कविता : खाडल

~टीका ‘भाइ’~tika-bhai

एउटै शरीर
उसको र मेरो पनि छ
त्यो शरीर जीवनको महक बोकेर हिड्छ
यो शरीर याचनाको दुर्गन्ध बोकेर हिड्छ
त्यो शरीर जसको एक- एक पाइला इतिहास बोकेर हिड्छ
यो शरीर छ जो कि प्रत्येक पाइला मेटिएको इतिहास भएर हिड्छ
उसको प्रत्येक गम्भिरता र मुस्कान एक महान मुद्दा हुन्छ
यसको एउटै मलिन पुकार, विश्वलाई आतंकी आहट हुन्छ
माँझमा छ युगको महान खाडल
पारी मालिक – वारी दासहरू छन्

एक जोर आँखा
उसको पनि , मेरो पनि छ
त्यो आँखा जो हिमाल हेरेर चकित छ
यो आँखा त्यै हिमाल हेरेर थकित छ
त्यो हेराई फुलमा मुस्कान भेट्छ र आनन्दित छ
यो हेराई फुलमा पनि आतंक देख्छ र ससंकित छ
माँझमा छ महान खाडल
पारी राजा – वारी प्रजा छ।

शान्तिको जीवन
शान्तिको सपना
उसको जस्तै मेरो पनि छ
उसलाई लाग्छ शान्ति भोकोहरूको भोकले तिर्नुपर्छ
मलाई लाग्छ शान्ति समानताको सुयोगले कोर्नुपर्छ
उसले सन्त्रासमा पनि शान्ति देख्नसक्छ
म शान्तिमा सन्त्रास देखेर आतंकित छु
माँझमा छ युगको कालो खाडल
पारी भोजन – वारी भोको आर्तनादहरू छ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.