~रमेश दियाली~
जूनकीरीको त्यो उज्यालोमा बेलुकी भात खान बसे । खानै मन भएन । जुरुक्क उठ्दा आमाले सोधिन्– दिउँसो के खाइस् ?
भन्न मन लागेको थियो, ‘खालि गुन्दु्रक र फर्सी मात्र ? अहँ त्यसो भनिनँ । चुँडिएको चप्पललाई डोरीको फित्ता बनाई,…गोजीबाट मिठाईका खोलहरूसँग मेरो खुसी बाँड्न थालें ।
बाबु पिँढीमा बसेर पुरानो भाका गुनगुनाउँदै छन् । शब्दहरू छरप्रस्ट भुइँमा पोखिएका थिए । ‘आजै हाँसौं, समयले भोलि रुवाउन सक्छ, …..बरु रित्तो होस् जन्दिगी माया साच्नु छ आज’…….. । ए ! बाउ फेरि सुनाऊँ न …,यो गीत भन्दै गर्दा आमाले बोलाइन् । सुत्न आइज ए !!!
रात धेरै भैसक्यो । मिठाईका खोलहरू भुइँमै छोडी सुत्न गएँ । आमाले टाउको सुमसुम्याउँदै, तेरो साथी आउँदै छ भन्दै थिइन् । मैले कहाँबाट भने । आमाको डम्म परेको भुँडी देखाउँदै , यहाँबाट भन्दै गर्दा म फुस्स निदाएछु । शिरानीबाट टोपी झिक्दै बाऊ बोले– ओई… कान्छा !!? बोल्दै गर्दा ख्वाक्क खोके । रगतका फाल्सा बाहिरै आयो । हजुर बाउ । बिहान भइसकेछ । म जुरुक्क उठें । जा .. त मगर्नी बजैको बाट एक माना रक्सी लेर.. आ ।
रक्सी….!!! ?? कति पिउँछौ एई !!!रक्सी ? मर्छौ कुन दिन । आफ्नो ख्याल नगरे पनि हाम्रो लागि त सोच† पेटमा अर्को प्याउसो हुर्कंदैछ । आमाले कपाल मिलाउँदै बाउलाई यसो भनिरहँदा बाउले रूखो स्वरले हप्काए, ‘जान्ने हुन्छेस् ।’ म अकमक्क परे । म फुच्चे, अटेरी गरी बसिरहें । बाउले झम्टिहाले । छिटो जा…. , जा…भनेको । सुनिनस् । म दगुरिहालें । आजकाल, खुब रक्सी पिउँछन् बाउ । मनमनै सोच्दै गर्दा, अब चाहिँ बूढा बाँच्दैनन् होला जस्तो लाग्यो ।
आ….. मरून् बरु । बाँचेर पनि के नै गर्छन् र ? घामका किरणहरू मेरै आँखामा आएर रोकिए । पुलुक्क आकाशतिर हेरें । घाम ति…रि … रि झुल्किँदै रहेछ । कुकुरले भुक्दा झसंग तर्सें । सात्तो उडायो । बजैको दैलोमै आइपुगेछु । यो कुकुर पनि कति मात्तेको । मलाई नि चिन्दैन । दैलो त बन्द छ । बिचारा बजै!!! राति अबेरसम्म जँड्याँहाहरूको सेवा गर्दागर्दै थाकिछन् । बूढी पनि त भइन् नि ……..!!कुकुर भुक्न छाडे । सायद चिनेछ ।
दैलो ढकढक्याए.. ढक ….. ढक…. । को हो हँ…? बजैको खस्रो स्वरले कानै रननन….ननन. भो । बजै म ‘कान्छो’ † हरिभक्तको छोरा । बिहान– बिहानै किन आइस् ए ? बाउलाई रक्सी चाहियो रे..? म बोल्दै गर्दा दैलै घरक्क खोलिन् । बजैको मुझा परेको अनुहारमा पोतो प्रस्टै देखे । आँखा उघ्रिसकेको थिएन ।
रक्सी…. ? भन्दै गर्दा आङ तनक्क तन्काइन् । मैले टाउको निहुराएँ । कुकुर पुज्छर हल्लाउँदै बजैको वरिपरि धुम्न थाल्यो । बजै त पट्केला झैं गर्न थालिन् । छैन रक्सी–सक्सी…† म अलिक पछि हटें । भन्दै थिइन्– यति बिहान–बिहानै कुकुरले आची पनि नखाई… रक्सी पिउनुपर्ने । मुरदार!!!!!! । म टवाल्ल … परें । कुकुर भुक्यो । म तर्सें । पैसा कहिले दिने होइन ? बजै मुरमुरिँदै दैलो जोडले लगाइन् ।
म बहिरै उभिरहे । रक्सी नली घर गयो भने बाउले भकुर्छन् । मन मनै डर लाग्यो । अरूबेला त त्यतिकै भकुर्छन् । घर जानु ठीक ठानिनँ । फनक्क पछाडि फर्कें । रिक्सा आउँदै रहेछ । सोचे, अब रिक्साको पछि झुन्डिन्छु । झुन्डिहालें । खुब मज्जा आयो । अलिक पर पुगेपछि रिक्साको चेनले देब्रे खुट्टाको बूढी औलंो चेप्यो । आईया……..!!!! रिक्सा रोकियो । मर्छेस् कुन बेला । मेरै रिक्सा मात्रै देखिस् । तलाई त म … रिक्सावाला ओर्लिंदै गर्दा म फुत्त भागिहालें । खुला चौरमा आइपुगें । थचक्क बसें ।
थाकेछु । रगत नै आएछ । पाती माडेर लगाइदिए । आ..था..था..,एक छिन पोलो । दाँत किटियो । पानी छाट–छुट पर्न थाल्यो । आकाशमा बिजुली चम्किन लाग्यो । म जुरुक्क उठे । अब घर जानुपर्छ । बाउ पनि रक्सी पिउन बजैकहाँ गए होला । बिस्तारै घर फर्कें । पानीले भिजाइहाल्यो । मेरै उमेरका केटाकेटीहरू पानीमा खुब मजाले उफ्रिरा’ छन् । परैबाट देखें । मलाई नि उफ्रिन मन लाग्यो । कमिज खोल्दै गर्दा ढाडमा चिलायो ।
मज्जाले कनाएँ । नङमा मैलो टाँसिएर आयो । नाकको छेउमा पुर्याए । ह्वास्स गन्हायो । आङ सिरिंग भो । पानीको थोपा–थोपा मेरो शरीरमा बर्सिदै छ । मस्त पानीमा भिजें । शरीरका रौं–रांैमा पानीले चुम्दै छ । म न्यानोपनको महसुस गर्दै छु । शरीर पूरै भिज्यो । एकैछिनमा पानी रोकियो । मलाई बेस्सरी रिस उठ्यो । म सीधै घर आएँ । कमिज बिर्सेछु । अलिकति सरम लाग्यो । घरको आँगनमा त मान्छेहरूको भीड पो छ है । म छक्क परे । डर लाग्यो । ल्या….अ..!!!!जिब्रो मुख बहिरै निस्क्यो । मलाई खोज्दै रहेछन जस्तो लाग्यो । दातले जिब्रोमा टोक्यो । पल्याक–पुलुक वरिपरि हेरें । आँखा यता उता डुलाए । भीड नजिक गएँ ।
भीडमा मान्छेहरू भन्दै थिए– ‘रक्सी धेरै पिएछ ।’ रक्सीले मुटु नै फुटेछ । एउटी दुब्ली आईमाई लामो श्वास लिँदै बोलिन् । कुरा जोड्दै थिए– ‘के थरी रहेछ ?’ मुखामुख गर्दै थिए । मैले चुपचाप मान्छेहरू कुरा सुन्दै गर्दा आमा चिच्याएर रोएको आवाज कानमै आयो । दगुरेर…. आमा छेउ पुगे । आमाले देखिहालिन् । च्याप्प अँगालोमा कसिन् । सुँक्क–सुँक्क गर्दै रुन थालिन् ।
के भो आमा ? सोध्दै गर्दा भुइँमा हेरिन् । बाउ मरेछन् । मलाई बजैदेखि रिस उठ्यो । बाउको ओखती रक्सी थियो । एक पाना दे’को भा’ के बिग्रिन्थ्यो ? मनमनै बजैलाई सरापें । बाउको अनुहारमा पुलुक्क हेरें । मुखमा खुनका धब्बा र टाटाहरू थिए । मेरा आँखाहरू टिलपिल भए । बाउलाई खुब सम्झें । राति–राति गीत गाउँथे । त्यही गीत, ‘आजै हाँसौं समयले भोलि रुवाउन सक्छ, …..बरु रित्तो होस् जन्दिगी माया साच्नु छ आज ।’ लामो सुस्केरा फेरें ।
मान्छेहरूको भिड हट्दै पातलो भैसक्यो । आमा भन्दै थिइन्– ‘लौन मद्दत गर लास उठाउन ?’ फाट्टफुट्ट मान्छेहरू मात्र छन । ती पनि बिचरा † आफ्नो सन्तान पनि छैन रहेछ भन्दै आ–आफ्नो बाटो लागे । भरियाहरू आउँदै रहेछन् । आमाले बिन्ती गरिन् । नाकको फुली फुकाल्दै भरियाहरूलाई दिइन् । भरियाहरूले बाउलाई बोकेर लगे । खै कता लगे, पत्तै पाइन । म घरभित्र स्वाट्ट छिरे । बाउ सुत्ने खाटमा पल्टें । हनहन्ती ज्वरो आयो । म सुतिरहेको थिएँ । आमाले टाउकोमा पानीपट्टी गर्दै थिइन । बजियालाई!! ज्वरो आएछ । म बिस्तारै निदाएँ । केही सन्चोजस्तो भो ।
म बिउँझेछु । आमा निधारमा भिस लगाउँदै रहिछन् । आमाले सोधिन्– भोक लाग्यो ? अँ !! लाग्यो । के खान्छस् ? गिलो भात! आमा भान्सा कोठाभित्र पसिन् । तातो पानी मात्रै लिएर आइन् । मेरो मुखबाट र्याल आयो । पानी पिउँदै गर, म श्रेष्ठको दुकानबाट चामल लिएर आउँछु । मेरो मुख सुक्यो । पानी घट–घट पिएँ । फेरि सुतें । भोकले भुँडी करायो । फेरि पानी पिएँ । दैलोमा हेरे । अहँ, आमा आइनन् । उठेर बसें । रिंगटा लाग्यो । शरीरको हड्डी गलेर आयो ।
आँखा भासिएलाझैं भो । साँझ झपक्कै पर्यो । आमा आइन् तर रित्तै आइन् । आमाको आँखा डम्म सुन्निएका थिए । पिलपिल आँसुले भरिएका थिए । मेरै छेउमा थचक्क बसिन् । हातले मेरो निधार छामिन् । बाँकी दिएन श्रेष्ठले । पहिलेको बाँकी धेरै रहेछ । तेरो बाउले पनि पैसा लिएका रहेछन् । लामो सास फेर्दै आमा बोलिन् । मेरो भोक मरिसकेको थियो । भैगो आमा † भोक लागेको छैन ।
मगर्नी बजैलाई पछुतो भएछ । बाउ मरेको सुनिछन् । हातमा रक्सी बोकेर टुपुल्क आइपुगिन् । मलाई चिथोर्न मन लाग्यो । बजैको पनि आँखामा आँसु देखें । आमाले बजैको हातबाट रक्सी खोसेर स्वाट्टै पिइन् । बजै अलमल्ल परिन् । बजै भन्दै थिइन् । पिर नली बा!!!के गर्छेस् त ? तेरो पुर्पुरोमा यस्तै लेखेको रहेछ । जीवन साँच्चै एउटा अजीव घाउ रहेछ । कैयांै यात्रा गर्दा पनि घाउ निको नहुने ।
मेरो दुनियामा छोराबाहेक कोही रहेन । आमा फेरी भक्कानेर रून थालिन् । बजैले आमालाई छातीमै टाँसिन् । मलाई पनि बजैको माया लाग्यो । आमा भन्दै थिइन– ‘ऊ त मरें, मरे हामीलाई पनि मुत्युसरह बनाएर मरें । मन भित्रका ज्वालाहरू खपी–खपी जबर्दस्ती ओठमा हाँसो भर्नुपर्ने । जति नै भाग्न खोजे पनि गरिबीले कहिल्यै छोडेन । श्रेष्ठले पनि पत्याएन । एक गेडा अन्न छैन ।
आज जसोतसो बित्ला, फेरी भोलिको दिनले पिरल्छ । बजै† मलाई मर्न मन छ!!!! मैले सबै सुनिरहें । मर्ने कुरा गर्नु हुन्न । सबै ठिक हुन्छ । बजैले आमालाई सुमसुम्याउँदै गइन् । आमा घोप्टो परिन् । आमा! बस्दै गर है, म पाइखाना जान्छु । आमा चुपचाप मौन थिइन । ज्वरोले गर्दा जीउ हुर्रियो । म सीधै श्रेष्ठको दुकान गएँ । रिसले र भोकले बाटामा केही देखिनँ । श्रेष्ठको दुकान नजिक पुगे । श्रेष्ठलाई हेरे । दुकान बन्द गर्न लागेको रहेछ । म ठिंग बाहिर उभिएँ । चामल जोख्दै रहेछन् ।
मलाई एकदम कन्सिरी तातिसकेको थियो । एक पाना रक्सी किन्न पैसा नभएकै कारण बाउ मरे । खानाका लागि एक गेडा चामलका लागि पनि पैसा नै चाहिन्ने । सोचें, पैसा नै चोर्छु । स्वाट भित्र पसें । पैसाको बाकस बोकेर भागिहालें । आट पनि कसरी आयो । म छक्क पर्छु । चोर …. चोर भन्दै गरेको मधुरो आवाज मात्रा सुने ।
पछाडि पटक्कै फर्किनँ । भाग्दा–भाग्दै घर आइपुगें । दैलो खुल्लै थियो । दैलैबाट आमालाई बोलाए । आमा…. !! आमा…. !!!! आमा बोलिनन् । आमा झुन्डिछन् । सेतो पिँmज मुखबाट भुइँमा तप– तप चुहिँदै थियो । हातबाट पैसाको बाकस भुइँमा खस्यो । भुइँभरि पैसा छरिए.. । श्रेष्ठ र पुलिस घरभित्र पसे । म रुन थालें । श्रेष्ठ पैसा बटुल्न थालें । पुलिसले मलाई समात्यो ।
(स्रोत : न्यूजअभियान डट कम डट एनपी)