कथा : प्रेमको बाटो

~सन्तोष खतिवडा~Santosh Khatiwada

उमेर त खासै भएको छैन तर उसको शारीरिक बनावटले उमेर भएकै लाग्दछ । निख्खर कालो हैन, हिस्सी परेको कालो भए पनि गालामा भएका अनगिन्ती दागहरुले अनुहार कालो नै लाग्दछ । दुवै कानमा चाँदीको कुण्डल लगाएको छ । पातलो शरीरमा उसले लगाएको कपडा पटक्कै सुहाएको छैन । लामो अगाडितिर राखेको जुल्फे कपाल कहिलेकाँहि निधारसम्म आइपुग्दा टाउको झड्काएर पछाडितिर पठाउँछ । बेला बेलामा दाहिने हातका औंलालाई फिँजाएर काँइयो जस्तै बनाउँछ र निधारमाथिबाट औंलााहरुलाई छिराएर टाउकोको बिच भागसम्म पु¥याउँछ । अनि छरिएका कपाललाई मिलाउँछ । ऊकहाँ जन्मियो ऊ आफैँलाई थाहा छैन । आमा बाबु को हुन्, त्यो पनि थाहा छैन । ऊ बुझ्ने हुँदा उसले आफूलाई कुलेश्वर महादेवस्थानको एउटा पाटीमा पाएको थियो । हरेक मिनेटमा दुई सर्को गाँजा तान्ने जोगीको साथमा ऊ मात्र हैन उसको बहिनी पनि ऊ सँगै थिई । गाँजाको नशा मष्तिस्कमा मात्र हैन शरीरको फोक्सो र मुटुमा पनि चढेकोले होला त्यो जोगीले पनि उनीहरुलाई छोड्यो, यो संसार छोड्यो ।

जोगीलाई जलाउन हुँदैन, खाल्डो खनेर त्योमाथि नुन हालेर गाड्नुपर्छ भन्ने मानिसहरुलाई उसले अन्तिम संस्कार गर्न पुरै सहयोग गरेको थियो । जोगी मर्दा दाजु बहिनी त्यति रोएका थिएनन् तर अन्तिम संस्कार गरिसकेपछिको रात भने जोगीको स्वाङ्ग स्वाङ्गको एकोहोरो खोकी सुन्न नपाउँदा नियास्रो मानेर रोए । उसको आफ्नो भन्नु त्यही बहिनी मात्र थिई, त्यसैले होला ऊ बहिनीलाई असाध्यै माया गथ्र्यो । उसलाई कसैले केही भन्यो भने कालो अनुहार थप कालो बनाउँथ्यो तर ङिच्च दाँत देखाएर हाँसिदिन्थ्यो बहिनीलाई जिस्काउँदा या गाली गर्दा भने सहन सक्दैन थियो । हातमा रहेको सामान जे छ त्यसैले झट्टी छोड्थ्यो । केही भएन भने हातको औंलालाई दह्रैै मुक्का बनाउँथ्यो र झम्टीहाल्थ्यो । आफू कम खान्थ्यो, फोहोरी र नराम्रो लुगा लगाउँथ्यो तर बहिनीलाई सुकिलो लुगाको व्यवस्था गरिदिन्थ्यो । खाना पनि आफूले भन्दा धेरै खुवाउँथ्यो अनि राम्रो र मिठो खुवाउँथ्यो । उसको नाम कसले राख्यो उसलाई थाहा छैन । नामसंग मतलब पनि छैन, नामले कसले बोलाउँछ र उसलाई । मानिस नामको लागि मात्र बाँच्दछ । तर कसैलाई नामको जरुरत नै पर्दैनथ्यो भने ती दुई दाजु बहिनी पनि थिए । तैपनि दाजुको किशोर र बहिनीको नाम अप्सरा भनेर बोलाउने गथ्र्याे जोगीले उनीहरुलाई ।

समयसँगै किशोर र अप्सरा ठूला भए । १६ वर्षको उमेरमा नै किशोरले आफनो एउटा ग्याङ्ग बनाएको थियो । ऊ ग्याङ्गको नाइके थियो । उनीहरु ग्याङ्गमा ६ जना थिए जुन ग्याङ्गको एउटा महत्वपूर्ण सदस्य थिइन अप्सरा । अप्सरा नाम जस्तै राम्री थिइन् । दाजुसँग उनको अनुहार कतै मिल्दैनथ्यो, गोरो बाटुलो अनुहारमा रिठ्ठा जस्ता ठूलाठूला गोला आँखाहरु असाध्यै सुहाउँथे उनलाई । दुःखले कति दिन खानाखानै नपाए पनि उनको मुहारको चमक भने ज्युँका त्युँ रहन्थ्यो । दाजु दुब्लो र पातलो भए पनि उनी थोरै मोटी थिइन् र सानैदेखि दाजुको मायामा हुर्किएकी उनी पाटीको बासमा पनि ठूलै बंगलामा हुर्केकी जस्ती देखिन्थिन् ।

किशोरको ग्याङ्गले आफनो क्षेत्र तय गरेको थियो । कुलेश्वरको महादेवस्थानलाई केन्द्रबिन्दु बनाएर कालिमाटी, टेकु, बल्खु र कलङ्कीसम्मको क्षेत्रलाई उनीहरुले आफ्नो बनाएका थिए । उनीहरुको काम प्रस्ट थियो । पाटीमा हुर्किएका अनि आमा बाबुको पत्तो नभएका नेपालका अक्सर बालबालिकाको काम जस्तै फोहोरको डङ्गुरभित्रबाटै प्लास्टिक र फलामको टुक्रा खोतल्नु । त्यो दैनिकी थियो तर त्यो दैनिकीलाई परिवर्तन गर्दै कहिलेकाँही किशोरको ग्याङ्गले । उनीहरु त्यही आसपासका क्षेत्रमा भएका घरहरुबाट सुटुक्क सामानहरु चोर्न पछि पर्दैनथे ।

यसरी चोर्ने सामान कहिले घर बनाउन राखेका फलामका छड, सिमेन्टका भरी बोरा अनि धाराका पाइप हुन्थे भने भाग्यले साथ दियो भने घरभित्रै छिरेर ठूलै सामान पनि हात लगाउँथे । अप्सरा अलि फरक स्वभावकी थिइन् । चोर्ने कुरामा उनी फरक मत राख्थ्नि तर सधैं अल्पमतमा पर्थिन । किशोरको ग्याङ्ग अलि झगडालु पनि बन्दै गएको थियो । आफ्नो क्षेत्रभित्र अरु कोही आफुजस्तै बालकहरु आए भने लखेट्ने र पिट्ने काम पनि गर्न पछि पर्दैनथ्यो । पाटे आफूलाई किशोरपछिको दोस्रो नाइके मान्दथ्यो ।

देब्रे गालामा कन्चट नजिकै दुवी हैन अर्कै के हो सेतो टाटो थियो पाटेको । सायद त्यही टाटोको कारणले उसको नाम पाटे रहेको हुनसक्छ । किशारेको अनुपस्थितिमा ऊ आफू नाइके भएको घोषणा गथ्र्याे । पाटे अप्सरालाई मन पराउँथ्यो । उसलाई लाग्दथ्यो अप्सराको लागि ऊ मात्र योग्य केटा हो । तर अप्सरा पाटेलाई पटक्कै मन पराउँदिनथी । किशोरले घोषणा गरेको उसको क्षेत्रभित्र उसैको वर्ग, उमेर र पेसाका धेरै समूह थिए । एउटा समूह थियो अर्जुनको जो किशोरको अस्तित्व स्विकार गर्दैनथ्यो । जन्म र कर्म अर्जुनको पनि किशोरको जस्तै थियो तर उनीहरुमा फरक के थियो भने अर्जन चोरी चकारीमा विश्वास गर्दैैनथ्यो । आफ्नो मेहनतले कमाएको पैसाले मात्र जीवन धान्नु पर्छ, चोरीले पेट भर्नेभन्दा भोकै बस्नु ठीक हो भन्ने सोचाइ राख्दथ्यो ।

आँटिलो स्वभावको अर्जन गलत कुराको लागि तर्क दिन र उस्तै परे कुस्ति खेल्न पनि पछि पर्दैनथ्यो । ऊ सही कुराको लागि कोहीसँग पनि डराउँदैनथ्यो । एक दिन अर्जन र उसका साथीहरु प्लास्टिक र फलामका टुक्रा टिपेर टेकुतर्फ फर्कंदै थिए । बाटोमा उनीहरुको भेट किशोर ग्याङ्गसँग भयो । किशोर र पाटे थोरै अगाडि बढे, पाटेले अर्जुनको छातीमा समायो । उसको झक्काले अर्जुनको पछाडि बोकिरहेको धोक्रो भुँइमा खस्न पुग्यो अनि अर्जनको सर्ट जुन पुरानो भएर मक्किएको थियो, च्यातियो ।

‘साले तुँलाइ हाम्रो ठाउँमा काम नगर भनेको हैन । तुँलाई मार्दिऊँ । ‘माँ साला’ उसले अरु बोल्न नहुने अनि सुन्न नहुने गाली के–के गथ्र्यो होला तर अप्सरा उनीहरु सँगै थिई । पाटेले अप्सराको इज्जत गरे झैं पुलुक्क अप्सरातिर हे¥यो । अर्जुन पनि कम को कहाँ थियो र, उ शारीरिक र मानसिक दुवै हिसाबले पाटेभन्दा बलियो थियो । आफ्नो छाती अगाडिको पाटेको हात समातेर फनक्क देब्रेतिरबाट पाटेलाई उल्टो घुमायो अनि पाटेको दुवै हात समातेर उसलाई कक्रक्क पारेर लडायो । पाटे भुइँमा लडेपछि आफू उठ्यो अनि आफ्नो च्यातिएको कपडालाई पनि तानतुन गरेर मिलायो । बहादुरीपूर्वक करायो ‘तँ धेरै हिरो बन्छस् , यो ठाउँ तेरो बाजेको हो?’

‘म यहीँ काम गर्छु, तँ के गर्छर्स् । उसले हेर्न त किशोरतर्फ हेरेको थियो तर उसका आँखा अप्सरासँग जुध्न पुग्यो । अप्सरा पनि अर्जुनलाई हेर्दै थिई । अप्सरा अर्जुनको बहादुरीभन्दा पनि उसको असल बानीले पहिले नै उसँग आकर्षित भइसकेकी थिई । अर्जुनको आँखा अप्सरासँग जुध्दा उसलाई कस्तो–कस्तो हुन्थ्यो, कहाँ–कहाँ छोएजस्तो, दुखेजस्तो, तर उसले त्यो छुवाईलाई, दुखाईलाई बुझेकै थिएन । एक हूल भुस्याहा कुकुरहरु उनीहरुको बोरातिर हेर्दै अघिदेखि भुकिरहेका थिए । उनीहरुको लुछाचुँडीले त झनै ठूलो आवाजले घुमीघुमी भुक्दैथिए ।

त्रिपुरेश्वरतिरबाट साइरन लगाउँदै पुलिसको गाडी आयो । उनीहरु तितरबितर भए । यो झगडा अब दैनिक जस्तो चल्न थालेको थियो । तर, हरेक चोटीको झम्काभेटमा आक्रमण किशोर ग्याङ्गले नै गरेको हुन्थ्यो अनि अर्जुन ग्याङ्गले बचावट । अर्जुनले धेरै पटक किशोरको पिटाइ खाएको थियो । त्यस्तै अर्को दैनिकी थियो– अप्सराको कुनै बहानामा दाजु र उसका साथीहरुलाई छोडेर अर्जुनलाई भेट्नु । दुवै जना धेरैबेर कुराकानी गर्थे । एक अर्काको अङ्गालोमा बाँधिएका हुन्थे । प्रेम भन्ने कुरा नै यस्तै रहेछ । यो प्राकृतिक रहेछ जुन सिकाउन नपर्दो रहेछ । सडकबाट देखिने उनका आँखा अगाडिका ठूला–ठूला बङ्गला देखाउँदै कल्पनामा रमाउँथे । हामी पछि यस्तै घर बनाउने, यो प्लास्टिक टिप्ने काम पनि नगर्नु, कुकुरले धेरै लखेट्छ, मान्छेले धेरै हेप्छन्, गाली गर्छन् । राम्रो कपडा लगाएर राम्रो काम गर्न ।’

उनीहरुका रमाइला कल्पना, सपना,सायद त्यो प्रेमको शक्तिको उपज थियो । त्यसैमा हराइरहेका हुन्थे । कति रमाइलो थियो उनीहरुको संसार जहाँ माया थियो, साथ थियो अनि सपना थियो । सपनाको संसार, अलग्गै संसार, हरेक चाहनाको प्राप्ति हुने संसार, यथार्थभन्दा फरक बिचित्र संसार ।

दिनहरु बित्दै गए । दुई ग्याङ्गबीचको झगडा र दुई जना बीचको प्रेम बढ्दै गयो । किशोर बहिनीलाई असाध्यै माया गथ्र्याे । बहिनी पनि दाजुलाई उत्तिकै माया गर्थी तर अप्सराले किशोरलाई अर्जुनको बारेमा केही बताइन् । अर्जुनलाई नपिट्नको लागि, झगडा नगर्नको लागि धेरै चोटी अनुरोध गर्न खोजी, अर्जुनको प्रेम छचल्किएका आँखाहरुले त कयौँपल्ट बताए पनि तर आँखाले बताए पनि आवाज मुखबाट निकाल्न भने सकिन । केही दिनदेखि अप्सरा बिरामी थिई, बेलुका बेलुका ज्वरो आउँथ्यो । जब ज्वरो बढ्थ्यो उसको सास फुल्दथ्यो, फेर्न गाह्रो हुँन्थ्यो । जोड जोडले स्वाँ स्वाँ गर्थी । तर, आफ्नो बिरामीको बारेमा भने दाजुलाई भनेकी थिइन । उसलाई थाहा थिया– उसको बिरामीले दाजु धेरै नै चिन्तित हुन्छ ।

अर्जुनको हातमा एउटा प्लास्टिकको पोको थियो अनि ऊ एक्लै थियो । उनीहरुलाई दलालसँग रिस उठेको थियो । अर्जुनलाई एक्लै देखेपछि रिस उसैलाई पोख्नुपर्छ भनेझँै किशोर ग्याङ्ग ऊतिर अगाडि बढे । उसको हातमा रहेको प्लास्टिकको पोको पनि उनीहरुको आकर्षण हुन सक्थ्यो । अर्जुन आफ्नो प्लास्टिकको पोकालाई छाती अगाडि दुबै हातले च्यापेर दौडिरहेको थियो अनि किशोर उसको पछि पछि उसलाई भेट्न खोज्दै थियो । अर्जुन दौडँदै भन्दै थियो –‘आज मलाई जान देऊ, आज म तिमीहरुसँग लड्दिन, मलाई भोलि बरु तिमीहरुले जे गरे पनि सहन्छु, म यो ठाउँ पनि छोड्न तयार छु, तर आज केही नगर ।’

अर्जन धेरै बेर दौडियो, पुरा वल निकालेर दौडियो तर ५ जनाले उसलाई घेरावन्दी गरिहाले, पक्डीहाले । उसलाई ५ जनाको बीचमा राखेर वरिपरिबाट घेर्दै किशोर ग्याङ्ग अर्जुनसँग उसको प्लास्टिकको पोको माग्दैथे । अर्जुन भने आप्mनो पोकालाई झन् जोड जोडले च्याप्दै थियो अनि रुँदै भन्दै थियो ‘मेरो यो झोलामा तिमीहरुलाई काम लाग्ने केही छैन, मलाई आज जान देऊ । उसको रुवाईले कसैको मन पग्लनेवाला थिएन । त्यो लडाइँ फोहोरमा हुर्किएको जीवनहरुबीचको अस्तित्वको लडाइँ थियो । अर्जुनलाई मजा चखाउने ठूलै मौका थियो किशोरलाई ।

किशोरले अर्जुनको पोको च्याप्प समात्न खोज्यो । अर्जुन बचाउनको लागि पछाडि हट्दैथियो । ढुङ्गामा अल्झियो, अर्जुन लड्यो । ऊ लडेर पनि पोका च्यापिरहेको थियो । लडेको अर्जुनको हातबाट किशोरले पोका खोस्न खोज्यो । अर्जुन र किशोरको लुछाचुँडीमा पोको च्यातियो । पोको भुइँमा खस्यो । पोकोबाट एउटा औषधिको सिसी भुइँमा बजारिएर फुट्यो । प्लास्टिकभित्र एउटा पाउरोटीको पोका अनि दूधको आधा लिटरको प्याकेट पनि थियो, दुबै छरिएर यत्रतत्र भए । सिसी फुटेको देखेर सबै सिसीतर्फ हेर्न थाले, अर्जुन सिसीतिर हेर्दै रुन थाल्यो । हिजो अस्ति भए उसले त्यही फुटेको सिसीले उनीहरुमाथि प्रहार गथ्र्याे होला तर आज केही गरेन । रुँदै पाउरोटी र दूधका पोका टिप्यो अनि ५ जनाको छेडोबाट फेरि भाग्यो । अर्जुन अघि अघि उनीहरुलाई छल्दै, छल्दै भाग्दै थियो अनि किशोर ग्र्या्ङ्ग उसलाई लखेट्दै थियो ।

अर्जुन प्लास्टिकले बनाएकोे एउटा सानो छाप्रोभित्र छि¥यो । त्यो छाप्रो साह्रै नै सानो थियो । टाउको निहुराउँदै किशोरहरु पनि छाप्रोभित्र छिरे । छाप्रोमा एक जना केटी सुतिरहेको थिइन् । अचेत अवस्थामा थिइन् । अर्जुन उनको हात समाउँदै रुँदै थियो । ‘मैले तिम्रो लागि औषधी ल्याउन सकिनँ, तर मैले दूध र पाउरोटी ल्याएको छु । उठ, तिमीलाई निको हुन्छ, तिमीलाई केही हुन्न ।’ ऊ ठूलै आवाज निकालेर रुन थाल्यो । अचेत अवस्थामा सुतिरहेको शरीर लगभग मृततुल्य थियो तर ओठ भने, ‘दाइ’ ‘दाइ’ को आवाजले बरबराउँदै थियो । किशोरले थाहा पायो उसले भर्खर फुटाएको — षधी अरु कसैको हैन, उसैको प्यारी बहिनीको लागि ल्याइएको रहेछ । ‘बहिनी के भयो तिमीलाई ?’ ऊ रुँदै बहिनीको टाउको नजिक पुग्यो । अप्सराको आँखा पनि आँशुले भरिए । आँखाको माथिल्लोपट्टिको परेला तल झारिन् । आँशु आँखाबाट बगेर गालासम्म आयो अनि गालामा थोप्ला बन्यो । मुखबाट आवाज निक्लिएन काँपिरहेको एउटा हातले दाजुको हात समातिन् अनि अर्को हातले अर्जुनको हात समातिन् ।

उनलाई हेर्दा लाग्दथ्यो उनी ती दुई हात मिलाउन चाहान्थिन् । तिमीहरु कहिल्यै झगडा नगर, गलत काम पनि नगर सत्मार्गमा हिँड । मैले तिमीहरु दुवैलाई पे्रम गरेको छु, फरक फरक किसिमको तर मेरो प्रेमको बाटोमा सत्कर्ममात्रै छ, झगडा र अमेल छैन, मेलमिलाप र माया मात्र छ । उनी पूर्ण अचेत भइन्, सेतो आँखा कता कता पल्टाइन् । एक चोटी बलैले दाइतिर हेरिन् अनि हेरेको हे¥र्यै भइन् । उनले आफ्नो माया गर्ने दाजुलाई र प्रियतमलाई अनि दुखी संसारलाई एकैचोटी छोडिन् । किशोर, अर्जुन अनि किशोर ग्याङ्गका सबै रुन थाले, रुँदै किशोरले अर्जुनलाई च्याप्प अँगालो हाल्यो । रुँदै भन्न खोज्दै थियो ‘अर्जुन तँ अब नजा है, हामी सँगै बस्ने, अनि राम्रो काम मात्र गर्ने । बहिनीले चोरी गरेको, झगडा गरेको कहिले मनपराइन, अब म चोरी गर्दिन, तँ मसँगै बस है ।’ तर आवाज उसको घाँटीबाट निक्लिएन खाली अर्जुन–अर्जुन मात्र भनिरह्यो भनिरह्यो ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.