~गोविन्ददेव आचार्य~
■ छन्द :- स्रग्धरा
१
जोजो लाभार्थमा नै अगलबगलमा आउँछन्-ती छुरा हुन्
नाता वा मित्रताका दृढ परिचय ती- भावनाका कुरा हुन्
राम्रो साथीत्व हेर्ने गणित र गुणको चिन्ह नै एकता हो
ढर्रा वा बाध्यतामा मिलन यदि भए मात्र त्यो “मूत्रता” हो ।।
२
केही बाधाविना नै प्रगतिपथ छुने लाख गर्छन् जमर्को
पन्छायो एक बाधा निमिषभर गयो शीघ्र तेर्सिन्छ अर्को
स्रष्टाको जादुविद्या कुटिल चटक यो खेल हो जग्जगी हो
मर्दै बाँचेर रम्ने भ्रमजडित झुटो स्वप्न नै जिन्दगी हो ।।
■ छन्द :- तोटक
१
प्रभु यो भवसागर पार तरूँ
जपकै नदले मन शुद्ध गरूँ
शिव नाम भजूँ हरि-राम भनूँ
प्रभुकै पदमा अव लीन बनूँ ।।
२
प्रभु यौवन यो वन-तुल्य भयो
बल, जाँगर सागर-भित्र गयो
अब मानवमा नव सोच भर
सब कौरवका रव नष्ट गर ।।
■ छन्द :- इन्द्रवज्रा
यो जिन्दगी जीर्ण बुटो रहेछ
मानौ जली शेष ठुटो रहेछ
श्रीकृष्ण नै हुन् परमार्थ-दाता
ब्रह्माण्ड यो व्यर्थ झुटो रहेछ ।।
■ छन्द :- शार्दूलविक्रीडित
१
चाहिन्नन् उपहार वा नगदका बेकार पोकाहरू
तिम्रा कृष्णसमान आगमनले चोखिन्छ ढोका बरु
आओ आसिक पाउने मन भए माया लिई ब्रह्ममा
के थाहा र पुगिन्छ को पछि कहाँ अर्को दसैँ-सम्ममा ??
२
यो सञ्जाल चहार्न बन्द गरिए साथी बिरानो हुने
खोली नेट सदैव झुन्डिरहँदा एक्ली पियारी रुने
किंकर्तव्यविमूढ झैँ मन भयो यो बिघ्न केले हरूँ
हे हे कृष्ण ! चटक्क फेसबुक या प्यारी भुलूँ, के गरूँ ??
३
खाऔँ टन्न बसेर भोजन सखी हेरेर आफ्नो बुता
आआफ्नै क्षमता-मुताबिक पुजौँ देवी तथा देउता
“टीका”मा म घुसारिदिन्छु जमरा पार्दै पहेँलो शिर
लैजाऊ वर माग्न माइत ! पिता-माता भएको तिर !!
४
घुम्छौ देश-विदेशमा ! भन नयाँ के योग्य सन्देश छन् ?
ती आवेश, निवेशमा हित कुरा केके समावेश छन् ?
मोटा मोज गरी-गरी महलमा भर्छन् सुरा-सागरी
दुब्लो जोत्छ मरीमरी ! किन यतै उठ्छन् सयौँ भ्रामरी ?
५
गोविन्दे ! तँ सदैव फेसबुकमा दुष्कर्म गर्छस् किन ?
नाङ्गा तस्विर, खेदका कलुषले भित्ता सिँगार्छस् किन ?
लामोसम्म सँगै हुने मन भए जोगा स्वयम् टाउको
यस्तै कर्तुत फेरि भेटिनगए देख्लास् बिहे बाबुको !!
६
आफ्नो होइन देह यो ! वृषभ झैँ कुर्लेर डुल्ने किन
मर्दा लान सकिन्न दौलत मुठा ! ज्यादा बटुल्ने किन ?
चाहे इन्द्र र चन्द्र हून् ! नगदको कालै छ चल्ती यहाँ
कात्रो मात्र रहेछ शुद्ध कपडा ! देखिन्न खल्ती त्यहाँ !!
७
फूलै मात्र सुँघेर हिँड्छ जसले ऊ स्वप्नको दास हो
काँडादेखि डरेर भाग्छ जन जो- ऊ “छेरुवा लास” हो
ज्ञानी मानव रम्दछन् समयको चोखो नदीमा बगी
काँडा-फूल, विलाप-हर्षबिचमै भेटिन्छ यो जिन्दगी ।।
८
किंकर्तव्यविमूढ छन् प्रभु सबै बच्चे-भुरे आदत
आफैँ टाँक, इँजार खोल्न नसकी पुग्छन् सबै भारत
लाहातुल्य छ संविधान बिचरो आगो बल्यो युद्धको
यो निर्धो गणतन्त्र हाय ! कसरी कोर्ला ध्वजा बुद्धको ?
९
कोही नग्न बनेर हिँड्नु नपरोस् मैले लुगा लाउँदा
दोस्रो खिन्न भएर बस्नु नपरोस् मैले खुसी पाउँदा
मेरो ब्रह्म कदापि माग नगरोस् माला र दर्जाहरू
एकै लक्ष्य छ-“देहमा म नहुँदा सम्झेर रोऊन् अरू ।।
१०
केके कारण उम्लिए रण तथा दुर्वाच्य उच्चारण ?
केले भक्षण हुन्छ शिक्षण यहाँ ! बाङ्गा भए लक्षण ?
मिथ्या काम र दामका मत भुली जो लाग्छ निष्काममा
त्यो आराम, विरामबाट छुटिई अल्पिन्छ श्रीराममा !!
११
भित्ताको पनि कान हुन्छ कलिमा बोल्नू नसुन्ने गरी
हेरी गोलमडोल मौन रहनू ढुङ्गा र माटोसरि
भाषा, राष्ट्रियता बलिष्ठ गणको पेवा बनून् बाबुकै
बेचून् या त गिँडेर भाजन गरून् चाहे गरून् जेसुकै ।।
१२
यी बेकार सिकारका रकमकै भाका र संस्कार छन्
केही चार लुचा विचार बुझिने लाचार सञ्चार छन्
देऊ जाँगर राम लौ गरम यी मासी दशा सागर
पाऊँ मात र घात सोत्तर हटी अध्यात्मको अत्तर ।।
१३
केको निर्मल बन्दथ्यो मल मिसी मोल्दै गए चामल ?
प्यारो मादल उठ्छ के कुदलका बढ्दै गए बादल
कोदो, फापर मासिँदै पर पुगे भित्रे “नयाँ बम्पर”
मान्छेका दरभाउ आदर घटी बन्दै गए बाँदर ।।
१४
अन्तै सार असार यो जगतमा आशा र के सार छ ?
खै आहार-विहार यो जनममा ! “हाहा” र संहार छ
खोजे नाम अनामले तर कतै खै नाम ? बेनाम छन्
देऊ राम विराम ! यो बगरमा सङ्ग्राम सङ्ग्राम छन् !!
१५
अल्छी, नास्तिक पात्र, कामठगुवा “गोविन्द” हे पातकी
आफ्नो ज्यान “मुहारपुस्तक”तिरै राख्ने भइस् बन्धकी
छाडी चञ्चलता, अकार्थ सपना पारेर आजै धुजा
सारा तिक्त विचार ती विगतका ! श्री कृष्णजीमा बुझा !!
१६
नाना नूतन नामका नियममा नाच्छन् निकम्मा नर
आफ्नै आदत आलुतुल्य उनका आशक्तिका अक्षर
माया, मेल-मिलाप, मानक मुना मास्नेहरू मासियून्
भाषा-भक्षक “भूत”, भाइरसका भुल्काहरू भासियून् ।।
१७
ङ्गास्नान गरेर दत्तिवनका टोक्दै बगाऊ मुठा
सारा क्लेश पखाल वर्षभरिका फाली “नराम्रा झुटा”
ल्याओस् लैङ्गिक एकता सुगमता यो तीजको पञ्चमी
आजैबाट कदापि हेर्न नपरोस् सद्भावनाको कमी ।।
१८
आँधी-ज्वार बनाउँछन् कुन यहाँ, भूकम्पका बाबु को ?
को हुन् हर्ष-विलाप सर्जक पिता, जन्माउँछन् आँसु को ?
पृथ्वी, व्योम र जीव, तत्व सब यी झुक्याउने नाम हुन्
सारा सृष्टि-विनाश वा प्रलयका साक्षी उनै राम हुन् ।।
१९
बस्नै पर्दछ मासुमा नङ मिली शोभा दिई हातमा
खुल्नै पर्दछ इन्दुले तम चिरी साक्षी बनी रातमा
थोपाका बिच मित्रता दृढ भई बन्छन् महासागर
एक्लै बाँच्छु भनेर बन्छ कसरी यो जिन्दगी सुन्दर ??
२०
इच्छाले व्रत बस्नुपर्दछ सखी ! आफ्नै प्रथा-रीतमा
नाच्नू छम्छम हर्ष-रञ्जन गरी नेपालकै गीतमा
धोएका फलफूल सेवन गरे मिल्ला नयाँ शक्ति झन्
गोडाको जल खानुहुन्न नङमा माटो र फोहोर छन् ।।