्रोतिरै फर्कियो ।

०००

साँझमा दाजु बहिनी छाप्रोको कुनामा घुत्रुक्क परेर बसेका थिए । आकाशमा अलिअलि बादल देखिन्थ्यो । बिस्तार हावा चल्दै थियो ।
‘दाइ, आमा काँ ग’को ?’ रमिलाले मलिन स्वरमा दाजुलाई सोधी ।

‘आमा भोलि आउनुहुन्छ के । नडरा न, म छु नि,’ दाजुले सम्झाउँदै भन्यो ।

खाना खाएका थिएनन् । राहतको चामल छँदै थियो । रमेशले भातसँगै गुन्द्रुक उमालेको थियो ।

‘काली, खान बस्,’ बहिनीलाई बोलायो ।

‘खानै मन छैन । तँ खा न,’ दाजुले एकटकले बहिनीलाई हेर्‍यो ।

‘अलिकति खा न,’ फेरि भन्यो ।

‘आमा आएसि खाउँला नि,’ रमिलाले पटक्कै टेरिन । के गर्ने के, रमेश हैरान भो ।

हकार्दा पो मान्छे कि, हकार्‍यो । बहिनी रोई । रमेश झन अलमलियो । नजीकै पुगेर अङ्गालो मार्दै भन्यो, ‘नरो । भात नखाए बिरामी हुन्छ के,’ दाजुको माया पाएकी बैनी झन रोई ।

बाहिर पानी छिट्याउँदै थियो । दर्कियो । जस्ताको छानो आमाले कुटेभन्दा बढी रोयो । पानीले जस्ता बज्दा रमिला झन् डराई । ऊ अझै रोएको देखेर अब रमेश सँगसँगै रुँन थाल्यो ।

केही बेरपछि मुसोझैं पानीले चुटिएर शान्ति छाप्रोभित्र पसिन् । निथ्रुक्क भिजेकी थिइन् । शान्तिले बोलाउँदै भित्र पस्दा रुँदै गरेका दाजुबहिनी आड पाएर होला झनै रुन थाले ।

शान्तिले सम्झाइन् । छोराछोरी रुन छाडे ।

०००

हप्ता दिनपछि शान्तिले निधो गरिन्, अब काठमाडौं जाने । जे पर्छ पर्छ । नाकको फुली र कानको टपले आड दियो उनलाई । सल्लाह गर्नुपर्ने कोही थिएन । छोरालाई सुनाइन् । छोराले भन्ने के नै थियो र, हुन्छ भनिदियो ।

हिँड्ने अघिल्लो दिन रमेशले मखमलीलाई सुनायो ।

मखमलीले आश्चर्य मानी । ‘काँ जाने ? को छ र ? किन जाने ?’

‘आमा जाने भन्नुहुन्छ,’ रमेश गम्भीर भयो ।

मखमली भावुक भई । ‘मलाई भेट्नचाहिँ आइज है ?’

‘आइहाल्छु नि ।’

‘भोलि मलाई नभेटी नजा है । म बिहानै तेरो घरमा आउँछु ।’

‘हुन्छ । आइजो है ।’

बिहान शान्तिले भएजति सबै सम्पत्ति पोको पारिन् । एक दुई जोर थोत्रा लुगा र पकाइखाने भाँडाबाहेक केही थिएन । एउटै डल्लो पारी ।

रमेशले मखमलीलाई पर्खिरहेको थियो । मखमली टुप्लुक्क आइपुगी ।

‘रमेश धेरै पढेसी भेट्न आइजो है ?’

रमेश बोल्न सकेन । गहभरि आँसु पारेर हात हल्लाउँदै बिदा भयो ।

मखमलीले हेरिरही ।

काठमाडौं आएपछि पनि शान्तिले छोराछोरी पढाउन छाडिन । सरकारी स्कूल भर्ना गरिदिइन् । आफूले ज्यामी काम सुरु गरिन् । दिनभर काम गरेर बेलुका डेरामा फर्किन्थिन् । छोराछोरीलाई पकाएर खुवाउँथिन् ।

जेनतेन केही महिना बिताए । हुने र हुनुपर्ने केही थिएन । बिहान बेलुका हात जोर्ने जोहो व्यवस्था गर्न सक्ने भएपछि बहिनीको हेरचाहको जिम्मा रमेशलाई सुम्पिन् । पुस १ गते भाइलाई भेट्ने भन्दै माइती गाउँ गइन् । पन्ध्र दिन काठमाडौं फर्किनन् । रमेश छक्क पर्‍यो । आमालाई हाम्रो माया किन नलागेको होला भन्ने लागिरहृयो बारम्बार ।

०००

माघ १६ गते स्कूल बिदा थियो । रमेश र रमिला स्कूल गएका थिएनन् । शान्ति पनि थकाइले डेरामै थिइन् । शरीरमा उति सञ्चो थिएन ।

शान्तिका खुट्टा पटपट फुटेका थिए । हिड्दा खोच्याउँथिन् । रमेशले देख्यो र सोध्यो, ‘खुट्टा के भयो आमा ?’

‘केही भको छैन,’ आमाले टार्न खोजिन् ।

‘खै हेरौं,’ रमेशले नजीकै पुगेर हेर्‍यो ।

कुर्कुच्चा फुटेका थिए । निकै ठूला थिए छिद्र । रगत बग्दै गरेको । रमेश केही बोलेन । चुपचाप बस्यो । शान्ति कुन्नि के कामले बाहिर निस्किन् ।
‘दाइ, शहीद भन्या के ?’ रमेश बसिरहेको ठाउँमा आएर बैनीले सोधी ।

‘किन चाहियो तँलाई ?’ रमेशले झर्को मान्यो ।

‘भन् न, के हो शहीद भन्या ?’

रमेश बोलेन । रमिलाले फेरि सोधी, ‘शहीद काँ बस्छन् दाइ ?’

‘शहीद गेटमा,’ रमेश कुरा पन्छाउन चाहन्थ्यो, भन्दियो ।

‘हाम्रो बाबा शहीद भन्या हैन ?’ बहिनीले सोधी ।

‘हो हो,’ दिक्क मान्दै दाजुले भन्यो ।

‘स्कूलबाट घुम्न लगेको शहीद गेट हाम्रो बाबाको हो ?’

‘हृया नकरा न,’ दाजुले झर्को मान्यो ।

‘छुच्चो,’ बहिनी बाहिर निस्की ।

भोलिपल्ट बिहान शान्तिले खान दिएर छोरा छोरीलाई स्कूल पठाइन् । नाकाबन्दीले ग्यास फाट्टफुट्ट पाइन्थ्यो । उनी त्यही ग्यासको लाइनमा हिँडिन् ।
स्कूल जान्छु भनेर हिँडेको रमेश स्कूल गएन । बहिनीलाई स्कूल पुर्‍याएर ऊ सरासर ट्याक्सी धुन गयो । दिनभर ट्याक्सी धोयो । एउटाको पचास रुपैयाँ । चार बजेसम्ममा एघारवटा धोएछ ।

ऊ ट्याक्सी धोएको पैसा बोकेर जुत्ता पसल गयो । एकजोर राम्रा चप्पल किन्यो । आमाको लागि । ऊ कतै रोकिएन । सरासर डेरातिर लाग्यो । दिनभर ग्यासको लाइनमा उभिएकी शान्ति बेहोस् भइछिन् । कसैले बाटैमा सुनाइदियो रमेशलाई ।

आमाका लागि भर्खर किनेको चप्पल उसको हातैमा थियो । त्यो चप्पलसहित ऊ हस्पिटल पुग्यो । आमालाई भर्खर पुर्‍याएका रहेछन् । डाक्टरले आमा बिरामी हुनुको कारण बतायो । भन्यो, ‘तिम्री आमाको किड्नी एउटा मात्र छ ।’ पछि डाक्टरले रमेशलाई फकाउँदै सोध्योे, ‘तिम्री आमाको नाम के हो ?’

उसले शान्त र गम्भीर स्वरमा भन्यो, ‘शान्ति नेपाल ।’

(स्रोत : अनलाईनखबर डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.