समीक्षा : अङ्ग्रेजीमा नेपाली साहित्य : एक सर्वेक्षण

~महेश पौड्याल~Mahesh Paudyal

यस  आलेखले पहिले नेपाली लेखकहरूले सिधै अङ्ग्रेजीमा लेखेका, तथा नेपालीमा लेखिएर अङ्ग्रेजी भाषाका अनुवाद गरिएका साहित्यको सङ्ख्यात्मक चर्चा गर्नेछ । यसपछि नेपाली साहित्यको वैश्विक उपस्थिति अझै पनि सन्तोषजनक नहुनुका पछाडिका केही सम्भावित कारणहरूको विश्लेषण गर्नेछ । अन्त्यमा, यस आलेखले नेपाली साहित्यको–विशेष गरी नेपाली कविताको–अन्तर्राष्ट्रियकरणको एक मार्गचित्र प्रस्तावित गर्नेछ, यो आशाका साथ, कि कविताको सन्दर्भमा प्रस्तावित मार्गचित्र उचित ठहरिएमा यही मार्गचित्र साहित्यका अन्य विधाको हकमा पनि लागु हुनसक्ने छ ।

सन् १६६० मा अङ्ग्रेजहरूले उपनिवेशको उद्देश्यले पहिलोपटक अमेरिकाको भर्जिनियामा पाइलो टेकेपछि विश्वमा फैलन लागेको अङ्ग्रेजी भाषा आज विश्वको साझा भाषा बन्न पुगेको छ । टेरी इगल्टनले भनेजस्तो, यो भाषा एउटा शक्ति संकलन र त्यसमार्फत वैचारिक उपनिवेशका लागि विकास गरिएको भाषा हो (२००४) । अङ्ग्रेजहरूले प्रत्यक्ष शासन छोडेर गए पनि अङ्ग्रेजी भाषामार्फत विश्वलाई  आझै “इङ्लैण्ड अफ द माइण्ड” अर्थात् भच्र्युअल इङ्लैण्ड नै बनाएर राख्न चाहेको कुरा नवसाम्राज्यवादका आलोचकहरू स्वीकार गर्छन् ।

तर भाषावैज्ञानिकहरू ठान्छन्, अङ्ग्रेजकै मुलुकमा जन्मिए पनि अङ्ग्रेजी भाषाले विश्वका धेरैवटा भाषाहरूबाट शब्दहरू सापट ल्याउने हुनाले यो भाषा कसैको पेवा होइन, बरु सबैको साझा भाषा हो, र यसमाथि सबैको उत्तिकै अधिकार छ । हुन पनि आज विश्वमा आफूलाई स्थापित गर्नलाई अङ्ग्रेजी सबैभन्दा सशक्त माध्यम बनेको छ । र, यस भाषालाई दमनकारीकै भाषा अर्थात् बेल हुकका शब्दमा भन्ने हो भने, “ओप्रेसर्स लेङ्वेज” भन्ने हो भने पनि त्यस दमनको प्रतिशोधको भाषा पनि यही अङ्ग्रेजी हो ।

विश्वका अधिकांश उत्कृष्ट साहित्य र ज्ञान अङ्ग्रेजी भाषामै संरक्षित हुनुले पनि अङ्ग्रेजी भाषाको वैश्विक महत्ता स्वतः सिद्ध हुन्छ । त्यसैले रसियाली, फ्रेन्च र जर्मनहरूले गरेजस्तो हाम्रो उत्कृष्ट साहित्यलाई अनुवादमार्फन अङ्ग्रेजी भाषामा लानु, कि धेरै भारतीय र अफ्रिकी मूलका लेखकरूले गरेजस्तो सिधै अङ्ग्रेजीमा लेख्नु अनिवार्य भएको छ । हामीले देखेकै छौं, उपनिवेशवादको युग सकिएको आधा शताब्दी बित्दा–नबित्दा भारतीय र अफ्रिकी साहित्यले कसरी विश्वसाहित्यको आकाशमा आफूलाई स्थापित गरिसकेका छन् ।

नेपालमा अङ्ग्रेजी भाषाको औपचारिक शिक्षा शुरु भएको पनि एक शताब्दी भन्दा बढी भयो । पद्म देवकोटा भन्छन्, “भारतबाट १९८१ सालमा नेपालको भूमिमा अङ्ग्रेजी शिक्षा भित्र्याइएको हो” (१२९) । आज, नेपालभित्र र बाहिर पढेका धेरै नेपाली नागरिक, आप्रवासी र डायस्पोरहरू अङ्ग्रेजी भाषाको राम्रो उपयोग गर्नसक्ने भइसकेका छन् । फलस्वरुप, अनुवाद र मौलिक लेखन दुवै माध्यमबाट नेपालीहरू आफ्नो साहित्यलाई अङ्ग्रेजीमा लगिरहेका छन् ।

मौलिक लेखन

नेपालीहरूले सिधै अङ्ग्रेजीमा साहित्य लेख्ने क्रम कविताबाट शुरु भएको पाइन्छ । लक्ष्मीप्रसाद देवकोटाले १९५० को दशकमा आफ्नै महाकाव्य शाकुन्तल (१९४५) सोनेटहरूको संकलन बापु एण्ड अदर सनेट्स (जुन पचासको दशकमा लेखिए पनि २००६ मा छापियो) साथै उनका ५९ वटा निबन्ध, द विण्डोज नामक नाटक र केही फुटकर कविताको अनुवाद गरेर यस क्रमको सूत्रपात गरेका हुन् ।

मणि दीक्षितको उपन्यास द रेड टेम्पल (१९९७) अहिलेसम्मको अनुसन्धानले पुष्टी गरेको, नेपालीहरूले अङ्ग्रेजीमा लेखेको पहिलो अङ्ग्रेजी उपन्यास हो । साठीको दशकमा लेखन प्रारम्भ गरेका दीक्षितका आधा दर्जनजति अङ्ग्रेजी उपन्यासहरू प्रकाशित छन् । सत्तरीको दशकमा नेपालीहरूले खासै अङ्ग्रेजीमा कलम चलाएको पाइँदैन । तर नब्बेको दशकको उदयसँगै नेपालीहरू अङ्ग्रेजी लेखनमा उद्यत भएर आएको पाइन्छ ।

पद्म देवकोटा, अभि सुवेदी, दिलबहादुर गुरुङ्, टेकबहादुर कार्की, लक्ष्मीदेवी राजभण्डारी र मनि दीक्षितजस्ता लेखकका अङ्ग्रेजी कृतिले यस बेलाको नेपाली–अङ्ग्रेजी साहित्यलाई टेवा पु¥याएको देखिन्छ ।

प्रदीप रानाको निबन्ध सङ्ग्रह एम्टी टक्स्, कलेक्टेड पोएप्स (१९९१), टेकबहादुर कार्कीको एन इन्टेलेक्च्युल्स बर्डन एण्ड अदर एसेज (१९९३), राज शेष दजीको लक्ष्मीज होम (१९९३), सञ्जीव उप्रेतीको पोटाटो, बटर एण्ड कफी (१९९३), अभि सुवेदीको चेसिङ् ड्रिम्स (१९९७), लक्ष्मीदेवी राजभण्डारीको यु माई अल र अन्टिल द ओसन ब्लेड (१९९७), संगीता रायमाझीको अल मदर्सस आर वर्किङ् मदर्स (२००५) नवीन छेत्रीको जिरो पेसन,  (२००३) राजु महाराजको हरेसमेण्ट एण्ड अदर पोएम्स, तारानाथ शर्माको टु द बेटलफिल्ड ओन द एलफेन्ट  (१९९९) बन्दना श्रेष्ठको डन, गोपाल तेगीको डेथ अफ ए नर्स  छापिएका छन् । १९९२ मा डी.बी. गुरुङ्ले ह्विस्पर्स शीर्षकको कवितासङ्ग्रह प्रकाशित गरे ।

१९९६ मा अभि सुवेदीको चेसिङ् ड्रीम्स कविता सङ्ग्रह छापियो । त्यसको दुई वर्षपछि टेकबहादुर कार्कीको एनोनिमस भादर एण्ड अदर पोयम्स भन्ने कवितासंग्रह बजारमा आए । आरती दाहालले १९९७ मा ए रोज फर माम्मा निकालिन् । १९९९ मा नेपालमा भोइसेस फ्रम नेपाल नामक कविताग्रन्थ छापियो, जसमा लक्ष्मीप्रसाद देवकोटादेखि लिएर आरती दाहालसम्मका सात कविहरुका कविता छापिए । यसै दशकमा लक्ष्मीदेवी राजभण्डारीका चार पुस्तक निस्किए । यसै बेला मणि दीक्षितको नन्सेन्स भर्सेस फ्रम नेपाल पनि छापियो ।

पद्मप्रसाद देवकोटाको मेडनेस अफ ए सोर्ट  १९९९ मा निस्किएको हो । यसै साल दिलबहादुर गुरुङको इको आफ द हिमालय  पनि निस्कियो । यस शताब्दीको शुरुसँगै फुटकर रुपमै भए पनि पद्म देवकोटा, श्रीधर लोहन, पल्लव रन्जन, युयुत्सु आर.डी.शर्मा, होमराज आचार्य, गोपी सापकोटा, सचेन मानन्धर, कुमार श्रेष्ठजस्ता लेखकका कृतिले यो फाँट अझ उर्वर बन्दै गयो ।

पद्म देवकोटाको हरिश्चन्द्र विथ डन साइकल एण्ड अदर पोयम्स्, (२००६), ऋषिकेश उपाध्यायको इन लभ अफ अमेरिको एन्ड अदर अब्जर्वेशन (२००६), खेम अर्यालको काठमाडौं सागा एण्ड अदर पोएम्स (२००४), बसन्त लोहनीको भोइड (२००९) । डी.बी. गुरुङको स्लीप वाक (२००३), स्मृति जैसवाल र प्रतिमा तुलाधरको फ्लाइट अफ फेन्टेजी आदि कविताकृति यस समयका महत्वपूर्ण ग्रन्थहरू हुन् । पद्म देवकोटाको ए पोण्ड अफ स्वान्स एण्ड अदर एसेज  (२००४) अङ्ग्रेजीमा निस्किएको एक महत्वपूर्ण निबन्ध कृति हो ।

२००२ मा मार्टिन चौतारीले दीपक थापा र केसाङ सेतेनको सम्पादनमा द अदर भोइसेस भन्ने कृति निकाल्यो, जसमा विभिन्न विधामा नेपाली लेखकहरुका अङ्ग्रेजी आलेखहरु  आए, जसमा मणि दीक्षित, सुषमा जोशी, पिटर कार्थक, सुनिल नेपाली, ग्रेटा राणा, मञ्जुश्री थापा, केसाङ् सेतेन र सम्राट उपाध्यायका कथा र पद्म देवकोटा, सेरिङ् वाङ्पो, दिलबहादुर गुरुङ, मञ्जु काँचुली, टेकबहादुर कार्की, केशर लाल, ग्रेटा राणा, युयुत्सु आर डी शर्मा र अभि सुवेदी लगायतका कविका कविता समाविष्ट छन् । पद्म देवकोटाको ए ब्रेथ इन द वाइल्डरनेस (२०११) र अमर श्रेष्ठको द डार्क मर्मेड (२००८) पनि महत्वपूर्ण किताब हो ।
यो क्रम आजपर्यन्त जारी छ । नेपाली राइटर्स एसोसिएसन इन इङ्लिसले अर्धवार्षिक रुपमा छाप्दै आएको आफ्नो जर्नलले अफ नेप्लिज क्ले ले २० अङक् पुरा गरेको छ । यसले छापेका बीस अङ्कमा दर्जनौं कविता, कथा, निबन्ध, प्रबन्ध, शोध र नाटक प्रकाशित गरेको छ । यसले मासिक रुपमा अङ्ग्रेजी कवितावाचन पनि गर्दै आएको छ । र, यो क्रम आजपर्यन्त जारी छ ।

यसै संस्थाले खेम अर्यालको काठमाण्डु सागा एण्ड अदर पोएम्स, हरिस अधिकारीको फ्लोइङ् विथ अ रिभर, अम्माराज जोशीको मेन एण्ड रिभर, प्रकाश सुवेदीको स्टार्स एण्ड फायरफ्लाइ, तथा छ जना कविहरुको संयुक्त कविताकृति सिक्स स्ट्रिङ् लगायतका किताब पनि छापिसकेको छ । यसैगरी अजित बराल र सुषमा तुलाधरले सम्पादन गरेका न्यू नेपाल, न्यू भोइसेस कथा सङ्ग्रह (रत्न, २००८), अर्चना थापाको संकलन र सम्पादनका प्रकाशित टेलिङ् अ टेल (पैरवी, २०१०), दिपेश पराजुलीको इसेन्स (२०११), दिपेश पराजुलीकै निबन्ध सङ्ग्रह अ वन्डरर विदिन (२००७), सुषमा जोशीका सङ्ग्रह एण्ड अफ द वल्र्ड (संसार बुक्स २०११) ।

यसै गरी रामेश्वर बरालको बफेल्लो एण्ड बोइङ्, भाग १ र २ (श्यामा बराल २००९), मोहनबहादुर कायस्थको कवितासङ्ग्रह लुक बेक इन लिजर (निमाया कायस्थ २००८), कायस्थकै कथा सङ्ग्रह ए बुक अन द टेबल (रत्न, २०११), रवि थपलियाको इकोस आफ पेन (साझा, २००५), प्रकाश गुरुङको मोर्टल एट्रेक्सन्स, ए सिम्प्लेटन्स ओडेसी (बुक फेथ, १९९७) ऋचा भट्टराईको फिप्टिन एण्ड थ्री क्वार्टर्रस् (२०१२) गणेश ढुङ्गानाको कथा सङ्ग्रह भर्टेक्स (युथ नेटवर्क धादिङ् २०११) र निबन्ध–सङ्ग्रह डेस्टिनेशन (केटाकेटी मिडिया २०१२), महेश पौड्यालको उपन्यास लिटल लभर्स, (केटाकेटी मीडिया २०१२) ईश्वरप्रसाद कँडेलको कवितासङ्ग्रह बाया (भिलेज अफ इङ्लिश राइटर्स, २०१३) इकोज (२०१५) आदि थुप्रै किताब बजारमा आए । यसै गरी सञ्जीव उप्रेतीको ए डिफरेन्ट कल्टिभेजसको मेज (नाटक, अक्षर प्रकाशन, २०१६) आदि महत्वपूर्ण किताब हुन् ।

बालसाहित्यमा सिधै अङ्ग्रेजीमा लेखिएका किताबहरूमा ओस्कार सापकोटा को जेम्स विल्सन एण्ड द ट्रेजर अफ डार्कनेस (विवेश सृजनशील २००८) र त्यसपछि लगत्तै छापिएका उनकै जेम्स विल्सन एण्ड द डङगन नाइट र जेम्स विल्सन एण्ड द मेजिकल लाइट  र ज्लाला ढकालको नेचर (२०१३) महत्वपूर्ण छन् ।
नेपाल बाहिर अङ्ग्रेजीमा छापिएको कृतिको सङ्ख्या पनि बढेकै छ ।

२००१ मा सम्राट उपाध्यायको एरेष्टिङ गड इन काठमाण्डू (हाउटोन मिफिन) पश्चिममा छापिएको पहिलो नेपाली लेखकको किताब हो भनिएको छ । त्यसै साल, मञ्जुश्री थापाको ट्युटर अफ हिस्ट्री  (पेन्गुइन) पनि प्रकाशित भयो । त्यसपछि सम्राट उपाध्ययको गुरु अफ लभ, रोयल घोष्ट र बुद्धस अर्फन छापिएका छन् भने मञ्जुश्रीका द टिल्ड अर्थ र सिजन्स अफ फ्लाइट प्रकाशित छन् । भारतको आदर्श बुक्सले २००७ मा अम्माराज जोशीको कथा सङ्ग्रह ए नाइट्स ड्रामा छापेको थियो ।

यसैगरी रवि थापाको नथिङ टु डिक्लेयर, डी बी गुरुङ्को ब्रेकिङ् ट्विलाइट (महावीर प्रकाशन, १०१३) विदेशबाट छापिएका महत्वपूर्ण अङ्ग्रेजी किताब हुन् । प्रज्ज्वल पराजुलीको गुर्खास डटर्स लण्डनको क्वेबेक प्रकाशनबाट २०१३ मा निस्कियो र लोकप्रिय पनि बन्यो । बाल लेखकहरू हिमांशु कुँवरको स्नोफल कवितासङ्ग्ह (२०१०) र कलरफुल ब्वाय (२०११) अनुराग लामिछानेको नियात्रा ए बर्डस क्रोनिकल (साङ्ग्रिला, २०१३), अनुकृत लामिछानेको ए बर्ड इन द मेकिङ (साङ्ग्रिला २०१३) पनि आएका छन् ।

अनुवाद

अनुवादको श्रृङ्खला पनि लामै छ । लक्ष्मीप्रसाद देवकोटाबाटै शुरु भएको अनुवादले आज धेरै फड्को मारिसकेको छ । देवकोटाले आफ्नै कृतिहरूको अनुवाद गर्नुका साथै सिद्धिचरण श्रेष्ठ र श्यामदास वैश्णवलगायतका कविता पनि अनुवाद गरेका तथ्याङ्कहरू फेला पर्दछन् ।

२००९ मा उनका कविताको संकलन ल लुनाटक एण्ड अदर पोयम्स निस्कियो । तारानाथ शर्माले धेरै नेपाली कविताको अनुवाद गरेका छन् । पद्म देवकोटाको अनुवादमा नेपाल एकेडेमीले प्रतिनिधि नेपाली कविताको सङ्ग्रह छापेको छ । माइकल हटले द हिमालयन भ्वाइस (१९९३), सम्राट उपाध्याय र मन्जुश्री थापाले अनुवाद गरेको मनाओ सेक्रेट प्लेसेस (२००१) महेश पौड्यालको अनुवादमा ३५४ वटा नेपाली कविताको अनुवाद ग्रन्थ डान्सिङ् सोल आफ माउण्ट एभरेष्ट २००१ मा छापिएको हो ।
अङ्ग्रेजीमा अनुवाद भएर प्रकाशित पनि भएका महत्वपूर्ण कृतिमा २००७ मा चित्तधर हृदयको सुगत सौरभ (ओक्सफोर्ड पब्लिकेशन, २००७), देवकाटाको मुना–मदन (अनु. आनन्द श्रेष्ठ, पिल्ग्रिम्स, १९८७), लीलबहादुर क्षेत्रीको माउन्टेन पेइन्टेढ विथ टर्मरिक (माइकल हट, कोलुम्बिया युनिभर्सिटी प्रेस), बालकृष्ण समको प्रह्लाद, माधवप्रसाद घिमिरेको अश्वतामा, सिद्धिचरणका कविताको सङ्ग्ह अ हेन्डबुक आफ सिद्धिचरणस् भर्जेस, भरत जंगमको द ब्लेक सन, विजय मल्लको कुमारी शोभा,  पारिजातको द ब्लु मिमोसा (टङ्क विलास भार्या), डायमण्ड समशेर राणाको ह्वाइट टाइग, विश्वेश्वरप्रसाद कोइरालाको र नरेन्द्र दाइ (अनु. जयराज आचार्य), उन्नति बोहोरा शीलाको टु फेसेस आफ अ कोइन, गोपाल पराजुलीको डिक्लेरेशन आफ ए न्यू गोड (अनु. गोविन्दराज भट्टराई), आनी छोइङ् डोल्माको (इन द आइस आफ ए फ्लावर), नारायण वाग्लेको पल्पसा केफे, इन्दिरा पर्साइँको द क्याट एण्ड हर हजवेन्ड, कृष्ण प्रसाईँको कवितासङ्ग्रह टाइम अफ्टर सनसेट (अनु. तारानाथ शर्मा), र सन सावर्स (अनु. महेश पौड्याल र मनु मञ्जिल), विश्वम्भर चञ्चलको कथा सङ्ग्रह द वार इज ब्रेकिङ (अनु. महेश पौड्याल । माउण्ट रोजर्स, २०१२), अभि सुवेदीको आफैंले अनुवाद गरेको नाटक सङ्ग्रह पीच ब्लोजोम (भृकुटी, २०११) पनि महत्वपूर्ण किताबहरू हुन् ।

थप पुस्तकमा प्रदीप नेपालको टवेन्टीफर्सस्ट सेन्च्यूरी सुम्निमा (अनु. सुवास घिमिरे, रत्न पुस्तक २००८), विजय मल्लको अनुराधा (अनु. लेरी हार्टसेल, रत्न पुस्तक, २००७), राजेश्वर देवकोटाको द जर्निज एण्ड (अनु.ऋषिकेश उपाध्याय, रत्न पुस्तक २०११) शङ्कर कोइरालाको खैरेनी घाट (अनु. लारी हर्टसेल, १९९६), पद्मावती सिंहको पेरेलेल स्काइ (अनु. अनुराधा शर्मा, २०११), रुद्रराज पाण्डेको रुपमती (अनु. शान्ति मिश्र १९९९), गोविन्दराज भट्टराईको सेक्रेट्स फुटस्टेप्स (अनु. बलराम अधिकारी, ओरिएन्टल, २०१०), गोविन्दराज भट्टराईकै मुग्लान (अनु. लेखनाथ पाठक, ओरिएन्टल, २०१२), ध्रुवचन्द्र गौतमको टेरर अफ फ्लावर (अनु.फिलिप पियर्स २००५), गोविन्द गोठालेको विन्डो आफ द हाउस ओपोजिट (अनु. ल्यारी हार्टसेल, १९९८), दुर्गालाल श्रेष्ठको ट्वीस्ट एण्ड टर्नस (अनु. तीर्थराज तुलाधर, २०००), श्रीलक्ष्मी श्रेष्ठको क्राइ इन द वाइल्डरनेस एण्ड अदर स्टोरिस (अनु. केशर लाल र तेजरत्न कंशाकार, २०११), विश्वेश्वर प्रसाद कोइरालाको फल्टी ग्लासेज (अनु. केशर लाल १९९७), मोमिलाको आउटसाइडर इन द कोर्ट अफ गोड .(अनु. कुमार नगरकोटी २०१०), गोपालप्रसाद रिमालको मसान (अनु. सङ्गीता रायमाझी, २००६) आदि धेरै कृति विपीको आत्मवृत्तान्त (अनु. कनकमणि दीक्षित, २००१), सिद्धिचरण श्रेष्ठको मेमोयर्स आफ जेल (अनु. लक्ष्मी राजभण्डारी), राजेश्वर कार्कीको द लास्ट पेज आफ माइ पोयम्स (अनु. महेश पौड्याल २०१०) कर्ण शाक्यको पेरेडाइज इन आवर वेकयार्ड (अनु. चेल्सी फिस २००९), शम्भु कार्कीको द रेष्टलेस माइन्ड (अनु. महेश पौड्याल २००८), भीष्म उप्रेतीको सी एण्ड अदर पोयम्स (२०११), इकोज आफ लभ (२००९) र बियोन्ड र होली बोर्डर (नियात्रा २०११), दिनेश अधिकारीको मोड आफ लाइफ (अनु. रविन शर्मा, २००९) । बालसाहित्यमा त गनी नसक्नुका कृतिहरू अङ्ग्रेजीमा आइसकेका छन् ।

सापेक्षित विश्लेषण

नेपालीहरू मौलिक रुपमै अङ्ग्रेजीमा लेखेका किताबको यो सङ्ख्या एक आँखीझ्यालमात्रै हो । अनुवाद पनि त्यही हो । यहाँ आकलन गरिएको भन्दा धेरै सङ्ख्यामा नेपाली साहित्य अङ्ग्रेजी उपलब्ध छन् । समय र मेरो ज्ञान र अनुसन्धानको सीमाले मैले यो सूचीलाई यतिमै सीमित राखेको हुँ ।

तर,  यत्रोविधि नेपाली साहित्य अङ्ग्रेजीमा उपलब्ध छ, तर विश्वसाहित्यको आकाशमा नेपाली साहित्य कहाँनिर छ भनेर हेर्दा त्यति उत्साहनक देखिँदैन । विश्वका यत्राविधि विश्वविद्यालयहरूमा साहित्य पढाइन्छ, नेपाली साहित्यको कृति नेपाली विभागबाहेकका विभागहरूमा खासै पढाइँदैन । हामीले शिरीषको फूलको भूतकालीन रटान गरेर आत्मसन्तुष्टि लिइरहनु हुँदैन ।

विश्वमा यति शोध अनुसन्धानहरू हुन्छन्, नेपाल छुटेकै हुन्छ । विश्वभरि यति धेरै नेपाली आप्रवासी र डायस्पोरा छरिएका छन् र धेरै साहित्यिक प्रयास भइरहेको समाचार सुनिन्छ, तर बार्बरा स्टोलर मिलर (१९९४) को “मास्टरवर्कस् अफ एसियन लिटरेचर इन कम्पेरेरिभ पर्सपेक्टिभ” मा नेपालको उपेक्षा भएको छ ।  दक्षिण एसियाली नारीवादी चिन्तनबारे उमा नारायणनले १९९७ निकालेको डिस्लोकेटिङ् कल्चरमा नेपाल कहीँनिर पनि आउँदैन । पल ब्राइनले २००३ मा आधुनिक दक्षिण एसियाली साहित्यबारेको अनुसन्धान कृति प्रकाशित गरे, नेपाल छुट्यो ।

जोसुवा एस मोस्टो (२००३) ले कोलुम्बिय विश्वविद्यालयबाट प्रकाशित आधुनिक पूर्व एशियाली साहित्यको शोधग्रन्थमा पनि नेपाल छैन ।  २००५ मा विलार्ड स्पिगिलमेनले लेखेको हाउ पोएट्स सी द वल्र्ड मा नेपाली परेनन् । एसियाको अन्तर्देशीय सांस्कृतिक अध्ययनसम्बन्धमा कुअन–सिङ चेन र चुआ बेङ् हुआतको इन्टर एसिया कल्चरल स्टडी (२००७) मा नेपाली समेटिएनन् ।

बेन्जी झेङ  (२००८) ले सम्पादन गरेको उत्तर अमेरिकामा बस्ने एसियाली कविहरूको कवितासङ्ग्रहमा नेपालको नाम छैन । भर्खर २०१२ मा रोजमेरी एम केन्फिल्ड रेइसमेनले प्रकाशित गरेको एसियन पोएट्समा नेपाली कविले प्रवेश पाएको देखिँदैन । बालसाहित्यमा पनि पिटर हन्टले १९९६ मा प्रकाशित गरेको विश्व बालसाहित्य ज्ञानकोषमा नेपाल छैन ।

माथि उल्लेख गरेजस्तै पछिल्ला केही वर्षमा नेपाली साहित्यका थुप्रै अनुवादग्रन्थहरू पनि आएका छन्, र केही त स्तरीय पनि छन् । तर रचना आफ्नै वैचारिक आयतनको शक्तिशाली धरातलमा नउभिँदासम्म अनुवादकले रचनामा प्राण भर्न सक्दैन सायद । त्यसैले नेपाली साहित्य अझैसम्म “अपरिचित” नै रह्यो ।  केही राम्रा ग्रन्थका अनुवाद सन्तोषजनक नहुनाले पाठक तानेनन् ।

साहित्यमा अन्तर्राष्ट्रियस्तरमै स्थापित जर्नलहरूमा नेपाली साहित्यका केही विश्लेषणहरू अवश्य पाइन्छन् । उदाहरणका लागि हवाइ विश्वविद्यालययको मनेवा जर्नल, फेमिनिस्ट रिभ्यू, एसियन थिएटर जर्नल, बुलेटिन अफ द स्कुल आफ ओरिएन्टल एण्ड अफ्रिकन स्टडिज, जर्नल अफ साउथ एसियन लिटरेचर र जेस्टोरले सङ्ग्रहित गरेका थुप्रै जर्नल लेखहरू ।

तर तिनीहरू समस्त नेपाली साहित्यका प्रतिनिधि र विश्वस्तरका लेखहरूका गम्भीर विश्लेषण होइनन् । कि त तिनीहरूले पश्चिममा नेपाली साहित्यको सामथ्र्यलाई स्थापित गरेर विश्वको ध्यान तान्न सकेनन् । त्यसैले विश्वआकाशमा नेपाली साहित्य अझै अनेक कारणहरूले एक टापु नै बनिरहेको कुरा सत्य हो ।
हामीलेजस्तै, या भनौं हामीभन्दा पनि पछाडि आधुनिक युगमा प्रवेश गरेका अन्य साहित्यहरू पनि छन्, जसले आफैंलाई विश्वमानचित्रमा बलियो हुङ्कारका साथ स्थापित गरिसके ।

अधिकांश उत्तरऔपनिवेशिक राष्ट्र र तेस्रोविश्वका भनिएका राष्ट्रहरू सन् १९५० पछि  (साहित्यका हिसाबले) आधुनिकताको युगमा प्रवेश गरेका हुन् र त्यसको सापेक्षतामा हामी केही दशकअगाडि नै आधुनिक युगमा प्रवेश गरेका हौं । अफ्रिकी साहित्यमा आधुनिकताको इतिहास चालीस वर्षको पनि छैन । वास्तवमा त्यो पूर्णतया उत्तर–औपनिवेशिक साहित्य हो ।

फारा जसमिन ग्रिफिन भन्छन्, “बितेका तीस वर्षमा अफ्रिकी मूलका लेखकहरूबाट साहित्यको विष्फोटन नै भएको छ । काला समुदायका लेखकहरूले युगौंदेखि साहित्य लेख्दै आएका भए तापनि यसबेला उनीहरूको साहित्य संस्थागत भयो र यसको बजार र अध्ययन–अध्यापन व्यवस्थित भयो (१६५) ।” नगण्य साहित्यको बाटोबाट आधुनिकतामा प्रवेश गरेर एक शताब्दी पनि नपुग्दै आज अफ्रिकी साहित्य विश्वसाहित्यको एक विशाल हिस्सेदार बन्न पुगेको छ, र गुन्टर ग्रास, वोले सोयिङ्का, चिनुवा अचेबे र जी. एम. कोयट्जीजस्ता शिखरहरू जन्माइसकेको छ ।

तनुरे ओइजाडे भन्छन्, यसको कारण हरेक अफ्रिकी लेखकमा “कुनै न कुनै प्रकारले नेग्रो हुनुको विशिष्ट अनुभव मुखरित गर्ने प्रवृत्ति हो” (४६) । उनी अगाडि भन्छन्, “आधुनिक आफ्रिकी साहित्य अफ्रिकाको निजी आस्था, विश्वदृष्टिकोण र लोक परम्पराको धरोहरबाट निर्दिष्ट छ । युरोपकै भाषामा लेखिएको भए पनि यसले अफ्रिकी विशिष्टतालाई बोकेको छ” (५६) । यही सत्य अफ्रिकी–अमेरिकी लेखकहरूको पनि यथार्थ हो ।

यस यथार्थका विशिष्ट उदाहरण हुन् मेल्विन बी टोल्सन, रोबर्ट हेडर र रिता डोभ, जसले आफ्नो लेखनमा “अफ्रिकी–अमेरिकी जीवन र इतिहासका प्रसङ्गहरूलाई” समाविष्ट गरेर पाठकलाई मार्गदर्शन गरेका छन्” (लौरी रामे ४१) ।

भविष्यको मार्गचित्र

हामी के गर्नसक्छौं ? यसको उत्तर जटिल छ । हामी केही सचेत प्रयास गर्नसक्छौं । लेखकहरूले सिधै अङ्ग्रेजीमा लेख्ने सामथ्र्यको विकास गराउनका लागि बढीभन्दा बढी अध्ययन गर्नु आवश्यक छ । भाषामा …समालोचना, सम्पादन, संग्रह र अनुवादमा लाग्नेहरूले आफ्नो निजी सजिलो–अप्ठेरो र चिनजानको आधारलाई त्यागेर मौलिक नेपाली ज्ञान र सांस्कृतिक सामथ्र्य बोकेका नेपाली साहित्यलाई प्रश्रय दिनुपर्छ ।

त्यस्ता कविता धेरै धेरै छन्, र आइरहेका पनि छन् । तर प्राथमिकतामा परेका छैनन्, त्यो सत्य हो । विश्वपाठकको मानेविज्ञानलाई पनि हामी अध्ययन गर्न सक्छौं । हामी नितान्त नेपाली मौलिक कुरा दिन सक्छौं विश्वलाई । हाम्रो आफ्नै ज्ञानपरम्परा (एपिस्टेमोलोजी) छ, जुन विश्वसँग छैन ।

हिमालयन सभ्यताको अद्वितीय अनुभवका उत्तराधिकारी हामी हौं । तीन महान सभ्यताको त्रिवेणीबाट हामी विश्वलाई शान्तिको वैकल्पिक सिद्धान्त दिन सक्छौं । हामी साहित्य र प्रकृतिको अनोन्याश्रित सम्बन्धका बारेका नयाँ सिद्धान्तहरूका प्रणेता बन्न सक्छौं । पश्चिमा उपनिवेशको आगोले विश्वलाई खाइसक्दा पनि स्वतन्त्र रहेका हामी आफैंमा सुरक्षाको नयाँ सिद्धान्त (सर्भाइबल स्ट्रेटजी) हौं ।

त्यसैले हामी सबै नेपाली कवि, समालोचक र कविताप्रेमीले एकपल्ट एक गम्भीर प्रयास गर्नु आवश्यक छ । विश्वसाहित्यको साझा आकाशमा हामीले आफ्नो बौद्धिकता स्थापित गर्न सक्नुपर्छ । राजनीतिमा जस्तो ज्ञानको प्रतिस्पर्धामा हामीले समावेशीकरण र आरक्षण खोज्नु हास्यास्पद हुनेछ । साहित्यको वैश्विक आकाशमा हामी उपेक्षित हुनु र हाम्रो उपस्थिति तीलजति पनि नहुनुले हामीलाई गम्भीर आत्मचिन्तन गर्न प्रेरित गर्नुपर्छ ।

हामीले नेपालको मौलिकता लेख्ने कविहरूलाई नयाँ सिराबाट अध्ययन गर्नुपर्छ । हुन त जेसुकै लेखे पनि मौलिक र नयाँ हो र त्यहाँ मौलिक ज्ञान र संस्कृति हुन्छ र त्यसलाई पाठक र समालोचकले हेर्न जान्नुपर्छ भन्ने तर्क पनि नसुनिएको होइन । तर, कविताका जति आयाम भए पनि त्यसबाट हुँदै नभएको कुरा समालोचनाले टी. एस. इलियटले भनेजस्तो “लेमन स्वीजिङ्” गरेर निकाल्न सक्दैन ।

हामीले भगवानजस्ता बनाएका केननमाथि पनि आज वस्तुगत र गम्भीर समालोचना (आवश्यक परे आलोचना पनि) लेखिनुपर्छ, ताकि देवकोटाजस्ता सगरमाथामा पनि किन अन्तर्राष्ट्रिय हुन सकेनन्, त्यसबारे हामी स्पष्ट हुन सकौं ।

आगामी दिनमा हामी विश्वसाहित्यको स्पर्श नपुगेको कुनै नवीन यथार्थको उत्खनन् गर्न सक्छौं । यो कठीन छ र बृहत रुपमा आधुनिक नेपाली कविताको इतिहासमा यसका लागि कहिल्यै समूहिक प्रयास भएकै छैन । आधुनिक नेपाली कविताका लक्षणमा मौलिक ज्ञानको खोजी कहिल्यै परेन । मोहनराज शर्माले रेखाङ्कित गरेका आधुनिकताका लक्षणमा क्लिष्टता र दुरुहता, कुण्ठा र निराशा, प्रेम, देशप्रेम र प्रकृतिप्रेम, बेथितिको विरोध, यौनवाद र रतिरागात्मकता, मार्मिकता र व्यङ्ग्यजस्ता विषय परे (२०५२), तर मौलिक ज्ञानको खोजी, कहीँनिर पनि परेन ।

त्यसैले, हामी आफ्नो काव्यलाई आफैंतिर फर्काउन सक्छौं । आफ्नै मौलिक ज्ञानको धरातलमा उभिएका काव्य र काव्यसाधकहरूका इतिहासभरि छरपस्ट छरिएका कवितालाई हामी पुनर्पठन, सङ्ग्रह र अनुवाद गर्न सक्छौं । हाम्रा कविताको विम्ब–विधानमा हामी आफ्नो सभ्यता, संस्कृति, इतिहास, लघुइतिहास, लोकजीवन, स्थानीय रङ् आदि विशिष्ट निधिहरूको थप प्रयोग गर्न सक्छौँ, जसले विश्वको पाठक कुनै नवीन ज्ञानको स्रोत हाम्रो काव्यमा पाउने छ । काव्यमा परीक्षण गरिएको यो कुरा अन्य विधामा लान सकिएला ।

आजको राजनैतिक मानचित्रको नेपाल, र नेपाली सभ्यताको आयतनमा फैलिएको अमूर्त नेपालको अथाह ज्ञान धरोहरबाट टिपेर हामीलाई तपार्इंहरू कविता दिनुहोस् । हामी अनुवाद गर्छांै, विश्वबजारमा लिएर जान्छौं र विश्वसँग गम्भीर काव्यिक बहस गर्छौं । समालोचकहरूले विभिन्न नाममा पश्चिमा सिद्धान्तको पूर्वी संस्करण पस्कँदै लेखक र पाठकलाई “नयाँ” भनेर अल्मल्याउन अब सक्दैनन् ।

आयातित उत्तरआधुकिताभन्दा हामीले आफ्नै प्रकृतिको विशिष्ट आधुनिकता खोज्नुपर्छ । यी सबै प्रयासलाई हामी काव्यबाट शुरु गर्न चाहन्छौं र यो प्रयासलाई हामीले “कवितामा नेपाल” भनेका छौं । यहाँनिर नेपाल भन्नाले राजनैतिक भूगोलको नेपाल साथै विश्वभरि छरिएका आप्रवासी र डायस्पोराले बोकेको अमूर्त तर बलियो नेपाल पनि हो । यस प्रस्तावमा कवि, अनुसन्धाता, समालोचक, अनुवादक, प्रकाशक र उदार दाताको मिलनको खाँचो छ ।

(स्रोत : चारतारा न्यूज डटकम )

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.