~लक्ष्मी प्रसाद देवकोटा~
पिन्चे, लुत्याहा, परेवा–छाती
छाडा,
पुट्ट, सिँगाने, भुस्याहा साथी,
काँढा !
घ्यारघ्यार बिरालोको घाँटी,
जाँडा ।
यही न हाम्रो भविष्य सुई हो !
टाढा !
देवदूतले अभिशापित भुइँ हो,
गाढा,
ईश्वरलाई दुःख दिन दुई छन्,
राँडा ।
चित्र रङ्गीन उज्याला हेर्दछु,
बाल !
स्याउ फलेका, अनार फुटेका
लाल !
कसरी आउला नवीन सुनौला
छाल ?
यस्तो यत्रो देवदूतको
हेला ?
यो लापर्वाही, यो लाचारी,
मेला ?
“आउँदैनौँ” भने ती यसतिर फेरि
जेलाँ ?
सुन्दर झर्ने कसरी असुन्दर
भेला ?