निबन्ध : परदेशमा

~श्रीओम श्रेष्ठ रोदन~Shree Om Shrestha Rodan

भीडमा एक्लो हुँदा कस्तो हुन्छ ? अनुभव नगर्ने धेरै कम होलान् । एक्लो भएर एक्लो हुँदाको अनुभव पनि नहुने कुरो भएन ।यी दुईमध्ये कुनले बढी सताउँदो होला ? भीडमा एक्लो हुनुलाई अरूसँग मिल्न नसक्ने भनेर बुझ्नुपर्ला कि ? कि चाहेर एक्लिनुको मजा अर्कै हुन्छ भनेर Û हिजोआज विश्वभरि यसको बहारजस्तै आएको छ, ध्यान गरेर संसारबाट मात्र होइन आफैबाट पनि एक्लिने । तर एक्लो भएर एक्लिनु चाहिँ पीडादायी नै हुन्छ । मौन कारागारजस्तो । चल्न त सबै चलिरहेकै हुन्छन् । बाध्यताको चलाइजस्तो अथवा भारी बोकेको खच्चडको हिँडाइजस्तो । देखिने अनुहारको के कुरा ? नदेखिने मनले पो गर्छ, जे गर्छ । नरोकिने करौँतीले नदेखिने गरी रेट्दा नदेखिने गरी नै दुख्छ । न कसैलाई देखाउन मिल्ने न कसैलाई भन्न मिल्ने । बैँस बढेकी असुन्दर युवतीको आत्मालापजस्तै सुन्न नसकिने ।

मलाई यस्तै लागिरहेको छ बिहानदेखि । कहिले बहकिएजस्तो, कहिले छचल्किएजस्तो । बगेर जतासुकै पुग्दा पनि रोक्ने कुनै बाँध छैन आफूसँग । न बाँध्ने कुनै डोरी नै छ, न लट्ठयाउने कुनै मन्त्र नै । अनियन्त्रित छ मन । केही गर्न नसक्नुको अर्थ सहनु नै हो । सहिदिन्छु म । स्वदेशमा त भइरहेको गर्न सकिँदैन भने परदेशमा सम्भव हुने कुरा भएन ,चित्त पनि बुझाएकै छु ।किन अन्धकार बनेको बेलामा पनि नाङ्गो स्वतन्त्रता नदिनु ? कठयाङ्गि्रँदा पनि एक्लै, पसिना पुछ्दा पनि एक्लै, जूनसँग पनि एक्लै, चन्द्रसँग पनि एक्लै । साक्षीसमेत छैनन् कोही । बेकार किन आफैलाई नाकाबन्दी ठोकेर खबरदारी गराइदिनु ? बहकिन चाहँदा बहकिन दिन्छु, गर्न दिन्छु भन्नुपर्‍यो जुन समयमा जसरी जे गर्न मन लाग्छ । स्वतन्त्रता हो मनको, अधिकार पनि हो कि ? नभने पनि कमजोरी पनि हो नि ।बाहिर निकै चिसो हावा चलिरहेको छ मनजस्तै । एकछिनपछि पानी बिरबिराउन थाल्छ । सडक राम्रोसँग पखालिँदै छ, मनजस्तै । फेरि ससाना गिर्खाजस्ता हिउँ (स्लिट) बर्सिन थाल्छ, मनमा जस्तै र केहीबेरपछि हिउँ पर्न सुरु हुन्छ, चिसो मनजस्तै । हावामा बहकिँदै झरिरहेका छन् हिउँ, मनजस्तै । एक प्रकारका चराहरू हिउँसँग रमाइरहेका छन्, बथान भएर । भुर्रभुर्र उड्दै फेरि भुइँमा बस्दै हिउँलाई चुच्चाले ठुँगिरहेका ।

लाग्छ, प्रकृतिको परिवर्तित दृश्य र चराहरूको रमाइलो मलाई नै लक्षित गरिरहेको जस्तो । एक्लो छु र कमजोर छु भन्ने ठानेरै त होला, उडिरहेको मनलाई अझ अकास्याउन किन खोजिरहेछ ?त्यसै पनि गुँड र्फकने सोचले अधीर भइरहेको बेला । दिन गन्ती गर्न र बाटो नाप्न थालिसकेको बेला । मुरीका मुरी कुराहरू गुन्जिरहेको बेला । यी नाटकझैँ लाग्ने परिदृश्यहरूले किन लखेटिरहेका छन् मलाई नै ?आफैले आफैलाई लखेटिरहेको बेला भनौं आफैले आफैंलाई समात्न नसकिरहेको बेला सेतो हिउँमाथि लोखर्के जोडी खुरुर्र यताबाट उता, उताबाट यता दौडिएको देखिन्छ झ्यालबाट ।

त्यसै पनि देशले, समाजले, संस्कृतिले, परिवारले, आफ्नोपनले एक्लो र एकान्त बनिरहेको बेला, सँगै बस्ने साथी दीपक घर र्फकने दिन गनी-गनी घटेको बाँकी दिन सुनाउँछ । क्यालेन्डरमा तारिख काट्छ । त्यतिबेला उसको अगाडि वास्ता नगरेको जस्तो गरे पनि च्वास्स बिझ्छ भित्रसम्म । त्यसपछिको झन् एकान्त र एक्लो सम्झेर ।आखिर समय न हो कसको लागि जमेर बस्छ र ? समयले कसैलाई कुर्दैन, समयलाई मात्र कुर्ने हो । जान्नेले त्यसलाई सदुपयोग गर्न सक्छ नजान्नेले खेर पठाउँछ । आकाशमा बादलहरू कसलाई सोधेर दौडिरहेका हुन्छन् र ? फूलहरू कसैको आदेशले फुल्ने हुन् र ? सबैको समय छ, हुन्छ भन्छु ! शक्ति अपरम्पार छ । बुझ्नेले देख्न पनि सक्छ तर देख्नेले नबुझ्न पनि सक्छ । यी सबै आफूमा निर्भर हुन्छन् । कुरो दृश्य-दृष्टिको पनि होइन । यदि त्यस्तो क्षमता भएको भए गुँड छोडेर एक्लिनुपर्ने कुनै बाध्यता थिएन । रहर पनि होइन, बाध्यता पनि होइन । नजानिदो मोह, अलिकति भए पनि भविष्य बलियो बनाउने आशा र सम्भावनाको पीडा ।

कहिले लाग्छ, आफूभित्र बाँधिएका सबै डोरीहरू च्वाट्ट चुँडालेर स्वतन्त्र बनूँ । कतिन्जेल कल्पनाका हाँगाहरू बढाएर कमजोर ठान्दै जाने ? कतिन्जेल अदृश्य पीडाका नीलडाम हेरेर टोलाइरहने ? भत्काउनै खोज्ने हो भने समयको खोर कति न बलियो होला र ? त्यसो पनि होइन । हार्ने मानसिकताले युद्धभूमिमा सैनिक भएर जानुको के अर्थ ? उसको पोसाक, उसको हातहतियार, उसको तालिम, उसको लगानी सबै खरानी । शरीरको मात्र उपस्थिति के उपस्थिति । युद्धमा जाने मान्छे फलामजस्तो हुनैपर्छ, प्रेम गर्नेले फूल बन्न सिक्नैपर्छ । मन्त्र नजान्ने पण्डितले होम गर्नुको के अर्थ ?

बहादुरहरू आफ्नो लक्ष्यका लागि जे पनि गुमाउन तयार हुन्छन् । प्रेमीहरू एकआपसमा पग्लेरै बग्न चाहन्छन् । एक पटक जब म अमेरिकाको बोस्टनबाट नेपाल र्फकन विमानस्थल पुगेको थिएँ, त्यतिबेला एक जोडीको प्रेमिल आँसुलाई राम्ररी देखेको थिएँ । उनीहरूको बिदाइ दर्दनाक थियो । मेरै नजिक थिए तिनीहरू । भारतीयजस्तै लाग्ने भर्खरका जोडी । अङ्कमाल गरेर धेरैबेर रोए । पछि फेरि आपसमा आँखा जुधाए । दुवैले दुवैको आँखा पुछिदिए । फेरि मुस्कुराए, फेरि चुमे र फेरि अँगालोमा बाँधिए र फेरि रोए । छुट्टिने बेलामा दुवैले दुवैलाई बेस्कन समाते, मानौं अब छुट्टनि सकिँदैन भनेजस्तो गरी । तर बिस्तारै फुत्किए र चुमे फेरि । मलिन हाँसो हाँसेर छुट्टएि । केटो गएपछि केटी रुन थालिन् भक्कानिएर । रुमाल भिजेर निथ्रुक्कै थियो । आँसुको धारा बग्दै थियो, एकैछिनमा उनको मोबाइलको घण्टी बज्यो । हतारले फोन उठाइन् र हाँस्दै कुरा गर्न थालिन् । केटोले नजिकैको सिसाबाहिरबाट फोन गरिरहेको थियो ।

भावविभोर भएको थिएँ म । त्यतिबेला मौसम पनि पिलन्धरे बनेको थियो । डम्म बादल लागेर उज्यालो हुन सकेको थिएन, एकैछिनमा सिमसिमे पानी पर्न थाल्यो । मलाई लाग्यो, प्रकृति पनि यति कमजोर भएर हुन्छ ? प्रेमी-प्रेमिकाको बिछोडमा चुहिने । कस्तो संयोग । अरूको दुःखमा दुःखी हुनु र सुखमा सुखी हुनु ठीकै हो तर सम्भव हुन्छ र सधैं ? यस्ता घटना एकै निमेषमा हजारौं, लाखौं कहीँ न कहीँ भइरहेकै हुन सक्छन् नि ।व्यस्तता नै भनौं । समय कटिरहेको धेरै दिन थाहै भएन । फुर्सदको समय पनि रमाइलै थियो । तर समयले कोल्टो फेर्‍यो एकैपटक । बाँकी दिनहरूका योजनाहरू क्षणिक आएको भूकम्पले भताभुङ्ग पारिदिएजस्तै भयो । जसको कुनै विकल्प थिएन । जे भयो भयो । सहनु एक मात्र उपाय बाँकी भएपछि सहनैपर्‍यो । यो फुर्सदलाई एक प्रकारले इमानदारीको पुरस्कार पनि ठानेँ, चित्त बुझाउन । अरूलाई उभ्याउन खुट्टा दह्रो बनाउन खोजिरहेको बेला आफै कमजोर हुनुपर्‍यो । विडम्बना पनि नमीठो विडम्बना । शासनव्यवस्थामा शक्तिको नाश भएजस्तै । शक्तिशाली बन्न षड्यन्त्र गर्नुपरेजस्तै । भए पनि नभए पनि नियति त्यस्तै भोग्नुपर्‍यो ।फुर्सदको कारण निस्कन्छु दिउँसोको चर्को घाममा । ठूलो पार्कमा बच्चाहरू पुच्छर हालेका चङ्गा उडाइरहेको देखिन्छ, दशैंको निकटताको आभास गराउँछ परदेशमा । गर्मीले नाङ्गिएका शरीरहरू । छाती, पेट, ढाड, हातखुट्टा शरीरभरि देखाउन मिल्नेसम्म अङ्गमा कुँदिएका टाटु प्रदर्शनी । युवायुवतीले त गरे-गरे फेसन बनाएर तर बूढाबूढीहरू पनि त्यस्तै छन् । यसले शिवरात्रिका नाङ्गा बाबाजीहरूलाई सम्झाउँछ सेन्जो सहरमा ।

चङ्गाले दशैं सम्झायो । दशैँले पिङ मच्चायो, जमरा उमार्‍यो, टीका लगायो, घर पुर्‍यायो, परिवार भेटायो । सम्झनाको लहर फैलिँदै-फैलँदै सबै ठाउँ पुर्‍यायो । बाँकी केही भएन । सम्झनाको सङ्ग्रहालय मनभित्रै भएपछि किन बिर्सनु र ? सम्झनाहरू लामो लिक बनेर रेलझैं गुड्न थाल्छ । लिकको कुनै स्टेसन नभएर निरन्तर गुडिरहोस् भन्ने लाग्छ । परदेशमा यति नै हो चाहने । महँगो भए पनि सस्तो भए पनि मीठो सम्झनामा चुर्लुम्म डुबेर नुहाउनुको अनुभव सधैं फुर्सदमा चाहना राख्थेँ म ।महिनौको रुन्चे मौसमलाई मीठो स्मृति-कारागारको बन्दी मानेँ आफूलाई । गुलाफजस्तै फक्रियो मन । अभिलेखको लागि फोटो खिच्न मन लाग्यो । एक्सरेले जस्तै कतै मन पो खिचिदिन्छ कि भन्ने अलिकति डर पनि लाग्यो । बाहिरको त देखिएँ-देखिएँं, भित्रका कमजोर आँसुहरू किन प्रदर्शन गरिरहनु ? घामजस्तै उज्याला आँखा हुँदा, रातजस्तो अँध्यारा आँखा हँुदा पनि कहिले प्रदर्शनी नबनेको मनलाई बेकारमा किन अभिलेख गरिरहनु भन्ने पनि लाग्यो । हैन, मलाई मात्र हो कि अरूलाई पनि यस्तै हुँदो हो परदेशमा ?

यो जित हो कि हार ? जीवनको यो समयको ? कसले पो जोख्न सक्ला तराजुमा । सकोस् पनि कसरी ? कहिले जितेको ठान्छ आफैलाई हराएर, कहिले हार्छ आफैलाई दाउमा लगाएर । यो अनौठो स्वादको के इतिहास ? के वर्तमान ? यति गर्न नसके कहाँ दिन कटाउन सकिन्छ र परदेशमा ?

(स्रोत : श्रीओम श्रेष्ठ रोदनको निबन्धसंग्रह ‘एक्लो परिचय’ बाट)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.