कविता : ढडिया र बा

~बिना थिङ तामाङ~Bina Theeng Tamang SUNGAVA

एउटा रुटिन….
वर्षामासको प्रत्येक बिहान
बा रुंग्नुहुन्थ्यो ढडियामा
– माछा
जसै उर्लेर आउँथ्यो राप्ती, बर्षामा
उसै उर्लिन्थ्यो खुसी हाम्रो घरमा
किनकी ती झरिला बिहानहरुमा
बा थाप्नुहुन्थ्यो ढडिया
खेतका गह्राहरुमा
र जोहो गर्नुहुन्थ्यो एक छाक तरकारी

कहिलेकाहीँ नारायणी असाध्यै रिसाई भने
बा हाँस्नुहुन्थ्यो बेस्सरी गालामा खोपिल्टा पर्नेगरि
र बोक्नुहुन्थ्यो
आमाले टाल्नुभएको नाइलनको जाल
पुग्नुहुन्थ्यो कररा खोलाको किनारमा
लाउनुहुन्थ्यो एकदिने भाग्य
– दाउमा
परिहाल्यो माछा भने
हाँस्नुहुन्थ्यो भाइलाई सम्झेर
जो स्कुल जानु अगाडि
खान चाहन्थ्यो माछा र भात
परेन भने पनि हाँस्नुहुन्थ्यो
आफ्नो भाग्यलाइ सम्झेर
हाँस्न कसैले सिकोस बाबाट
बा भन्नुहुन्थ्यो
बाबै, जंगली च्याउ नखाओ
देखेनौ राममायाका सन्तान सब्बै मासिएका ?

म होउञ्जेल
ढुक्क हुनु
म थापिरहनेछु ढडिया
पारिरहनेछु माछा
आधा नै सही
भरिरहनेछु तिमीहरुको पेट
म होउञ्जेल सुर्ता नलिनू
वास्तवमै
मेरा बा
झरिला बिहानहरुमा
थाप्नुहुन्थ्यो ढडिया
खेतका गह्राहरुमा
र जोहो गर्नुहुन्थ्यो
एक छाक तरकारी

बिचरा,
मेरा बा आफै चै
पत्तै नपाई
जीन्दगीको ढडियामा सुलुत्तै परेर
आजीवन
पाकिरहनुभो
पीरको भुक्रामा |

(स्रोत : शब्दशिखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.